एमालेसँग एक्लै टक्कर लिँदै दुर्गा


काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाइले नेकपा एमालेसँग एक्लै टक्कर लिइरहेका छन् । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग मतभेद भएपछि ओली प्रसाईको विरुद्धमा र प्रसाई ओलीको रिुद्धमा खनिएका छन् ।
एमालेमा प्रवेश गरेर केन्द्रीय सदस्यसमेत भएका प्रसाईले एमाले छोडेपछि ओली र प्रसाईको सम्बन्ध बिग्रिएको छ । अहिले दुबैजनाले एक अर्काको पोल खोल्दै आएका छन् ।

प्रधानमन्त्री भएर एउटा उचाई बनाइसकेका ओलीले सामान्य अभियान चलाउने प्रसाईसँग गरेको द्वन्द्वलाई लिएर अनेक टिकाटिप्पणी गरिएको छ । प्रसाईले आगामी निर्वाचनमा एमाले कमजोरमात्रै होइन पत्तासाफ हुने बताउँदै आएका छन् । प्रसाईले ओलीलाई ‘हजुरबुबा’ भनेर सम्बोधन गर्ने गरेका भए पनि उनले अन्तरवार्ताका माध्यमबाट हजुरबुबा ओलीलाई खेदो खन्दै आएका छन् । अहिले प्रसाइको विरुद्धमा ओलीमात्रै होइन सिंगो एमाले र एमालेको भ्रातृ संस्था युवा संघ पनि लागेको छ । बिहीबार काठमाडौंको बल्खुमा प्रसाईले चलाएको आन्दोलनमा सहभागी हुनेको संख्या उल्लेख्य देखेपछि एमाले अत्तालिएको छ । एकैदिन कार्यक्रम जुधाएर प्रसाईलाई कमजोर पार्न एमालेले प्रयास गरे पनि युवा संघको प्रदर्शनमा नगन्य मात्रामा मानिसको उपस्थिति रहेको थियो । एकैदिन कार्यक्रम राख्नु व्यावहारिक नभएको विश्लेषण गरिएको छ । एमालेले यो कार्यक्रमलाई सफल पार्न पटक पटक पार्टीका विभिन्न निकायको बैठक बसेको थियो ।


यसअघि दुबै समूहले काठमाडौंको माइतीघरमा कार्यक्रम गर्ने योजना गरेका थिए तर दुबै पक्षले एकै ठाउँमा कार्यक्रम गर्दा खतरा हुने भन्दै जिल्ला प्रशासन कार्यालयले माइतीघरको विकल्प खोज्न दुबै पक्षलाई अनुरोध गरेको थियो त्यसपछि युवा संघले तिनकुनेमा कार्यक्रम गरेको थियो । जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले ५ जनाभन्दा बढी भेला नहुनसमेत आग्रह गरेको छ । बिहीबारको प्रदर्शनबाट उत्साहित भएको महाअभियानले शुक्रबार तिनकुने प्रदर्शन गर्ने तयारी गरेको थियो तर प्रशासनले अनुमति दिएन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले अनुमति नलिई कार्यक्रम गर्न खोजेपछि कार्यक्रम गर्न नदिएको जनाए । आन्दोलनमा सहभागी भएको भन्दै प्रहरीले केहीलाई पक्राउ गरेको थियो । पक्राउ परेका केहीले भनें आफुहरुलाई बिनाकारण पक्राउ गरेको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।


प्रसाइको आन्दोलनमा सहभागी हुन काठमाडौं आएर चावहिलमा बसेका महिलाहरुलाई युवा संघका कार्यकर्ताले राति नै लखेटेको विषयमा एमाले र युवा संघको आलोचना भएको छ । युवा संघका एक नेताले महिलाहरुलाई राति जवर्जस्ती बसेको ठाउँबाट निकालेको भिडियो सार्वजनिक भएको थियो । यो विषयमा एमाले र युवा संघले औपचारिक रुपमा केही बोलेको छैन । युवा संघका इन्चार्ज महेश बस्नेतले केही दिनअघि नै काठमाडौंका पाटी प्यालेसमा प्रसाइले आउने भनेजस्तो मानिसको सहभागिता नभएको बताएका थिए । उनले आफूहरुले पाटी प्यालेस घुमेर तथ्यांक लिएको पनि बताएका थिए ।
केही समयअघि प्रसाईलाई युवा संघका कार्यकर्ताले कालोमोसो दलेपछि युवा संघ र बस्नेतसँग प्रसाइको द्वन्द्व हुँदै आएको हो । बस्नेतका कार्यकर्ताले प्रसाइलाई कालोमोसो दलेका थिए । त्यसअघिदेखि नै प्रसाई निरन्तर रुपमा ओली र बस्नेतको विरोधमा बोल्दै आएका थिए । कालोमोसो दल्नेले पनि आफ्ना नेताको विरोधमा बोलेकाले आफूहरु त्यो अवस्थामा पुग्न बाध्य भएको बताएका थिए । यो घटना भएको लगत्तै झापा पुगेका बस्नेत र उनका कार्यकर्तालाई प्रसाईको टोलीले झापामा लखेटेको थियो । घटनामा केही सवारीसाधनमा समेत क्ष्ाित भएको थियो । ओली झापा ५ बाट निर्वाचित सांसद हुन् । प्रसाईको घर झापा हो, उनी त्यहीँका मतदातासमेत हुन् । झापामा मतदाता नभएका ओलीलाई झापामा प्रवेश गर्न नदिने दुर्गाले चेतावनी दिँदै आएका छन् । ओली २०४८ सालदेखि झापाबाट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । झापा कम्युनिष्टको राम्रो आधार इलाकाका रुपमा चिनिन्छ । ओली भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर २ का मतदाता हुन् ।


ओली र प्रसाईको टक्करलाई लिएर राजनीतिक वृत्तमा निकै चर्चा भएको छ । प्रसाईले जनताका विषय उठाएर आन्दोलनलाई थप सशक्त बनाएका छन् । प्रसाईले गणतान्त्रिक व्यवस्था ढालेर राजसंस्था ल्याउने चेतावनीसमेत दिँदै आएका छन् । प्रसाईले हजुरबुबा भनेर सम्बोधन गर्नेे ओलीसँग पनि त्यसका लागि आर्थिक सहयोगको अपेक्षा गरेको भनेर अन्तरवार्ता दिएका थिए । गत फाल्गुणमा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा उपस्थित गराएर कार्यक्रम गरेपछि प्रसाई आफ्नो आन्दोलनमा थप अघि बढेका थिए । सरकारले आफूले सञ्चालन गरेको झापाको विर्तमोडमा रहेको बीएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएपछि बोल्दाबोल्दै उदाएका प्रसाईलाई एमालेले अहिले नेता बनाइदिएको छ ।