
काठमाडौं । संघ र प्रदेशको निर्वाचनको मिति नतोकिए पनि संविधानले तोकेको आवधिक निर्वाचनको मिति भने अब नजिकिँदै छ । अहिलेको प्रतिनिधि सभाको समय यही आउने मंसिरमा सकिँदैछ । त्यसकारण यही मंसिरमा सरकारले निर्वाचन गरी सक्नु पर्ने छ । यसको मिति नजिकिएसँगै दलहरूका प्रचार प्रसार र पार्टी प्रवेशका कार्यक्रमहरू तीब्र गतिमा भैरहेका छन । हिजो मात्रै एमाले अध्यक्ष केपी ओलीले विभिन्न पार्टीका धेरै नेता कार्यकर्तालाई झापा र इलाममा पार्टी प्रवेश गराए । यस्ता कार्यक्रम ठूला सबै पार्टीहरूले गरिरहेका छन र दलहरूका बिचमा गठबन्धन गर्ने छलफल बहस पनि चलिरहेकै छ । यद्यपि गठबन्धनका बिचको विश्वसनियता र सहमति कार्यान्वयनले भने स्वयं गठबन्धनका पार्टी नेताहरूमा मात्रै होइन जनतामा समेत आशंका जन्माएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनमा होस वा प्रतिपक्ष दलको भनाई र गराइमा होस सबैमा आशंका उब्जेको छ । किनकि यहाँ न नीति, सिद्धान्त मिलेको छ, न उद्देश्य र कार्यक्रम नै मिलेको छ । त्यतिकै गठबन्धन गर्ने भनेको छ, केन्द्र बनाउने भनेको छ, काम केही भएको छैन, मिलन विन्दु के हो केकालागि गठबन्धन गर्ने हो भन्ने बारे गहिरो अध्ययन र छलफल छैन खाली स्वार्थ मिलेको छ, पात्र र प्रवृत्ति मिलेको छ, अन्य केही कुरा मिलेको छैन् । यि सबै दलका कथनी एउटा छ, करनी अर्को छ । यही असैद्धान्तिक बेमेल र नेताहरूका अस्वस्थ स्वार्थ एवं अनैतिक आचरण र गतिविधिले मुलुक संकटमा गैरहेको छ, भ्रष्ट्राचारले चरम रूप लिएको छ, मुलुक नै असफल बन्ने हो कि भन्ने सन्त्रास बढेको छ ।
हालै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले देखाएको आर्थिक ग्राफ र जनप्रतिनिधिहरूले गरेको भ्रष्ट्राचारको ग्राफलाई हेर्न हो भने मुलुकको अवस्था श्रीलंकाकै बाटोमा जाँदै गरेको तस्वीर स्पष्ट देखिएको छ । तर नेताहरू अहिले पनि यसमा सम्वेदनशिल छैनन्, मोज मस्ति, व्यक्तिगत सम्पत्ति आर्जन, कुर्सीको होडबाजी र आफ्ना आसेपासेको स्वार्थ पुरा गर्ने काममा मात्रै छन् । यसले जनतालाई धोका भैरहेको छ, लोकतन्त्र र संविधानलाई धोका भैरहेको छ । अहिले लोकतान्त्रिक भनिएका दलका नेताहरूका भनाई र गराइले संघीय र प्रदेश निर्वाचनका दिन आक्रमण, हत्या हिंसाको सम्भावना नहोला भन्न नसकिने अवस्था छैन । यसले निर्वाचन परिणाममा मात्र होइन पार्टी, पद्यति, नेतालाई त कमजोर पार्छ नै मुलुक, जनता र लोकतन्त्रलाई नै कमजोर पार्छ । किनकि अहिलेको राजनीतिक स्वार्थ मिल्यो जे पनि गर्ने, मिलेन सबै भत्काउने र विगार्ने प्रबृत्तिको बढोत्तरी भैरहेको छ । यसले राजनीतिमा अस्थिरता त ल्याउँछ नै बैदेशिक चलखेल बढाई मुलुकको स्वाधिनता र अखण्डतामै समस्या ल्याउँछ । यसर्थ यसलाई ध्यानमा राखेर नेताहरुले आफ्ना गतिबिधि अगाडि बढाउनुपर्छ । अहिले नमिले पनि भोली राष्ट्र र जनतालाई अप्ठ्यारो पर्दा मिल्नुपर्छ, मुलुक र जनताको पक्षमा एक भएर लडनुपर्छ भन्ने कुरालाई हेक्का राख्नै पर्छ । त्यसो भएन भने भोली निर्बाचनमा जस्तोसुकै मत परिणाम आए पनि मुलुक नै नरहने अवस्था भयो भने त्यो निर्वाचन परिणामको कुनै अर्थ हुँदैन । त्यसैले निर्वाचन अगाडि दलहरुले गर्ने व्यबहार अपनाउने आचरण स्वस्थ्य र भाईचारायुत्त हुनु सबैको हितमा हुन्छ । अहिले जनता समस्यामा छन्, महंगि र मुल्यबृद्धिको चपेटामा छन्, यसले सबैलाई आक्रान्त पारेको छ, उत्पादन बढेको छैन्,आयात बढदो छ, निर्यात घटदो छ । यसले व्यापार घाटा सबैमुलुक सँग बढिरहेको छ । त्यतिमात्र होइन अहिले मुलुकमा रोजगारी छैन्, उत्पादन छैन्, रेमिट्यान्सले देश चलिरहेको छ, राजनीतिक स्थायित्व छैन, नेताहरूमा बेमेल छ, सत्ता राजनीतिको स्वार्थले उनीहरुलाई घेरेको छ । जस्ले गर्दा विकास र पुर्बाधारका कामहरु भएका छैनन्, दुईवटा बाहेक ठूला राष्ट्रिय गौरबका आयोजना कुनै निर्माण सम्पन्न हुन् सकेका छैनन् ।
जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरु देश र जनताको हितमा छैनन्, कसरी सम्पत्ति आर्जन गरौँ भन्ने दाउमा मात्र छन् । यसले सामाजिक व्यथितिदेखि लिएर कानूनी र नैतिक आचरणमा समेत बदलाब ल्याउने देखिएको छ । यो अर्को ठुलो समस्या हो । त्यसैगरी अहिले अमेरीकि विदेश सहायक मन्त्रीले नेपालको भ्रमण गरिरहेका बेला मुलुकको स्वाधिनतासँग गाँसिएको एसपीपी कार्यक्रम र त्यसले मुलुकमा पार्ने दुरगामि असरलाई हेरेर नेताहरुले निणर्य गर्नुपर्छ । अहिले एकछिन पाहुना खुसि पार्ने निणर्य गरेर भोली पछुताउनुपर्ने काम नेताहरुले गर्नुहुँदैन र यसमा कसैको स्वार्थमा पनि कामहुन दिनुहुँदैन । त्यो ढंगको परराष्ट्र नीति बनाउनुपर्छ । यसतर्फ सबै नेताको ध्यान पुग्नुपर्छ । विशेस गरी पाँचदलिय सरकारको ध्यान त्यसतर्फ पुगोस |