जग्गा बाँझो नराखौ, मेहेनती बनौं, सुखी नेपाली भइन्छ


निर्मल गदाल, प्रमुख प्रशासकीय अधिकृत कृषि ज्ञान केन्द्र, प्रदेश ३

युवाको ठूलो हिस्सा विदेशिइरहेको छ,अहिले नेपालमा कृषिको अवस्था कस्तो छ ?

राम्रै छ, त्यस्तो निरास हुनुपर्ने अवस्था छैन किनकी कसैले कुनै ठाउँमा अवसर देखेन भने अर्कोले त्यही ठाउँमा अवसर देखिरहेको हुन्छ । पहाडमा कृषकले वा युवाले अवसर देखेन भने त्यो जनशक्तिले काठमाडौं उपत्यकालगायत अन्य सहरहरूमा अवसर देखिरहेको छ, आफ्नो सीपको उपयोग गरिरहेको छ । अहिले काठमाडौं उपत्यकाका युवा व्यवसायीले यहाँ अवसर नदेखेर धादिङ, चितवन, मकावनपुर, रामेछापलगायत अन्य उपत्यकाबाहिरका जिल्लामा ठूलाठूला कृषि फार्महरू सञ्चालन गरिरहेका छन् भने ती ठाउँका युवा व्यवसायीहरूले उपत्यकामा जग्गा भाडामा लिएर ठूलाठूला कृषि फार्महरू सञ्चालन गरिरहेका छन् । त्यसैले झट्ट हेर्दा जग्गा बाँझा बसे भन्ने देखिए पनि हाम्रा जमिनहरू कहिँ अनुत्पादक रूपमा रहेका छैनन् । अर्को, युवाको विदेश पलायनको कुरा जहाँसम्म छ, हाम्रो युवा जनशक्ति बाहिर रहे पनि त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान नै दिएको छ, सीप र प्रविधि भित्र्याएको छ, रेमिटान्स भित्र्याएको छ, उत्पादन, वितरणदेखि बजारीकरणसम्ममा यहाँ आधुनिक प्रविधि उनीहरूले नै भित्र्याएका छन् । त्यसले गर्दा युवा बाहिर गएर आकाशै खस्ने भएको छैन । तर हाम्रो युवा शक्तिलाई यहीँ राख्नेगरिका योजना बनाउनुपर्छ । अहिले कृषिमा ठूलो काम भइरहेको छ, प्रविधि भित्रिइरहेको छ, कृषिका ठूलाठूला फार्महरू चल्न थालेका छन्, उत्पादन बढिरहेको छ, निर्यात पनि बढिरहेको छ, किसानले अपनत्व लिने गरी काम गरिरहेका छन् । फूलका मालाको माग नै पोहोरभन्दा यसपाला घटेको छ । यसलाई ध्यानमा राखेर आउने चाडपर्वमा मागअनुसारको आपूर्ति गर्ने गरी उत्पादनलाई अगाडि बढाइरहेका छौं । अहिले यहाँ निर्यातको बढी सम्भावना बोकेका कृषि उपजमा जडीबुटी,अलैंची, चिया,कफी र अदुवा रहेका छन् । यिनीहरूको उत्पादन र वितरण र बजारीकरणलाई वैज्ञानिक बनाउनुपर्छ, आधुनिक बनाउनुपर्छ भनेर लागेका छौं । साथसाथै यसका लागि आवश्यक पर्ने भूमिको व्यवस्थापनमा हामीले चाहेजति काम गर्न सकेका छैनौं किनकी भूमि व्यवस्थापनका बारेमा नयाँ ऐन, नीति लागू भइसकेको छैन, भूमिको वैज्ञानिक वितरण हुन सकेको छैन । जसले गर्दा जोसँग जमिन छ, उसले खेती गरेको छैन, जो खेती गर्ने हो उसँग जमिन नै छैन । सरकारले यसको नीति ल्याउन सकेको छैन । यसले गर्दा पनि सरकारको योजनामा समस्या भइरहेको छ । तर यो विषयमा पनि प्रदेश सरकार संघीय सरकारसँग सम्पर्कमा रहेर काम गर्न लागिरहेको छ भने आधुनिक खेती भनेर हामीले भाषणमा मात्र भनिरहेका छौं, व्यवहारमा हुन सकेको छैन, अहिले पनि हामी परम्परागत खेती प्रणालीमै छौं । हाम्रो देशका ६० प्रतिशत किसान कृषिमा निर्भर छन् तर आधुनिक खेती प्रणालीमा जाने किसानको संख्या अत्यन्तै कम छ, किसानले भनेको बेला मलखाद, बीउ, कृषि औजार, किटनाशक औषधि पर्याप्त उपलब्ध गराउन सकिरहेका छैनौं, प्रविधि र साधन स्रोत पर्याप्त दिन सकिरहेका छैनौं, पानीको व्यवस्थापन गर्न सकिरहेका छैनौं । यो सबै कुरा पूरा गरेपछि मात्र हाम्रो प्रदेश सरकारले चाहेको योजना सफल हुन्छ । यद्यपि, हामीलाई उपलब्ध भएका सबै कुरा कृषककोमा पु¥याउन लागिरहेका छौं । यसरी हामीले काम गरिरहेका छौं ।

कृषि ज्ञान केन्द्रले के कस्ता काम के कसरी गरिरहेको छ ?

कृषकलाई आधुनिक प्रविधिबाट खेती गर्न प्रोत्साहित गर्ने, विषादीको प्रयोग नगर्ने, अर्गानिक तरकारी, फलफूल र खाद्यवस्तुको उत्पादन गर्नेदेखि त्यसका लागि कृषकलाई सचेत गराउने, त्यो विषयमा सीप सिकाउने, कृषकलाई सेवा सुविधा, ऋण सहजीकरण, अनुदानको वितरण प्रविधिको विकास र विस्तार, कस्तो ठाउँमा कस्तो बाली लगाउने, कस्तो हावापानीमा कस्तो बालीनाली हुन्छ, कुन बालीलाई कस्तो माटो चाहिन्छ भनेर हावापानीदेखि माटोको परीक्षण गरिदिनु पर्छ, त्यो काम हामीले गरेका छौं । अहिले हामीले उपत्यकावासीलाई स्वस्थ्य र प्राङ्गारिक उपजहरू उपलब्ध गराउने कुरामा जोड दिएका छौं भने त्यस कार्यक्रमअन्तर्गत कफीखेतीलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएका छौं । त्यसैगरी प्रदेश सरकारकै कार्यक्रमअन्तर्गत विषादी परीक्षण प्रयोगशाला पनि उपत्यकामा स्थापना गरेका छौं । तरकारीलगायत खाद्यवस्तुको उत्पादन, वितरण, बजारीकरण असल कृषि अभ्यास र प्राङगारिक कृषि प्रमाणीकरणको दुईवटा पद्धतिहरूमार्फत कृषि उपज प्रमाणित गरिसकेपछि मात्र बिक्री वितरण हुने अवस्थाको थालनी गरेका छौं ।
यो उपत्यका कृषि उत्पादनको सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भएकोले यसलाई भरपूर उपयोग गरेर ग्रामीण क्षेत्रको कृषिलाई दिगो रूपमा आधुनिकीकरण गर्ने योजना बनाइरहेका छौं । त्यसका लागि सिकाइ, पूर्ण जानकारी गराउने, जथाभावी विषादीको प्रयोग हुन नदिने जस्ता विषयमा पनि यथेस्ट जानकारी दिन लागेका छौं । प्रदेश सरकारका योजना लागू गर्नेदेखि कृषकका आम समस्या र मागको उचित संयोजन कसरी गर्ने भन्ने बारेमा पनि योजनागत रूपले काम गरिरहेका छौं । उत्पादनका संवाहक युवा जनशक्तिलाई कृषिमा परिचालन गर्ने, उत्पादन गर्ने त्यो उत्पादनलाई बजारीकरण गर्ने कार्यमा लगाउनेलगायत काम पनि गरिरहेका छौं ।

तर तरकारीलगायत खाद्यवस्तुमा विषादीको प्रयोग बढिरहेको छ, यसको न्यूनीकरणमा कसरी काम गरिरहनुभएको छ ?

यसका विषयमा कतिपय मानिसहरूलाई थाहा नै छैन,जसले विषादी प्रयोग गर्छन् ती कृषकलाई त यसका बारेमा झन् थाहा नै छैन । यसलाई न्यूनीकरण गर्न हामीले पनि चाहे जति गर्न सकिएको छैन । विषादीको न्यूनीकरण गर्न हामीले खाने वस्तुलाई तातोपानीमा नुन राखेर आधा घण्टासम्म डुबाउने गर्नुपर्छ । त्यसो गर्दा केही कम गर्न सकिन्छ । अर्को, तरकारीलगायत खाद्यवस्तु उत्पादन गर्दा नै विषादीरहित उत्पादनतर्फ जोड दिनुपर्छ । विषादी नहाली नहुने भयो भने पनि घरेलु विषादी बनाएर प्रयोग गर्नुपर्छ भनेर किसानलाई भनिरहेका छौं, हाम्रो कतिपय कार्यक्रम त अर्गानिक वस्तुको मात्रै उत्पादन पनि छ । तर यसका लागि सरकारले कृषकलाई विशेष कार्यक्रम नै बनाएर यस विषयमा प्रशिक्षण दिनुपर्छ । तरकारी वा कुनै पनि खाद्यवस्तु हाम्रो भान्सासम्म आउँदा कति तहहुँदै आइपुगेको हुन्छ । बिचौलियाहरूबाट समेत तरकारी कुहिनबाट बचाउन विषादी प्रयोग भइरहेको हुन्छ । यसमा सरकारले सञ्चार माध्यमबाट पनि जनचेतना फैलाउनुपर्छ । त्यो काम पनि हामीले गरेका त छौं तर जुन तहमा जसरी गर्नुपर्ने थियो त्यसरी गर्न सकिएको छैन । अर्को कुरा, हामीले उपभोग गर्ने तरकारी फलफूललगायत खाद्यवस्तु धेरैजसो विदेशबाट आयात हुने भएकोले यस्ता वस्तुमा विषादीको प्रयोग अधिक छ भने प्लाष्टिकमा प्याक गरेका खानामा पनि बढी विषादी प्रयोग भएको हुन्छ, यसको नियन्त्रण हाम्रो पहुँचमा छैन । यसले हामी सबैलाई धेरै समस्यामा पारेको छ । चीन र भारतबाट आउने ताजा तरकारी र फलफूलमा धेरै विषादीको प्रयोग भएको पाइएपछि हामीले यसको न्यूनीकरणका लागि विषादी परीक्षण प्रयोगशाल समेत राखेका छौं । यसले उपभोक्ताहरूलाई सूचना दिन हामीलाई सहज हुने छ ।

यसका चुनौतीहरू के के छन् त ?

पर्याप्त साधन स्रोतको उपलब्धतामा कमी, कर्मचारी व्यवस्थापनमा कमी, चेतनाको अभाव, प्रशिक्षणको अभाव, जमिनको उपलब्धताका कमी, सिँचाईको व्यवस्थापनमा कमी, कृषिजन्य सामाग्रीको अभाव, प्राविधिक जनशक्तिको अभाव, आधुनिक खेती प्रणालीको ज्ञानमा अभाव, विषादीको प्रयोगमा सर्तकताको अभावजस्ता कुरा हाम्रा लागि चुनौतीका विषय हुन् ।

सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा कृषिको उपयोग र महत्वलाई कसरी लिनुभएको छ ?

हाम्रो मुलुक ८५ प्रतिशत ग्रामीण क्षेत्रमा पर्छ । ग्रामीण क्षेत्र समृद्ध नभई समग्र देश समृद्ध हुन सक्दैन । सुखी नेपाली, समृद्ध नेपाल हुन जनताको मनमा शान्ति र अनुहारमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्छ । त्यसका लागि हामी सबैले देश र जनताका लागि सोचेर इमान्दारिताका साथ काम गर्नुपर्छ । कृषि समृद्ध नभई जनता सुखी हुँदैनन् । त्यसैले कृषक ओरिएण्टेड कार्यक्रमहरू सरकारले ल्याउनुपर्छ । यस्तो अवस्थामा स्रोत र साधनको उपलब्धता हुनुपर्छ, भूमि, मल, बीउ, प्रविधि, स्रोत र साधनको सहज उपलब्धता हुनुपर्छ, सिँचाई, विद्युत, सडक राम्रो बनाउनुपर्छ जसले गर्दा उत्पादित वस्तुहरू बजारमा पु¥याउन सहज हुन्छ । त्यसैगरी चक्लाबन्दी खेतीमा कृषकलाई आकर्षित गर्नुपर्छ । आधुनिक कृषिको ज्ञान दिनुपर्छ । आवश्यक ऋण अनुदान दिनुपर्छ । यसो भयो भने युवाहरू कृषिमा आकर्षित हुन्छन् र हाम्रो कृषि उपज बढ्छ । हिजोको सोच विचार त्यागेर नितान्त फरक ढङगले नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ किनकी अहिलेको समय परिस्थिति सरकारको अवस्था, योजना, कार्यक्रम फरक खालका छन् ,प्रविधि फरक छ यसलाई मध्यनजर गरेर जान सकियो भने सुखी नेपाली समृद्ध नेपाल निर्माण हुन सक्छ । हाम्रो प्रदेश सरकारले पनि यही अभियानलाई पूरा गर्ने गरी काम गरिरहेको छ ।

मैले सोध्न छुटाएका तर कृषिको विकासको लागि आवश्यक पर्ने कुनै भनाइ छ ?
सर्वप्रथम सबैले सबैलाई हुने गरी, सबैले सबैलाई सहयोग पु¥याउने गरी काम गरौं, कृषि उत्पादनमा लागौं कोही खाली नबसौं, केही न केही गरांै, सकरात्मक सोच बनाऔं तरकारी, फलफूल र खाद्यान्नमा आत्मनिर्भर हुने गरी लागौँ, जग्गा बाँझो नराखौं,कृषि ज्ञान केन्द्रसँग परामर्श र सल्लाह लिऔं, सूचना पढांै, प्राविधिक ज्ञान लिऔं, सीप सिकांै, दक्ष बनौं संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका योजनामा सहभागी बनौं । जसले जे जानिन्छ त्यही गरौं । यसो गर्न सकियो भने हामी हाम्रो योजनामा सफल हुन्छांै, योजना सफल भएपछि हामी समृद्ध बन्छौ यही भन्न चाहन्छु ।

भारतले कब्जा गरेको जमिन छिटोभन्दा छिटो फिर्ता गर्नुपर्छ: वेदुराम भुसाल


वेदुराम भुसाल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य हुनुहुन्छ । भूमिगत राजनीति गरेर आउनु भएका भुसाल पुराना एवम् अनुभवी नेता पनि हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा प्रभाव छोड्न सक्ने नेता भुसाल पार्टीका ईमानदार एवम् क्रियाशील नेतामा पर्नुहुन्छ । लेखकको रुपमा समेत चिनिने भुसाल भारतले नेपालको भूमि अतिक्रमण गरेकोमा कडा टिप्पणी गर्दै नेपालको भूमि भारतले तत्काल फिर्ता गर्नुपर्ने विचार राख्नुहुन्छ । यसै सन्दर्भमा छलफलले गरेको कुराकानीको सम्पादित अंशः

वेदुराम भुसाल, स्थायी कमिटी सदस्य, नेकपा

भारतले हालै प्रकाशित गरेको नक्सामा नेपालको भूभाग अतिक्रमित भएको छ यसलाई तपाईंले कसरी लिनुभएको छ ?

ऐतिहासिक तथ्य प्रमाण, नापनक्सा र लालमोहरको आधारमा महाकालीको उद्गमस्थल लिम्पियाधुरापूर्वको सम्पूर्ण भूभाग नेपालको हो भन्ने कुरा प्रमाणित भइसकेको छ । त्यसैले अहिले भारतले प्रस्तुत गरेको नक्सालाई परिवर्तन गर्नका लागि नेपाल सरकारले कूटनीतिक र राजनीतिक माध्यमबाट समेत पहल गरी नक्सा सच्याउनु पर्दछ र यो भूभाग नेपालको हो भन्ने कुरा स्थापित गर्नुपर्छ ।

यति संवेदनशील विषयमा सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गरेन, सीमा मिचिएको चार दिनपछिमात्र विज्ञप्ति निकाल्यो, देशको सीमा रक्षा गर्ने कुरामा चुक्यो भन्ने कुरा पनि आइरहेको छ नि ?

परराष्ट्र मन्त्रालयले ढिलै भए पनि भारतले हालै जारी गरेको नयाँ नक्सा नेपाललाई मान्य छैन भनेर विज्ञप्ति त जारी ग¥यो तर त्यो एक त तपाईंले भनेझैँ ढिला आयो अर्को त बेनामे आयो । देशको सीमा मिचिएको त्यस्तो संवेदनशील विषयमा विना नामको हल्का विज्ञप्ति जारी गर्नु राम्रो होइन । त्यो स्टेटमेण्ट नामसहित आधिकारिक तहबाट व्यवस्थित रूपमा आउनु पर्दथ्यो । त्यतिमात्र होइन, यो विषयमा छलफल गरेर मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि आधिकारिक रूपमै भारत सरकारसँग पत्रचार गरेर तत्काल सल्टाउनु पर्छ । त्यसका लागि अलि सशक्त रूपमै सरकार अगाडि बढ्नु पर्छ भन्ने मलाई लाग्छ ।

नेपाल र भारतबीचको सीमा विवाद धेरै पहिलेदेखिकै हो, समयमै सल्टाउन नसक्नु नेपाल सरकारकै कमजोरी होइन र ?

हो, सीमा विवाद अहिलेदेखिको होइन, एक ठाउँमा मात्रै छैन, यो समस्या धेरै पहिलेदेखिको हो र धेरै ठाउँमा छ । कालापानी, सुस्ता, महेशपुरलगायत थुप्रै ठाउँमा छ । जुन अहिलेको समस्या होइन, यो पहिलेदेखिकै हो । यी ठाउँहरूमा भारतले पहिलेदेखि नै कब्जा जमाएको थियो, हाम्रो जग्गा अतिक्रमण गरीरहेकै थियो, कति सीमास्तम्भ गायब भएकै थिए । यो गरेको अहिले आएर होइन । तर, भारतले हालै जुन राजनीतिक नक्सा सार्वजनिक ग¥यो, त्यसमा भारत सरकारले नेपालसँग छलफल गरेर नपालको भूभाग नमिचिने गरी गर्नु पर्दथ्यो । त्यसो नगरी एकतर्फी रूपमा नेपालको भूभाग समेत आफ्नोमा पारेर सार्वजनिक गरेका कारण यो समस्या आएको हो । यसर्थ यो सरकारको कमजोरीभन्दा पनि भारतको हेपाहा प्रवृत्ति देखिएको छ । यसमा सरकारले अविलम्ब भारत सरकारसँग वार्ता गरेर कूटनीतिक र राजनीतिक दुवै माध्यमबाट समस्याको हल गर्नु पर्दछ ।

महाकाली नदी साझा हो, पानी आधाआधा हो’ यस्ता नारा अनेरास्ववियुका विद्यार्थीले लगाउँथे । उनीहरू नेपालको झण्डा बोकेर सीमा विवादित ठाउँसम्म पुगे, भाषण गरे तर, आज त्यही महाकालीलाई भारतले आफ्नो भूमिमा गाभेर नयाँ नक्सा सार्वजनिक गरेको छ तर पार्टी र सरकारलाई चार दिनसम्म थाहा छैन । यसो हुनुको कारण के होला ?

होइन, पार्टी र सरकारलाई थाहा नभएको, गम्भीर ढंगले नलिएको चाहिँ होइन । यो विषयलाई पार्टीले पहिले पनि उठाइरहेकै थियो,अहिले पनि उठाइरहेकै छ । भारतीय नेताहरूदेखि भारत सरकारसँग समेत हाम्रो पार्टीको तर्फबाट बेग्लै रूपमा र सरकारको तर्फबाट बेग्लै रूपमा कुरा राखिरहेकै छ तर हाम्रो तर्फबाट पहल हुृँदाहुँदै समस्या नटुंगिएको मात्रै हो । सरकारले विभिन्न तरिकाले कूटनीतिक रूपमा कुरा गरी नै रहेको थियो यस विषयमा तर भारतले जसरी यो विषयलाई बाहिर ल्यायो यो तरिका ठीक भएन । उसले यो विषयलाई अब वार्ताबाट हल गर्नुपर्छ ।

सीमा विवाद पहिल्यैदेखि हल भएका छैनन् अहिले पनि झन् गम्भीर समस्या देखियो यो कसरी हल होला त ?

नेपाल र भारत सरकारका बीचमा कूटनीतिक रूपमा कुरा गरेर आवश्यक पर्छ भने राजनीतिक वार्ता गरेर भए पनि यो समस्या हल गर्नुपर्छ । यो पहिलेदेखिकै समस्या हो अहिले सिर्जित समस्या होइन, आउनमात्र अहिले आएको हो । यस विषयमा थुप्रै समस्याहरू छन्, छलफल बहस गर्ने हाम्रा संयन्त्रहरू छन्, यसकै लागि बनेका डिप्लोमेसी समूह तथा कार्यदलहरू छन् र यिनीहरूले सीमा समस्या समाधानका विषयमा नयाँ ढंगले काम पनि गरिरहेका छन् । सरकार सरकारका बीचमा पनि सीमाका विषयमा कुरा भई नै रहेका हुन्छन् तर यो जसरी आउनु पर्ने हो त्यसरी नआउँदा र अर्कै ढंगले आउँदा समस्या भएको हो । तर, यसलाई कूटनीतिक र राजनीतिक रूपमै हल गर्नुपर्छ । यो गर्न ढिला भएकै हो अब ढिला हुनु हुँदैन समस्या समाधान हुन्छ, गर्नुपर्छ ।

यो हिजोदेखिकै समस्या हो समाधान भएको छैन, भारतले टेरेको छैन अब टेरिहाल्छ भन्ने त ग्यारेण्टी छैन, टेरेन समाधान भएन भने के होला ?

होइन, पहिले त भारतसँग कूटनीतिक वा राजनीतिक रूपमा कुरा गर्नुप¥यो नि । कुरै नगरी वार्ता नै नगरी यसो होला, यसो नहोला भनेर अन्दाज गर्नु राम्रो हुँदैन र यो अन्दाज गर्ने कुरा पनि होइन । दुई देशबीचमा कुरा हुनु प¥यो । यो यस्तो, यो यस्तो भनेर कुरा गर्नुप¥यो । त्यसो गर्दा भएन भने त्यसको समाधान खोज्ने अन्य संस्था निकाय वा फोरमहरू होलान् त्यहाँ पनि जानु प¥यो, अन्तर्राष्ट्रिय मञ्च, न्यायलय र फोरमहरू छन् त्यहाँ कुरा राख्नु प¥यो । यी सबै ठाउँ त छन् नि । तर, पहिले त वान टु वान वार्ता भारतसँगै गर्नु प¥यो । मिल्यो भने मिलिहाल्यो भइगयो भएन भने त्यसरी अगाडि बढ्नुपर्छ । आफ्नो देशको सीमा मिँचिदा यो भएन त्यो भएन भनेर बस्ने कुरा हुँदैन । पहल, प्रयत्न गरिहाल्नु पर्छ ।

सरकारले जुन धारणा सार्वजनिक ग¥यो त्यसले राम्रो सन्देश दिएको छैन, त्यो सशक्त छैन, यस्तो तरिकाले समस्या समाधान हुँदैन भन्न थालेका छन् नि प्रतिक्रिया दिने विज्ञहरूले ?

योचाहिँ सही हो किनकी पहिलो कुरा त यस्तो विषयमा जति छिटो र सशक्त ढंगले जानुपर्ने थियो त्यो हुन सकेन । अर्को कुरा यस्तो संवेदनशील विषयमा जस्तो खालको आधिकारिक विज्ञप्ति आउनुपर्ने थियो, त्यस्तो खालको नआएर बेनामे र हल्का विज्ञप्ति आयो योचाहिँ राम्रो होइन, यस्तो हुनु हुँदैनथ्यो । यो मन्त्रिपरिषद्को निर्णयबाट आधिकारिक व्यक्तिको नामबाट वा भारतले सँधैभरि प्रवक्ताबाट विज्ञप्ति जारी गर्छ हाम्रोमा पनि सरकारकै प्रवक्ताबाट विज्ञप्ति आउनुपर्ने थियो त्यसरी नआउँदा यसमा कमजोरी देखियो कमजोरी भएको पनि छ यसमा भोलिका दिनलाई हेरेर पनि सुधार गर्नुपर्छ ।

प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकलाई कसरी लिनुभएको छ ?

यो राम्रो कुरा हो । राष्ट्रियताको विषयमा सबैसँग छलफल र परामर्श गरेर नेपालका सम्पूर्ण राजनीतिक दलको एउटै धारणा बनाएर जाँदा समस्याको हल गर्न सहज हुन्छ । यो विषयलाई अन्य दलहरूले पनि गम्भीरताको साथ नेपालमाथि अन्याय गरेको, थिचोमिचो गरेको रूपमा लिएको र सबैले विरोध गरिरहेको सन्दर्भमा सरकारले पनि सबै पार्टीको समान धारणा बनाएर राष्ट्रिय एकताको रूपमा आफ्नो समस्या समाधानको लागि अगाडि बढ्ने वातावरण बनाउनु राम्रो कुरा हो । यसले समस्या समाधानमा मद्दत गर्छ । सरकारले गरेको यो काम राम्रो हो । फेरि यो विषय भनेको सरकारको मात्र पनि होइन, सबै नेपालीको हो । त्यसैले यस्तो विषयमा सबैसँग छलफल गर्नु सबैको एउटै धाराणा बनाउनु राम्रो कुरा हो ।

यसको मतलब समस्या समाधान हुन्छ, निकास निस्किन्छ ?

होइन, निकास भनेको चाहिँ बेग्लै कुरा हो । यो दुई देशबीचको पुरानो साझा समस्या भएकोले तत्कालै निकास निस्किहाल्ने, हाम्रो मात्र पहल प्रयत्नले, हाम्रो मात्र एकताले निकास निस्कने होइन । यो दुवै देशको साझा प्रयत्नबाट, कूटनीतिक वार्ताबाट नै समस्याको समाधान र निकास निस्किने हो । तर, यस्तो विषयमा सबैको धारणा समान बनाएर सरकार अगाडि बढ्दा र भारत सरकारसँग कुरा गर्दा निकास निकाल्न र समस्या समाधानमा सहजता हुन्छ ।

यो विषयमा सबैको सहयोग हुने, समान धारणा हुने देख्नुहुन्छ ?

अहिलेसम्मको गतिविधि हेर्दा त्यस्तो देखिन्छ किनकी सीमा मिचिएको विषयमा सबैले विरोध नै गरिरहेका छन्, नेपालको सीमा मिचिएको भनेका छन्, सबै राजनीतिक दल मिलेका छन् । यसले गर्दा यस विषयमा सबैको सहयोग नै हुने र सबैको समान धारणा नै हुने स्पष्ट देखिएको छ ।

तर केही केहीले त यो विषयमा सरकारको कमजोरी भएको भनिरहेका छन् नि ?

सरकारले जुन ढंगले यसलाई लिनुपर्ने हो त्यसमा केही कमजोरी भयो भनेका छन् तर भारतले गरेको थिचोमिचोका सन्दर्भमा विरोध त गरी नै रहेका छन् नि ।

पछिल्लो राष्ट्रिय राजनीतिलाई कसरी लिनुभएको छ नि ?

पछिल्लो राष्ट्रिय राजनीति भारतले गरेको अन्यायपूर्ण एकतर्फी निर्णयमै केन्द्रित भएको छ, समस्या समाधानमा केन्द्रित भएको छ । यसमा सरकारले समस्या समाधान गर्न लागिरहेको आधिकारिक धारणा सार्वजनिक गरेको छ । यसबाहेक केही समयअगाडि अघिल्लो सरकारले गलत ढंगले नियुक्त गरेका प्रदेश प्रमुख यो सरकारले हटाएर नयाँ प्रदेश प्रमुखको नियुक्ति गरेको छ । यो राम्रै कुरा भएको छ । असंवैधानिक ढंगबाट देउवा सरकारले गरेका कामलाई यो सरकारले सच्याएको छ । केही समयअगाडि सरकारले चीनका राष्ट्रपतिलाई नेपाल ल्याएर दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको छ, चीनको सहयोग लिएर मुलुकको समग्र विकासलाई अगाडि बढाउने महत्वपूर्ण काम गरेको छ, विकास निर्माणका काम पनि राम्रैसँगले अगाडि बढाइरहेको छ । यसर्थ सरकारले राम्रै काम गरिरहेको छ भन्ने मैले ठानेको छु ।

नेकपाको आन्तरिक राजनीति कस्तो छ नि ?

यसमा चाहिँ पार्टीका नेता कार्यकर्ताको भावना मुखरित हुन सकेको छैन किनकी पार्टी एकताले पूर्णता पाउन सकेको छैन, संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन, पार्टीका जनवर्गीय संगठनको एकताले पूर्णता पाउन सकेको छैन । पोलिटब्युरो, केन्द्रीय सल्लाहकार कमिटी, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद्, विभागलगायत थुप्रै कामहरू सम्पन्न गर्न बाँकी नै छ । यसले पार्टीलाई समस्या पारेको छ, नेता कार्यकर्तामा निरासा छाएको छ, सरकारका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन समस्या पारेको छ । यसर्थ यी सबै कुरालाई पार्टीको मूल नेतृत्वले चाँडो टुंग्याउनु पर्छ ।

पुरातन सामन्ती सोचले काम गर्न समस्या छ: मेयर राई


चौदण्डीगढी नगरपालिकाको प्रमुख भएपछि नगरमा के कस्ता काम के कसरी अगाडि बढाइरहनु भएको छ ?
हामीले निर्वाचित भएर काम गर्न थालेको साढे दुई वर्ष बित्न लागेको छ । यो अवस्थामा हामीले भिजन र मिसनसहित काम सुरु गरेका छौं । हाम्रो मुलुकमा पूर्वाधार निर्माणलाई मात्रै विकास मान्ने परम्परा छ । त्यसैले हामीले पनि त्यही पूर्वाधार निर्माणलाई बढी फोकस गरेर खोलाका सानातिना तटबन्ध बाँध्नेदेखि ठूलाठूला सडकलाई कालोपत्रे गर्नेसम्मको काम नगरकै आम्दानीबाट सम्पन्न गरेका छौ र कतिपय गर्दैछौं । सडक बनाउने, वडा नछुएका बाटालाई वडा छुवाउने गरी निर्माण गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई सुधार गरेर आधुनिक सुविधासहितको अस्पताल निर्माण गरी २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराएका छन । आर्थिक समृद्धिका हाम्रा आधार कृषि, पर्यटन, यातायात र पूर्वाधारको विकास रहेका छन । हामीले यसैलाई बढी फोकस गरेर काम गरिरहेका छौं । मलाई लाग्छ वर्षातको समयबाहेक अन्य बेलामा यो नगरपालिकाको सबै वडाहरूका सबै बस्तीमा मोटरबाटो, खानेपानी,बिजुली,स्वास्थ्य र शिक्षा पुगेका छन । हामीले यो नगरलाई आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेका छौं ।

जनता के भन्छन, समस्या कस्ता कस्ता छन ?
जनताले सडक, बत्ती, बिजुली, पुल, खानेपानी, रोजगारी, छिटो प्रशासनिक सेवा प्रवाह माग गर्छन्् तर ती कार्यमा कतिपय जनताकै अवरोध रहिरहेको हुन्छ । सडक राम्रो चाहियो भन्छन् तर आफ्नै घरअगाडि बाटो खनेर खाल्डो पारिदिन्छन््, घरअगाडि फोहोर फालिदिन्छन, घरअगाडि चौपाया पशुहरू मरेका हुन्छन््् त्यो व्यवस्थापन गर्नुको सट्टा नगरपालिकालाई पर्खन्छन््, अझ मेयरलाई फोन गरेर यहाँ कुकुर मरिरहेको छ, यहाँ गोरु मरेको छ, यहाँ बिरालो मरेको छ तपाईं के हेरेर बसेको भनेर गाली गर्छन्, त्यसपछि म आँफै गएर त्यो मरेको कुकुर हटाउँछु, घरभित्र हिंसा भइरहेको हुन्छ, घरका सदस्य बिरामी भइरहेका हुन्छन अस्पताल लानुको सट्टा रोग पालेर बस्छन्् । समस्या सिर्जना मात्र गर्छन्, समाधान खोज्दैनन् । काम गर्नका लागि योजना दियो काम गर्दैनन् र काम गर्न खोज्नेलाई पनि यो पार्टी र त्यो पार्टी भनेर काम गर्न समस्या पार्छन् । यस्तो अवस्था धेरैतिर छ । यसको मूल कारण जनतामा सामाजिक सचेतना र सेवाभाव छैन, पुरानो मानसिकता हटेको छैन, सामन्ती सोच हटेको छैन । पहिले विकास केन्द्रिकृत थियो अहिले वडा वडामा आएको छ । पहिले थोरै बजेट त्यो पनि जिल्लाका नेताले आफनो स्वार्थ पूरा गर्न ल्याउँथे तर अहिले स्थानीय तहमै बजेट आएको छ, तर यो पर्याप्त छैन, जनताका अपेक्षाहरू अनगिन्ती छन््, जुन हामीले एकदुई वर्षमै पूरा गर्न सकिने खालका छैनन् यस्तो अवस्थामा प्राथमिकीकरण गरेर विकास निर्माणका काम गर्नुपर्छ । जनताले अपेक्षा गरेका काम र मागहरू पूरा नहुँदा गुनासो बढी हुन्छ । कतिपय जायज गुनासाहरू हुन्छन कतिपय नाजायज गुनासाहरू पनि हुन्छन्् । कतिपयले घरअगाडि खाल्डो परेको, डिल भत्किएको, बाख्रा मरेको, घरमा भल पसेकोदेखि ठूलाठूला पुल निर्माणका, तटबन्ध निर्माणका, अस्पतालका, स्कुल निर्माणका, स्तरोन्नतिका, शैक्षिक गुणस्तर वृद्धिका माग पनि आउने गरेका छन् । यस्ता मागले हामीलाई समस्यामा पनि पारेको छ, सचेत र जागरूक पनि बनाएको छ, यो भन्ने माग्ने जनताको अधिकार पनि हो तर अधिकार माग्दा अर्काको हनन गर्नु भएन भन्न हाम्रो भनाइ हो । यसर्थ हामीले पूर्वाधार निर्माण, गाउँमा सडक, बिजुली, स्वास्थ्य चौकी, बिद्यालयमा बढता ध्यान दिएर काम गरिरहेका छौं । अर्को, हामीले विकासमा समान सहभागिताको सिर्जना गर्ने जस्ता कुरामा पनि ध्यान दिएका छांै, सचेततना फैलाइरहेका छौं ।

बढी के कुरामा जोड दिइरहनुभएको छ ?
सन्तुलित विकासलाई हामीले जोड दिइरहेका छौ । कृषि र पर्यटनमा मेहेनती कृषक र युवाको सहभागिता बढाउन प्रोत्साहित गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा चुस्तता र पारदर्शिता गर्ने अनि जमिनको व्यवस्थापन गरेर सुकुम्वासी समस्याको अन्त्य, उद्यमको विकास गरेर रोजगारी सिर्जना गर्ने कुरालाई ध्यान दिएर त्यसका माध्यमबाट नगरको विकास गर्ने योजनामा अगाडि बढाइरहेका छौं । हामीले अहिले ५ करोड शिक्षामा र अढाई करोड स्वास्थ्यमा बजेट छुट्याएका छौं । त्यसैले अब हामी पूर्वाधार विकासमा मात्र नभई सामाजिक विकास र मानवीय विकासमा पनि बजेट छुट्याएर काम गर्दैछौं ।

यी काम पूरा गर्न चाहिने नगरको आय स्रोत के छ ?
हाम्रो आम्दानी भनेको कर हो तर हाम्रो कर प्रणाली कस्तो बनाउने, कसलाई कति कर लगाउने, कस्तालाई छुट दिने, कुनमा कर लगाउने, कुनमा कर नलगाउने भन्नेमा स्पष्ट नीति संघीय सरकारले नगर्दा र हामीलाई निर्णय गरेर काम गर्न अधिकार पनि नदिएकोले यहाँ समस्या भइरहेको छ । अर्को समस्या भनेको एकीकृत कर प्रणालीका बारेका निर्णय नहुनुले पनि हामीलाई स्रोत जुटाउन समस्या भइरहेको छ । हाम्रो मुख्य आजआर्जन भनेको गिट्टी बालुवा हो । यसमा पनि कहिले वनले, कहिले प्रदेशले यो मलाई नसोधी किन गरेको भनेर समस्या पारिदिइरहने गरेको छ । अर्को, हाम्रो मात्र नभएर देशकै समस्याको रूपमा रहेको ऐलानी जग्गा । अहिले नम्बरी जग्गामा भन्दा ठूलाठूला घर ऐलानी जग्गामा बनेका छन्, बढि आवादी पनि त्यहि देखिएको छ । आफ्ना जग्गा छाडेर जग्गा सित्तैमा पाइने आशले सबैले आफनो नम्बरी जग्गा उपयोग नगरी सरकारी जग्गा ऐलानी बनाई आवादी बढी भइरहेको छ । यसले हामीलाई कर उठाउन अप्ठ्यारो भइरहेको छ किनकी ऐलानी जग्गामा सबै बसेका छन् तर हाम्रो करनीति बनेको छैन, त्यसैले त्यस्ता ठूलाठूला र धेरै आवादी भएका बस्तीमा पनि हामीले कर उठाउन सकेका छैनौं । जुन ठाउँमा ठूलो मानव बस्ती छ । हाम्रो नगरको बसाहा, हँडिया ऐलानी बस्तीमा पर्छ । त्यहाँ ठूलो मानव बस्ती छ, ठूलाठूला घर छन् तर उनीहरू सरकारलाई कर तिर्दैनन् । कर नतिरी बसिरहेका छन् । यसले उनीहरूलाई सेवा सुविधा दिने कुरादेखि कानुनी दायरामा राख्नसमेत समस्या भइरहेको छ । किनकी लालपुर्जा छैन, बिगार ग¥यो भाग्यो, अवैध काम ग¥यो, फाइदा लियो तर प्रशासनलाई नियन्त्रणमा लिन लगत छैन, आधिकारिक पुर्जा छैन, यो यो घरको मान्छे हो भन्ने आधारसमेत छैन । यसर्थ यो कुरालाई चाहिँ संघीय सरकारले छिटोभन्दा छिटो निर्णय गरेर कर प्रणालीलाई सहज बनाइदिए हाम्रो आय स्रोत बढ्ने थियो । अर्को कुरा, कस्तालाई जग्गा दिने, कस्तालाई नदिने,कस्तालाई कर लिने, कस्तालाई नलिने यो कुराको तत्काल निर्णय भए जनतालाई पनि अस्पष्टता हुँदैनथ्यो, हामीलाई पनि कर उठाउन सहज हुने थियो । यसले हामीलाई अलि समस्यामा पारेको छ । यसबाहेक केही बजेट केन्द्रीय सरकारबाट प्राप्त हुने गरेको छ तर यो हामीलाई पर्याप्त छैन । आफ्नै स्रोत र साधन परिचालन गरेर पुग्ने अवस्था तत्काललाई हाम्रो छैन । हो हामीसँग प्राकृतिक स्रोत छ, पर्यटकीय स्थलहरू छन्, गिट्टी बालुवा छ, वन जंगल छ, उर्भराशील भूमि छ यसैको उपयोग गरेर जनताबाट उठेको करलाई सदुपयोग गरेर हामी नगरलाई समृद्ध बनाउन सक्छौ तर त्यसको बाटो संघीय सरकारले खोलिदिनुप¥यो । त्यो नहुँदा हामीलाई समस्या भइरहेको छ, कर लिन पाइएको छैन । अर्को, कर्मचारी पर्याप्त नहुँदा जनचाहाना र हाम्रो योजनाअनुसार काम गर्न असहज भइरहेको छ । काम नहुँदा आम्दानी हुँदैन माथिबाट दिएको बजेट तोकिएको सेवा सुविधा दिनुपर्ने प्रशासनिक क्षेत्रमा खर्च भइरहेको छ । त्यसैले विकासमा अवरोध गरिरहेको छ । यसर्थ भएकै स्रोत साधनलाई व्यवस्थित ढंगले काम गर्ने हो भने आय बढछ, नगर समृद्ध हुनसक्छ तर हामीले यसरी काम गर्नै पाएका छैनौं । अहिले हामीले ९० जना जति कर्मचारी करारमा लिएर काम चलाइरहेका छौं । स्वास्थ्यनीतिमै एक वडा एक स्वास्थ्यकर्मीको अवधारणा ल्याएको छ । त्यसअनुसार कर्मचारी नहुँदा हामीले स्वास्थ्यका कर्मचारीसमेत करारमा लिएर काम चलाइरहेका छौं । सरकारले यसको व्यवस्थापन गर्न सकेको छैन । यस्तो समस्यामा हामीले कसरी नगरको आय स्रोत बढाउने, कसरी जनतालाई बढी सेवा सुविधा दिने, कसरी नगर सञ्चालन गर्ने प्रश्न गम्भीर बनिरहेको छ ।

जनतालाई कर बढाएको छैनौं, करै तिरेका छैनन् भन्नुभयो तर स्थानीय सरकारले कर बढाएर ढाड सेकेको कुरा जनताले गरिरहेका छन् नि ?
स्थानीय वा संघीय सरकारले कर बढाएको होइन, करको दायरा बढाएको हो । हामीले पहिले लिइरहेको सामान्य कर लिएका छौं त्यसबाहेक लिएका छैनांै । बजारमा वस्तुको निकासी पैठारी निःशुल्क गरिदिएका छौं । साना मसिना वस्तु जस्तै एक ढाकी आलु, दुई मुठा साग, एक घरी केरा लिएर आउनेलाई हामीले कर लिएको छैन । तर, संसारका कुनै पनि मुलुकले कर नलिई मुलुक चलाउन सक्दैन । सबैले कर लिन्छन्, तिर्छन् । हामीले पनि त्यहीअनुसार पहिलेदेखि लिई आएको सामान्य कर लिएका छौं, बढी लिएका छैनौं, न्यायोचित कर लिएका छौं जनताले भनेअनुसार र आम्दानी गरेअनुसार नै कर लिएका छौं । आम्दानी भएपछि कर स्वभाविक रूपले सबैले तिर्नैपर्छ । व्यवसाय गर्दा आम्दानी भए कर तिर्ने नभए नतिर्ने भनिएकै छ, हामीले त्यही गरेका छौ । यो सचेतता प्रत्येक नागरिकमा हुनुपर्छ । जनताले आफूले तिरेको करको दुरुपयोग हुँदैन भन्ने महसुस गरे भने विकास जनताले नै गर्छन् । त्यसैले हामीले तपाईंले भनेको ठीक उल्टो गरेका छौ जनतालाई बढी कर लिएका छैनौं ।

यसलाई समृद्ध नगर र सुखी नगरवासी बनाउने तत्कालीन र दीर्घकालीन योजना के छन् त ?
म पनि तीन वर्षअगाडि सामान्य जनता नै हुँ तर म विकासका लागि सोच्थेँ । हाम्रो गाउँ हाम्रो ठाउँ विकासमा अगाडि बढिदियो भने समाज सभ्य बन्छ, जनता सुखी बन्छन् भन्ने लाग्थ्यो । त्यो सोच अहिले आम नगरवासीमा हुनुपर्ने हो । तर, त्यो सोचमा ज्यादै कमी भएको मैले पाएको छु । यहाँको विकास निर्माणदेखि नगरलाई सफा सुग्घर गर्ने काम, अनुशासित बनाउने काम सबै मैले मात्र गर्नुपर्ने आम नागरिकको कामै होइन जस्तो आभाष हुने गतिविधि क्रियाकलाप मैले यो नगरमा देखिरहेको छु । यो बेठीक सोच हो, यो सोचले हामीलाई राम्रो गर्दैन । यो चिन्तन र सोचको अन्त्य आवश्यक छ । घर चलाउन सिंगो परिवार एक हुनुपर्छ, मिल्नुपर्छ । यसर्थ हामीले विकास निर्माणमा पनि समान जनसहभागिता जनाउनै पर्छ, अनिमात्र विकासको रफ्तार अघि बढ्छ । विकासको पहिलो आधार यही हो । यो नहुँदा कोरा कल्पना र विकासको एकीकृत योजना बनाएर मात्र कहिँ पुगिँदैन । यससँगै नगरपालिकाको गरिमा र नगरप्रमुखको गरिमा पनि राख्न नगरवासीले जान्नुपर्छ, अनुशासनमा पनि बस्नुपर्छ । नगरपालिकाले के काम गर्छ, नगरप्रमुखले के काम गर्छ, उसलाई कस्ता कस्ता अधिकार दिइएको हुन्छ भन्ने कुरालाई पनि बुझ्नुपर्छ । त्यसअनुसारका आचरण व्यवहार नगरवासीले पनि गर्नुपर्छ । राजनीति, पार्टी र जनप्रतिनिधिप्रति विश्वसनीयता कायम हुनुपर्छ । राजनीतिप्रति वितृष्णा पालेर होइन सृजनात्मक बनेर प्रस्तुत हुनुपर्छ । राजनीति गर्ने मात्र बेठीक हुन्, हामी सबै ठीक हौं भनेर नेताहरूलाई मात्र गाली गरेर समाजको विकास हुँदैन । मैले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचेर काम गर्नुपर्छ, जिम्मेवार बन्नुपर्छ भनेर नागरिकलाई जिम्मेवार बनाउने योजनामा नगरपालिका लागिरहेको छ । यसबाहेक यो बजार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, साँघुरा सडक फराकिला पार्ने, पिच गर्ने, यो नगरलाई सुन्दर हराभरा बनाउने, पानी बत्तीको समस्या हल गर्नेलगायत अन्य विकास निर्माणका कामलाई व्यवस्थित रूपले अगाडि बढाएर लैजाने योजना रहेको छ ।

यी सबै काम गर्नका लागि तपाईंलाई समस्या पनि होलान्, माथिल्ला दुई सरकार र कर्मचारीको कत्तिको सहयोग पाउनुभएको छ ?
हाम्रो मुलुक विकासोन्मुख मुलुक पनि भएर होला यहाँ पुरातन सोच, पुरातन काम, बदला र इगोको राजनीति, बदलाका काम, पुरातन धङधङीले धेरै नै समस्या पार्दोरहेछ । हामी अहिले ७ सय ५३ वटा छांै, भूगोल र अन्य कुरामा फरक होला तर हाम्रो अधिकार एकै छ । अधिकार र जिम्मेवारी संविधानले नै तोकिदिएको छ । तर हाम्रो पुरानो सोच र मलाई सानोले मान्नुपर्छ, मलाई नसोधी गर्न पाइँदैन भन्ने सामन्ती सोचले काम गर्न स्थानीय सरकारलाई अफठ्यारो भइरहेको छ । तर मलाई लाग्छ यो एक दुई वर्षमा सकिएला । त्यसपछि विकास र समृद्धिले गति लिन्छ । अर्को कुरा, मैले यो नगरमा बस्ने नगरवासीलाई तीनवटा कुरा दिन प्रयत्न गरिरहेको छु । पहिलो यो संविधानले दिएको अधिकार क्षेत्रभित्र म पनि कहिँ न कहिँ छु भन्ने भावनाको विकास गराउने, दोस्रो नेपालमा भएका राजनीतिक दलका नेताले मेरै राम्रोको लागि जनताको हितको लागि नै काम गरिरहेका छन्, जनताकै काम गर्न राजनीति गरेका हुन् भन्ने भावनाको विकास र विश्वास गराउन र संघीयता अर्थात हाम्रा तीन तहका सरकारहरू हामै्र गाउँघरको विकास गर्नका लागि बनेको संरचना हो, यसको संरक्षण गर्नुपर्छ, यसले हाम्रो काम गर्छ, काममा सहज पार्छ भन्ने विश्वास जगाउने काम । मेरो कार्यकालको बाँकी समयमा गराउन सकेँ भने म सफल भएको मान्नेछु र यही प्रयत्नमा म लागिरहेको छु । अन्य कुरामा मलाई सबैको सहयोग नै छ, सबैले आआफ्नो अधिकार क्षेत्रभित्र रहेर कसैले कसैलाई हस्तक्षेप नगरी काम गर्न पहिले नै निर्देश गरिएको छ । म ठूलो, म सानोको यहाँ कुनै गुञ्जाएस छैन, सबै आआफ्नो तोकिएको काम गर्न ठूला छन्, म आफनो चेयरमा मात्र ठूलो हुँला अर्को उसको चियरमा ऊ ठूलो छ र काम सबैले इमान्दारिताका साथ गर्नुपर्छ । त्यो परिपाटी मेरो नगरपालिकामा छ र यसमा म कदापि कमी आउन दिन्नँ ।

तर नगरका जनप्रतिनिधिले त आफैँले डोजर ट्र्याक्टर किनेर आफैँलाइ योजना पारेर पैसा खाइरहेको कुरा आएको छ नि ?
यस्तो धेरै ठाउमा भएको सुनिएको छ तर यो नगरपालिकामा यस्तो कहिँ छैन यसको ठीकविपरीत हामीले काम तीव्र गतिमा गरिरहेका छौं । हामी परिणाममा देखिने गरी गर्छांै, हामीले गरेका काम स्थलगत रूपमा हेरे हुन्छ ।

काममा कत्तिको सन्तुष्टि छ ?
यो जनताले भन्ने कुरा हो तथापि मैले जनताले अनुभूत गर्ने गरी नै काम गरेकोले कामप्रति सन्तुष्टि नै छ । यहाँ हामीले महिला, बालबालिका, वृद्ध, अपांग, अनाथ, पिछडिएको वर्ग सबैका लागि हुने कामहरू गरेका छौं, मैले माथि पनि भनिसकेँ कि ३ वटा काम गर्छु भनेर । यसले जनतालाई पनि सुखी नै बनाउँछ ।

मनमा शान्ति र अनुहारमा क्रान्ति ल्याउने गरी काम गर्दैछौं :दुर्गा थापा


दुर्गा कुमार थापा, प्रमुख, बेलका नगरपालिका, उदयपुर

बेलका नगरपालिकाको प्रमुख भएको साढे दुई वर्ष बितिसक्यो विकास निर्माणका काम कसरी अगाडि बढाइरहनु भएको छ ?

हामीले निर्वाचन जितिसकेपछि हाम्रो बेलका नगरपालिकाको २०७४ असोज ४ गते पहिलो नगरसभा बस्यो । त्यो नगरसभाले ‘आर्थिक समृद्धि, सामाजिक न्याय र भौतिक पूर्वाधार, सुशासन र सामाजिक परिचालन दिगो विकासको आधार’ भन्ने नारा तय गरेर भिजनसहित काम सुरु गरेको छ । त्यसअन्तर्गत आर्थिक समृद्धिका हाम्रा ५ वटा पिलर कृषि र पशुपन्छीको विकास, पर्यटनको विकास, उद्यमको विकास, सामाजिक विकास र पूर्वाधारको विकास रहेका छन् । अहिले हामीले यो नगरलाई नमुना नगर बनाउने गरी ५ वर्षे योजना बनाएर काम अगाडि बढाइरहेका छौंं ।

जनता के भन्छन्, समस्या कस्ता कस्ता छन् ?

जनताले सडक, बत्ती, बिजुली, पुल, खानेपानी, रोजगारी, छिटो सेवा प्रवाह भन्ने गर्छन् तर ती कार्यमा कतिपय जनताकै अवरोध रहिरहेको हुन्छ । सडक राम्रो चाहियो भन्छन् तर आफ्नै घरअगाडि बाटो खनेर खाल्डो पारिदिन्छन्, घरअगाडि फोहोर फालिदिन्छन्, घरअगाडि चौपाया पशुहरू मरेका हुन्छन् व्यवस्थापन गर्नको सट्टा नगरपालिकालाई पर्खन्छन् ढिलो भएमा गाली गर्छन्, घरभित्र हिंसा भइरहेका हुन्छन्, घरका सदस्य बिरामी भइरहेका हुन्छन् अस्पताल लानुको सट्टा रोग पालेर बस्छन् । समस्या सिर्जना मात्र गर्छन्, समाधान खोज्दैनन् । काम गर्नका लागि योजना दियो काम गर्दैनन् र काम गर्न खोज्नेलाई पनि गर्न समस्या पार्छन् । यस्तो अवस्था धेरैतिर छ । यसको मुख्य कारण जनतामा सामाजिक सचेतना छैन । घरखेत बाँझै राख्छन् र छोराछोरी विदेश पठाउँछन् । यस्तो विकराल अवस्था गाउँमा छ । यसले कुनै न कुनै रूपमा हामीलाई पनि समस्यामा पारेको छ । अहिले हामीले एकीकृत विकासलाई अगाडि बढाएका छौंं अर्थात हामीले गरेको कामले जनतालाई सामाजिक न्याय दिन्छ कि दिँदैन, हामीले बनाएको पूर्वाधार निर्माणले प्रत्यक्ष लाभ पुग्छ कि पुग्दैन भनेर हेर्ने गरेका छौंं । गाउँमा सडक, बिजुली, स्वास्थ्य चौकी, विद्यालय सबै छ तर त्यसको उपयोग गर्नका लागि जनतासँग पैसा छैन, आम्दानी गर्ने स्रोत छैन, खाने अन्न छैन भने त्यसको केही अर्थ हुँदैन । विकासको भारवहन गर्न सक्ने क्षमता जनतामा छैन भने त्यो विकासले जनतालाई छुँदैन । तसर्थ स्कुल छ भने त्यहाँ गएर पढ्न सक्ने, अस्पताल छ भने त्यहाँ गएर औषधोपचार गर्न सक्ने, सडक छ भने त्यहाँ गएर गाडी चढ्न सक्ने समक्षता सिर्जना गरिदिनुपर्छ तब मात्रै त्यो विकासले जनतालाई छुन्छ । यसतर्फ हामीले ध्यान दिएका छौंं । अर्को कुरा, हामीले विकासलाई संरक्षण गर्ने, विकासमा समान सामाजिक सहभागिताको सिर्जना गर्ने जस्ता कुरामा ध्यान दिएका छौंं । यसले मात्र विकास अगाडि बढ्न सक्छ । यो ढंगले हामीले काम गरिरहेका छौंं ।

बढीचाहिँ के कुरामा जोड दिइरहनु भएको छ ??

सबै कुरामा अर्थात सन्तुलित विकासलाई हामीले जोड दिइरहेका छौंं । विकास भनेको सडक मात्रै बनाएर हुँदैन, गाडी मात्रै धेरै कुदाएर हुँदैन, कुला पैनी मात्र बनाएर हुँदैन, अस्पताल र विद्यालय मात्रै बनाएर हुँदैन सबै समान रूपले निर्माण गर्नुपर्छ । यो कुरालाई ध्यानमा राखेर हामीले कृषि र पर्यटन, गुणस्तरीय र भरपर्दो शिक्षा र स्वास्थ्य, भूमिको व्यवस्थापन गरेर सुकुम्वासी समस्याको अन्त्य, भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, समावेशी सहभागिता, उद्यमको विकास, पूर्वाधारको विकास, मानवीय श्रमको विकास जस्ता कुरालाई ध्यान दिएर त्यसका माध्यमबाट नगरको विकासमा अगाडि बढिरहेका छौंं ।

तपाईंले भनेका कुरा पूरा गर्दै नगरको विकास गर्न आय स्रोतहरू के कस्ता छन् त ??

थोर बहुत केन्द्रीय सरकारबाट प्राप्त हुने गरेको छ तर हामीले आफ्नै स्रोत र साधन परिचालन गरेर नगरको विकास गर्ने योजना बनाएका छौं । कसैले दिन्छ र विकास गरौंला, धनी होऔंला भनेर पर्खेर बसेर विकास हुँदैन । यहाँका जनताको समान सहभागितामै यहाँ उपलब्ध स्रोत साधनको उपयोग गरेर नै हामी धनी बन्न सक्छौं, बन्नुपर्छ भन्ने हाम्रो कन्सेप्ट हो । त्यसका लागि हामीसँग प्राकृतिक स्रोत छ, पर्यटकीय स्थलहरू छन्, गिट्टी बालुवा छ, वन जंगल छ, उर्वराशील भूमि छ यसैको उपयोग गरेर जनताबाट उठेको करलाई सदुपयोग गरेर हामी नगरलाई समृद्ध बनाउन सक्छौंं । त्यसका लागि खालि हामीलाई सकरात्मक सोचको खाँचो छ । जनतामा सकरात्मक सोचको विकास गर्ने प्रयत्न हामीले गरिरहेका छौंं । म यहाँ नगरप्रमुख भएर आउँदा यसको आय ३० लाख मात्र थियो । म आएपछि पोहोर साल ३ करोड भयो यो वर्ष १५ देखि २० करोड आम्दानी हुँदैछ भने अर्को साल ३० करोड पु¥याउँछौं । यसर्थ भएकै स्रोत साधनलाई व्यवस्थित ढंगले काम गर्ने हो भने आय बढ्छ, नगर समृद्ध हुनसक्छ भन्नेमा हामी विश्वस्त छौंं । हामीले सुकुम्वासी समस्या समाप्त गर्नका लागि आनौपचारिक भूसम्बन्धलाई खतम गर्न नेपालमै पहिलोपटक बेलकाले नापी सुरु गरेको छ । हामीले नापी गरेर लालपुर्जा दिने बेलामा राजस्व लिन्छौं, जुन २ अर्ब रुपैयाँ आउँछ । त्यसैगरी कृषि र पर्यटनबाट पनि हामी आम्दानी गर्छौंं । अहिले हामीले ६ सय बिगाहा जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छौंं । यो तरकारीलाई देशभित्र र बाहिर बिक्री गरेर यसबाट पनि आम्दानी गर्छौंं । त्यसैगरी हामीले १ सय मेघाबाट बिजुली निकाल्दै छौंं त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोडेर वार्षिक १ करोड आम्दानी लिन्छौंं । त्यसैगरी सेवा प्रवाह गरेवापत करको दायरा बढाएर पनि राजस्व वृद्धि गर्छौंं । त्यसैगरी जनतालाई विकासमा समान सहभागिता गराएर पनि आम्दानी गर्छौंंं । अहिले कतिपय बेलका नगरवासीहरूले विभिन्न प्रयोजनका लागि भनेर निःशुल्क जग्गा दिइरहेका छन्, त्यसबाट पनि हामी आम्दानी गर्छौंं । जनतालाई विकासमा सहभागिता गराउने कुरालाई अभियानको रूपमा हामीले अगाडि बढाइरहेका छौंं । यो पनि हाम्रो विकास र आय आर्जनको अर्को स्रोत हो । हामीले कोसी नदीमा बोटिङ, प्याराग्लाइडिङ र क्यानोनिङ चलाइरहेका छौंं, अहिले हात्ती सफारिङको लागि काम अगाडि बढाइरहेका छौं, सामुहिक खेती प्रणालीलाई अगाडि बढाइरहेका छौं । यसबाहेक हामीले यसपटक ५० करोड ५० लाख २५ हजार रुपैयाँ बैदेशिक अनुदान समेत ल्याउन सफल भएका छौं । हामीले कार्यक्रम सर्पोट युनिट बिएसयु भनेर बनाएका छौं । अहिले हामीसँग ३५ वटा विदेशी साझेदार सहयोगी संस्थाहरू छन् तिनलाई नगरको विकासमा आव्हान गरेर विकासमा सहभागिता गराएर आम्दानी बढाउने योजनामा हामी अगाडि बढिसकेका छौं भने जनतालाई कर बढी लिएर होइन, करको दर बढाएर आम्दानी बढाउने योजनाका साथ काम गरिरहेका छौं ।

जनतालाई कर बढाएको छैनौं भन्नुभयो तर जनताले त स्थानीय सरकारले, कम्युनिस्ट सरकारले कर बढाएर ढाड सेकेको कुरा गरिरहेका छन् नि ?

स्थानीय वा संघीय सरकारले कर बढाएको होइन, विपक्षीहरूले हल्ला बढाएका हुन् । हो, हामीले सामान्य कर लिएको छौं तर त्यो जनताकै हितमा उपयोग गरिरहेका छौं । संसारका कुनै पनि मुलुकले कर नलिई मुलुक चलाउन सक्दैनन्, सबैले कर लिन्छन् नै । हामीले पनि त्यहीअनुसार सामान्य कर लिएका छौं, बढी लिएका छैनौं । फेरि बेलका नगरपालिकाका जनताले कर बढी भयो हामी तिर्दैनौं भनेका छैनन् । हामीले न्यायोचित कर लिएका छौं, जनताले भनेअनुसार नै र आम्दानी गरेअनुसार नै कर लिएका छौं । आम्दानी भएपछि कर स्वभाविक रूपले सबैले तिर्नैपर्छ, लिनैपर्छै, जनताले खुसीले तिरी पनि रहेका छन् । व्यवसाय गर्नेले, आम्दानी गर्नेले कर तिरेका छन् तर घाटा भएकोमा, आम्दानी नभइकन कर तिर्नु पर्दैन । हामीले त्यही गरेका छौं । त्यसैले यहाँ कर बढी लिएको पनि छैन, जनताले गुनासो गर्ने गरी कर पनि लगाइएको छैन । हामीले एकएक पैसाको हिसाब जनतालाई दिएका छौं, जनताले पनि आफूले तिरेको एकएक पैसाको हिसाब खोज्नुपर्छ, माग्नुपर्छ । यसैका लागि हामीले सुशासन र पारदर्शिता भनेका छौं । यो सचेतना प्रत्यक नागरिकमा हुनुपर्छ । जनताकै विश्वासमा हामीले काम गर्नुपर्छ, जनताले आफूले तिरेको करको दुरुपयोग हुँदैन, सदुपयोग हुन्छ भन्ने महसुस गरे भने जनताकै बलले विकास हुन्छ । यो हाम्रो नगरपालिकामा सम्भव भएको छ, हामीले गरेर देखाइरहेका छौं । हामीले सिस्टम नै डेभलप गरेर बालुवा गिट्टीबाट यति आम्दानी भयो, यहाँ यति खर्च भयो, कृषि र पर्यटनबाट यति आम्दानी भयो, यति खर्च भयो अन्यबाट आय भयो, विदेशी सहयोगी संस्थाले यो विकासका लागि यति दिए भन्ने कुरालाई हेर्न सक्ने गरी सिस्टममा हालेका छौं । त्यसैले यो हल्ला यहाँ छैन, कतै कसैलाई यस्तो भ्रम परेको भए भ्रम मुक्त हुन र नगरपालिकामा आएर बुझ्न पनि म यही मिडियामार्फत आग्रह गर्दछु ।

नगरपालिकालाई समृद्ध नगर र सुखी नगरवासी बनाउने तत्कालीन र दीर्घकालीन योजना के छन् त ?

हामीले यसका लागि सन्तुलित विकास, समान जनसहभागितामूलक विकासको अवधारणा ल्याएका छौं । विकासको पहिलो आधार र योजना यही हो । यस सँगसँगै हामीले बेलका नगरभित्र चक्रपथ बनाउने काम सम्पन्नताको अन्तिम चरणमा पुगेको छ, त्यतिमात्र होइन नगरभरि कति र कस्ता कस्ता सडकहरू आवश्यक छन्, ती कहिलेसम्ममा बनाइसक्ने भन्ने गुरुयोजना नै बनाएर काम गरिरहेका छौं । विकासको एकीकृत योजना बनाएर बसपार्क कहाँ राख्ने, कहाँनेर खेल मैदान राख्ने, कहाँनेर हाटबजार राख्ने, कहाँनेर औद्योगिक क्षेत्र राख्ने कहाँनेर अस्पात बनाउने, कहाँनेर पार्क बनाउने, कुन कुन स्थललाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने, सुकुम्वासीलाई कहाँ राख्ने भन्ने कुरालाई ध्यान दिएर काम गरिरहेका छौं । यस्ता कामलाई एकीकृत विकास अवधारणाले सहयोग पु¥याउँछ । सुकुम्वासी समस्याको समाधानका लागि गुरुयोजना बनाएर, सिंगो नगरमा नापी गरेर र लालपुर्जा दिएर त्यसको अन्त्य गर्दैर्छौं । हामीले यहीँ सर्पदंश उपचार केन्द्र खोल्न सर्पले टोकेकालाई निःशुल्क उपचार गरिरहेका छौं । आँखा अस्पताल बनाएर सेवा प्रवाह गरिरहेको छ, अब चाँडै आयुर्वेदिक अस्पताल र कृषि क्याम्पस खोल्ने योजनामा छौं । बूढादेखि सानासाना नानीहरूसम्मलाई बेलका रन गरेर स्वास्थ्य राख्ने कामको सुरुवात गरेका छौं, जिम र योगशालाहरू खोलेर सेवा प्रवाह गरिरहेका छौं । वृद्धआश्रम खोलेर सेवा दिइरहेका छौं । महिलाले बच्चा जन्माउँदा कुनै किसिमको समस्या व्यहोर्नु नपरोस् भनेर विवाह भएकै दिन शुभकामना कार्ड दिएर बच्चा जन्माउँदा अपनाउनु पर्ने होसियारीदेखि जन्मान्तरको विषयमा समेत प्रशिक्षण दिने काम गरेका छौं । हाम्रो नगरपालिकामा अहिले १ हजार ८ जना अपांग छन् तिनीहरू कसरी अपांग भए, अब त्यसो हुन नदिन के गर्ने भन्ने कुराको ज्ञानदेखि अपांग भएकालाई सहजीकरण र प्रोत्साहन गर्नेगरिको योजना बनाएका छौं । त्यसैगरी प्रजनन् स्वास्थ्यदेखि स्वस्थ्य बच्चा जन्माउनेसम्मका ज्ञान दिइरहेका छौं । बच्चा जन्माउन नसकेर महिलाको मृत्युु नहोस् भनेर सुरक्षित सुत्केरी गराउन सहयोग गरिरहेका छौं, बच्चा जन्माउन नसकेका सुत्केरी महिलालाई अस्पताल ल्याउनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं । सुत्केरी हुने अघिल्लो दिन नै अस्पतालमा ल्याएर खाने बस्ने र उपचारको निःशुल्क व्यवस्था गरेका छौं । हिंसामा परेका जो सुकैलाई काउन्सिलिङ गर्ने देखि आबाश्य सबै सहयोग गरेका छौं, त्यसका लागि वडा वडामा काउन्सिलर खटाएका छौं । ९३ जना मानसिक स्वास्थ्यका रोगीलाई निःशुल्क उपचार गरिसकेका छौं, निको भएकालाई गतिशील जीवन अगाडि बढाउने उपायको खोजी गरिदिनेदेखि यस्तो समस्या नपरोस् भनेर उपाय बताइदिने काम समेत गरेका छौं । त्यसका लागि काठमाडौंबाटै डाक्टर लगेर सेवा दिइरहेका छौं । गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि नगरले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गरिरहेका छौं । त्यसैगरी आश्रित र विपन्न परिवारका लागि प्रत्येक महिना रातो कार्ड बनाइदिएर प्रत्येक महिना नै १५ किलो चामल, २ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन घर घरमै उपलब्ध गराइदिएका छौं । हामीले यो दसैँमा सबै गरिबहरूलाई एकसरो नयाँ कपडा दियौं । त्यसैगरी ‘जहाँ अभर त्यहाँ सपोर्ट’ भन्ने कार्र्यक्रम नै बनाएर जसलाई जतिबेला जस्तो आपत विपत आइलाग्छ त्यस्तै सपोर्ट तत्काल गरिदिने व्यवस्था गरेका छौं । मानौं, कसैको घरमा आगो लाग्यो तत्काल नगरको दमकल फोर्स पठाएर नियन्त्रण गर्ने, त्यहीँ राहत दिने, पछि सर्जिमिन मुचुल्का बनाउने, कागजात बनाउने र पेस गर्ने गरीको सेवा प्रवाह गरिरहेका छौं ताकि ती काम गर्दासम्म पीडितले झन् पीडा नपाओस्, तत्काल राहत पाओस् । अहिले हाम्रा ५० जना नगर भोलयन्टियर्सहरू अति विपन्नका घरमा स्थानीय सामाग्री र नगरको सहयोग लिएर घर निर्माण गरिरहनुभएको छ । त भोलयन्टियर्सहरू जुनसुकै आपत विपतदेखि दैवी प्रकोप पीडितको सहयोगमा खटिरहेको हुनुहुन्छ । यस्ता टिम हाम्रा ३ वटा छन् । एउटा वेलफेयर्स सर्भिस, अर्को सहयोगी मनका युवा र अर्को युवा तथा खेलकुद समिति । उहाँहरूको दक्षिण कोरियासँग पनि लिंकेज छ, त्यहाँबाट आएको सहयोगले पनि उहाँहरूले जनताको सेवा गरिरहनु भएको छ । यसले खुट्टा काट्नु पर्ने अवस्था भएका बिरामीलाई समेत नकाटिकन उपचार हुने गरी १६÷१७ लाख लगाएर समेत उपचार गर्नुभएको छ, आन्द्राभुँडी निस्किएकालाई समेत ठूलो सहयोग जुटाएर बचाउने काम गर्नुभएको छ । यसमा हाम्रो पैसासमेत खर्च हुनबाट जोगाउनु भएको छ । त्यस्तै पर्दा हामीले पनि खर्च गर्छौंं बचाउनका लागि । यसैगरी अपांगहरूलाई मात्र हेर्न हामीले ४ जना कर्मचारी राखेका छौं । उहाँहरूमार्फत शिविर सञ्चालन गर्नेदेखि उपचार गर्ने, उनीहरूलाई आवश्यक औजारहरू बाँड्ने, उनीहरूलाई र उनीहरूका परिवारलाई आयआर्जन गर्नका लागि सीप सिकाउने, त्यसका योजना बनाएर काम गराउन लगाउनेदेखि वृद्ध, महिला बालबालिकाका लागि सहयोग गर्ने कार्य गरिरहेका छौं । त्यसैगरी माझी, भुजेल, थामी र थारूको उत्थान र विकासको लागि छुट्टाछुट्टै कोष बनाएर काम गरिरहेका छौं भने अति विपन्न क्षेत्री बाहुनहरूका लागि पनि बजेट छुट्याएर उनीहरूको आय आर्जनको लागि हामीले काम गरिरहेका छौं । हामीले ‘उत्पादनमा हाम्रो साथ, बस्दिन म खालि हात’ भन्ने नाराका साथ सबैलाई उत्पादनमा जोडेर सबैलाई आय आर्जनमा लगाएको छौं, उनीहरूको आय आर्जन वृद्धि गरिरहेका छौं । यसका लागि ३ सय ३२ वटा कृषि सहकारी र २०४ जना एले आर्पिहरू छन्, तिनीहरूले ती सहकारी समूहमार्फत सबैलाई सेवा सहयोग दिन्छन् । उनीहरूलाई हाम्रो नपाले प्रविधि र कृषि औजारहरू सस्तो मूल्यमा दिन्छ, प्रशिक्षणहरू दिन्छ त्यसलाई उनीहरूले ति साझा सहकारी समूहमार्र्फत वितरण गर्छन्, सेवा दिन्छन् र जनतालाई आय आर्जनको काममा लगाउँछन्, उत्पादनमा लगाउँछन् । कृषकले उत्पादन गरेको वस्तु हामीले खरिद गरिदिन्छौं, उत्पादित वस्तुको बिक्री वितरणको ग्यारेण्टी हामी लिइदिन्छौं । जसले गदौ ढुक्कका साथ किसानहरूले वस्तुको उत्पादन गर्छन् । त्यसका साथै विभिन्न सीप विकासका प्रशिक्षणहरू दिन्छौं र लगानी गरेर सानासाना उद्योग गर्न प्रोत्साहित गर्छौंं । हामीले कृषिका पकेट एरिया तोकेर त्यहाँ किसानलाई विभिन्न फसलहरू लगाउने प्रोत्साहित गरिरहेका छौं । जनताले उत्पादन गरेका वस्तुको संकलन केन्द्रहरू बनाएर उनीहरूको उत्पादित वस्तु किनिदिने गरेका छौं, कृषिको बीमा गरिदिने गरेका छौं । कृषकलाई सस्तो ब्याजदरमा पैसा दिनेदेखि अनुदानको व्यवस्थासम्म गरिएको छ । त्यतिमात्र होइन, कृषको जमिनको माटो परीक्षण गरेर कृषि गर्न लगाएका छौं, मल बीउ र बेर्ना दिनेसम्मको काम हामीले गरेका छौं, पैसाको अभाव हुनेलाई पैसा दिएका छौं, जग्गा नहुनेलाई जग्गै उपलब्ध गराइदिएका छौं, चक्लाबन्दी खेतीतर्फ आकर्षित गराएका छौं । सामूहिक खेती गर्नेलाई प्रविधि र अनुदान सहयोगदेखि सबै सहयोग गरेका छौं,कृषकको डाटा राखेका छौं, कसले के उत्पादन ग¥यो, कुन बजारमा लग्यो, अनुदान लगेर काम ग¥यो वा गरेन वा दुरुपयोग ग¥यो त्यसको जानकारी नगरपालिकालाई हुने गरी सफ्टवेयरको विकास गरेका छौं । राम्रो गर्नेलाई पुरस्कृत गरेका छौं त्यसले गर्दा कालोबजारी गर्नेहरूको पनि अन्त्य भएको छ । जसले गर्दा किसानहरू खुसी भएर कृषि उत्पादन र चक्लाबन्दी खेतीमा लागेका छन् । जसले गर्दा हामी खाद्यान्नमा आत्मनिर्भर भएका छौं । अझ अहिलेदेखि त हामीले किसानले उत्पादन गरेका खाद्यवस्तु कतारसम्म पठाएर बेच्न थालेको छौं । पहिले रक्सी खाएर हल्लिँदै हिड्ने र हरिणको चोरी सिकारी गरी दुई नम्बरी गरी ह्डिने युवाहरू अहिले मेहेनती बनेर खेतीपातीमा लागेका छन्, आज आर्जनमा लागेका छन् । यसबाट नगरलाई आम्दानी भएको छ, जनता पनि सुखी भएका छन् । त्यसैगरी यो नगरलाई नेपालकै सबैभन्दा बढी खसी बाख्रापालन र संकलनको स्रोत केन्द्र बनाउने गरी योजना बनाइरहेका छौं । यो प्रस्ताव प्रदेश र केन्द्र सरकारसँग राखेका छौं । त्यसमा दुवै सरकारहरू सकरात्मक देखिएका छन् । यो नगरलाई पर्यटन हब बनाउन २२ वटा पर्यटकीय स्थलको पहिचान गरिएको छ, त्यसमा संसारका पर्यटक भित्र्याउने योजना बनाइरहेका छौं । यसर्थ अहिले कम्युनिस्ट पार्टीको सरकार भएको बेला बेलका नगरपालिकामा कोही पनि जनता भोकै सुत्दैन, लाउन खानले मर्दैन त्यो ग्यारेण्टीका साथ काम गरिरहेका छौं । विकास भनेको मनमा शान्ति र अनुहारमा क्रान्ति देखिनु हो । हामीले त्यही हुने गरी काम गरिरहेका छौं । विकास भनेको पनि यही होे । मनमा शान्ति र अनुहारमा क्रान्ति भएन भने त्यो विकास नाम मात्रको भाषणमा मात्र सीमित भएको विकास हुन्छ, त्यसले जनतालाई खुसी बनाउँन सक्दैन ।

यी सबै काम गर्नका लागि तपाईंलाई समस्या पनि होलान्, माथिल्ला दुई सरकार र कर्मचारीको कत्तिको सहयोग पाउनुभएको छ ?

इच्छा शक्तिका साथ देश र जनताका लागि सोचेर इमान्दारिताका साथ काम गर्दा सबैको सहयोग हुन्छ र भएको पनि छ । पहिलो कुुरा त म जनतालाई बेफाइदा हुने र व्यक्तिलाई मात्र हित हुने काम नै गर्दिनँ । म सामूहिक हितका लागि मात्रै काम गर्छु । यसो भएकाले कसैले भन्ने, असहयोग गर्ने कुरै हुँदैन । अर्को कुरा संघीय सरकारकै योजना ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएकोले हाम्रो काम पनि संघीय सरकारलाई नै सहयोग गर्ने हो । बेलाकावासी जनता सुखी भए, आत्मनिर्भर भए, यो नगर समृद्ध भयो भने देशकै गरिमा बढ्ने हो, राष्ट्रिय आयमै टेवा पुग्ने हो । यो केन्द्रीय सरकारकै एक पिलर भएकाले यसले गर्ने राम्रा कामको असर राष्ट्रिय रूपमै पर्छ । तथापि यसका आफ्नै समस्या छन्, कर्मचारी अभावको समस्या छ, ऐन कानुनका समस्या छन्, कानुन कार्यान्वयनको समस्या छ, सुरक्षा चुनौतीहरू पनि छ, आममान्छेको सोच र शैलीको समस्या छ, आचरण र व्यवहारमा तालमेल नहुने समस्या पनि छ, केन्द्रीय सरकारले र अन्य स्रोतबाट मात्र २३ करोड रकम आउँछ, ताकि हामीले कृषिमा मात्रै अहिले १५ करोड बजेट छुट्याएका छौं । यस्तो अवस्थामा स्रोत र साधनको त समस्या नहुने कुरै भएन, अन्तरनिकाय समन्वयको पनि समस्या छ, जनताका अपेक्षा पूरा गर्न काम तीव्र गतिमा गर्नुपर्ने दायित्वको चाप पनि छ । यी सबै कुरालाई सीमित स्रोत, साधन र कर्मचारीको अभावबीच संयोजन मिलाउने समस्या छ तर समस्या छ भनेर भागेर हुँदैन सामना गरेरै पार लगाउनुपर्छ । सबैको विश्वास जितेर काम परिणाममा देखाएर जानुपर्ने परिस्थिति हामीलाई छ । यसमा तलबितल गर्ने छुट हामीलाई छैन । तसर्थ यो सबै चुनौतीलाई अवसरको रूपमा लिएर काम गरिरहेको छु, सबैलाई विश्वासमा लिएर काम गरिरहेको छु, जनताको पैसाको पूरापूर उपयोग गरेर जनतालाई रिटर्न गरिरहेको छु, जनताको हितमा हुने काममा जोखिम पनि उठाएरै काम गरिरहेको छु । कर्मचारीको अभाव भएकोले र संघीय सरकारले कर्मचारी नपठाएको अवस्थामा नगरको विकासलाई अवरुद्ध हुन नदिने करारमा कर्मचारी लिएको छु । संघीय सरकारले हामीलाई हाम्रो स्वीकृति नलिई कर्मचारी भर्ना गरे ती कर्मचारीको रकम आफँै तिर्नुपर्ने परिपत्र गरेको छ, आफूले कर्मचारी पनि नपठाउने हामीलाई राख्न पनि नदिएर जनताको काममा समस्या उत्पन्न गरिरहेको छ । त्यसलालई चिरेर अति आवश्यक कर्मचारी हामी आफैँले राखेका छौं । जनताको हितका लागि काम गर्दा कर्मचारी भर्ना गर्दा जेल जानुपरे बरू जाने तर काम गरी छाड्ने अडानका साथ काम गरेको छु । विदेशीले दिएको सहयोगको पनि पूरै उपयोग गरिरहेको छु, बेलका नगरपालिकालाई दिएको सहयोगको सही सदुपयोग हुन्छ, दुरुपयोग हुँदैन, विकासमा लाग्छ भन्ने काममार्फत सिद्ध गरेको छु । सुशासनको प्रत्याभूति दिएको छु, विकासका सबै आधारलाई संरक्षण गरेको छु । अब हिजोको ढंगले हिँडेर, गरेर, सोचेर लक्ष्यमा पुग्न सकिँदैन । हिजोको सोच विचार त्यागेर नितान्त फरक ढंगले नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ किनकि अहिलेको समय परिस्थिति सरकारको अवस्था, योजना, कार्यक्रम फरक खालका छन्, ठूला दुई वाम पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको स्थिर सरकार छ । यसैको जगमा टेकेर जनपक्षीय निर्णय गर्दै मुलुकलाई विकासको मूल प्रवाहमा लैजानु पर्ने छ । हिजो जनतासँग गरेका वाचाहरू पूरा गर्नु छ, त्यो पूरा नगरी नहुने विशेष परिस्थितिमा हामी भएकाले जस्तोसुकै चुनौतीको सामना गरेर, व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रिय उद्देश्य पूरा गर्नु पर्ने छ । तसर्थ यो ढंगले काम नगरी सुखै छैन । त्यसै भएर सबैको सहयोग पनि पाइरहेको छु, झन बेलकावासी जनताको त पूरै साथ र सहयोग पाएको छु । जसले गर्दा यी कामहरू गर्न, यी उपलब्धिहरू हासिल गर्न सहज भएको छ ।

तपाईंको नगरमा कम्युनिस्ट सरकारलाई जनताले कसरी लिएका छन नि ?

मेरो नगरका जनताले मात्र होइन, सिंगो मुलुकका जनताले कम्युनिस्ट सरकारलाई स्वीकार गरिसकेका छन्, विकास र समृद्धिका लागि उत्साहाका साथ हेरिरहेका छन्, समृद्धि चाहेका छन्, जन चाहानाअनुसार विकास र समृद्धिको यात्रा अगाडि बढ्दै गएको छ । मनमा शान्ति र अनुहारमा क्रान्ति हुने गरी हामीले काम गरिरहेका छौं । विकास भनेको पनि यही होे । मनमा शान्ति र अनुहारमा क्रान्ति भएन भने त्यो विकास नाम मात्रको हुन्छ, त्यसले जनतालाई खुसी बनाउँन सक्दैन । सरकार पनि यही रूपबाट अगाडि बढिरहेको छ, त्यसमा बेलका नगर पनि लामबद्ध छ । त्यो वातावरण हाम्रो नगरमा तयार भएको छ ।

तर नगरका जनप्रतिनिधिले त आफैँले डोजर ट्याक्टर किनेर आफैँलार्इं योजना पारेर त्यसलाई काममा लगाएर पैसा खाइरहेको कुरा आएको छ नि ?

यास्तो धेरै ठाउँमा भएको सुनिएको छ तर यो नगरपालिकामा यस्तो कहिँ छैन यसको ठीकविपरीत हामीले काम तीव्र गतिमा गरिरहेका छौं । हामी भाषणमा होइन, परिणाममा देखिने गरी गर्छौंं, हामीले गरेका काम स्थलगत रूपमा हेरे हुन्छ । हामीले जे भनेका छौं, गरेका छौं, जे गर्न सक्छौं, त्यो गरेका छौं । यहाँका प्रत्येक जनतालाई सोधेमा प्रस्ट भन्नेछन् । हामीले हाम्रा युवालाई विदेशी श्रममा होइन, स्वदेशी श्रममा लगाउनुपर्छ भन्ने भावनाको विकास गराएका छौं । बेलका नगरपालिकाको बजेट अनावश्यक खर्च गर्ने, बिल मिलाएर कमिसन खाने अवस्था आउन र अनावश्यक बजेट खर्च हुन कदापि दिइने छैन । अनुगमन, नियन्त्रण र कारवाहीलाई कडाइ गरिएको छ । जसले गर्दा यस्तो दुस्साहस हाम्रो नगरपालिकामा गर्ने त कुरै छाडांै कसैले कल्पनासम्म गर्दैन ।

यी काम सम्पन्न गर्न अन्य पार्टीको कत्तिको सहयोग छ त ?

सबैको सहयोग छ, किनकी हाम्रो नगरमा न त पार्टीभित्र गुट छ नत प्रतिपक्षको कुनै समस्या छ । विकासका लागि हामी सबै एक छौं । यहाँका जनताले खालि विकास मात्र चाहेका छन्, खान लगाउन पाऊँ भनेका छन्, त्यसैले यहाँ कुनै समस्या छैन । विकास निर्माणमा हामी अन्य पार्टीलाई पनि सँगै लैजाने गर्छौंं त्यसैले यहाँ विकासविरोधी कोही पनि छैन । हामी सामूहिक सहभागिताका आधारमा यो नगरलाई समृद्ध बनाउँछौं, सबैको मन जित्दै काम गर्छौं ।

काममा सन्तुष्टि असन्तुष्टि के छ ?

सन्तुष्टि नै छ, किनकी मैले जनताले अनुभूत गर्ने गरी नै काम गरेको छु । कृषकमैत्री काम गरेको छु जसका कारण मलाई हालै यूएनडीपी र कृषि मन्त्रालयले सम्मानसमेत गरेको छ । हामीले समानुपातिक र सन्तुलित विकास गरेका छौं । यहाँ महिला, बालबालिका, वृद्ध, अपांग, अनाथ, पिछडिएको सबै वर्गका लागि कार्यक्रमहरू छन् । यहाँसम्म कि खेलकुदमा लागेको बच्चा छ भने उनीहरूलाई बेग्लै ट्युसनको व्यवस्था गरेका छौं । शिक्षामा हामीले प्रत्येक विद्यालयमा ई–हाजिरीको व्यवस्था गरेका छौं, सीसी क्यामेरा राखेका छौं, स्मार्ट टिचिङको व्यवस्था गरेका छौं, प्रत्यक स्कुलमा टकिङ टिचरको व्यवस्था गरिदिएका छौं । जसले गर्दा १ हजारभन्दा बढी विद्यार्थीहरू बोर्डिङ स्कुल छोडेर सरकारी स्कुलमा भर्ना हुन आएका छन् । निजी क्षेत्रमा पढाउने शिक्षकलाई डे«सको व्यवस्था गरिदिएका छौं,महंगी भत्ता थपिदिएका छौं, बाल विकास केन्द्रमा पढाउनेलाई महंगी भत्ता दिएका छौं, पियनहरूलाई ड्रेस दिएका छौं । प्रत्येक स्कुलमा शैक्षिक क्यालेण्डर बनाएर त्यसअनुसार पठनपाठन गर्न परिपत्र गरेका छौं । अति विपन्न परिवारका बच्चालाई स्कुलमा खाजाको व्यवस्था गरिदिएका छौं । बालबच्चालाई स्कुल नपठाउने तल्लो वर्गका जनताका बच्चालाई घरमै गएर होम ट्युसनको व्यवस्था गरेका छौं, खाना खाजाको व्यवस्था गरेका छौं । त्यसवापत उनीहरूलाई नगरपालिकाको जग्गा दिएर खेती गर्न लगाई त्यसबाट उत्पादित अन्न तरकारी बेचेर नगरपालिकाले त्यसबाट रकम कट्टा गरी बाँकी रकम उनीहरूलाई नै दिने गरिएको छ । यसले गर्दा उनीहरू पनि सुखी भएका छन्, नगरपालिकालाई पनि आम्दानी भएको छ । खेलकुदलाई त्यसैगरी प्रमोट गरेका छौं भने नगरमा बोटबिरुवा रोपी हरियाली बनाउने काम गरिरहेका छौं । यो काम सबै वडामा पु¥याएका छौं । ‘आफू भलो त जगतै भलो ’ भन्ने भनाइका साथ काम गरिरहेको छु । यसरी काम गरिरहेकोले म आफ्नो काममा सन्तुष्ट छु ।

गाउँले दुःखी जीवन परिवर्तन मेरो एकमात्र उद्देश्य


श्याम कार्की, अध्यक्ष, भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि.

तपाईंको संस्थाको नाम, स्थापना मिति र सञ्चालनका बारेमा बताइदिनुस् न ।
मुलुकमा राजनीतिक क्रान्ति पूरा भयो अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने उद्देश्यले यो बहुउद्देश्यीय सहकारी संस्था २०५२ साल कार्तिक १५ गते २८ जना सेयर सदस्यबाट स्थापना भएको हो । गाउँमा छरिएर रहेको ससानो पूँजीलाई संकलन गरी सुरक्षित गर्नु, सानातिना व्यवसाय गर्न चाहनेलाई ऋण दिने, विदेश जानेलाई ऋण दिएर समस्या समाधान गर्नु र गाउँलेको दुःखी जीवनलाई परिवर्तन गरी सुखी बनाउने हाम्रो ध्येय थियो । यसमा हामी आंशिक रूपमा सफल पनि भएका छौंं । पहिले पहिले गाउँमा बचत गर्न चाहने व्यक्तिका घरदैलोमै पुगेर सानोतिनो रकम बचत गर्ने कोही थिएनन् यसले गर्दा केही गर्नको लागि गाउँमा पैसाको समस्या हुने, ऋण पाउन गाह्रो हुने, पैसा हुनेहरूको हराउने, चोरी हुने, लुटिने डर भइरहने हुन्थ्यो । यसरी रकम सुरक्षित नहुँदा बचत गर्नेहरू पीडित बन्ने गरेका थिए भने नहुनेहरू ऋण नपाउने समस्याबाट ग्रसित हुन्थे । यो समस्या समाधानका लागि देशैभर यस्ता संस्थाहरू खुलेका हुन् । यसको विकास, विस्तार, हाम्रो योजना, चाहना र जनताको आवश्यकताअनुसार निश्चित साथी सहयोगी मिलेर यो सहकारी हामीले डिभिजन सहकारी कार्यालय, धुलिखेलमा दर्ता गरेर सञ्चालनमा ल्याएका हौं । सुरुमा २८ जना सेयर सदस्यको करिब ३ हजार रकम जम्मा भएको थियो । त्यसबाट आज यसको पूँजी बढेर ३७ करोडको हाराहारीमा पुगेको छ र राम्रै ढंगले सञ्चालन भइरहेको छ । गाउँलेहरूको जीवनमा पनि आर्थिक रूपमा आमूल परिवर्तन आएको छ ।

कुनै सन्दर्भ मिल्यो कि, कुनै घटना परिघटनाले छोयो कि, यसको अध्ययन अनुभवले तान्यो के कारण र परिस्थितिले सहकारी सञ्चालन तर्फ लग्यो ?

म जागिर खाँदै स्थानीय तहको कम्युनिस्ट पार्टीको राजनीति गर्दै थिएँ, त्यो बेला मलाई अराष्ट्रिय तत्व भनेर जागिरबाट हटाइयो । त्यसपछि व्यापार व्यवसाय ठेक्कापट्टातिर लागेँ । केही समय पसल पनि चलाएँ । त्यसमा निकै घाटा भयो र छोडेँ । त्यसपछि भीरकोट भाग्य निर्माण कम्पनी दर्ता गरेर ठेक्कापट्टाका काम गरेँ जुन अहिले पनि चलिरहेको छ । यससँगै गाउँमा छरिएर रहेको सानो सानो पूँजीलाई एकत्रित गरेर जनताकै हितमा काम गरांै, गाउँले जनताको जीवनमा आमूल आर्थिक परिवर्तन ल्याऔँ भन्ने उद्देश्यले केही साथीहरू मिलेर यो सहकारी सञ्चालन ग¥यौं । तर हामी सहकारीको पूर्ण ज्ञान नभई सहकारी दर्ता गरेर सञ्चालन गर्न थालेका हौं । ज्ञान थिएन तर हाम्रो भावना पवित्र थियो । सहकारीकै माध्यमबाट गाउँले जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने हामीमा आत्मविश्वास पनि थियो । त्यसैले हामीले सहकारी सिक्न र प्रयोग गर्न कन्जुस्याईँ गरेनौँ । सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको यो सहकारी बन्न पुगेको हो । हामी मात्रै होइन आज जिल्लाका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियन्ताहरू हाम्रो संस्थाप्रति गर्व गर्छन् । यसले हामीलाई अत्यन्तै खुसी पार्ने गर्छ । दोलखावासीले यो संस्थालाई औधी माया गर्नेे र यसको श्रीवृद्धिमा निरन्तर योगदान गरिरहेका छन् ।

दोलखामा यो संस्थाको प्रभाव कस्तो छ, कत्तिको सबल छ ?

यो संस्था कति सबल र सक्षम छ भन्दा पनि यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा महत्वको भएको छ । आज सक्षम छ कि छैन भन्ने विषय गौण बन्ने गरेको छ किनकि यसको मजबुती, सक्षमता, सुशासन, विश्वसनीयता र दिगोपनामा सदस्य एवम् समुदायले प्रश्न उठाउन छाडेका छन् । त्यो संस्थाप्रति बढेको जनविश्वासको प्रतीक हो भन्ने मेरो बुझाइ छ । अब यसका सदस्य र समाजमा कस्तो प्रभाव पार्न सकेको छ अर्थात् समाज परिवर्तनमा यो सहकारीले के कति योगदान गर्न सक्यो ? के गर्दैछ र भविष्यमा के गर्न सक्छ ? भन्ने विषय महत्वको बनेको छ । त्यसैले यो संस्थाका कार्यक्रमहरू सदस्यको जीवनस्तर कसरी सहज र समृद्ध गर्न सकिन्छ ? समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ ? यसको माध्यमबाट गाउँका युवा, युबतिलाई कत्तिको रोजगार उपलब्ध गराउन सकिन्छ, राष्ट्रिय अर्थतन्त्रमा कत्तिको योगदान दिन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । त्यसैले यो संस्था पनि सबल छ, हामी पनि सबल नै छौं ।

यसले के कसरी के कस्ता काम गर्दै छ त ?

यो संस्थाले डिभिजन सहकारी कार्यालयको स्वीकृतिमा गाँउमा छरिएर रहेको पूँजी संकलन गरी सीमित वित्तीय कारोबार गरिरहेको छ । हामीले भर्खरै प्रदेश सरकारको सहभागितामा साझेदारी कार्यहरू पनि गर्ने भनेर त्यसखालका साझेदारी योजना बनाइरहेका छांै । यसले संस्थाको विश्वसनीयता र जोखिम लिने क्षमता अझै बढाएको छ । कृषिको माध्यमबाट पशुपालक किसानसँग पुगेर उनीहरूको क्षमता विकास र आयस्रोतमा वृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाइरहेका छांै । वैदेशिक रोजगारीमा जानेहरूका लागि ऋण उपलब्ध गराइरहेका छौंं । त्यसबाहेकका साना तिना रोगजार सिर्जना गर्ने आय आर्जनका कामहरूमा पनि लगानी गरिरहेका छौं । यसका सेयर सदस्यलाई १५ प्रतिशत नाफा उपलब्ध गराइरहेका छौं । अब त्यसलाई बढाएर १८ प्रतिशतसम्म पु¥याउने योजना बनाइरहेका छौं । सहकारीको आफ्नै भवन बनाइसकेका छौं । पहिले यो निश्चित ४÷५ वटा गाविसमा थियो अहिले जिल्लाभरि नै कार्यक्षेत्र बनाएर काम गरिरहेका छौं । अहिले हाम्रा सेयर सदस्य ३ हजार पुगिसकेका छन् । यो ढंगले काम गरिरहेका छौं ।

यसको नीतिमा कुनै समस्या छ ?

अहिलेसम्म छैन, भएको नीतिले काम चलिरहेको छ, तर नीति भनेको समय परिस्थितिअनुसार परिवर्तन हुने कुरा भएकोले समय र आवश्यकताअनुसार फेरबदल हुँदै जानुपर्छ, समयसापेक्ष बनाउँदै जानुपर्छ,सहकारीमैत्री बनाउँदै जानुपर्छ भन्ने लाग्छ ।

यसका चुनौती के कस्ता छन ?

चुनौती थुप्रै छन् । गाउँमा पैसाको अभावै हुन्छ, सबैले चाहे जस्तो ऋण पाउँदैनन्, दिन सकिँदैन, पुग्दैन । गाउँलेले चाहे जति ऋण नपाउँदा कतिपय रिसाउँछन्, कतिपयले ऋण लगेर तिर्दैनन्, पैसा डुब्छ, भनेको समयमा पैसा उठाउन सकिँदैन, पैसा उठाउँदा मान्छेले नराम्रो दुष्टिले हेर्ने गर्छन्,गाउँका मान्छेको सोच सानो हुने हुँदा सञ्चालन गर्न गाह्रो हुन्छ, जनशक्तिको अभाव हुन्छ ।

के केमा बढी लगानी गर्नुहुन्छ ?
वैदेशिक रोजगारीमा बढी गरेका छौं । त्यसबाहेक कृषि र सानातिना उद्योगमा पनि गरिरहेका छौं ।

योजना के छ त ?

संस्थालाई विस्तार गर्दै लाने, अधिकतम पूँजी संकलन गर्ने, सेयर सदस्यहरूलाई अधिकतम नाफा दिने, वित्तीय र गैरवित्तीय सेवा सञ्चालन गर्ने, कृषिजन्य वस्तु र सेवाका उद्योगहरू सञ्चालन गर्ने, सहुलियतमा आधारित डिपार्टमेण्टल पसलहरू सञ्चालन गर्ने, गैरवित्तीय कारोबार पनि गर्ने, बाँझा जग्गाको भरपूर उपयोग गरेर कृषि उत्पादन बढाउने, संकलन गर्ने र बजारीकण गर्ने, सरकारसँग पनि साझेदारी गरी स्रोत साधनको समुचित उपयोग गर्ने र आर्थिक रूपमा जिल्लालाई पूर्णरूपमा आत्मनिर्भर बनाउने एवं गाउँलेको जीवनमा आमूल परिवर्तन गर्ने हाम्रो योजना छ । यसमा हामी चाँडै सफल पनि हुन्छौं ।

यसको आधार के छ थप के भन्नुहुन्छ ?

यसको मुख्य आधार संस्थाको काम र टिमवर्क हो । अर्को, आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रम ल्याउनु पर्छ भनेर त्यसको केही खाकाहरू तयार गरिसकेको छ । मलाई विश्वास छ यो संस्थाको अनुभवी र समर्पित टिमले संस्थाले अगाडि ल्याएका सबै योजनालाई विगतमा जस्तै भविष्यमा पनि सफल बनाउँदै लैजानेछ । हामीलाई माया र सहयोग गर्ने सहयोगी हातहरू बढिरहेका छन् । हामी जिल्लाबाट प्रदेश पुगिसकेका छौं, सरकारलाई साझेदार बनाउन लागेका छौं, कृषिलाई बढी फोकस गरिरहेका छौं । यसका साथै हाम्रो जिल्लामा स्रोत साधन पनि प्रशस्त छ, त्यसलाई राम्ररी उपयोग गर्ने कार्यक्रमहरू बनाइरहेका छौं, युुवा लक्षित कार्यक्रमहरू बनाइरहेकाछौं, पूँजी विस्तार गरिरहेका छौं, नयाँ नयाँ योजनाको छनौट गरिरहेका छौं, वित्तीय र गैरवित्तीय कारोबारमा पनि ध्यान दिइरहेका छौं, सेयर सदस्यहरू पनि बढाइरहेका छौं । यिनै हुन् हाम्रा बलिया आधारहरू । अन्तमा मेरा संस्थागत भनाइहरू सबैमा पु¥याइदिनुभयो तपाईंलाई विशेष धन्यवाद । हामीलाई सहयोग गर्ने सबैलाई पनि हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु । यसका साथै नजिकिँदै गरेको महान चाड विजया दशमीको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।