काठमाडौं । राजधानी लगायत अधिकांश सहकारीहरू यतिखेर धमाधम बन्द हुने अवस्थामा छन् । कतिपय बचतकर्ताको रकम नै लिएर भागिसकेका छन् भने भाग्ने क्रम जारी छ । सहकारी बचतकर्ताको करोडौं रकम लिएर टाप कसेपछि उनीहरूले सहकारी घेर्ने र आन्दोलन गर्ने गर्न थालेका छन । उपत्यका बाहिरी जिल्लाका सहकारीहरू भागेर बचतकर्ताहरू सडकमा ओइरिएका छन् । केहि महिना अघिदेखि सहकारीको भाग्ने क्रम ह्वात्तै बढेको पाइन्छ । अहिले जताततै सहकारी भागेका कुराहरू मात्र सुन्नमा आइरहेको छ । हाम्रो पैसा डुब्यो भनेर बचतकर्ताहरू पिरोलिएका छन् । अरुको अवस्था देखेर हाँस्नुको साटो बचतकर्ताले आफ्नो बचत भएको सहकारीमा गएर बुझ्नु पर्ने बेला भएको छ । किन कि यतिबेला सहकारीमा भएको सबै रकम कुम्ल्याएर सञ्चालक बेपत्ता भएका र हुन थालेका छन् । पछिल्लो समय एक हजारदेखि २० लाख सम्म डुबेको कुराहरू बाहिर आइरहेका छन् ।
उपत्यकामा एउटै घरमा पाँच वटासम्म सहकारी भएको र ती सहकारीले दैनिक बजारबाट रकम उठाएपनि उचित ठाँउमा लगानी नगर्दा डुबेको स्पष्ट देखिन्छ । सरकारको अनुगमन, नियमन निकायले बेलाबखत सहकारीको अनुगमन गर्ने चासो नदेखाउँदा आज सयौं निक्षेपकर्ताको करोडौं डुब्ने अवस्था बनेको छ भने भाग्ने सहकारीको खोजतलास राम्ररी हुन् सकेको छैन । अर्को कुरा निक्षेप कर्ताको पनि लापरबाही भएको देखिएको छ । किनकि निक्षेपकर्ताले सहकारीको साधारण सभामा जाने र गएबापत खाममा पैसा बोकेर हिँड्ने बाहेक केही गरेका छैनन् । उनीहरूले त्यहाँ गएर कार्यसमितिका सदस्यहरूलाई समेत चिनेका छैनन् ।
सहकारीहरू धेरै भागेको र धेरैले पैसा हिनामिना गरेको भनेर सहकारी विभागले भनिरहेको छ । विभागले यसो भनिरहँदा जनता आफै पनि अलिकति जागरुक हुनुपर्ने थियो । त्यो भएको देखिएन । जसले गर्दा सहकारीको ठगीधन्दा बढ्न पुगेको हो । यद्यपि बजारबाट पैसा उठाउन कर्मचारी खटाउने क्रम भने अहिले पनि रोकिएको छैन् । सरकारले च्याउ उमारे जसरी सहकारी खोल्न दिँदा र अनुगमन नियमन फितलो हुँदा यो अवस्था आएको अर्थ विज्ञहरूको भनाई छ ।