पार्टी फुटाउन खोज्ने सबै अपराधी हुन्


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद चुलिँदै गरेका बेला नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै शक्तिले नेकपा फुटाउन नसक्ने बताउनुभएको छ । गत शुक्रबार धुम्बाराहीमा बसेको सचिवालयको अनौपचारिक बैठकपछि नेता नेपालले नेकपालाई फुटाउने सपना कसैले नदेखे हुने चेतावनी दिनुभएको हो । यो बैठक पार्टी एकताका लागि नै भएको स्मरण गराउदै उहाँले नेकपा त्यति कमजोर धरातलमा नरहेको प्रष्ट पार्नुभएको थियो । उहाँले पार्टी फुटाउने सपना कसैले देखेको भए त्यो दिवास्वप्न मात्र हुने र त्यस्ता गतिविधिमा लाग्ने कम्युनिस्ट नभएर अपराधी भएको नेता नेपालको भनाइ थियो । उहाँले पार्टीलाई कमिटी प्रणालीअनुसार बैठक बसी छलफलमा सहभागी बहुमत सदस्यले गरेको निणर्यअनुसार सबै नेता कार्यकर्ता चल्नुपर्ने पनि बताउनुभएको थियो ।