आत्मआललोचनाद्वारा मिलेर नेकपालाई संकटबाट बचाउ


काठमाडौं । जनताले सरकार सञ्चालन गर्न पठाएको पार्टी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख नेताहरूले पार्टी र सरकार सञ्चालनको जनादेशलाई लत्याउन खोजेको छन् । गत सम्पन्न लामो छलफल र बैठकहरुमा पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपले एकताबद्ध गर्ने अध्यक्षद्वयले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा देखिएका कमजोरी आत्मसात गर्दै अब त्यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता पनि नजनाईएका होइनन् । लामा वैचारिक छलफलपछि विभिन्न कोणबाट आएका नेता कार्यकर्ताका धारणालाई संश्लेषण गर्दै पार्टी सञ्चालन र एकताका सन्दर्भमा महत्वपूर्ण निर्णय नलिइएको पनि होइन ।

सञ्चालनमा देखिएका कमीकमजोरी हटाउने र पहिलेदेखि पार्टीलाई समस्यामा पार्दै आएको गुट भत्काउने कुराले नेकपाका नेता कार्यकर्ता पंक्तिमा मात्र होइन, जनतामा समेत आशाको सञ्चार गरेको थियो । तर यो विषय कार्यान्वयन हुन सकेन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि विकसित घटना क्रमले पार्टी फुटको संघारमा उभिएको छ, शक्तिशाली पार्टी र दुईतिहाई नजिकको शक्तिशाली सरकार भत्किन खोजेको छ । पार्टी विभाजन उन्मुख भएको छ । पार्टीभित्र बलियो एकता कायम हुँदासम्म यो सरकारलाई कुनै पनि शक्तिले ढाल्न सक्दैन थियो तर आफ्नै पार्टी भित्रको अन्र्तद्वन्द्वले गर्दा सरकार काम चलाउ भएको छ भने पार्टीका गतिविधिहरु दुईतर्फ भइरहेका छन् । त्यतिमात्र होइन, बैरीहरु नै हसाउने गरी प्रमुख नेताहरु गालिगलौजमा उत्तिनुभएको छ, एकले अर्कालाई सिध्याउने खेलमा लाग्नुभएको छ ।

यसले आखिर दुबैलाई सिध्याउने निश्चित छ । यो दुःखद विषय हो । यसो गर्नुको सबै मिल्नु उत्तम हुन्छ, मिल्न कठिन पनि छैन । किनकि यो सिद्धान्तको लडाइँ होइन गुट, स्वार्थ र व्यक्तिगत स्वार्थको कारणले संकट आएको हो । स्वार्थ त्याग गरेपश्चात यो सबै मिलिहाल्छ । यो पार्टी केपी, माधब, प्रचण्ड, झलनाथ, बामदेश, नारायणकाजीलगायत सबैले बनाएको हो तर यसको अर्थ उहाँहरुले मात्र बनाएको होइन । यसमा दोस्रो तहका नेतादेखि अग्रज नेता कार्यकर्ता सबैको सामुहिक योगदान र संघर्ष उत्तिकै ठुलो छ । यो पार्टी बनाउँदा र यहाँसम्म ल्याउँदा हजारौंले शहादत गरेका छन् । यस्तो अवस्थामा एकताबद्ध भएर पार्टीलाई बलियो बनाएर मुलुक र जनतालाई समृद्ध बनाउनुको सटा पार्टीभित्र अन्तरविरोध सृजना गरेर पार्टी एकतालाई नै विभाजित पार्नु नेकपा नेतृत्वको अदूरदर्शीता, मुर्खता र जनताको भाबना बिपरीतको अपराध कर्म हो । यो अपराध कर्म जसजसले गरेका छन्, त्यो जनताबाट क्षम्य हुनेछैन । अहिले मिलेर जनताको हितमा काम गर्नुपर्ने खाँचो छ, देशलाई समृद्धितर्फ लैजानुपर्ने छ, शुत्रुसँग लड्नुपर्ने छ, देशको अतिक्रमित भूमि फिर्ता ल्याउनु पर्नेदेखि विकास निर्माणका थुप्रै काम गर्नुपर्ने बेला छ । यस्तो असंवैधानिक काम गर्दा त्यसले ल्याउन राजनीतिक संकट र नेकपामा आउने संकटले कसैको पनि भलो गर्दैन । पक्कै पनि यो कुरा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नबुझ्नुभएको होइन होला तर, मुल नेतृत्वबीच फुट ल्याएर आफ्नो स्वार्थपूर्ति गर्ने गुट, देशीबिदेशी षड्यन्त्रकारी तत्व नेकपामा हाबी भएकाले अहिले यो पार्टीमा संकट आएको छ । त्यो संकटबाट मुल नेतृत्व र पार्टी नउम्कँदासम्म अहंकार, हठ र देशीबिदेशी षड्यन्त्रकारीको षड्यन्त्ररुपी आँधीबेहरीले नेकपालाई मात्र होइन, राजनीतिक स्थायित्व र विकासलाई समेत अवरुद्ध पार्ने छ, यो अनिष्ठको भूमरीले कसैलाई छोडनेवाला छैन ।

मुल नेतृत्वको कमजोरीमा खेलेर आफ्नो स्वार्थका रोटी सेक्ने मुल नेतृत्वका वरपरका पाखण्डी र स्वार्थीहरुबाट नेतृत्व जोगिन सक्नुपर्छ । यदि यसो हुन सकेन भने नेकपाको मुल नेतृत्वको मात्र होइन सिँगो नेकपाको पतनको दिनगन्ती सुरु हुनेछ । यससँगै नेतृत्वले अहिलेसम्म गरेका केही राम्रा कामले बनाएको छवीसमेत गुम्ने छ र मुलुकले अहिलेसम्म आर्जन गरेका उपलब्धिहरुसमेत गुम्ने छ । त्यसैले अहिले पनि समय घर्की सकेको छैन, समय बाँकी छ, पार्टी एकता गर्दादेखि केही समय अगाडि सम्पन्न सामुहिक बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजाने गरी दुबै तर्फबाट भएका कमीकमजोरी प्रति कम्युनिष्ट पार्टीको विधि प्रक्रिया आलोचना आत्मालोचनाद्वारा गल्ति सच्याउन दुबै तर्फका नेता तयार भए अहिलेको संकटको निवारण हुनेछ । किनकि पार्टी उपाध्याक्ष बामदेब गौतम यो अभियानमा अहिले पनि लागिरहनु भएकाले यसमा सबैको होस्टेका हैसे भए नेताहरुका नमिलेका मन बसेर मिलाउन नसकिने अवस्था हुँदैन । प्रमुख नेताहरुले पनि हदैसम्म लचकता देखाउनुपर्छ । यो संकटबाट पार्टीलाई जोगाउन गुट भत्काऔँ, अहंकार र व्यत्तिगत स्वार्थ त्यागौं, नमिलेका मनहरु मिलाऔं, अरुका कुरा नसुनौ, सामुहिक निर्णय ब्यत्तिगत जिम्मेवारीलाई परिपालना गरौँ, पार्टीमा अहिले पदीय भागबण्डा नमिलेर, स्वार्थहरु बाझेर अन्योलता देखिएको छ । त्यसलाई हटाऔँ र आजको नेपाली समाजमा जे गर्दाखेरी जनताको मुक्ति र समृद्धि हुन्छ, जनता खुसी हुन्छन् र जनताको आवश्यकता पूरा हुन्छ त्यही खालको काम गर्न प्रमुख नेता लाग्नुस नमिल्ने नहुने कुरै छैन । किनकि जनताले कुनै नेतालाई होइन, कम्युनिस्ट पार्टीलाई विश्वास गरेर भोट हालेका हुन् । जनतामा कम्युनिस्ट पार्टीको बहुमतको सरकार हेर्ने चाहना र त्यो सरकारले केही गर्ला भन्ने विश्वास गरेका हुन, नेतालाई सुविधाभोगी शासक बनाउन होइन, आफ्नो सेवक बनाउन ज्यानको बाजी लगाएर बम र बारुदका छर्रा छल्दै आफनो हित गर्ने सरकार बनाउन भोट हाल्न गएका हुन्, जिताएका हुन् र पार्टीमा पनि त्यही सोच शैलीका कार्यकर्ता समर्थक छन् । जनताले नेतालाई प्रधानमन्बत्री, मन्त्री र सांसद मात्र बनाउन मत दिएका होइनन् । यसको हेक्का नेताले राख्न सकिरहेका छैनन् । त्यसैले अहिले देखिएको संकट टार्न सबै लचिलो भएर नयाँ योजनासहित जान नेतृत्व पछि पर्नुहुँदैन ।

नेकपाका केही नेता कार्यकर्ताको बानीबेहोरा, आचरण र कार्यशैली बिग्रिएको छ, सरकारमा गएका र पार्टीकै केही नेता कार्यकर्तामा पुँजीवादी शैलीको विकास भएको छ । हिजोका सामन्त, राजामहाराजाहरूले पदमा पुगेपछि अपनाउने शैली र परिपाटीको विकास हुन थालेको छ, यसको अन्त्य हुनुपर्छ । सत्तामा पुगेर नेताले ऐसआराम गर्ने होइन संघर्षपूर्ण जीवन जीउँदै जनताका पक्षमा काम गर्नुपर्छ । अहिले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता सत्तामा पुगेर भोगविलासमा लिप्त हुन थालेपछि जनतामा कम्युनिस्ट पार्टीप्रति वितृष्णा जागेको छ । त्यसैले जनताले गरेका आलोचनालाई सकारात्मक रूपमा लिँदै कम्युनिस्ट आचरणमा आफ्नो जीवनशैली र नीति, विधि, पद्दति, सामुहिक निर्णयमा पार्टी चलाउनुपर्छ । विभाजनमा होइन एकतामा शक्ति, विकास र समृद्धि खोज्नुपर्छ । यसका लागि नेताहरु फेरी मिल्नु र जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्नुको विकल्प छैन । त्यसतर्फ सबै नेताहरुको पहलकदमी आआफ्नो ठाउँबाट होस, देश, जनता र पार्टीपंत्तिलाई घात नहोस्, धोका नहोस् यति कामना ।