म नियमित कर्म गर्नसक्ने कर्मयोगी हुँ: कोरियोग्राफर जेनिशा


पछिल्लो समय कोरियोग्राफीबाट सेलिबे्रटी बन्नुभएको छ, जेनिशा डंगोल महर्जन । नृत्यकै कारण आज उहाँ सेलिब्रेटी बन्न सफल हुनु भएको हो । यस क्षेत्रप्रतिको उहाँको लगाव र सफलतालाई लिएर उहाँले वाहवाही बटुल्न सफल हुनुभएको छ चौतफी रूपमा । जेनीशाको कार्यले या क्षेत्रमा यतिबेला एक खालको उचाइ प्राप्त गरेको छ । ‘कर्म गर्नु पर्छ फल मिल्छ’ भन्ने स्वभाव भएकी उहाँको समय कसरी राम्रो कोरियोग्राफ गर्ने भन्नेमा नै बित्ने गर्छ । स्वदेशमा मात्रै नभएर विदेशमा समेत कोरियोग्राफीका कारण चर्चा बटुल्न सफल कोरियोग्राफर गर्नेका बीचमा एउटा सफल पात्र हुनुहुन्छ । उहाँको आगमनले यो क्षेत्रमा नृत्यलाई सोच्ने र हेर्ने तरिकामा परिवर्तन भएको छ । कोरियोग्राफीलाई फरक तरिकाले व्याख्या गर्न सक्ने ल्याकत राख्ने जेनिशासँग छलफल साप्ताहिकका लागि डम्बर बस्नेतले गर्नुभएको कुराकानीः

कत्तिको गाह्रो काम हो कोरियोग्राफी र कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हरेक काम आफैँमा सजिलो र गाह्रो हुन्छ । मात्र के हो भने त्यो कामप्रतिको तपाईंको लगाव कस्तो छ ? तपाईं कामप्रति कति समर्पित हुनुहुन्छ ? तपाईंको प्यासनको काम हो या जबरजस्ती गरिरहनुभएको छ । त्यसमा भर पर्छ भन्ने लाग्छ मलाई । मेरो प्यासनको काम हो कोरियोग्राफी त्यसैले मैले राम्रै नै गरिरहेकी छु जस्तो लाग्छ । तर मैले अझै धेरै गर्न बाँकी छ, यो क्षेत्रमा मैले । देश विदेशका विभिन्न कार्यक्रममा भाग लिइरहँदा मलाई मेरो देश र आफैँमा अझै केही गरौं भन्ने लाग्छ । अहिलेसम्मका प्रस्तुतिमा सन्तुष्ट नै छु । तर, मैले यो क्षेत्रमा अझैँ धेरै गर्नु छ । हामीले आफूले रोजेको क्षेत्र र अँगालेको पेसामा सन्तुष्ट रहनु पर्दछ । म किन पनि सन्तुष्ट छु भने मैले यस पेसाबाट मान सम्मान र पहिचान बनाएको छु । राम्रो आय आर्जन पनि गरिरहेको छु । फेरि म यो क्षेत्रमा बेग्लै पहिचान बनाउन आएको हुँ । नृत्य क्षेत्रको विकासमा योगदान गर्न पाउनु मेरो सौभाग्य पनि हो । यहीँबाटै मैले अवार्डहरू पनि प्राप्त गरेको छु भने म सन्तुष्ट नहुने कुरै नै रहेन ।

के हो कोरियोग्राफी ?

नृत्यका लागि शरीरका विभिन्न अंगलाई सञ्चालनको क्रम एवं रूपको डिजाइनलाई नृत्य रचना या कोरियोग्राफी भन्ने गरिन्छ । जो व्यक्ति, नृत्यकार या कलाकार यो कार्य गर्छ, उसलाई ‘नृत्य रचनाकार’ या नृत्य संयोजक’ या ‘कोरियोग्राफर’ भनिन्छ । फरक फरक विधाको कार्य फरक फरक हुन्छ । फेशनको फरक हुन्छ, म्युजिक भिडियो र चलचित्रको फरक हुन्छ । नृत्यसँग संगीतको, शब्दको सम्बन्ध हुन्छ । जुन किसिमको धुन छ, त्यहीअनुसारको नृत्य हुन्छ । संगीतको भावअनुसार स्टेप सिकाइन्छ अर्थात कोरियोग्राफी गरिन्छ । शब्दले के भनेको छ ? त्यो पनि विचार गर्ने गरिन्छ ।

कत्तिको सजिलो पेसा हो यो ?

सर्वप्रथम त आफूमा यससम्बन्धी ज्ञान हुन जरुरी छ । कोरियोग्राफी हेर्दा सजिलोजस्तो लाग्छ तर देखेजस्तो सजिलो भने हुँदैन । यसमा सबै पक्षलाई समेट्न सक्नुपर्छ । सानो सानो कुरामा ध्यान दिनु पर्ने भएकाले सजिलो छजस्तो मैले अनुभव गरेको छैन ।

कसरी सोच आयो यो क्षेत्रमा आउने ?

नृत्य गर्नु मेरो सानैदेखिको लगाव हो । यो क्षेत्रमा आएपछि यो क्षेत्रबाट टाढा जान नसकिने रहेछ । यसको कीराले टोकेपछि यो क्षेत्रबाट टाढा जान नसकिने रहेछ । सायद ममा पनि त्यो लागू भयो होला । कोरियोग्राफी मात्र होइन, जति पनि यो क्षेत्रसँग सम्बन्धित छ म यो क्षेत्रबाट टाढा जान सक्दैन ।

तपाईं सफल हुनुहुन्छ यो क्षेत्रमा ?

सफलताको मापन केले गर्ने ? आय आर्जनको रूपमा हेर्दा पनि आफूलाई चाहिने आर्जन गरेकै छु, देश विदेशका काममा व्यस्त छु, निरन्तर काम पनि पाएकै छु र सबैभन्दा महत्वपूर्ण कुरा भनेको दर्शकहरूको माया तथन समाजले राम्रो नजरले हेरेको पाउँछु । अनि म सबैको रोजाइमा पनि छु, यसलाई मैले कसरी व्याख्या गरूँ ? म सफल छु भन्दा पनि म नियमित कर्म गर्न सक्ने कर्मयोगी हुँ । म मेरो काम कसरी विभिन्नतासँगै उत्कृष्टता दिन सकिन्छ भन्ने कुरामा चिन्तित कोरियोग्राफर हुँ ।

पहिला र अहिलेको कोरियोग्राफीमा के फरक छ ?

पहिलाको र अहिलेको एउटै हो तर विधाअनुसार भने फरक पर्छ । स्टेज र चलचित्र वा भिडियो केको कोरियोग्राफी गर्ने हो त्यसले अर्थ राख्छ । पछिल्लो समय धेरै कुराको विकास पनि भएको छ । प्राविधिक हिसाबले पनि अहिले सुरुका तुलनामा भिनन्ता आएको छ । फेरि व्यक्ति, प्रतिभाअनुसार पनि फरक फरक तरिकाले कोरियोग्राफीमा कला प्रस्तुत गरिएको हुन्छ ।

सुधार गर्नुपर्ने कुरोहरू के कस्ता छन् ?

हरेक क्षेत्रमा सुधार आवश्यक छ । यो क्षेत्रमा पनि आवश्यक छ । तर, सबैभन्दा पहिले सुधार आफैँमा हुनु पर्दछ । हामीले कामका लागि काम होइन, विशिष्ठता र उत्कृष्टताको लागि काम गर्नु पर्दछ । अरूले गरेकोभन्दा फरक काम ग¥यौं भने फरक पहिचान बन्दछ । सबैले आफूमा भएका कमी कमजोरीलाई सुधार्दै लग्यौं भने यो क्षेत्रमा आफैँ सुधार आउँछ भन्ने लाग्छ मलाई ।

¥याम्पमा पनि कोरियोग्राफी भएको पाउँछौ गीतमा पनि हुन्छ । ¥याम्प र गीतको कोरियोग्राफीमा के फरक छ ?

हो, कोरियोग्रिफीका क्षेत्रहरू फरक–फरक छन् । गीतको कोरियोग्राफीमा गीतले के माग्छ त्यो दिन सक्नुपर्छ । कोरियोग्राफीमा ‘ब्यूटी एण्ड ब्रेन’ आवश्यक हुन्छ । ¥याम्पको कोरियोग्राफी अभिनय र कोण विशेषमा मात्रै सीमित हुँदैन यसमा सबै पक्ष समेटिएको हुन्छ । जस्तै कसरी हिँड्ने, कसरी बोल्ने, कति बोल्ने, कुन भाषा बोल्दा उपयुक्त हुन्छ यसमा समेटिन्छ । गीतमा पनि त्यस्तै हो । गीतले के भन्छ त्यहीअनुसार हाउभाउ दिने हो । गीतको भावअनुसार कोरियाग्राफ हुनु जरुरी हुन्छ ।
तपाईंको सिर्जनालाई पूरा गर्न सकेका छन् त आयोजकले ?

म नेपालमा मात्र नभएर नेपालबाहिर पनि काम गरिरहेकी छु । मलाई प्रत्येक कोरियोग्राफीमा नयाँ नयाँ सोच र फरकपन दिन सकुँ भन्ने लाग्छ । कसरी फरक र राम्रो बनाउँ भन्ने सोच हुन्छ हरपल ममा । तर, मेरो सोचभन्दा पनि कहिलेकाहीँ बजेटको दायराभित्र बसेर काम गर्नुपर्ने हुन्छ । धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । र, त्यसले पनि फरक पार्छ धेरै कुरामा । बजेटका कारण यो अलिक राम्रो गर्न सकिएन भन्नेचाहिँ हुन्छ । तर पनि म सिर्जनशील नै हुने कोसिसमा हुन्छु, आफ्ना कार्यहरूमा ।

तपाईं हिपअप आर्टिसका साथै हिपअप फाउण्डेसनको फाउण्डरसमेत हुनुहुन्छ ?

हो, हिपअप आर्टिसका रूपमा पनि मेरो आफ्नै पहिचान छ । त्यस्तै नेपाल हिपअप फाउण्डेसनकी फाउण्डर हुँ म ।

हिपअप नृत्य के हो ?

हिपअपमा विभिन्न तरहका शैलीमा नृत्य गरिन्छ । विशेष रूपमा यसमा ब्रेकिंग, लाकिंग र पापिंग समावेश छन् । यसको विकास अश्वेत र ल्याटिन अमरिकीले गरेका थिए । फ्रिस्टाइलिंग, बेटल्स र साइफर्स यी तीन हिपअप नृत्यका प्रमुख घटक हुन् ।

विदेशका विभिन्न कार्यक्रममा पनि कोरियोग्राफरका रूपमा कार्य गर्नुभएको छ कत्तिको सजिलो छ विदेशीलाई सिकाउन ?

मैले यूएस एम्बेसी नेपाल टुर सन् २०११ देखि १५ सम्म सात टा देशमा कोरियोग्राफी गरेँ । सन् २०१५मा फिलिपिन्समा नेपालको तर्फबाट प्रतिस्पर्धामा सहभागी भएर विजेता भए भने मेघा डान्स कम्पिटिसन २०११ को पनि विजेता हुँ म । त्यस्तै हिपअप अन्तर्राष्ट्रिय मेडल तथा बेस्ट डान्सर जस्ता थुप्रै उपाधि चुम्न पनि सफल भएँ । धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त भएको छ, मलाई । पछिल्लो दश वर्षदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कार्यक्रममा कोरियोग्राफी गरिरहेकी छु । धेरै विदेशीलाई कोरियोग्राफ गरेकी छु । विदेशीलाई सिकाउन सजिलो नै हुन्छ तर केही भाषागत समस्या भने अवश्य हुन्छ । नेपाली कल्चर सिकाउन भने अलिक गाह्रो नै हुन्छ ।

चुनौती कत्तिको छ ?

चुनौती प्रशस्तै छन् । हरेकपटक नयाँ थिम दिनुपर्छ । यस हिसाबले चुनौती पनि धेरै छन् । विश्व मञ्चमा के चलेको छ, के नयाँ भित्रियो, के आउँदैछ, हरेक समय आफूलाई अपडेट राख्नुपर्ने हुन्छ । हिजोभन्दा आज र आजभन्दा भोलि अझ केही राम्रो गर्नु सक्नुपर्छ ।

अबको योजना ?

म कोरियोग्राफीको क्षेत्रबाहेक अन्य क्षेत्र सोच्न पनि सक्दिनँ । मैले यही क्षेत्रमा नै आफूलाई पूर्ण रूपमा समर्पित गरेकी छु । मेरो भावी योजना पनि यही क्षेत्रसँग सम्बन्धित नै छन् । अझ अझै यस क्षेत्रको समृद्धिमा इँटा थपौं भन्ने नै मेरा भावी योजना रहेको छ ।

यो क्षेत्रमा आउन चाहने नवप्रवेशीलाई केही सुझाव दिन चाहनुहुन्छ ?

सपना देख्नुहुन्छ भने त्यो सपना पूरा गर्ने प्रतिज्ञा र प्रतिवद्धतासहित आउनुहोस् । राम्रो काम गर्नसक्ने व्यक्तिले अवसर पाउँछ नै । तर, काममा फरकपन ल्याउनसक्ने खुबीको विकास गर्नुहोस् । बुझेर र दक्ष भएर आउन जरूरी छ भन्न चाहन्छु ।

अन्य क्षेत्रमा संलग्नता कस्तो छ ?

समाजसेवा मेरो संस्कार पनि हो । विभिन्न सामाजिक गतिविधिहरूमा पनि सहभागी भइरहेको हुन्छु । मेरो उपस्थितिले र मेरो सहयोगले समाजमा परिवर्तन हुन्छ भने मैले किन योगदान नगर्ने भन्ने लाग्छ मलाई । मैले सबैलाई यही भन्ने गर्छु हामी जो जहाँ छौ त्यहाँ उत्कृष्ट योगदान गर्दै आफ्नो माटो, समुदाय र राष्ट्रका लागि समर्पित होऔं । सबैभन्दा पहिलो हामी नेपाली हौं । नेपाली नागरिक हुनुको दायित्व निर्वाह गर्दै कर्म क्षेत्रमा संलग्न होऔं भन्ने मेरो अनुरोध छ । म पनि यसैमा प्रतिवद्ध छु ।

अन्त्य भन्न छुटेको केही छ कि ?

मलाई एकदमै खुसी लागेको छ किनभने मैले चाहेको कुरा गर्न पाएको छु । खुसी मिल्नसक्ने काम गर्दा आनन्द हुँदोरहेछ । यो क्षेत्रले मलाई नाम र दाम दुवै दिएको छ, सन्तुष्टि दिएको छ, त्यही नै हो ठूलो कुरा होइन र ? मेरो व्यक्तिगत र देशको नाम यो क्षेत्रबाट अझै उचाइमा उचाल्न सकूँ यही कामना गर्दछु ।