यस्तो पो नवजोडी !


काठमाडौं । दश, बीस हजार रुपैयाँमा इज्जत प्रतिष्ठाको ख्याल नगरी भ्रष्टाचार गर्ने, अर्कालाई मार्ने पार्ने, झुक्याउने र आफ्नो केही नदिने अर्काको पाएसम्म केही नछोड्ने प्रवृत्ति हाम्रो गाउँ सहरमा मौलाइरहेको बेला एक जोडी नवदम्पतिले समाजका लागि एक उदाहरणीय कार्य गर्नुभएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल निवासी सुनीता थापा र संखुवासभा चैनपुर वडा नं ९ निवासी रमेश कार्कीको जोडीले आफ्नो दाम्पत्य जीवन सुरुवात गरेको सन्दर्भ पारेर हालै आफूले पढेको शारदा मावि सञ्चालन, स्तरोन्नति र प्लस टु सञ्चालन हुँदा सहयोग पुगोस् भनेर त्रिशूलीमा अवस्थित उक्त विद्यालयका लागि रु एक लाख रुपैयाँ हालै सहयोग गरेर गाउँको विकास र शिक्षाप्रतिको आफ्नो चासो र भोक सबैले देख्ने, बुझ्ने र प्रेरणा लिनुपर्ने गरी देखाउनुभएको छ । उहाँहरूको जोडीले आफ्नो विवाहको खर्च कटाएर विद्यालयलाई एक लाख सहयोग गर्नुभएको हो । उहाँहरूमध्ये रमेशले उक्त विद्यालयमा अध्ययन गर्नुभएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाखमान तामाङलाई उहाँहरूले एक समारोहका बीच सो रकम हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा बोल्दै रकमदाता रमेश कार्कीले गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता भएको र गरिबका छोराछोरीले पनि राम्रो शिक्षा पाऊन् भनेर आफूले पढेको विद्यालय त्यही रूपमा अगाडि बढोस्, गुणस्तरीय शिक्षा पाउने मन्दिर बनोस्, यो विद्यालयको स्तरोन्नति होस् भनेर आफूले यो सानो सहयोग गरेको बताउनुभएको थियो । उहाँले समारोहमा बोल्दै आफूले गरेको सहयोग रकम ठूलो कोषमा वृद्धि भएको र उक्त कोषले जेहेन्दार छात्रछात्रा र गरिबका मेहनती विद्यार्थीहरूले शिक्षा पाऊन् भन्ने आफ्नो उद्देश्य रहेको बताउँदै विद्यालय सञ्चालक समितिले त्यो कुरालाई मनमा राखेर विाद्यालयको श्रीवृद्धि गर्ने कुरामा आफू विश्वस्त रहेको र आफूले सकेको सहयोग विद्यालयलाई सँधै गरिरहने बताउनुभएको थियो । कक्षा १० सम्म सोही विद्यालयमा अध्ययन गर्नुभएका रमेश र काठमाडौंमा अध्ययन गर्नुभएकी सुनीता दुवै अहिले नेपाल सरकारको कर्मचारी हुनुहुन्छ । सुनीता र रमेश गत मंसिर १६ गते वैवाहिक सम्बन्धमा गाँसिनुभएको थियो । उहाँको शिक्षाप्रतिको मोह र जिम्मेवारपूर्ण कार्यले आममानिसलाई प्रेरणा दिएको छ । रमेश र सुनीताको दाम्पत्य जीवन सुमधुर, सुखद र समृद्ध बनोस् यो पंक्तिकारको पनि शुभकामना ।