एकान्तकुनामा पनि अनलाइन


काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबारदेखि अनलाइन सेवा सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् ।


मन्त्री ज्वालाले आफू मन्त्री भएर आएपछि धेरै सुधारका कार्यक्रम ल्याएका छन् । उनले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्न सबै कार्यालय प्रमुखलाई निर्देशन दिइरहेका छन् । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिवसमेत रहेका ज्वालाले निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन् ।


दैनिक हजारौं सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । मन्त्री ज्वालाले अनलाइन सेवा सुरु भएपछि भींड हट्ने विश्वास व्यक्त गरे । नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । बिहीबारदेखि राजस्व भुक्तानी, लाइसेन्स नवीकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ । ‘सवारी चालक अनुमतिपत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने, ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।’


सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यावस्था कार्यालय जानुपर्ने छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले अन्य सबै कामहरु घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने बताए ।