पार्टी विभाजन हुन दिइन्न: वामदेव


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । हिजो तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेकाले पार्टी विभाजनको दिशामा नजाने बताउनुभएको हो । उहाँले म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु, मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन भन्दै पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको बताउनुभएको छ ।

उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो । उहाँले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताउनुभयो । गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले नीति, विधि, पद्धति र पार्टीको घोषणपत्रअनुसार काम गर्नु पर्नेमा जोड दिनुभएको थियो ।