नेपाल टेलिकमको नयाँ टेक्नोलोजी घरघरमा


काठमाडौ । नेपाल टेलिकमले गत पुष १७ गतेदेखि एनटीटिभी ब्राण्डमा एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सेवाको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल टेलिकमले अत्याधुनिक सेवाका रूपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराउन लागेकोमा निकै उत्साहित भएको बताउँदै दिगो र भरपर्दो सेवाका लागि योजना बनाएर खटिन कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले यस्ता सेवालाई देशव्यापी बनाई सबै जनतासमक्ष पु¥याई कम्पनीलाई प्रतिस्पर्धामा अब्बल सावित गराउनु कम्पनीको दायित्व भएको बताउनुभएको थियो । यसैगरी समारोहका सभापति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरि सेवाहरू उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नुका साथै सेवाको मर्मत र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य राख्दै हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको उल्लेख गर्दै उहाँले यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रूपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताउनुभएको थियो । कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ । तत्कालका लागि काठमाडौं उपत्यकाका अधिकांश स्थानहरू र काठमाडौंबाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुने छ । राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरू उपलब्ध हुने एनटी टिभी सेवा बेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ । इन्टरनेट ब्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक फरक कायम गरिएको छ । उदाहरणका लागि, द्यबकष्अ एबअपबनभ (वेसिक प्याकेज) अन्तर्गत एक महिना अवधिका लागि १५ एमबीपीएस इन्टरनेट ब्याण्डविथसहितको एनटी टिभी सेवाको दर रु. १,२३० प्रतिमहिना रहेको छ भने एक वर्षको लागि १५ एमबीपीएस इन्टरनेटसहितको एनटी टिभी सेवा रु. १३,२२० मा उपलब्ध हुने छ । यसैगरी प्रिमियम प्याकेज अन्तर्गत एक महिना अवधिका लागि १५ एमबीपीएस इन्टरनेट ब्याण्डविथसहितको एनटी टिभी सेवा रु. १,४०० मा उपलब्ध हुने छ भने एक वर्षका लागि ६० एमबीपीएस इन्टरनेटसहितको एनटी टिभी सेवा रु २४,५०० मा उपलब्ध हुने छ ।

बेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुने छ । कम्पनीले तारवाला फोनका ग्राहकहरूलाई प्राविधिक रूपले सम्भव भएसम्म एफटीटीएचमा रूपान्तरण गरिरहेको अवस्थामा एफटीटीएचअन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टिभी सेवा उपलब्ध हुने छ । यसका लागि बेसिक प्याकेजअन्तर्गत एक महिनाको एनटी टिभी सेवा रु. ४८० मा उपलब्ध हुने छ भने एक वर्षको रु ५,७८० मा उपलब्ध हुने छ । यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहनु भएका एफटीटीएचका ग्राहकहरुले प्रिमियम प्याकेजअन्तर्गत एक महिनाको एनटी टिभी रु. ८०० मा प्राप्त गर्न सक्नुहुने छ भने १२ महिनाको एनटी टिभी रु ८,३०० मा प्राप्त गर्न सक्नुहुने छ ।