पार्टी चलाउन कार्यकर्ता, सेटिङ गर्न आफ्ना मान्छे चाहिने ?


मधुसुदन के.सी. खड्का, स्वतन्त्र राजनीतिज्ञ



तपाई ४३ वर्षदेखि कम्युनिष्ट पार्टीको राजनीतिमा लाग्नुभयो, अहिले त्यो पार्टी विभाजित भएको छ र तपाई स्वतन्त्र हुनुहुन्छ यसलाई कसरी लिनुभएको छ ?


म कम्युनिष्ट पार्टीको राजनीतिमा लागेको झण्डै ४३ वर्ष भएको छ । म विद्यार्थी राजनीतिहुँदै कम्युनिष्ट पार्टीको राजनीतिमा लागेको मान्छे हुँ । मलै त्यसबेलादेखि नेपाल कम्युनिष्ट पार्टी माले हुँदै एमालेको विभिन्न तह र तप्कामा रहेर काम गरेँ । अहिले त्यो पार्टी विभाजित भएको छ । नेपालका कम्युनिष्ट पार्टीहरू पटक पटक टुटफुट हुँदै आएका छन । यो नियतिबाट कुनै कम्युनिष्ट पार्टी अछुतो छैनन् । पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, मनमोहन अधिकारी जस्ता सादगी र त्यागी नेताले हुर्काएको यो पार्टीको अहिलेको मूल नेतृत्वले नीति, सिद्धान्त,अनुशासन,बर्गीयता र मुलुकलाई विश्वमा चिनाउने पहिचान सहितको हिन्दुराष्ट्र हटाएर पश्चिमाको डिजाइनमा धर्म निरपेक्षता ल्याए । हो राजा हामीले हटाउनै चाहेको थियौं हट्यो त्यो ठिक छ तर विदेशीको पैसा खाएर विश्वमा मुलुक चिनाउने पहिचान नै हटाउने कुरा ठिक भएन । पहिलो त्यो गल्ति भयो । अर्को पहिले मदन भण्डारी महासचिव हुँदा उहाँले पश्चिमको असल क्षमतावान कार्यकर्तालाई पिए राख्नुभएको थियो । तर अहिलेका नेताले काम गर्ने असल र त्यागी कार्यकर्तालाई केही नगर्ने आफ्ना चम्चे, आसेपासेहरूलाई पद र अवसर दिने, पिए छोराछोरीलाई भतिजा, साला, सालीलाई राख्ने गर्न थाले । पार्टी चलाउन, काम लगाउन, लेबी उठाउन चाहिँ कार्यकर्ता चाहिने, भ्रष्टाचार गर्न र सेटिङ्. गर्न चाँहि आफ्ना मान्छे चाहिने भएपछि मलाई विरक्त लागेर पार्टी नै छोडी स्वतन्त्र भएको हुँ । पहिले यसमा जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जस्तो जनवादी सिद्धान्त थियो, नीति कार्यक्रम थियो, नेता अनुशासित र सादगी थिए । त्यो बेला कार्यकर्ताले भनेका कुरा सुनिन्थे, देश र जनताका हितमा काम हुन्थे । जसको आलोकमा पार्टी अगाडी बढेको थियो । यसमा हजारौँको बलिदानी छ, लाखौंको सहभागिता र साथ सहयोग छ । यसैको छत्रछाँयामा जनताले यसलाई माया पनि गरे, सत्तामा पनि पुर्याए तर नेताहरूको स्वार्थले अहिले पार्टी नै ध्वस्त भयो, जनताबाट पार्टी अगलथलग भयो, पार्टीका नेताहरूले पार्टी र देश हैन गुट चलाए । त्यतिमात्र होइन कम्युनिष्ट नेताहरूका अयोग्यता, असक्षमता, सनक, अहंकार,कुण्ठा, इगो नीति, बिधि विपरित चल्ने घटिया ब्यवहार र स्वच्छाचारिताले आज पार्टी र राजनीतिमा यो अवस्था आयो भन्ने मेरो विश्लेषण छ ।

तपाई के कारणले कम्यनिष्ट पार्टीमा लाग्नु भयको थियो त ?


पन्चले ज्याजति गरे, भनेर ३६ सालमा त्यसका विरुद्धमा आन्दोलनमा उत्रियो । त्यस बेला कम्युनिष्ट काँग्रेस के हो त्यति थाहा थिएन । त्यो बेला जनमत संग्रह भयो, बहुदलले हार्यो । त्यसपछि काँग्रेस नेता बिपि कोइरालाले हामीलाई धाँधली गरेर हराईयो तर पनि यो निर्दलिय ब्यवस्थालाई स्वीकार गर्छौ, आन्दोलन गर्दैनौं भने । मलाई काँग्रेसको त्यो दोहोरो चरित्र र अवसरबाद मन परेन । त्यसले मलाई के पर्यो भने काँग्रेस बर्जुवा सामन्ती पार्टी रहेछ,यसले देश र गरिव जनतालाई केही गर्दैन, परिवर्तन ल्याउँदैन । खालि पन्चायती शासकलाई मात्र काँध थापेर हिँडछ, सामन्तको मात्रै हुँदो गर्छ भन्ने थियो, ब्यवहारमा पनि त्यस्तै थियो । तर कम्युनिष्ट पार्टीले त्यसको ठिक विपरित हामी जनताको हितमा काम गर्छौ, परिवर्तन ल्याउँछौ भन्यो । त्यसैले काँग्रेसमा लाग्नु भन्दा देश र जनताको हितमा काम गर्ने पार्टी, परिवर्तन ल्याउने पार्टी कम्युनिष्ट पार्टी नै रहेछ । यसमा लाग्दा मात्रै सबैको हित हुनेरहेछ, देशको विकास हुनेरहेछ,जनता सुखी हुनेरहेछन भनेर कम्युनिष्ट पार्टीमा लागेको थिए । त्यो बेला पार्टीले जनपक्षिय उम्मेद्धारको रुपमा पार्टीका नेतालाई निर्वाचनमा भाग लिन लगाएको थियो । उनीहरुलाई मैले भोट माग्न हिँडेको छु । पार्टीले गरेका साना ठुला सबै आन्दोलनमा भाग लिएको छु, पक्राउ परेको छु, नेताहरुसँगै थुनामा बसेको छु । तर पछिल्लो समय काम गर्दै जाँदा पार्टीमा बेथिति भयो, नेताहरूले राम्रो काम गरेनन्, मेरो कल्पना सपना भयो । नेताको यस्तै काम मन नपरेर र यसको अन्त्य होस भनेर म एमाले छोडेर स्वतन्त्र भएको हुँ ।


नेताले बेथिति गरे भने त तपाईहरुले सुधार्नु पर्ने हो, किन पार्टी नै छोडनु भएको त ?


पहिलेको लौह अनुसाशन नेताहरूले अआफ्नो स्वार्थ र घमण्डले तोडे । तल्लो कमिटीलाई चाँहि नीति, विधि, विधानमा चलाउ, कमिटी प्रणाली लागु गर,अनुशासनमा काम गर भन्ने माथि आफु चाँहि जे पायो त्यहि गर्ने, एकलौटी निर्णय गर्ने, आफ्ना आसेपासेलाई पिए बनाउने, भ्रष्टाचार गर्ने,पैसा कमाउने अवसर दिने र अनुशासन भंग गर्ने अनि पार्टी ध्वस्त पार्ने । तल्लो तहकालाई जर्बजस्ती पेल्ने,तलका कार्यकर्ताले बोल्नै नपाईने, सुझाब दिनै नपाईने, दिए,बोले कारबाही भोग्न तयार हुनुपर्ने । यस्तो भए पछि कसरी हुन्छ भनेर यसको अन्त्य गर्न पार्टी नै छोडेर स्वतन्त्र भएको हुँ ।


अब के गर्नु हुन्छ त ?


म अब कुनै पार्टीमा लाग्दिन, स्वतन्त्रै भएर सके जति जनताको हितमा निरन्तर काम गरिरहन्छु । अब आउने संघ र प्रदेशको निर्वाचनमा आफ्नै क्षेत्रबाट स्वतन्त्र रुपमै निर्वाचनमा उम्मेद्धार भएर उठछु ।

जनतामा जाने के छन त एजेण्डा ?

जनताको काम पहिलो प्राथमिकता, शिक्षा र स्वास्थ्यमा राज्यको लगानी हुनुपर्छ र त्यसको उपभोग जनताले निःशुल्क रुपमा गर्न पाउनुपर्छ । सार्वजनिक स्थानमा कर लिन कसैले पाउँदैन त्यसको उपभोग जनताले निःशुल्क रुपमा गर्न पाउनुपर्छ । त्यसैगरी सार्बजनिक स्थानमा बनेको शौचालयमा पैसा नतिरी दिशा पिसाब गर्न पाउनुपर्छ । त्यसो भयो भने मात्रै सहर फोहोर मैला हुँदैन । नत्र पैसा नहुनेले सार्बजनिक ठाउँमै छलिएर दिशा पिसाब गर्छ र सहर फोहोर हुन्छ, वातावरण प्रदुशित हुन्छ । यातायातको सिन्डिकेट तोडनुपर्छ । त्यसकालागि ठुला बसहरु सञ्चालनमा ल्याउनुपर्छ । सुकुम्बासी समस्याको समाधान गर्न सुकुम्बासीलाई जग्गा हैन ठुलाठुला घर बनाएर परिवार चल्ने गरिका कोठा वा फ्याईटमा निःशुल्क बस्न दिनुपर्छ । त्यसो भयो भने भुमाफिया र गिरोहले चलाउन, चलखेल गर्न र पैसा कमाउन पाउँदैनन् । बास्तविक सुकुम्बासीले राहत पाउँछन, विचौलियाहरुले ठाउँ पाउँदैनन् । त्यसैगरी कृर्षि पकेट जोनको विकास गरेर साँचो अर्थमा काम गर्ने सहि किसानलाई अनुदान दिने, मल विउ र औजार दिने लगानी लगाउने । कृषकलाई लगानी गरी कृर्षि उत्पादन बढाउने गरी योजना बनाएर खर्च गर्ने । कागजमा कृषक बनेर अनुदान हजम पार्नेलाई दण्ड दिने । जनता मारा उपभोत्ता समिति खारेज गर्ने, हित गर्ने समिति बनाउने । त्यसैगरी जलविद्युत र पर्यटनलाई आधार बनाएर लगानी गर्ने, आफुसँग पुगेन भने हाम्रा मुख्य धनि दाता राष्ट्रको लगानी भित्र्याउने र राष्टिय अर्थतन्त्रको विकास गर्ने । नेताका आफ्ना मान्छे पिए राख्न नपाउने, सरकारी कर्मचारीलाई तेल फि दिने, बिजुली फि दिने, हवाई टिकट फि दिने अतिरित्त काम नगरी खाजा खाना फि दिने, बर्षै पिच्चे पाठ्यक्रम फेर्ने, स्कूलमा फि बढाउने कामको अन्त्य गर्ने, मन्त्रीले जिल्लामा पैसा लिएर बाँडन जाने हैन, नीति नियम राम्रो बनाउने,कमिसन खाने र सेटिङ गर्ने कानूनी छिद्रहरु बन्द गर्ने, भ्रष्टाचार गर्नेलाई आजिवन कारवासको सजाय गर्ने र नीति गत भ्रष्टाचारको अन्त्य गर्ने लगायतका मुलुक र जनताको हितमा हुने मेरा थुप्रै एजेण्डा छन ।


यति राम्रा एजेण्डा हुँदाहुँदै स्थानीय निर्बाचनको मेयर पदमा हार्नुभएछ नि ?


मेरा एजेण्डा जनपक्षीय थिए, मेरो काम पनि जनताले चाहने नै थिए । तर यो बुर्जवा शैलीको निर्वाचन भयो, मतदातालाई पैसाले किनियो,पैसाको ठुलो चलखेल भयो, पैसाको खोलो नै बगाए पार्टीहरुले, मासु र भात त्यतिकै खुवाए । त्यतिमात्रै होइन ठुला मिडियाको रोल पनि राम्रो भएन, पैसा दिनेको प्रचार प्रसार ब्यापक भयो, पैसा दिन नसक्नेको उम्मेद्धार असल भएपनि प्रचार प्रसार नै भएन । मिडिया पनि बाएस भयो । यहि कारणले मेरा एजेण्डा जनहितमा भएपनि त्यसको कुनै अर्थ भएन र पराजित भएँ ।

अब फेरि स्वतन्त्र रुपमा निर्वाचन जित्न सकिएला त ?


किन नसक्नु सकिन्छ । यसपटकको स्थानीय निकायको निर्वाचनलाई हेर्नुस न । जिते त स्वतन्त्रले । जनताको हितमा काम गर्ने मान्छेलाई जनताले नै जिताउँछन । मेरा पनि जनताकै हितमा काम गर्ने खास एजेण्डा छन । त्यसैल मलाई आशा छ,आउने निर्वाचनमा जनताले जिताउँछन ।

मेयरमा उम्मेद्धारी दिएर निर्वाचनमा लडनु भयो जनताका माग के के रहेछन त ?
सन्तुलित बिकासलाई जनताले जोड दिईरहेका छन । बिकास भनेको सडक मात्रै बनाएर, गाडी मात्रै कुदाएर, नहर,कुला, पैनि मात्र बनाएर, बिद्यालय, अस्पताल र खेलमैदान मात्रै बनाएर हुँदैन, सबै समान रुपले निर्माण गर्नुपर्छ भन्ने कुरा जनताको छ । यो कुरालाई ध्यानमा राखेर कृर्षि, पर्यटन, गुणस्तरीय शिक्षा, स्वास्थ्यसेवा, भुमिको ब्यवस्थापन, सुकुम्बासी, दलित, महिला, बालबालिका, जेष्ठ नागरिक लगायत सबैका समस्या र भ्रष्टाचारको अन्त्य एवं सुशासनको प्रत्याभुतिका साथै समावेशी सहभागिता, उद्यम, पुर्वाधार र मानवीय श्रमको बिकास जस्ता कुरालाई जनताले उठाईरहेका छन ।

मुलुकको विकास नहुनुमा कसको दोष छ, निकास के हो ?


राजनीतिक नेतृत्वको दोष छ । किनकि नेताहरुनै सत्ता र पदमा छन, उनीहरुले नै मुलुकको ढुकुटी सञ्चालन गरेका छन । नीति र राजनीति राम्रो नभै देशको विकास हुँदैन । राजनीतिमा हाम्रा नेता असल भएनन् । देशको राजनीति नसुध्रिएकैले हरेक समस्या आएका हुन । राजनीति राम्रो लिकमा हिँडे देश विकासको लयमा हिँडछ । यो नहुँदा समस्या भएको छ । अर्थात मन्त्री ठिक भए मात्र सचिब ठिक हुन्छ, मन्त्री नै बिग्रिए के हुन्छ ? यसर्थ गाईड गर्ने राजनीतिले हो । राजनीतिले मुलुक र प्रणालीलाई गाइड गर्न नसक्दा मुलुकको दुगर्ति भएको हो ।


यसर्थ यसको निकासको लागि संविधानले प्रत्याभूत गिरेका मौलिक हकको कार्यान्वयन हुनुपर्छ । जनताको लक्ष्य,उद्देश्य हासिल गर्न समन्यायिक वातावरण सिर्जना गरी सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्दै न्यायपूर्ण समाजको निर्माण गर्नुपर्छ । नागरिकको स्वास्थ्य, श्रम, उत्पादन, व्यापार, कृर्षि, पर्यटन, जल लगायतका क्षेत्रमा लगानी गरी अर्थतन्त्रलाई चलाएमान बनाउनुपर्छ । त्यसका लागि बाह्रय लगानी भित्र्याउनुपर्छ । साथै राष्ट्रिय रणनीति अन्र्तगत तिब्र र दिगो विकास गर्नुपर्छ । उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ । आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माणमा जोड दिनुपर्छ ।


अर्को कुरा १५ लाख जनता भएको दुबईले पानी र खानी बेचरे हाम्रै देशबाट गएका १२ लाख श्रमिकलाई आकर्षक तलब दिन सक्ने भयो, हामी गरिवको गरिव । यसको कारण प्राकृति श्रोत साधनको सहि उपयोग हुन नसक्नु हो । जल र पर्यटनको राम्रो उपयोग गर्न सके हामी त्यस्तै धनी बन्न सक्छौं ।