सत्तारुढ दल जटिल मोडमा


काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र देखिएको विवादको समाधान कमिटी बैठकबाटै खोज्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हिजो भएको टेलिफोन संवादमा अध्यक्ष दाहालले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कमिटी बैठक आयोजना गराउने प्रस्ताव राख्नुभएको थियो । तर अध्यक्ष दाहालको प्रस्ताव प्रधानमन्त्री ओलीले भने अस्वीकार गर्नुभएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयको छ ।

अध्यक्ष ओलीले सोमवार आफैं टेलिफान गरेर वान टु वान वार्तामा बस्न भन्नुभएको सापकोटाले बताउनुभयको थियो । प्रधानमन्त्री ओलीले पहिले तपाईं र म सहमति गरौँ त्यसपछि कमिटी बैठक आयोजना गरौँला भन्ने जवाफ दिएको सापकोटाले बताउनुभयो । केही दिन अघि खुमलटारमा भएको ओलीविरुद्धको भेलाले सचिवालय बैठकका लागि ओलीसँग माग गर्न अध्यक्ष दाहाललाई दबाब दिएको थियो । यसै बिषयलाई लिएर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलग(अलग गरौँ भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही नभएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले सल्लाह गरेर पार्टी अलग गरौं भन्ने कुरा सही नभएको बताउनुभएको हो । साथै पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिन समेत उहाँले आग्रह गर्नुभएको छ । श्रेष्ठले तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै व्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौँ, ‘पार्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाई विघटन एवं बिसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔें भन्ने लेख्नुभएको छ ।