काण्डलाई ढाकछोप गर्दै सेटिङ मिलाउँदै सरकार


काठमाडौं । सुरुका दिनमा केही काम गरेर जनताको मन जितेको प्रचण्ड नेतृत्वको सरकार पछिल्लो समयमा आलोचित बन्दै गएको छ । सरकारले गरेका राम्रो कामको चर्चा भइरहेका बेला सरकार नै सुस्त गति लिएपछि मानिसमा निराशा पैदा भएको छ । सरकारले भन्ने र गर्ने कुरामा अहिले भिन्नता आएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो एकमात्र लक्ष्य शान्ति र सुशासन भने पनि भन्ने एउटा र गर्ने अर्को भनेर चित्रण हुन थालेको छ ।

प्रचण्डले केही राम्रो काम गरेर नेकपा (माओवादी केन्द्र) लाई पनि फाइदा हुने काम गर्न सक्थे यो बेला । कांग्रेस र एमालेप्रति मानिसको विश्वास घट्दै गरेका बेला प्रचण्डले पाएको यो अवसरलाई प्रयोग गर्न सकेनन् । सुरुवातमा भ्रष्टाचार र अनियमितताको विरोधमा कठोर भएर प्रस्तुत भएका प्रचण्डलाई यसरी एकाएक पछि हट्न कसले दवाव दियो भन्ने चर्चा चलेको छ । चाहने हो भनें प्रधानमन्त्रीले धेरै कुरा आफ्नो हातमा लिएर प्रशंसा बटुल्ने काम गर्न सक्छन् तर सधैं आफ्नो स्वार्थका लागिमात्र काम गर्ने हो भनें जनताले क्रमशः पत्याउन छोड्ने ताजा यथार्थ छ । प्रधानमन्त्रीले अरु दलसँग पनि सहकार्य गर्नुपरेको र सबै दललाई मिलाएर लानुपरेकाले कामले गति लिन नसकेको प्रतिक्रिया दिँदै आएका छन् ।

सुविधाजनक बहुमतमा रहेको सरकारलाई कसले कहिले ढालिदिन्छ कि भन्ने खतरा नभएकाले प्रचण्डलाई योभन्दा राम्रो अवसर सम्भवतः अरु नआउन सक्छ । आफू ठूलो पार्टी भएर पनि सरकारलाई पूर्णरुपमा समर्थन गरेको नेपाली कांग्रेसको साथ पाएका प्रचण्ड आफ्नै कारणले प्रधानमन्त्रीबाट बाहिरिए भनें एउटा कुरा हो नभए उनको सरकार ढलिहाल्ने सम्भावना नभएकाले पनि यो बेलामा उनले जनताको पक्षमा मन छुने गरी काम गर्ने मौका पाएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाहेको खण्डमा क्षणभरमा सरकार ढालिदिने भन्दै आएका छन् । आफ्ना पार्टीका शुभचिन्तक र कार्यकर्तालाई चित्त बुझाउनका लागिमात्र आफूले यस्तो हावा गफ गरेको भन्ने ओलीलाई पनि राम्रो थाहा छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग मतभेद भएसँगै सत्ता गठबन्धनलेअर्को रुप लिएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो । सरकार बनाउन र ढाल्न संसदमा सांसदको मत आवश्यक पर्छ, यो अवस्थामा एमालेको र उसँग सहकार्य गरेका दलको सांसद संख्या कम भएकाले पनि सरकार कुनै पनि संकटमा छैन । सरकारले जनताको नाममा राजनीतिमात्र गरेको प्रष्टरुपमा देख्न सकिन्छ । माओवादीले शसस्त्र जनयुद्धका नाममा मच्चाएको आतंकलाई लिएर जनताले गाली गरिरहेका बेला प्रचण्डले हिजोको द्वन्द्वकालमा बेपत्ता भएका, मारिएका र अंगभंग भएकाका लागि कुनै पनि कार्यक्रम ल्याउन सकेका छैनन् ।

पीडितको अवस्था जस्ताको त्यस्तै छ तर प्रचण्ड भनें सत्ताको यात्रामा रमाएकाले ती सबै पुराना कुरा बिर्सिएजस्तो गर्न थालेका छन् । गतसाता अमेरिका पुगेका प्रचण्डले पनि शान्तिप्रक्रियालाई निश्कर्षमा पु¥याउन सहयोग मागेका थिए । पटकपटक प्रचण्डलाई द्वन्द्वको कुरा उठाएर सत्ता साझेदार र अन्य दलका नेताले तर्साउने गरेका छन् ।


प्रचण्डले यसअघि भएका विभिन्न काण्डको फाइल खोल्ने र दोषीलाई कारबाही गर्ने भनेको कथाजस्तै भइसकेको छ । उनले भुटानी शरणार्थी काण्डमा संलग्न भएकालाई केही उच्च तहका नेतालाई पक्राउ गरेपछि बढेको उचाइलाई बचाउन सकेनन् । यो प्रकरणमा कोही दोषी ठहर भएका छन् भनें कसैलाई ‘सेटिङ’ का आधारमा प्रमाण नपुगेको भन्दै उन्मुक्ति दिने प्रयास गरिएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाक िसांसद आरजु राणा देउवालाई भुटानी शरणार्थी प्रकरणमा छुट दिएको भनेर देउवाको आलोचना भएको छ । आरजुले पटक पटक विभिन्न सञ्चारमाध्यममा आफू संलग्न नरहेको स्पष्टीकरण दिँदै आएकी छिन् ।


सरकारले सुरुवात गरेका राम्रा कामलाई सघाउन आफू पनि तयार भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्दै आएको छ । एमालेले प्रमाणसहित दोषी देखाइए आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गर्दा पनि आफूलाई समस्या नहुने भनेर साथ दिए पनि सरकारले तत्परता देखाएको छैन । नेताहरु देश र जनताको नाम लिँदै गलत धन्दा गर्ने र प्रशस्तै धन कमाउने काममा लागेकाले कतिपय नेताहरुलाई त आफ्नो सम्पत्ति कति छ भन्ने नै थहा नहुने बेला भएको छ । भुटानी शरणार्थी प्रकरणपछि आएको सुनकाण्डमा पनि नेताहरु र उनका परिवारलाई चोख्याउने चलखेल भएको छ । नेता र उनको परिवारका कोही व्यक्ति पक्राउ पर्दा आफ्नो राजनीतिक बेइज्जत हुने डरले सबै नेताहरु जसरी भए पनि आफू बच्न पाए हुन्थ्यो भन्नेमा लागेका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेपछि घटनामा संलग्न अन्य पनि पक्राउ पर्लान् र कारबाही होला भन्ने मानिसको अनुमान थियो तर त्यो विषय त्यत्तिकै सेलायो ।


प्रायजसो नेताहरु कुनै न कुनै काण्डमा मुछिएकाले पनि सबैले उन्मुक्ति पाउने गरी नेताहरु कानुन बनाउने गरेका छन् । उनीहरु आफू सुरक्षित हुने दाउमा रहेकाले उनीहरु भरसक कुनै पनि काण्डमा फस्दैनन् र पक्राउ परिहाले भनें पनि विभिन्न प्रकारले छुट्ने गर्दछन् तर सर्वसाधरण भनें सामान्य घटनामा पनि कारबाहीको भागी बनेर दुःखद् जिवन बिताउन बाध्य भएका छन् ।