कृष्णगोपालले दिए निर्देशन


काठमाडौ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिनाभित्र बञ्चरे डाँडाँ ल्याण्डफिल्डड साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल्डड साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिनुभएको हो । हाल फोहोर विर्सजन भइरहेको सिसडोल ल्याण्डफिल्ड साइटको निरीक्षण गरेपछि उहाँ बञ्चरे ल्याण्डफिल्ड साइटको निरीक्षण गर्न पुग्नुभएको थियो ।

पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल्ड साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उहाँले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर विसर्जन गर्न मिल्नेगरी काम सक्न कडा निर्देशन दिनुभएको थियो । लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर विर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको जानकारी गराउनुभएको थियो । ‘तपाईंले धेरैपटक भाका फेरिसक्नुभएको छ, अब मंसिर १५ गतेबाट फोहोर विसर्जन गर्न मिल्नेगरी तयारी गर्नुस्’ प्रगतिको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो । ‘काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पोखरीको निर्माण भइरहेको छ । हामी मंसिर १ गतेभित्र फोहोर फ्याक्नेगरी तयारी गरेका छौं’ निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत केही दिनभित्रै फोहोर विसर्जन गर्न मिल्नेगरी ल्याण्डफिल्ड साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन अकस्मात बञ्चरेडाँडा पुग्नुभएको थियो । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक पद्मकुमार मैनालीसहितको टोली निरीक्षण गर्न पुगेका थिए । मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो ।

सरकारको महत्वपूर्ण आयोजनाको रूपमा रहेको सो ल्याण्डफिल्ड साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गीकरण नगरी विसर्जन गर्दा २५ र वर्गीकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिनुभयो । सरकारले विभागलाई ल्याण्डफिल्ड साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो ।

महानिर्देशक गेलालले मंसिर १५ भित्र फोहोर व्यवस्थापन गर्न मिल्नेगरी अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठलाई ल्याण्डफिल्ड साइटको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न पुग्नुभएका महानिर्देशक गेलालले अहिलेसम्म ल्याण्डफिल्ड जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो । ‘अब फोहोर विसर्जन गर्ने स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युमपाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी छ, त्यसपछि मन्त्रीज्यूले भनेकै समयमा फोहोर विसर्जन गर्नेछौं’ महानिर्देशक गेलालले भन्नुभयो ।

मन्त्री श्रेष्ठले प्रधानमन्त्रीज्यूको समेत ध्यानकर्षण भएको यो विषयमा सबै गम्भीर हुनुपर्ने बताउँदै अब तोकिएकै समयमा फोहोर विसर्जन गर्न ढिलाइ गर्न नहुने निर्देशन दिनुभयो । भन्नुभयो ‘यो बोली सरकारको हो, अब मंसिर १५ भित्र जसरी पनि बञ्चरे ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जन हुनैपर्छ ।’ यसअघि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको प्रगतिबारे जानकारी लिन पुग्नुभएको थियो ।

सचिव डा. सिहले मन्त्रीको निर्देशनअनुसार तोकिएको समयमा फोहोर व्यवस्थापन हुने बताउनुभयो । विभागले हालसम्म करिब ४० करोड रुपैयाँ खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि ४६ करोड ५ लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता गरिसकेको छ ।

पहिलो चरणको निर्माण सम्झौता वैशाख २२ सम्म थियो । लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले यही कार्तिक २२ गतेसम्म म्याद थपेको थियो । दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको थियो । सो कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले कोभिड–१९ को स्वाथ्यजन्य समस्याको कारणले कामदार र निर्माण समाग्री आपूर्तिमा कठिनाइ, सिसडोलमा फोहोरको पहिरो गई आगमन अवरुद्ध भएको र कोल्पुखोलामा वर्षातमा बाढी आएर निर्माण कार्य प्रभावित भएको जनाएको छ ।

१३ वर्षदेखि सिसडोल ल्याण्डफिल्ड साइटको भ्याली १ र २ फोहोर विसर्जन भइरहेको थियो । दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल्ड साइटमा काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिक टन फोहर विसर्जन भइरहेको छ । वि.सं. २०६२ सालमा २ वर्षको लागि मात्रै फोहर व्यवस्थापन गर्न मिल्लेगरी मात्र सिसडोल ल्याण्डफिल्ड साइट तयार गरेको थियो । लगत्तै दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन बञ्चरेडाँडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका) ले सन् २००२ मा सिसडोल ल्याण्डफिल्डसाइट हस्तान्तरण गरेपछि बञ्चरेडाँडा दीर्घकालीन ल्याण्डफिल्ड साइटको कन्सेप्चुअल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो । जाइकाले सो ल्याण्डफिल्ड साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । जाइकाले कन्सेप्चुअल डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ । सरकारले २०६२ सालमै तीन वर्षभित्र बञ्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै एकदशकअघि बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहण गरेको थियो ।