नेतालाई अनुसाशनको डण्डा


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेताहरुबीच आपसी अन्तरसंघर्ष चर्किएसँगै पार्टीको अनुशासन आयोगले तुरुन्तै पार्टीको बैठक बोलाउन माग गरेको छ । आयोगले पार्टी बैठक बोलाएर अन्तरविरोध समाधान गर्न नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले सोमबार एक विज्ञप्ति जारी गर्नुहुँदै विवाद समाधानका लागि बैठक बोलाउन ध्यानाकर्षण गराउनुभएको हो । बोहराले जारी गरेको विज्ञप्तिमा विगतमा फुटको दुःखद कुरा व्यहोरिसकेकाले पार्टी एकताको विकल्प नभएको र समृद्ध समाजवादी समाज बनाउन फुट र विभाजन प्रतिगामी हुने भएकाले जति सकिन्छ चाँडो पार्टीको बैठक राख्न अनुरोध गर्दै बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाउन बोहराको आग्रह छ । विज्ञप्तीमा पार्टी एकताका बाँकी काम छिटो पूरा गर्दै एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु पर्नेमा जोड दिइएको छ ।

बोहराले विज्ञप्तीमार्फत भन्नुभएको छ, ‘पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्न तथा संयम, धैर्य र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्यामा ध्यान केन्द्रित गर्दै एकताबद्ध र गतिशील बनाउन नेतृत्वप्रति विशेष अनुरोध गदछौं । उहाँले दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आम पार्टी पंक्तिलाई निराश पार्ने ‘गालीगलौज’, ‘निन्दा भत्र्सना ’, ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुरा सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेकोमा चिन्ता प्रकट गर्दै अन्तरपार्टी विवाद विधिसम्मत ढंगले हल गर्नुपर्ने मा बोहराको जोड छ ।

अन्तरपार्टी विवाद सञ्चालनका निकै राम्रा माक्र्सवादी परम्परा रहेको उल्लेख गर्नुहुँदै बोहराले विगतमा पार्टीमा उत्पन्न ठूलाठूला विवाद पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरण रहेको उल्लेख गर्नुभएको छ । ‘विधि र पद्धति पार्टीका प्राण हुन् । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरू हामीले बुझेकै छौँ । तर, हामी किन पार्टी विधानअनुसार विधि–पद्धतिको पालना गर्दैनौँ ?, बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौँ, जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरू कुनै स्वार्थ छन ? अनि हामीहरू किन नितान्त आत्मकेन्द्रित भएर सोच्दछौँ ?’विज्ञप्तीमार्फत आयोगका अध्यक्ष बोहराले प्रश्न गर्नुभएको छ ।

बोहराले कमीकमजोरीप्रति कम्युनिस्ट शैलीअनुरुप आत्मालोचना गर्न, पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णय कार्यान्वयन गर्न, पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी काम छिटो सम्पन्न गर्न पनि आग्रह गर्नुभएको छ । विज्ञप्तीमा ३ महिनाका काम सक्ने भनेर भाखा राख्दै आए पनि साडे दुई बर्ष त्यसै बितिसकेको तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित्त गरेको निर्णयसमेत आजपर्यन्त अलपत्र पारिएको भन्दै निर्णय कार्यान्वयन गर्ने तत्परता आवश्यक रहेको उल्लेख छ ।