कांग्रेस जिल्ला सभापति भेलामा देउवा र उनका मन्त्रीको आलोचना


असार २४ गते, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको जिल्ला सभापतिहरुको भेला १४ बुँदे प्रतिबद्धता जारी गर्दै शुक्रबार सकिएको छ ।


पार्टी विधानले दिएको अधिकार बमोजिम बोलाइएको दुईदिने जिल्ला सभापतिहरुको भेलाले पार्टीलाई चलायमान बनाउने मूल प्रतिबद्धता जनाएको छ । भेलाले क्रियाशील सदस्यता, कार्यसमितिहरुको सम्मेलन र पार्टी व्यवस्थापनका विषयमा मुख्य छलफल गरेको छ । यी विषय कांग्रेस विधानले महामन्त्रीको जिम्मेवारीमा राखेको छ । त्यही अधिकार प्रयोग गरी महामन्त्रीद्वय थापा र शर्माले बोलाएको भेलामा जिल्ला सभापतिहरुले निर्धारित विषयभन्दा बाहिरसमेत चासो राखेका थिए ।


४१ जिल्ला सभापतिको प्रत्यक्ष सहभागिता रहेको थियो भने अरुले भर्चुअल माध्यम उपयोग गरेको भेलामा सहभागिता जनाएका थिए । सभापतिहरुले मुख्यगरी बजेट, सरकार सञ्चालन र पार्टीभित्रको गुटबन्दीबारे कुरा उठाएका थिए । मोरङका सभापति तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु आफैंले बजेटप्रति असन्तुष्टि जनाएका थिए । आफ्नै नेता डा. प्रकाशरण महतले ल्याएको बजेट मन नपरेको बताए । उनी पहिलेदेखि नै आफ्नो मन्त्रालयमा बजेट नपरेको भन्दै गुनासो गर्दै आएका थिए । मन्त्री लिम्बू र अर्थमन्त्रीको गुट अलग–अलग रहेको छ । ‘मन्त्रीहरु बीचमा समन्वय भएको छैन, बजेटमा सबैतिर असन्तुष्टि छ’ कांग्रेस नेता डा.शेखर कोइरालानिकट मन्त्री लिम्बुले भने ।


धादिङका कांग्रेस सभापति तथा प्रतिनिधिसभाका सांसद रामनाथ अधिकारीले पनि बजेटप्रति नै गुनासो गरे । ‘९० किलोमिटरका लागि ५ लाख छुट्याइएको छ । त्यो पाँच लाख देखाएर कार्यकर्ताकहाँ कसरी जाउँ ?’ अधिकारीको प्रश्न थियो । अर्का सांसद तथा संखुवासभा सभापति दीपक खड्काले सरकार भएको अनुभूति हुन नसकेको टिप्पणी गरेका थिए । अर्घाखाँचीका सभापति केशव श्रेष्ठले त आफ्नै पार्टीबाट मन्त्री रहेकाहरु पशुपतिको साँढेजस्तो भएको टिप्पणी गरे । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।