खस क्षेत्रीसँगै आर्य र अन्य सबैको हित गरौं


“संयुक्त खस क्षेत्री समाज” नेपाल खस क्षेत्री समुदाय र हामीजस्तै बहिष्करणमा परेको अर्को जात ब्राम्हणलाई भएको अन्याय र विभेदको अन्त्य गर्ने नितान्त स्वतन्त्र संगठन हो । यसले अन्यायमा परेका ब्राम्हण, क्षेत्री, ठकुरी, गिरी, दशनामीहरूलाई अधिकार दिलाउनका लागि
माग राख्ने, दबाब सिर्जना गर्ने, आन्दोलन गर्ने, त्यसका लागि सबै विचार समूह र अन्य सबैलाई समेटर एकीकृत गरेको स्वतन्त्र शक्तिको मूल प्रवाहयुक्त संगठन हो । यहाँ पार्टीका गतिविधि र विचारहरू हुँदैनन् यो हामीले प्रष्ट भनेका छांै, त्यहीअनुसार गरेका पनि छांै ।

खस क्षेत्रीसँगै आर्य र अन्य सबैको हित गरौं

महासचिवजी अहिले के के काम गर्दै हुनुहुन्छ ?
संयुक्त खस क्षेत्री नेपालको महासचिवको हैसियतले नेपालको संविधानले विभेद गरेको आरक्षणको कोटा या त हटाउनु पर्ने या त वास्तविक आदिवासीहरू खस, क्षेत्री र आर्यलाई संविधान संशोधनमार्फत संविधानमा राखिएको अन्य हटाई आदिवासीमा सूचीकृत गर्नुपर्ने, राज्यले दिने हरेक सेवा सुविधामा अरूसरह आरक्षणको कोटा दिनुपर्ने भन्ने माग पूरा गराउन लाग्ने, टोल सुधार समितिको अध्यक्ष र नेकपाको पूर्वनगरकमिटीको उपाध्यक्षको नाताले नगरका जनताका समस्या समाधान गर्ने, विकास निर्माणका काम गर्ने, पार्टीले लगाए अह्राएका काम गर्ने, संगठन विस्तार गर्ने, विन्दवासीनी टोल सुधार समितिको अध्यक्षको नाताले टोलका सामाजिक काम गर्ने, राष्ट्रिय अभिभावक संघको केन्द्रीय सदस्यको नाताले आमअभिभावकको हित र चासोका काम गर्ने, विन्दवासिनी मन्दिर संरक्षण समितिको अध्यक्षको नाताले त्यो मन्दिरको संरक्षण र सम्वद्र्धन गरी धर्म संस्कृतिको विकास गर्ने र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको नगर सदस्यको नाताले बिनाबर्दीको प्रहरी भएर नगरको शान्ति सुरक्षामा नगर प्रहरीलाई सहयोग गर्नेलगायत आफ्ना निजी कामहरूमा व्यस्त रहने गरेको छु ।

पार्टी सम्पूर्ण रूपले एक भइसकेको छैन, तपाईंंहरूलाई जिम्मेवारी नै तोकिएको छैन पार्टी कमिटीका काम कसरी गरिरहनुभएको छ त ?
हो अहिले दुईवटा पार्टी एक भएका छन् तर एकताका सम्पूर्ण काम सम्पन्न भएका छैनन्, केन्द्रीय सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला संयोजक सहसंयोजक, इञ्चार्ज सहइञ्चार्ज, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्ने काम भएको छ तर सम्पूर्ण कमिटी फर्मेसन हुन सकेको छैन, विभागहरू बन्न सकेका छैन, अर्थात एकताका बाँकी काम पूरा हुनसकेका छैनन् । त्यसैगरी तल्ला कमिटीहरू बनिसकेका छैनन्, थुप्रै नेता कार्यकर्ताहरू जिम्मेवारीविहीन भएका छन् तर पार्टीका सबै संरचना बन्ने तयारीमा छन्, यहाँ पनि बन्छ नै यद्यपि, म पूर्वनगरकमिटी उपाध्यक्ष भएर काम गरिसकेको हुनाले र पहिले पनि विभिन्न भूमिकामा, समाजसेवीको रूपमा जनताका दुःख सुखमा समाजसेवाका काम गरिरहेको हुनाले अहिले पनि बिनापद, बिनाजिम्मेवारी त्यसैगरी हिजोकै रूपमा सक्रियताका साथ काम गरिरहेको छु । इच्छाशक्ति भए जनताका काम गर्न पद चाहिँदैन भन्ने मेरो मान्यता छ ।

यहाँको पार्टी संगठन कसरी चलिरहेको छ त ?
यो चाँगुनारायण नगरपालिकामा ९ वटा वडाहरू छन् । यहाँ सबै वडामा हाम्रो पार्टीको संगठन राम्रो छ । यो नगरपालिकामा मेयर उपमेयरलगायत हाम्रो बहुमत छ । संगठन विस्तारमा पनि हामी राम्रैसँगले खटिरहेका छौं, विस्तार पनि भइरहेकै छ । तत्काल हाम्रो पार्टीको एकताको काम पूरा भइनसकेकोले तत्काल सदस्यता वितरण नभए पनि हामी जनतालाई बुझाउने, पार्टी प्रवेश गराउने काममा लागि नै रहेका छौं । म दावाका साथ भन्छु हामी यो नगरपालिकामा आउने निर्वाचनमा पनि संघ, प्रदेशसहित ९ वटै वडामा जित्ने छांै, तीनै तहका सरकार बनाउने छौं । यसैको आलोकमा पार्टीलाई सशक्त बनाउने छौं । यहाँ हामीले त्यो ढंगले सबै काम गरिरहेका छांै ।

तपाईं २०५४ सालमै एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएर काम गरी सक्नुभएको छ । जनताका समस्या सबै थाहा छ, समस्याचाहिँ के छन नि ?
हो, मलाई पार्टीले २०५४ सालमा दुवाकोट गाविसको अध्यक्षमा प्रत्यासी बनाएको थियो तर तत्कालीन अवस्थामा हाम्रो पार्टीको सांगठानिक अवस्था कमजोर भएको हुनाले मैले थोरै मतले पराजित हुनु परे पनि केही वडा हामीले जितेका थियौं । हामीले हारे पनि जनतासँगको सम्बन्ध राम्रो बनाएका कारण हामीले त्यसपछिका निर्वाचनमा सफलता हात पार्दै गएका छौं । यहाँका जनताको मूल समस्या सडक, बिजुली, पानी, ढल, फोहोरमैला र भट्टाको व्यवस्थापन, जग्गासम्बन्धी काम, मठमन्दिरको संरक्षण, रोजगारी, शिक्षा र स्वास्थ्यको सुधार, प्रभावकारी सेवा प्रवाहलगायत भौतिक पूर्वाधार निर्माणका काम मुख्य समस्या हुन् ।

यो कसरी पूरा होला त ?
यो सरकार बनेकै जनताका यिनै काम पूरा गर्नका लागि हो । हाम्रो एकलौटी पाँचवर्षे बलियो सरकार बनेको हुनाले यी सबै काम क्रमिक रूपमा सम्पन्न हुन थालेका छन्, हुँदै जान्छन् । यसमा ढुक्क रहन र सरकारका हरेक कामलाई साथ दिन म जनतामा आग्रह गर्न चाहन्छु ।

तपाईं संयुक्त खस क्षेत्री नेपालको महासचिव पनि हुनुहुन्छ, यसको किन आवश्यकता प¥यो, यो संस्थामा रहेर अहिले के गर्दै हुनुहुन्छ बताइदिनुस् न ।
समग्र खस क्षेत्री समुदायको एकीकरणका निम्ति सबै क्षेत्रीहरूका संगठनलाई एकीकरण गरेर २०६९ साल पौष २८ गते यो संगठनको स्थापना भएको हो । म स्थापनाकालदेखि विभिन्न पदीय हैसियतमा काम गर्दै गत साल पुस १६ गतेबाट यो पदीय मर्यादामा छु । नेपालको अन्तरिम संविधान २०६३ ले इतिहासको उषाकालदेखि मुलुकका विभिन्न भूभागमा बसोवास गर्दै आएका राष्ट्र र राष्ट्रियताका लागि जीवन बलिदान गर्ने आधा करोडभन्दा बढी संख्यामा रहेका खस क्षेत्री समुुदायमाथि गरेको संवैधानिक विभेदविरुद्ध र खस क्षेत्री समुदायको ऐतिहासिक पहिचान, अस्तित्व रक्षा तथा आत्मसम्मानका साथ जीवन बिताउन पाउने अधिकार प्राप्तिको लागि विभिन्न थर भएका क्षेत्री समुदायहरू तथा तिनीहरूका संघ संस्था एक आपसमा आबद्ध भई पारस्पारिक सहयोग अभिवृद्धि गरी क्षेत्री समुदायको उत्पत्ति विकासक्रम, धर्म संस्कृति, रीति रिवाजसमेतको अध्ययन अनुुसन्धान गन, गरिबी र पछौटेपन हटाउने उद्देश्य र आवश्यकताले यो संगठनको स्थापना भएको हो । यो संगठनमा रहेर मलगायत हाम्रो संगठनले हाम्रो समुदायलाई संविधानसभाको निर्वाचन समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अन्यको सूचीमा राखी राज्यको पुनर्संरचना र नयाँ संविधान निर्माणको अवसरबाट वञ्चित गरी दोश्रो दर्जाको नागरिकजस्तो व्यवहार गरेकोले समग्र खस क्षेत्री जातिलाई अन्यको सूचीबाट हटाई संविधानमै बेग्लै आदिवासीको सूचीमा सूचीकृत गर्न पहलकदमी लिने र आईएलओ १६९ अन्तर्गत १४२ बुँदामा समेटिएका हक अधिकार प्राप्त गर्ने, सुरुमा हाम्रो संगठनले लिएको घोषित माग पूरा गराउने कार्यमा संठनको विधान र परिधिभित्र रहेर सबैको सल्लाह सुझावअनुसार आफूले सकेको र संगठनले लगाएको काम गरिरहेको छु । यही सन्दर्भमा देशभरिका खस क्षेत्रीहरूका गाउँबस्तीका जाने उहाँहरूका समस्याको पहिचाहन गर्ने, सिखलगायत आर्य समुदायलाई पनि यो अभियानमा समेट्ने जस्ता काम गरिरहेको छु, गरिरहेका छौं ।

यो संगठन कस्तो प्रकृतिको हो ?
यो खस क्षेत्री समुदाय र हामीजस्तै बहिष्करणमा परेको अर्को जात ब्राम्हणलाई भएको अन्याय र विभेदको अन्त्य गर्ने नितान्त स्वतन्त्र संगठन हो । यसले अन्यायमा परेका ब्राम्हण, क्षेत्री, ठकुरी, गिरी, दशनामीहरूलाई अधिकार दिलाउनका लागि माग राख्ने, दबाब सिर्जना गर्ने, आन्दोलन गर्ने, त्यसका लागि सबै विचार समूह र अन्य सबैलाई समेटर एकीकृत गरेको स्वतन्त्र शक्तिको मूल प्रवाहयुक्त संगठन हो । यहाँ पार्टीका गतिविधि र विचारहरू हुँदैनन् यो हामीले प्रष्ट भनेका छांै, त्यहीअनुसार गरेका पनि छांै ।

मताधिकारका विचारहरू त होलान् यहाँ स्वतन्त्र रहन सक्नुहोला त ?
सकिन्छ, हामी राजनीतिक प्राणी त हौं तर हामी राजनीति गर्ने स्थान अन्तै छ । हामी त्यहाँ गएर राजनीति गर्छौ तर यहाँ हामी नितान्त संसारभर रहेका खस क्षेत्रीहरूको हित र अधिकारका काम गर्छौं । यहाँभित्र कुनै दर्शन, इज्म र वाद हुँदैन । क्षेत्रीको नाममा यहाँ अन्य गतिविधि हुँदैनन् तर क्षेत्रीको हक, हित र अधिकारका लागि खोलिएका जुनसुकै संघसंस्था वा संगठलाई एकीकृत गर्ने उसका मुद्धा बोक्ने काम हामी गर्छौं ।

त्यसो गर्दा तपाईंहरूलाई पार्टीले समस्या पार्दैन ?
पार्दैन, हामी त्यहाँ रहँदा पार्टीका हितविपरीतका गतिविधि कोहि गर्दैनांै, बरू देश, जनता र सबै पार्टीहरूलाई नै फाइदा पुग्ने र पार्टीले गर्नुपर्ने नै काम गर्छौं । हामी के कुरामा सचेत छौं भने हामी यो स्वतन्त्र संस्थालाई राजनीतिमा जोड्दैनौं, पार्टीमा बसेर स्वतन्त्र संस्थाको अहित हुने, संस्थालाई जोड्ने काम गर्दैनौ, जातीय सद्भाव खल्बल्याउने खालका कुनै गतिविधि गर्दैनौं । यहाँभित्र राजनीतिक रंग आउन दिँदैनौं अर्थात हामी राजनीति गर्न पार्टीमा जान्छौं समग्र क्षेत्री र आर्यको हित गर्न यो संस्थामा आउँछौ र काम गर्छौं । यहाँभित्र हामी सबै विचारका मान्छे छौं तर भित्र विचारको द्वन्द्व, विचारको बहस हुन दिँदैनौं । यी दुवैमा हाम्रो फरक फरक भूमिका हुन्छ । यसर्थ हामीलाई कुनै समस्या पर्दैन ।

संगठन कसरी सञ्चालन गर्नुहुन्छ, आर्थिक कहाँबाट जुट्छ ?
सबै खस क्षेत्री हाम्रा सदस्य हुन्, हामी उनीहरूलाई सदस्य बनाउँछांै, त्यसमा पनि एक घर एक सदस्यको नीति बनाएका छांै र उनीहरूसँग सामान्य सदस्यता शुल्क लिन्छौं । केही भैपरी आउने समस्यामा कार्यसमितिको बैठक बसेर पदाधिकारी र सदस्यबाट अतिरिक्त शुल्क उठाउँछौ । हाम्रो आर्थिक श्रोत यही हो । हामी कसैसँग चन्दा माग्दैनौं, कसैलाई जबर्जस्ती गर्दैनौं, कुनै विदेशी संस्थासँग पनि चन्दा माग्दैनौं । सबैलाई समेट्छांै, सबैको सहयोगले यो संगठन अगाडि बढाउँदै छौ ।

यसबाहेक तपाईंले कुन कुन क्षत्रमा रहेर काम गर्नुभयो ?
नेपाल सरकारको राष्ट्रिय क्षयरोग केन्द्रमा १६ वर्ष काम गरेँ । त्यहाँबाट उपदानमा निस्किएर राजनीतिमा लागेँ । पूर्णकालीन कार्यकर्ता भएर राजनीति गरेँ, २०५४ सालमा तत्कालीन नेकपा एमालेबाट टिकट पाएर गाविस अध्यक्षमा चुनाव लडेँ । त्यहाँदेखि अहिलेसम्म म नेकपाको कार्यकर्ताको भूमिकामा विभिन्न पदमा रहेर काम गरिरहेको छु । त्यसबाहेक सामाजिक काममा पनि लागिरहेको छु । त्यसअन्तर्गत लकाई खड्का कुल देवता मन्दिर संरक्षण समितिको अध्यक्ष छु । त्यहाँ मेरै सक्रियतामा कुल देवताको मन्दिरसमेत निर्माण गरेका छौं । त्यसैगरी नेपाल अभिभावक संघको केन्द्रीय सदस्य र जिल्ला समन्वय समितिअन्तर्गत एउटा इकाई छ, त्यसको राष्ट्रिय पढाइ कार्यक्रमको जिल्ला सदस्य पनि भएकोले शैक्षिक संस्थामा भएका विकृति विसंगतिका विरुद्ध पनि मैले थुप्रै काम गरेको छु, सुधारका काम गरेको छु । लागू औषधविरुद्धको राष्ट्रिय अभियान समितिको जिल्ला सदस्य र प्रहरी साझेदारी अभियान नेपालको नगरकमिटी सदस्य रहेर सामाजिक हिंसा, घरेलु हिसाविरुद्ध काम गरिरहेको छु । यिनै संघ संस्थामार्फत म जनताका घरघरमा गएर काम गरिरहेको छु, गरिरहने छु ।

स्थानीय जनप्रतिनिधिले त जनताका हितमा भन्दा ठेक्कापट्टामा,कमिसनमा बढ्ता ध्यान दिन थालेको, आँफै डोजर किनेर आफैँलाई ठेक्का पारेर ऐनविपरीत काम गरिरहेका छन् भन्छन् नि हो ?
यो कुरा धेरै हदसम्म सत्य हो । आंशिकले यसो नगर्लान् तर अधिकांशले यसो गर्न थालेको, आफू र पार्टीलाई बदनाम गर्न थालेको देखिन थालेको छ । तपाईंहरूकै मिडियामा देखिन थालेको छ, यो दुःखदायी विषय हो । यसमा सरकारको कडा निगरानी र नियन्त्रण हुनु जरुरी छ । यसो भएन भने पार्टीका नेता कार्यकर्ताले त दुःख पाउँछन्, पाउँछन् सिंगो मुलुकका जनताले दुःख पाउँछन् । यसमा सचेतता अपनाउनु पर्छ । यसको अन्त्य गर्न हिजोको कम्युनिस्ट आचरणको विकास गर्नुपर्छ । त्यसका लािग प्रशिक्षण दिनुपर्छ, पार्टी नेतृत्वले पार्टीको विधि विधानमा रहेर कडाईका साथ पार्टी नेता कार्यकर्तालाई हिँडाउनु पर्छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीले लगाम लगाउनुपर्छ, अनुशासनमा राख्नुपर्छ, पदीय आचरणविपरीत आर्थिक चलखेलमा लाग्न दिनु हुँदैन । पार्टीलाई पनि विधि विधानमा सञ्चालन गर्नुपर्छ, गुटको अन्त्य गर्नुपर्छ । अवसरको वितरण प्रणाली बलियो र विधिसम्मत बनाउनुपर्छ । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई कडा दण्डको नीति कडाईका साथ कार्यान्वयन गर्नुपर्छ । ठूलालाई चैन, सानालाई ऐन हुनुहुँदैन । यसो भयो भने सबै कुरा ठीक ठाउँमा आउँछ अनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ऐतिहासिक अभियान बल्ल पूरा हुन्छ । यो अभियानमा नेकपाका सबै नेता कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी र जनता लागौं । यिनै भनाइ राख्दै मेरा विचारहरू जनतासम्म पु¥याउने लोकप्रिय सञ्चार संस्था छलफल साप्ताहिक र यसको सम्पादन मण्डलको टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

हामी कोहीपनि आफैँ नकारात्मक हुनुहुँदैन


जुलि कुमारी महतो नेकपाकी केन्द्रीय सदस्य, सभासद् एवं धनुषा जिल्लाकी सहईन्चार्ज हुनुहुन्छ । पार्टीको भातृसंगठन अनेम संघबाट राजनीति गर्दै आउनुभएकी उहाँ समानुपातिक तर्फबाट सांसदको जिम्मेवारीमा आउनुभएको हो । यसभन्दा अगाडि नै सभासद्को जिम्मेवारी वहन गरेर विकास निर्माणमा पार्टीलाई योगदान दिइसक्नुभएकी जुलि पार्टीका बिभिन्न मोर्चामा काम गर्दै केन्द्रीय सदस्य र जिल्ला सहईञ्चार्जको भूमिकामा आउनुभएको हो । जस्तो सुकै सँग पनि अगाडि बढ्ने महतोसँग नेपालको पछिल्लो राष्ट्रिय राजनीति, पार्टीका गतिविधि र विकास निर्माणका
बारेमा छलफलले गरेको कुराकानीको सम्पादित अंशः

यहाँले भर्खरै जिल्ला सहइञ्चार्जको जिम्मेवारी पाउनु भएको छ, पार्टी र संसद्का गतिविधिहरू के कसरी अगाडी बढाइरहनु भएको छ ?
मलाई पार्टीले भर्खरै जिल्ला सहइञ्चार्जको जिम्मेवारी दिएको छ । अहिले दुईवटा पार्टी एक भएका छन् तर एकताका सम्पूर्ण काम सम्पन्न भइसकेका छैनन्, टुंगिने तरखरमा छन् । केन्द्रीय सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला संयोजक सहसंयोजक, जिल्ला इञ्चार्ज सहइञ्चार्ज, जनवर्गीय संगठनका संयोजक र सहसंयोजक तोक्ने काम भएको छ । अब केही दिनमा विभागको एकताको काम टुंगिन्छ । त्यसपछि हामी तल नगर कमिटी, वडा कमिटी निर्माणका काम सम्पन्न गरेर संगठन विस्तारमा लाग्ने भनेर पार्टी सचिवालयले घोषणा गरिसकेको छ । यिनै काममा लाग्ने जिल्लाका कार्यकर्ता र जनताका बीचमा जानेलगायतका काम पार्टीको जिल्ला सहइञ्चार्जको रूपमा गरिरहेको छु । यता संसद्मा हालै आएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएर धेरै जनता मरेका छन्, देश शोकमा डुबेको छ, यो बेला तपार्ईंंमार्फत म ती सबै स्वर्गीय जनताप्रति हार्दिक श्रद्धाञ्जली र शोेकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्न चाहन्छु । यो कुरा मैले संसद्मा पनि गरिसकेको छु, पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग पनि गरिसकेको छु । यो बेलामा म त्यहाँ जाने जनताका अवस्था बुझ्ने, जनताका कुरा सदनमा ल्याएर सरकारलाई भन्ने, अबका दिनमा यस्तो समस्याबाट कसरी मुक्त हुने भन्ने बारेमा सबैसँग छलफल गरेर त्यो कुरा संसद्मा राख्ने, आफूले सकेको सहयोग जनतालाई गर्ने, संघीय संसद्का कानुन बनाउने, जिल्लाका विकास निर्माणका काम गर्नेजस्ता कामहरू गरिरहेको छु ।

तपार्ईंंको पार्टीको सरकारले काम कस्तो गर्दैछ ?
हाम्रो पार्टीको सरकारले राम्ररी काम गरिरहेको छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान पूरा हुने गरी काम गरिरहेको छ, कतिपयको परिणाम देखिन पनि थालेको छ कतिपयको अब केही समयपछि देखिने छ । भर्खरै भारतबाट पाइपलाइनबाट अमलेखगञ्जसम्म तेल ल्याउने कामको उद्घाटन नै भइसक्यो, पानीजहाज सञ्चालनको तयारी हुँदैछ, रेल सञ्चालनका लागि काम हुँदैछन्, हवाईमैदान, बाटाघाटा बन्ने, स्तरोन्नति हुने काम तीव्र गतिमा भइरहेको छ, कानुन निर्माणदेखि, अनुगमन, नियमन, विकास निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका कामहरू भइरहेका छन् । अन्य सयौं कामहरूको र विकासको लागि ट्र्याक खोल्ने काम गरिरहेको छ, अझ राम्रो गर्ने योजना बनाइरहेको छ ।

तपाईंले सरकारले राम्रो काम गरिरहेको छ भनिरहँदा प्रतिपक्षलगायत तपार्ईंकै पार्टीका नेताले समेत सरकारले राम्रो काम गर्न सकेन, विवादस्पद काम बढी ग¥यो, जनताका हितमा काम गर्न सकेन्, पार्टी विधिमा चलेन्, सल्लाहाकार र विज्ञले राम्ररी काम गर्न सकेनन् भन्ने चर्चा व्यापक छ त ?
यो विरोधीले भन्ने गरेको बनिबनाऊ भनाइ हो भ्रमको खेती हो । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसक्नेहरूको आग्रहपूर्ण भनाइ हो । यस्ता भ्रमपूर्ण र तथ्यभन्दा बाहिरका कुरालाई त कठै भन्नबाहेक के पो सकिन्छ र ? तर सरकारले देखिने गरी अनुभूत गर्ने गरी काम गर्दैछ, जुन कुराको एक दुईवटा उदाहरण मैले माथि नै दिइसकेँ । हो जनताका अपेक्षा धेरै छन्, गर्नु धेरै छ, हाम्रै छिमेकको विकासको रफ्तार त्यस्तो तीव्र्र छ, हामी त्यसमा धेरै तल छांै, धेरै तीव्र्र गतिमा अगाडी बढ्नुछ । हामीलाई यसो त्यसो भन्ने छुट छैन, यो कारणले हामीले गर्न सकेका छैनौं भन्ने छुट छैन तर हामीले गर्दै नगरेको कामै नभएको, गलत मात्रै गरेको भन्ने कुरा होइन । यो पूर्वाग्रहपूर्ण भनाइ हो किनकी आज जुन सपना देखाउने प्रधानमन्त्री मुलुकले पाएको छ, सबैभन्दा अब्बल नेता छानेर हामीले प्रधानमन्त्री बनाएका छांै, यो ठूलो कुरा हो । मुलुकका पौने तीन लाख जनतालाई आशा र सपना देखाउने सरकार यही हो, भरोसा दिने सरकार यही हो । कुनै पनि नेताले देश निर्माणको सपना नदेखी विकास निर्माणको काम सम्पन्न गर्न सक्दैन । यो सरकारले पनि काम गरिरहेको छ, विकास निर्माणका काम भइरहेका छन्, सडकलगायत भौतिक पूर्वाधार निर्माणका काम गरिरहेको छ, पाइपबाट तेल ल्याउने काम भइसकेको छ,राष्ट्रियताको सवालमा छलाङ मारेर काम गरेको छ । गुठीलगायत जति पनि विधेयक आएका छन् ती जनताकै हितमा आएका थिए, जनतालाई विषादीयुक्त तरकारी खुआउनु हुन्न भनेर नै प्रधानमन्त्रीले विषादी परीक्षण गर्न भन्नुभएको थियो तर हाम्रो प्रविधियुक्त ल्याब आवश्यकताअनुसार नहुँदा तरकारी खेर नजाओस् भनेर छाडेको हो परीक्षण नै रोक्न लगाएको होइन । सम्बन्धित निकायका उच्च प्रशासकले राम्ररी काम नगर्दिँदाखेरी प्रमले जनताको अगाडी झुकेर माफी माग्नुभयो यो जनताप्रति उत्तरदायी भएको उदाहरण हो, इमान्दारीपूर्ण कर्म हो । यो सरकारले सुन तस्करहरूलाई तह लगाउन खोज्यो, सिण्डिकेटको अन्त्य ग¥यो, जनताका हितमा गुठीलगायत विभिन्न विधेयकहरू ल्याएर यहाँभित्र भएका बेथिति रोक्न खोज्यो, शिक्षा र स्वास्थ्यका विषयमा विधेयक ल्याउन खोजिरहेको छ, सेयर बजारलाई राम्रो बनाउन खोज्यो, विषादी तरकारी, सडक पुल बनाउन ढिला गर्नेहरूलाई कानुन बनाएर तह लगाउन खोजिरहेको छ, कर्मचारीको समायोजन सक्यो, प्रदेश संरचना निर्माण गरिसक्यो, शिक्षा र स्वास्थ्यमा सुधारका प्रयास देखिँदैछन् । यसर्थ यी सबै कुरा भ्रम र आग्रहपूर्ण भनाइ हुन् । यो देशमा सबैभन्दा बढी शासन गर्ने पार्टी नेपाली कांग्रेस हो उसले यत्रो समय किन गर्न सकेन, गर्न नसकेको मात्र होइन, भएको पोख्यो, समाप्त पा¥यो, बिगा¥यो हाम्रो मुलक नै कमजोर पा¥यो । हिजो हामीलाई छोड्ने बेलासम्म बिगारी रह्यो, लुटिरह्यो, त्यसलाई हाम्रो सरकारले राम्रो बनाइरहेको छ भने हामीले कसरी नराम्रो ग¥यौं ? त्यसैले प्रतिपक्षले पनि राम्रोलाई राम्रो भन्न सक्नुपर्छ, अनिमात्र त्यो राजनीतिक संस्कार भएको पार्टी बन्न सक्छ । तर, कांग्रेस त्यो खालको पार्टी होइन, आरोप मात्र लगाउने पार्टी हो, देश पीडामा भएको बेला जनता बाढीपहिरो र डुबानमा परेर मरिरहेको बेला संसद् अवरुद्ध गरिरहेको छ । राहत र उद्धारमा खटिरहेको छैन । यो देख्दा दुःख लाग्छ । हाम्रा पार्टीका नेता कार्यकर्ताले यस्ता कुरा गरेका छैनन्, जति गरिएको छ, त्यसलाई अझ बढाऔं, जनताको अपेक्षाअनुसार गरौं, हाम्रो घोषणापत्रअनुसार गरौं भन्नुभएको हो । यसो भन्नु नराम्रो होइन । हाम्रो समाजमा विभिन्न खालका सोच चिन्तन भएका सामन्तवादी विचार भएका नजताको हित नचाहने सरकारलाई असफल बनाएर स्वार्थसिद्ध गर्न चाहने, अर्काको इसारामा चल्न खोज्ने तत्वहरू प्रशस्त छन् । यस्ता तत्वहरूलाई के कुरा मन पर्छ, पर्दैन यो बुझ्न सकिने कुरा भएन । कामहरू भएका छन्, हुन्छन्, सरकारले राम्रै गरिरहेको छ । कतिपय घटनाले सरकारलाई सतर्क हुनुपर्ने, विचार पु¥याएर काम गर्नुपर्ने, कुनै पनि निर्णय गर्दा अध्ययन गरेर, तलसम्म बुझेर गर्नुपर्छ,अलि तयारीपूर्वक अगाडी बढ्नु पर्ने रहेछ भन्ने पाठ सिकाएको छ । अर्को कुरा पार्टीको सबै एकता प्रक्रिया सम्पन्न नहुँदा पनि त्यसले सरकारका कामलाई जस्ताको तस्तै जनतामा लैजान असहज भयो, नेता कार्यकर्ताहरू कामविहीन भए जसले पार्टी र सरकारलाई क्षति भयो तर अब यसलाई पार्टीले टुंग्याउन लागेको हुनाले केही दिनमा सबै कुरा मिल्नेछ, पार्टी र सरकार सशक्त रूपमा अगाडी बढ्नेछ, विधिमै पार्टी र सरकार चल्नेछ ।

यहाँले यसो भनिरहँदा ठेकदारले सडक, पुल वर्षौदेखि ठेक्का लिएर बनाएका छैनन् तरकारीमा विषादी र मूल्यवृद्धि त्यतिकै छ, सिण्डिकेट हटेको छैन, तरकारी बिचौलिया र भूमाफियालाई कारबाही गरेको देखिँदैन तपार्ईंहरूले यस्ता विषयलाई संसद्मा उठाउनुहुन्न ?
किन नउठाउनु, राम्रा कुरा जनताका हितमा हुने कुरा हामीले उठाई नै रहेका हुन्छौ । भूमाफियालाई हित हुने गरी हिजो बनेको ऐन यो सरकारले संशोधन नै गरेर निमावली बनाएर जग्गाको कारोबार सरकारले रोकिसक्यो, अहिले जग्गा प्लटिङ गरेर बेच्न पाइँदैन । अहिले सरकारले जारी गरेको मूल्य लिएर र मापदण्डभित्र रहेर ऐन कानुनको परिधिभित्र रहेर पारदर्शी बनेर राज्यलाई कर तिरेर काम गर्नुपर्छ, अब हिजोको जस्तो चल्नेवाला छैन । जहाँसम्म सिण्डिकेटको कुरा छ, सिण्डिकेटको अन्त्य भइसक्यो । अहिले यातायत व्यवसाय सञ्चालन गर्न सरकारको सम्बन्धित निकायमा दर्ता गरेर, रूट परमिट लिएर तोकेको भाडा लिएर कर तिरेर एउटा मात्रै गाडी किनेर पनि सञ्चालन गर्न सबैले पाउँछन । तर, कतिपयले सिण्डिकेट भनेको गाडी फालाफाल रूटमा चल्ने, सस्तोमा राम्रा राम्रा गाडीमा चढ्न पाउने, भन्नेबित्तिकै गाडी आइहाल्ने भन्ने कुरा बुझेको देखिन्छ, त्यो होइन । त्यो चाहिँ विकास र सुविधा हो त्यस्तो प्राप्तिको माग गर्नु कल्पना गर्नु, त्यस्तो होस् भन्ने चाहना राख्नु ठीक हो त्यसैका लागि सरकार पनि लागिरहेको छ तर तत्कालै त्यो गरिहाल्नु प¥यो, त्यसो नगरी हुँदैहुँदैन, त्यस्तो नगरे कामै नभएको ठहर्छ, सरकारले सेण्डिकेट नै तोड्न सकेन भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो । त्यसैगरी तरकारीलगायत अन्य वस्तुको मूल्य सरकारले बढाएको होइन, हाम्रोमा उत्पादनको कमी भएर बाहिरबाट आयात गर्नुपर्दा वा नेपालमै पनि उत्पादनमा कमी आएको कारणले माग र पूर्तिको सन्तुलन नमिल्दा, मागभन्दा आपूर्ति कम हुँदा मूल्य वृद्धि भएको हो । यसलाई पनि सरकारसँग जोडेर सरकारलाई दोष लगाउने प्रवृत्ति बढेको छ, यो गलत कुरा हो । मूल्यवृद्धि रोक्न खोज्दा, काम ठेक्कामा लिएर वर्षौसम्म पूरा नगर्ने काम रोक्न खोज्नेहरूलाई कारबाही गर्न खोज्दा दलाल र बिचौलियाहरूले सरकारलाई चारतिरबाट घेराबन्दी गरेर रोक्न खोजेको, मन्त्रीहरूलाई दोषारोपण गरेको, काम गर्न नदिन खोजेको त देखि हाल्नुभयो । यसलाई हेर्दा यस्ता व्यक्तिबाट जोगिएर विकासको प्रतिफल जनतालाई दिन सरकारलाई निकै कठिन भइरहेको छ तर पनि सस्ता विषयलाई सरकारले रोक्छ, मूल्यमा एकरूपता कायम गर्छ नै, किनेको मूल्यको एक चौथाई मूल्य राखेर कर छलेर जग्गा पास गर्नेहरूका अब दिन छैनन् । स्पष्ट देखाएर किनेको वास्तविक मूल्यको कर सरकारलाई तिरेर जग्गा पास हुने सिस्टमको हामीले व्यवस्था गरिसकेका छौं । झोलामा खोला हालेर कमिसन खाँदै हिड्ने, र समयमा काम नगर्ने ठेकेदारलाई कारबाहीस्वरूप जरिवाना भइरहेको छ । यी सबै समस्या हटाएर सरकारले विकास गर्छ विकासले गति लिन्छ , प्रधानमन्त्रीको काम र उद्देश्यमा एक इन्च पनि तलमाथि छैन । सबै कुरा राम्रो गर्नका लागि हो, कांग्रेसले वर्षौदेखि थुपारेको विकृति विसंगति समाप्त पार्न खोजेको हो, मिडियाको विषयमा पनि त्यही होे कामहरू भएका छन्, हुन्छन्, सरकारले राम्रै गरिरहेको छ । तर यो घटनाले सरकारलाई सतर्क हुनुपर्ने, विचार पु¥याएर काम गर्नुपर्ने, विचार पु¥याएर, हरेक निर्णय गर्दा अध्ययन गरेर तलसम्म बुझेर बुझेर, अलि तयारीपूर्वक अगाडी बढ्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ । हो सरकार नेकपाको दुई तिहाईको छ तर हामीले कहीँ दम्भ, घमण्ड, अधिनायकवाद देखाएका छैनौं बरू कांग्रेसले जन निर्वाचित सरकारलाई यो गर्न दिन्न त्यो गर्न दिन्न, यो गर्न पाउँदैनस् भनेर जनतालाई गलत ढंगले उपयोग गरिरहेको छ, गलत सूचनाका आधारमा आन्दोलन गर्न खोजिरहेको छ, सञ्चारमाध्यमलाई गलत ढंगले उपयोग गरिरहेको छ । उसले अधिनायकवादी व्यवहार देखाइरहेको छ जसका कारणले यी समस्या आइरहेका छन् । समयमा पार्टीको एकता प्रकृया सम्पन्न नहुँदा पनि त्यसले सरकारका कामलाई जस्ताको तस्तै जनतामा लैजान असहज भएको छ, नेता कार्यकर्ताहरू कामविहीन भएका छन् जसले पार्टी र सरकारलाई क्षति भएको छ । यसलाई पार्टी सचिवालयले चाँडै टुंग्याउन खोजेको छ, चाँडो टुंग्याउनु पर्छ । यसर्थ सरकार विधिमै चलेको छ, काममै लागेको छ, यसमा कसैले शंका गर्नुपर्ने कारण छैन ।

सरकारले भ्रष्टाचार रोक्न सकिरहेको छैन नि ?
सरकारले गर्न खोजेको छ, गर्दैछ, गर्न खोजेको कुरा देखिन पनि थालेका छन् । विभिन्न निकायका भ्रष्टाचारीहरू पक्राउ पर्न थालेबाट प्रस्ट हुन्छ । फेरि भ्रष्टाचार एउटा प्रधानमन्त्रीले माथिबाट भन्दैमा रोकिने होइन, यो त तलदेखि माथिसम्म नै क्यान्सरको रूपमा छ । यसलाई निमूर्ल पार्न ठेकेदारले गरेको अनियमिततामा निगरानी गर्नुप¥यो, कर्मचारीले गरेको काममा निगरानी गर्नुप¥यो अन्य जहाँकहीँमा भए पनि निगरानी गर्नुपर्छ । जसले यो कामको जिम्मेवारी लिएको छ, उसले त्यो जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्नुपर्छ । एउटा निकाय वा व्यक्तिले गरेको कामको भागीदार प्रधानमन्त्रीले लिने कुरा हुँदैन, जसले गरेको हो उसैले लिनुपर्छ । तर अहिले यसको ठीक उल्टो भइरहेको छ । एउटाले काम बिगार्ने प्रधानमन्त्रीलाई दोष दिने कुराले हामी विकास र समृद्धिमा अघि बढ्न सक्दैनौं । यसर्थ यसतर्फ सबैको ध्यान जानुपर्छ । यसो भयो भने भ्रष्टाचार नियन्त्रण हुन्छ । संगठनले आफनो रोललाई नयाँ ढंगले डिफाइन गरेर अगाडि बढ्नुपर्छ । आज राष्ट्रले हामी सबैबाट यही भूमिका खोजिरहेको छ, त्यो पूरा गर्नुपर्छ ।

मन्त्री फेर्ने कुरा सुन्नमा आएको छ, काम प्रभावकारी नभएर हो वा अन्य आवश्यकताले यो काम भएको होला ?
मन्त्रीहरूको कामबाट प्रधानमन्त्री असन्तुष्ट हुनुभएको मैले सुनेको छैन र मैले फेरि मन्त्रीहरूको हेरफेर हुँदैछ भन्ने कुरा पनि सुनेको छैन । यहाँले आधिकारिक रूपमा पार्टीबाट जानकारी पाउनुभएको भए म भन्न सक्दिनँ त्यो त प्रधानमन्त्रीको स्वविवेकीय कुरा भयो । उहाँलाई आवश्यकताको महसुस भयो, मन्त्री नफेरि सरकारको गति अगाडि बढ्न सकेन भने, त्यो खालको अनूभुति प्रमलाई भयो भने हुन सक्छ । यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको कुरा हो तर मन्त्रीले काम गर्न सकेनन् मेरो उद्देश्यअनुसार काम गर्न सकेन्न भन्ने अनुभूति प्रधानमन्त्रीलाई हुने गरी कुनै मन्त्रीले काम गरे होलान् र प्रधानमन्त्रीले त्यस्तो फिल गर्नुभयो भन्ने मलाई लाग्दैन । तत्काल यस्तो सम्भावना होला जस्तो मलाई लाग्दैन र त्यस सम्बन्धमा यस्तो आधिकारिक कुरा भएको मेरो जानकारीमा पनि छैन, प्रमले भनेको पनि सुनेको छैन । तपार्ईंले मिडियामा सुन्नुभएको हो भने त्यो हल्ला हो, झुठा हो ।

मन्त्रालयका हरेक काम तपार्ईंबाट हुन्छन् भन्छन नि हो ?
म मन्त्रीको श्रीमती भएर उहाँका काम गरेको पनि होइन, त्यस्तो गरेको पनि छैन, यो पूर्वाग्रहीहरूले लगाउने आरोप हो । म तपार्ईंको लोकप्रिय सञ्चार माध्यमबाटै त्यसको खण्डन गर्न चाहन्छु । म पहिले सचेत नागरिक हुँ, त्यसपछि नेकपाको सांसद हुँ, जनताको जनप्रतिनिधि हुँ, विकास निर्माणमा योगदान गर्न सक्ने राजनीतिक प्राणी हुँ । यसर्थ मैले यो राम्रो,यो नराम्रो, यो ठीक, यो बेठीक भन्ने अधिकार पनि राख्छु, हैसियत पनि राख्छु, त्यो मेरो जिम्मेवारी र कर्तव्य पनि हो तर मेरो श्रीमान्को मन्त्रालयमा होइन नेपाल सरकारका सबै निकाय र संघ संस्थामा । यो मैले मन्त्राणी भएर भनेको होइन जिम्मेवार पार्टीको जिम्मेवार सांसद र जिम्मेवार कार्यकर्ता भएर भनेको हुँ । तर यहाँले भनेजस्तो श्रीमान्को मन्त्रालयमा मात्र काम गरी बस्ने, निर्देशन दिँदै हिँड्ने होइन, जहाँ बेठीक काम हुन्छ त्यहाँ भनिहाल्छु । त्यो कुरा त म मन्त्रालयमा मात्र होइन सदनमा समेत उठाउँछु, सरकारसँग उठाउँछु, सरकारलाई नराम्रो नगर्न भन्छु, राम्रो गर्न सहयोग गर्छु, जनताको हित र विकास निर्माणमा सरकार र सम्बन्धित निकायलाई सहयोग गर्छु, यो त मेरो दायित्व नै हो नि । तर यहाँले भनेजस्तो मन्त्राणी भएर फुर्ति देखाउने उद्देश्यले होइन । यो कुरामा त मैले अलि अस्ति वर्षा, बाढी, पहिरोेमा निर्देशन दिएर,राहत लिएर आफैँ जनताकहाँ गएँ, दुःखमा साथ दिएँ, कहिले शिक्षा राम्रो बनाउन, शिक्षामा भएका बेथिति हटाउन शिक्षामन्त्रीसँग गएर भन्छु, स्वास्थ्यमन्त्रीसँग स्वास्थ्य क्षेत्रका बेथिति हटाउन भन्छु, कहिले एक्लै गएर भन्छु, कहिले जनताको डेलिगेसन लिएर गएर भन्छु । अन्य मन्त्रालयमा पनि भन्छु, कुनै मन्त्रालयको काम राम्रो लागेन भने यो भएन यसो गर्नुस् भनेर सुधारको कुरा पनि भन्छु । यो मेरो जिम्मेवारीभित्र पर्ने कुरा हो तर कतिपयले मलाई मन्त्रीसँग जोडेर भन्नुहुन्छ, लेख्नुहुन्छ कतिले मेरो दाइसँग जोडेर भन्नुहुन्छ, लेख्नुहुन्छ घरीघरी त्यसले मलाई पीडा दिन्छ फेरि आँफै सोचेर हेर्छु म भाग्यमानी भएको ठानेर गर्व पनि गर्छु । यद्यपि म क्षमताबाट, कामबाट, निरन्तरताबाट, मेहनत गरेर, जनताको काम गरेर, जनताको मायाबाट र पार्टीलाई यसले जिम्मेवारी पाए पूरा गर्न सक्छ भन्ने विश्वास दिलाएर यहाँ आएको कुरा बिर्सिएर अन्यथा भन्दिँदा भने दुःख पनि लाग्छ । यसर्थ यस्ता कुरामा मेरो त्याग र संघर्षमा भने यहाँहरूजस्ता सञ्चार क्षेत्रका साथीहरूको सुदृष्टि हुनुपर्छ, आग्रह रहनुहुँदैन सत्य, निष्ठा र संघर्षको मूल्यांकन सही र न्यायोचित ढंगले गरिदिनुपर्छ, न्याय मर्न दिनुहुँदैन, काम गर्नेको मूल्यांकन नहुने परिस्थिति हुनुहुँदैन म यो आग्रह पनि यहाँमार्फत सबैलाई गर्न चाहन्छु ।

सांसदले अलि बढी लोभ गरिरहेका छन् कर्मचारीजस्तो दसैं खर्च नै माग्न थाले भन्ने छ नि ?
यो भनाइ राम्रो होइन । अर्को कुरा अहिले कतिपयले सांसदहरूलाई हेर्ने दृष्टिकोण नकरात्मक बनाइरहेका छन् । यो पनि नेगेटिभ धारणा हो । सांसदले त्यस्तो लोभ गरेजस्तो मलाई लाग्दैन । सांसदले अफिसियल रूपमा हामीलाई दसैंपेश्की चाहियो भनेर भनेको कहीँ छैन, मैले त सुनेको पनि छैन । सांसदप्रति यस्तो नकरात्मक धारणा बनाउनु राम्रो होइन । हरेक दुःख पर्दा सांसद चाहिन्छ, सानादेखि ठूला समस्यामा सांसद खोज्ने, जन्म, मृत्युु, विवाह, व्रतबन्ध, समस्यामा सांसद खोज्ने, बिरामी हुँदा सांसदको सहयोग चाहिने, विकास निर्माणमा सांसद चाहिने, जेल र हिरासतमा रहँदासम्म सांसदको खोजिहुने सांसदले अलिकति केही चिज राज्यबाट लिन खोज्यो, राज्यले दिन खोज्यो भने रिँगटा चल्ने उल्टीजस्तो हुने रोगबाट औषधि खाएर भए पनि मुक्त हुनुपर्छ । सांसदको पनि जीवन हुन्छ, आवश्यकता हुन्छन्, मन हुन्छ, सांसदको के सुविधा छ ? राज्यले के दिएको छ र ? सांसदको तलब भत्ता मुस्किलले २५ हजार बाँच्छ । त्यतिले घर चलाउने कि आफ्ना आवश्यकता पूरा गर्ने कि, कार्यकर्तालाई हेर्ने कि आफन्तलाई हेर्ने कि, चन्दा माग्नेलाई दिने कि, जिल्ला पुगेर जनताका सुखदुःख बुझेर आउने कि के गर्ने ? यस्तो हालतमा सांसद छन्, सरकारले त अन्य त्यस्तो सुविधा त केही दिएको त छैन । एकपटक ल्यापटपको कुरा आएको थियो तर सांसदले नै चाहिँदैन भन्नुभएको हो । त्यसैले सांसदको विषयमा नकारात्मक धाराणा बनाउनु बेकार हो, त्यो दिमागी समस्या हो । एउटा सांसदले सारा कुरा समपर्ण गरेर, जनताकै लागि काम गर्ने भनेर, लाखौ दुःख कष्ट सहेर, घरपरिवार समाप्त पारेर, निरंकुशताको विरुद्ध लडेर अझ भन्नु पर्दा जनप्रतिनिधिले जीवन नै बलिदान दिने गरी कसम खाएर आएका छन् । यस्ता जनप्रतिनिधिलाई यो हदसम्मको नेगेटिभ धाराणा राख्नु राम्रो होइन, विवेकको उपयोग होइन ।

काम गर्ने मान्छे कोही कहिल्यै पाखा पर्दैन : देवशंकर पौडेल


देवशंकर पौडेल नेकपाका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका ईन्चार्ज हुनुहुन्छ । पार्टीको भूमिगत राजनीति गर्दै सांसद, जिल्ला ईन्चार्ज हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिरहनुभएका पौडेल जनताका प्रिय नेता हुनुहुन्छ । देश, जनता र परिवतर्न का पक्षमा निरकशुं ताकाविरुद्ध लडरे आउनभु एका उहा शालिन र नके पाका आशालाग्दा नतेका रूपमा परिचित हुनुहुन्छ । जस्तो सुकै चुनौतिको डटेर सामना गर्ने पौडेलसँग नेपालको पछिल्लो राष्ट्रिय राजनीति, पार्टीका गतिविधि र विकास निर्माणका बारेमा छलफलले गरेको कुराकानीको सम्पादित अंशः

देवशंकर पौडेल, केन्द्रीय सदस्य, नेकपा

तपाईं परिवर्तनका लागि कम्युनिस्ट पार्टीमा लाग्नुभयो, केन्द्रीय सदस्य हुनुहुन्छ तर जिम्मेवारी तोकिएको छैन, अहिले के गर्दै हुनुहुन्छ !
पार्टी सामूहिक नेतृत्वमा छैन, अहिले केन्द्रिकृत भएको छ, हामीलाई कुनै जिम्मेवारी तोकिएको छैन तर मेरो सिंगो जीवन यही पार्टीमा, सिंगो देश र रामेछापेली जनताको हितमा काम गर्दै बितेकोले अहिले पनि म पार्टीको केन्द्रीय सदस्य रहेर राजनीति गतिविधिकै काम गरिरहेको छु, जनतालाई भेटिरहेको छु, उनीहरूका सुख दुःखमा सहभागी भइरहेको छु, त्यहाँका जनतालाई पार्टी ज्यूँदै छ, क्रियाशील छ भन्ने भाव दिइरहेको छु ।

कतिपय अग्रज नेताहरू धेरै पहिले केन्द्रीय सदस्य भइसकेकालाई पनि केन्द्रीय सदस्यमा ल्याइएको छैन तिनीहरू अहिले निस्क्रिय भएका छन्, तपाईंहरू नै पनि काममा हुनुहुन्न पार्टीले किन जिम्मेवारी नदिएको होला ?

काम गर्ने मान्छे कोही कहिल्यै पाखा पर्दैन किनभने पदमा हुँदा जिम्मेवारीमा हुँदामात्र काम गर्ने अरू बेला नगर्ने भन्ने कुरा हुँदैन, जनताका काम जहाँ बसेर गरे पनि हुन्छ जतिबेला गरे पनि हुन्छ । सुविधा खोज्नेले, मान सम्मान खोज्नेले, पद खोज्नेले मात्र त्यस्तो सोच्ने हो त्यस्तो गर्ने हो । तर कसैले केही देला, दान बकस पाइएला, पद, पैसा पाइएला भनेर हामी हिजो पार्टीमा लागेको होइन । हो माथि बसेका कसै कसैलाई आफनो चाकडी गर्नेलाई, आफनो सेवा गर्नेलाई केही दिउँजस्तो लाग्ला, पाउने र लिनेले पनि लेलान् तर हामी त्यसका लागि पार्टीमा लागेको होइनौं, कसैले पद दिएन भन्दैमा जनताका कामै गर्न कसैले रोक्दैन । चाहे जोसुकै होस् आश र त्रासमा नपरे केही समस्या हुँदैन, कसैले पछि पार्न सक्दैन, जनताका काम गर्न पनि कसैले रोक्न सक्दैन ।

आश र त्रासमा बस्नेको सख्या कतिको छ ?

हिजो अप्ठ्यारो बेलामा पार्टीलाई बनाउन सर्वस्व दिने, संघर्षमा लागेका जनताका हितमा काम गर्न खोज्ने, योगदान गरेका पुराना अग्रजहरूको संख्या धेरै ठूलो छैन, उनीहरूले आश र त्रास पनि राख्दैनन् तर नदीमा बाढी आएको बेला माछा मार्न, भल छोप्न आउनेहरूजस्तै अहिले पार्टीमा पनि भल छोप्न आउनेहरूको संख्या प्रशस्त छ ।

पार्टी एकताका कामहरूमा ढिलाइ हुनमा के कारण होला र कसको दोष होला ?

कम्युनिस्टको नाममा हामीभित्र भएको पुरातन र सामन्तवादी सोच, विचार, व्यवहार यसको मुख्य कारण र दोषी हो । यस्ता सामन्तवादी सोच, व्यवहार भएका मान्छेमा आफैँले मात्र पाउँ, आफैँमात्र पदमा पुगौँ, आफूमात्र ठूलो होउँ, मैले आदेश गरेको कुरा सबैले खुरुक्क मानुन्, मैले दिने अरूले पाउने समय हो यो भनेर सोच्ने, आसेपासे राखेर श्क्तिशाली हुन खोज्ने,मोजमस्ति गर्नखोज्ने, व्यक्तिगत निर्णय सर्वोपरी ठान्ने प्रवृत्तिका मान्छे हामीभित्र छौं, त्यो सोच नै आजको सबै समस्याको जड हो । यो प्रवृत्ति हिजो राजा महाराजाहरूमा थियो, उसका सन्तान जन्मदै राजा हुने र जनतालाई दुःख दिएर आफू मोजमस्ती गर्ने, शासनको बागडोर आफ्नै वंशमा सार्दै जाने समय थियो । आज हामीले त्यसलाई जनताको बलमा हटाएर जनताद्वारा निर्वाचित हुने प्रतिनिधि राख्यौं, त्यो राजनीतिक पद्धतिको विकास ग¥यौ, त्यो ठाउँमा जनताको हितका खातिर हिजो तिनै राजा महाराजा हटाउने आन्दोलनमा जीवन लगाएका हाम्रा नेताहरूलाई पु¥यायौं, आज उहाँहरू त्यहाँ हुनुहुन्छ तर सोच व्यवहार उस्तै भएको छ, सान शौकत, ठाँट, रवाफ उस्तै भएको छ । मिले शासन पद्धति नै आफ्नै वंशमा सार्न पाए हुन्थ्यो भन्ने खालको भइरहेको छ । मैले २०४८ सालदेखि हेरिरहेको छु कतिपयले सधैँ पाउनै पर्ने, जित्नै पर्ने, लाभ लिनै पर्ने, मान सम्मान पाउनै पर्ने, प्रवृत्ति देखापरिरहेको छ यो सबै पार्टीमा छ, हाम्रो पार्टीमा पनि छ । यही प्रवृत्तिले गर्दा यसो भएको हो । यसर्थ यसको दोष यो प्रवृत्तिलाई दिनुपर्छ जस्तो लाग्छ मलाई ।

अहिले पार्टीमा नीति, नियम, पद्धति,मूल्य, मान्यता अनुशासन र वर्गपक्षधरतामा चलेको छैन थिति विधिबेगर गुटगत रूपमा चलिरहेको छ भन्छन्, त्यस्तै हो, के लाग्छ तपाईंलाई ?

हिजो हामी जुन बेला भूमिगत रूपमा थियौ त्यो बेला हामी जनताको माझमा थियौ, त्यो बेला दैननदिन जनताको वर्ग संघर्षमा सम्लग्न भएर नै हामी अगाडि बढ्यौ । जसले गर्दा वर्गपक्षधरता बलियो थियो, अनुशासन कडा थियो, एकअर्कामा भावनात्मक सम्बन्ध ज्यादै समधुर थियो, आलोचना आत्मआलोचनाको संस्कृति थियो, त्यो अहिले समाप्त भएको छ । त्यो अवस्था क. मनमोहन अधिकारी प्रधानमन्त्री हुँदासम्म थियो । उहाँले पार्टीका सबै काम सामूहिक निर्णय गरेर पार्टीका सबै नेतालाई जानकारी गराएर केन्द्रीय कमिटीको बैठकमा राखेर गर्नुहुन्थ्यो । उहाँ बितेपछि पछिल्ला दिनहरूमा त्यस्तो नीति विधि समाप्त भएको छ । नेतृत्वको आलोचना गरेको खण्डमा त्यसको राजनीतिक भविष्य नै समाप्त पारिदिने अवस्थाको विकास भएको छ । अहिले संख्यात्मक रूपमा पार्टी ठूलो भए पनि गुणात्मक र भावनात्मक रूपमा झन् कमजोर हुन पुगेको छ । हिजोका काम व्यवहारहरू क्रमशः कमजोर हुँदै आएका छन् । पहिलेभन्दा काम गर्न अहिले सहजता भए पनि जनताको बीचमा जाने, पार्टीलाई नीति विधिमा चलाउने, पार्टीको मूल्य, मान्यता र आचरण बिर्सने, क्रियाशीलता, त्याग, समर्पण भुल्ने र व्यवहारमा भ्रष्टिकरण हुने कुरामा बढोत्तरी भइरहेको छ, यो चिन्ताको विषय हो । यसलाई हामीले करेक्सन नगर्ने हो भने परिवर्तनको नाममा समृद्धिको नाममा हामीले हिजो आर्जन गरेका उपलब्धिहरू जोगाउन निकै गाह्रो हुन्छ, हिजो हामीले गरेको त्याग र बलिदान पानीमा बगेर जान्छ । यसमा चाहिँ सबैको ध्यान जानु जरुरी छ । त्यसैले यसलाई पुनर्ताजगी गर्दै, पुनर्मूल्याङ्कन गर्दै, खराब आचरणहरू हटाउँदै पार्टीलाई सशक्त बनाएर सही दिशामा हिँडाउनुपर्छ, शोषित पीडित श्रमजीवी जनताको वर्गपक्षधरताको पार्टी बनाउनुपर्छ । अनिमात्रै हाम्रो पार्टी साँच्चिकै कम्युनिस्ट पार्टी बन्न सक्छ ।

पार्टी एकतापछिको नेकपाको अवस्था कस्तो छ, नेता कार्यकर्ताबीचको भावनात्मक एकता, अन्तर्घुलन कस्तो छ ?

पहिलो कुरा त दुईवटा ठूला राजनीतिक दलहरू एक भएका छन्, यो ज्यादै राम्रो कुरा हो । त्यतिमात्र होइन नेपालका सबै पार्टी वामपन्थि पार्टी एक हुनुपर्छ र संसारका मजदुरहरू एक हुनुपर्छ भनिरहेको बेलामा नेपालका ठूला पार्टी एक हुनु गर्वको कुरा हो, यसका नेता कार्यकर्तामा समस्या छैन, अन्तर्घुलनमा पनि कुनै समस्या छैन, समस्या र खोट माथि नै छ । त्यसलाई हल गरी पार्टीलाई अगाडि बढाउन सैद्धान्तिक, वैचारिक र भावनात्मक एकतामा विकास गर्नुपर्छ । त्यो काम गर्ने भनेको पार्टी नेतृत्वले नै हो,माथि नै हो । माथि राम्रो भयो, बिजुलीको तारमा माथिबाट करेन्ट ठीकसँगले प्रवाह भयो भने सबै बत्तीहरू बल्न सक्ने गरी तल व्यवस्थापन भइसकेको छ । मेरो जिल्लामा दुईवटै पार्टीबाट आएका नेता कार्यकर्तामा राम्रो सम्बन्ध छ, यो सम्बन्ध सबैतिर होला भन्ने मलाई लाग्दछ । माथि यो तेरो यो मेरो, यता पल्ला भारी हुन्छ कि उता पल्ला भारी हुन्छ भनेर मासु बेच्नेले सुँगुरको जगर जोखे जस्तो गरेर हुँदैन । अहिलेका युवाहरू यो पार्टीप्रति यति चिन्तित छन् कि हाम्रा अग्रज पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीलगायत अहिलेका अग्रजहरूले बनाएको पार्टी बिग्रिने हो कि, कम्युनिस्टको नाममा बुर्जुवा शैली र आचरणतर्फ अगाडि बढ्ने हुन कि भन्ने चिन्ता अहिलेका युवामा देखिन्छ । युवाहरू चिन्तित त छन् तर उनीहरू निर्णायक ठाउँमा छैनन् । चाहे जोसुकैले होस् पार्टीको विचारलाई शिरमा राखेर हिँड्ने हो भने कुनै समस्या आउँदैन । स्वार्थलाई शिरमा राख्दा मात्र सबै समस्या आउने हो, यस्ता समस्या आउनै दिनुहुँदैन । यसो भयो भने केही समस्यै हुँदैन । यसर्थ पार्टीमा त्यस्तो निराशा छाउने गरीको समस्या त छैन तर नसुधार्ने, नसोच्ने, अहिलेकै ढंगले हिँड्ने हो भने चाहिँ समस्या जटिल बन्न सक्छ ।

पार्टीमा गुुट र खटपट छ कि छैन ?

हिजो पार्टी भूमिगत थियो गुट भएको तल थाहा पाउँदैन थिए तर अहिले पार्टी खुला छ, स्वार्थहरू खुला छन् । हिजो त्याग, समर्पण, बलिदानबाहेक अगाडि केही देखिँदैन थियो त्यहाँ कि विजय कि मृत्युबाहेक केही हुँदैन थियो, फेरि त्यो प्रष्टै देखिन्थ्यो तर आज खुल्लमखुल्ला हुन थालेको छ । हिजोका सामन्तले लुकेर थाहा नपाउने गरी किसान मजदुरका घरबाट खसी, बाख्रा, गाई,भैंसी डो¥याउँथे, अलिकति भए पनि थाहा नपाई खेतबारी कब्जा गर्नु पाएहुन्थ्यो भन्ने थिए तर समय क्रममा ती कमजोर भए, कोही हराए तर तिनका ठाउँमा नयाँ मान्छे आएका छन् । बरू ती हिजोका सामन्त कृषि कर्म गर्थे तर आजका सामन्त भने माथि माथि आकाशमा खेती गर्न खोज्ने, अर्कालाई थिचोमिचो गरेर धन आर्जन गर्न खोज्ने, राज्यको सम्पत्ति हडपेर, भ्रष्टाचार गरेर धनी हुन खोज्ने प्रवृत्ति ज्यादै बढेको छ । यो भुईंफुट्टा वर्गमा बढी देखिन्छ , यहि भुईंफुट्टा वर्गले पार्टीमा समस्या भएको छ, तिनैले गुट बनाउन प्रोत्साहित गरेका छन् । यसको अन्त्य यहिलेको हाम्रो आवश्यकता हो । अहिले हामी दुई तिहाईको सरकार सञ्चालन गरीरहेका छौं । यस्तो अवस्थामा हाम्रा नट बल्टुहरू राम्ररी कस्न सकियो भने हामी र अर्को पार्टीबीच देखिने गरी काम गर्न सकियो भने हामीलाई कसैले दमन पनि गर्न सक्दैनन्, पार्टीभित्र गुट र खटपट पनि हुँदैन, पार्टी पनि राम्ररी अगाडि जान सक्छ । त्यसो भएन, सुधारिएन, राम्रोसँग काम गर्न सकिएन भने कलकत्ते कम्युनिस्ट हुन धेरै बेर लाग्दैन । यसमा सबैको ध्यान दिनुपर्छ ।

समग्र पार्टीको अवस्था कस्तो देखिन्छ आशा वा निराशा ?

हामीले विशाल कम्युनिस्ट पार्टी निर्माण गरेका छौ, झण्डै आँफै दुई तिहार्ईको हाराहारीमा सरकार सञचालन गरीरहेका छौ, स्थानीय र प्रदेश सरकारमा पनि हामी नै दुई तिहाई नजिकमा छौ, सात प्रदेश मध्य ६ वटा मा हामी दुई तिहाईमै छांै, यसलाई विश्वले उत्सुकताका साथ हेरिरहेको छ । तर हामीले आफूले आफैँलाई चाहिँ चिन्न सकिरहेका छैनौं, बुझ्न सकिरहेका छैनौं । हाम्रो पार्टीमा आफैँ सेलिब्रेटीजस्तो बनेर सबै कुराको जस एक्लै लिन खोज्ने सामूहिक नेतृत्व, सामूहिक अपनत्व, सामूहिक जस लिन नखोज्ने, विधिमा पार्टी सञ्चालन गर्न नखोज्ने प्रवृत्तिले पार्टीमा समस्या भइरहेको छ । यो पुष्पलालको त्याग र समर्पणबाट बनेको पार्टी, यसलाई यहाँसम्म ल्याउन उहाँले सर्वस्व दिनुभयो, जीवन नै समर्पण गर्नुभयो, खाइनखाइ निरङ्कुशताका विरुद्ध लड्नुभयो, छिन्ताङका, सुखानीका, टिमुरबोटेका सहिदहरूले निरङ्कुशताका विरुद्ध लडेर आएको यो परिवर्तन र बनेका पार्टीहरू, मदन भण्डारीको विचारले बनेको यो पार्टी, हिजोका हाम्रा पार्टीका हजारौं सहिदहरूले गरेको जनयुद्धको जगमा भएको परिवर्तन, त्यसले प्राप्त गरेको उपलब्धिलाई हेर्ने हो भने अहिले हामीले गरिरहेका कामले हामीलाई लज्जाबोध हुन्छ । ती महान सहिदहरूले देश र जनताका लागि परिवर्तन चाहेका हुन्, व्यक्तिगत स्वार्थका लागि होइन । ती एक एक सहिदको योगदानलाई भुलेर मैले यो गरेँ, त्यो गरेँ भनेको सुन्दा सहिदको योगदानलाई धुलिसात गरिरहेको जस्तो मलाई लाग्छ । तर जे भए पनि हामी निराशापूर्ण बाटोमा छैनांै, आशालाग्दो भविष्य हेरेर बसिरहेका छांै । यसर्थ हिजोका हाम्रा अग्रजहरूको त्याग बलिदान, विश्व कम्युनिस्ट आन्दोलनले हामीबाट आशा गरेको कुरालाइ हेर्ने हो भने, त्यसलाई गहिरो गरी बुझ्ने हो भने हामी ठीक ठाउँमै छौं आशापूर्ण क्षितिजमै छौं तर हामीले हाम्रा व्यवहारमा करेक्सन गर्नैपर्छ । हामीले हाम्रा आचरण र व्यवहारलाई नसुधार्ने, आपm्नो स्वार्थमा मात्र लाग्ने, सामूहिक स्वार्थमा नलाग्ने, कम्युनिस्ट आचरण र व्यवहारमा नबस्ने, देश र जनताका लागि नसोच्ने हो भने हामी निराशापूर्ण बाटोमा जानेछौं । त्यसैले हामी कता जाने हो कस्तो पार्टी बनाउने हो त्यो हाम्रै हातमा छ, हामीले हाम्रा अग्रजलाई हेरेर भोलिको बाटो तय गर्ने हो भने हामी उज्यालो भविष्यतर्फको यात्रामै छौं । तर कार्यशैली, आचरण र व्यवहारमा सुधार गर्नु जरुरी छ । पार्टीलाई जनतामा आधारित पार्टी बनाउनुपर्छ, सरकार पार्टीबाट सञ्चालित हुनुपर्छ । यति भयो भने सबै कुरा ठिक भएर जान्छ । त्यो दिसामा पार्टीलाई अगाडि बढाउनुपर्छ ।

त्यो दिशातर्फ पार्टी हिँड्न खोजेको छ, जान सक्ला ?

सैद्धान्तिक, वैचारिक रूपमा भन्दा पनि प्राविधिक रूपमा बढ्ता ध्यान दिएर आवश्यकताले पार्टी एकता भएको हो र यसकै छत्रछायामा नेतृत्वको खल्तीबाट पद झिकेर आफ्ना र आफ्ना वरपरकालाई बाँडफाँड गर्दा समस्या भएको हो । त्यसैले यस्ता कुराको अन्त्य गरेर मैले माथि भनेका कुरालाई शिरोपर गरेर पार्टीका अधिवेशन र महाधिवेशनमा छलफल गरेर एउटा निश्चिित विधि र मापदण्ड बनाएर सैद्धान्तिक, वैचारिक रूपमा अगाडि बढाएर लैजानुपर्छ । अहिले भएका कमी कमजोरीहरूमा करेक्सन गर्नुपर्छ । अहिले त्यो गर्न सकिने अवस्थामा पार्टी छ, त्यसैले यो तत्काल गरिहाल्नुपर्छ । यदि यसो गरिएन र नेताका खल्तीमा भएका मान्छेलाई मात्र खल्तीबाट निकाल्दै जिम्मेवारी र अवसरहरू दिँदै जाने योगदान गरेकाहरूलाई पाखा पार्दै जाने हो भने त कम्युनिस्ट पार्टी नै रहँदैन । यसर्थ सबै नेता कार्यकर्ताहरूले यसतर्फ ध्यान दिएर नेतृत्वलाई सजग गराएर योग्यता क्षमता, क्रियाशीलता, योगदान र इमान्दारितालाई मापदण्ड बनाएर अवसर र जिम्मेवारीको बाँडफाँड गर्न दबाब दिनुपर्छ । कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले चाहँदा यो असम्भव पनि छैन । तपाईंले भनेजस्तै पार्टी नीति, विधि, मूल्य,मान्यता र पद्धतिमा चलोस्, सबैले जिम्मेवारी पाइयोस्

कसैलाई अन्याय नहोस् भन्ने र परिवर्तनका लागि जीवन दिने, भूमिगत कालको आचरण,व्यवहार खोज्ने अग्रज नेता कार्यकर्ताहरू अहिले निराश छन् के भन्नुहुन्छ ?

पहिलो कुरा अहिले हामी पार्टी निर्माणको संक्रमणकालमा छौं । हामी माक्र्सवादी हुनुको नाताले हामीले माक्र्सवादी ढंगले विष्लेषण गरेर, राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनेर बहस गरौं, वैचारिक र सैद्धान्तिक आधारलाई प्राथमिकता दिँदै पार्टी निर्माणका लागि हामी सबैले पहलकदमी लिऔं । दोस्रो पार्टीभित्र गुट उपगुट होलान्, विचार समूह होलान् तर यसबाट प्रभावित नभई पक्षधरतामा भन्दा इसुमा आधारित भएर छलफल गरौं, बहस गरौं, अधिवेशन र महाधिवेशनका हलमा छलफल गरौं अब कस्तो पार्टी निर्माण गर्ने भनेर छलफल र बहस गरौं, पार्टी निर्माणलाई अगाडि बढाउन माक्र्सवादी ढंगले लागौं, राम्रो पार्टी बनाआंै, त्यसका लागि सबै लागौं, गलत विचार र चिन्तनलाई निर्ममतापूर्वक प्रहार गरांै, सही नीति, सही सिद्धान्त र सही विचार तर्जुमा गर्ने कुरामा सबै इमान्दारीताका साथ लागौ, संगठन सञ्चालन सहि विधिबाट गरौ खराब चिन्तनका विरुद्ध लडौ र जनताको हित गर्ने, राष्टको हित गर्ने कम्युनिस्ट पार्टी निर्माण गरौ जसले सिंगो कम्युनिस्ट आन्दोलन र विकास निर्माण सहित समृद्ध नेपाल सुखि नेपालीको अभियान साकार पारोस । यसो गर्दा नेतृत्वले पनि मेरा विरुद्ध भयो यसलाई सिध्याउनु पर्छ भन्नु भएन, यो राम्रो बनाउनकै लागि यो सुझाव आयो भनेर लिऔं, यो अभियानमा सबै नेताकार्यकर्ता लागौं । निराशातर्फ नलागी सकारात्क दिशातर्फ अगाडि बढौँ भविष्य सुन्दर छ भन्न चाहन्छु ।

अहिले नेकपाको दुई तिहार्ईको सरकार छ तर पार्टीका लागि जीवन समर्पण गरेका, जेल, नेल भोगेका परिवार लथालिंग बनाइएका तपाईंका कतिपय अग्रज नेता कार्यकर्ताहरू अहिले गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य समस्याले ग्रस्त छन्, सुखी नेपालीको अभियान सरकारले अगाडि बढाएको छ तर उनीहरूलाई केही गर्न सकेको छैन के भन्नुहुन्छ ?

पहिलो कुरा अहिले नेकपाको नेतृत्वमा दुई तिहाई हाराहारीको बलियो सरकार छ । यस्तो अवस्थामा हामीले राम्ररी काम गर्न सकिएन, चल्ते चलाते ढंगले मात्रै काम गर्ने हो भने फेरि यस्तो अवसर नआउन सक्छ । यसर्थ यसका काँधमा आएका जिम्मेवारीहरू राष्ट्रियताको जगेर्ना, नेपाली जनताको जीवनस्तर उकास्ने काम र राष्ट्रिय स्वाभिमानका विषयमा परिणाममा देखिने गरी दृढताका साथ सम्पन्न गर्नुपर्छ । जनताले यो सरकार बनाएको पनि त्यसैका लागि हो । यसको पार्टी नेतृत्व र सरकार कहिँकतै विचलित नभई अगाडि बढ्नुपर्छ । जहाँसम्म पार्टीका अग्रज नेता कार्यकर्ताको जीवन रक्षाको कुरा छ, त्यसमा दुःखकष्ट भोगिरहेका आम जनताको जीवनभन्दा पृथक राखेर होइन आमजनताको दुःखमा सँगै राखेर पार्टीका लागि योगदान गरेका नेता कार्यकर्ताको जीवन पनि सुखी र समृद्ध बनाउनुपर्छ र ती अग्रज नेता कार्यकर्ताहरूले पनि देश र जनताकै लागि योगदान गरे, उनीहरूकै कारण देशमा परिवर्तन सफल भयो तसर्थ उनीहरूलाई पनि हेर्नुपर्छ भन्ने सोच सरकारले राख्नुपर्छ । तर, जनतालाई भन्दा भिन्न रूपमा हेरेर नेता कार्यकर्तालाई मात्रै सुख सुविधा दिने कुरा गर्न थाल्यौं भने हामीलाई फेरि हिजो हामीले जसका विरुद्धमा लड्यौं त्यही वर्ग बलियो हुने, त्यसको निश्चित झुण्ड बन्ने र तिनीहरूकै हितमा मात्र काम गरेको ठहर्ने खतरा हुन्छ । हिजो योगदान मिसाएका अग्रज नेता कार्यकर्ताहरूलाई पनि हामी जनताकै हितका लागि जेल नेल भोगको हो, सुख सुविधाका लागि होइन, हरियो घाँस देखेर मात्र रूखमा बस्ने चरी बनेर होइन पात झरेर उजाड भएको बेलामा पनि रूखमा बस्ने चरी भएर पार्टी हितका लागि काम गर्नुपर्छ भन्ने सोचको विकास गर्नुपर्छ । यसमा पार्टीको मूल नेतृत्वले यथोचित ध्यान दिनुुपर्छ भन्ने लाग्छ ।

त्यसो भए सरकारले राम्रै काम गरेको छ हैन त ?

हो यो सरकारले राम्रै काम गरेको छ, उपलब्धिपूर्ण नै काम गरेको छ । सामाजिक सुरक्षा कोष अगाडि बढाएको छ, संघीय संरचना निर्माण गरेको छ, भ्रष्टाचारीलाई निरुत्साहित गरिरहेको छ, कर्मचारी खटाइसकेको छ, पानीजहाज र रेलका काम अगाडि बढाइरहेको छ, छिमेकीसँगको सम्बन्ध पनि सुधार गरिरहेको छ, बाटाहरू फराकिला भइरहेका छन्, गाउँ गाउँमा विकास निर्माणका काम भइरहेका छन् । यो राम्रै उपलब्धि हो तर दुई तिहाईको हाम्रो हतियार राम्ररी उपयोग गर्ने कि आफ्नै हत्या गर्न उपयोग गर्ने त्यो भने हामै्र हातमा छ । यो सरकार रूपी हतियार सही रूपमा उपयोग ग¥यौं, हामीले सही निसाना लगायौं, राम्रो उपलब्धि हात पा¥यौं, गरेनौं, समाप्त भयांै । कसरी हतियार सञ्चालन गर्ने अर्थात यो सरकार र पार्टी कसरी सञ्चालन गर्ने कसको हितमा सञ्चालन गर्ने त्यो हाम्रै नेतृत्वको हातमा छ । पार्टी बलियो बनाएर गाउँ गाउँसम्म पु¥याउन सके जनताका हितमा सरकारले काम गर्न खोजिरहेको छ भन्ने सन्देश जाने गरी सरकारले काम गर्न खोजिरहेको छ । यो पार्टीको विकल्प केही नभएकोले यो पार्टी र सरकारलाई काम नगर्ने छुट पनि छैन । तसर्थ पार्टीले सरकार सञ्चालन गर्ने, पार्टी नेतृत्वले विधिमा सञ्चालन गर्ने हो भने यो पार्टी र सरकारको भविष्य उज्ज्वल छ । सरकारले काम गर्न खोजेको छ, आज गरेको कामको परिणाम एक वर्षपछि देखिने भएकोले सबैले सरकारलाई सहयोग गर्दै केही समय परिणाम कुर्न धैर्य गर्नु सबैको दायित्व हो ।

कामै भएनन् भन्ने कुरा दृष्टिदोष र आग्रहपूर्ण कथन


माधव ढुंगेल नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष हुनुहुन्छ । अखिलको विद्यार्थी राजनीति मार्फत पार्टी राजनीतिमा लाग्नुभएका नेता ढुंगेल नेकपाका ईमानदार र जनताका प्रिय युवा नेता हुनुहुन्छ । देश, जनता र परिवर्तनको पक्षमा निरकुंशताकाविरुद्ध लडेर आउनुभएका उहाँ शालिन र युवाका आशालाग्दा नेताका रूपमा परिचित हुनुहुन्छ । जस्तो सुकै चुनौतिको डटेर सामना गर्ने ढुंगेलसँग नेपाली युवाको अवस्था, विकास निर्माण र जनताको समृद्धिका बारेमा छलफलले गरेको कुराकानीको सम्पादित अंशः

राष्ट्रिय युवा परिषद्ले के के काम ग¥यो, तपाईंको उद्देश्यअनुसार भए भएनन् विस्तृतमा बताइदिनुस् न ।
मैले राष्ट्रिय युवा परिषद्को उपाध्यक्षको जिम्मेवारी लिएको तीन वर्ष पूरा भएर चार वर्ष लागेको छ । यस बीचमा हामीले युवाका विषयमा शिक्षा र यसको गुणस्तरीयता, युवा उद्यमशीलता, रोजगारी र सीप विकास, युवा नेतृत्व विकास, सहभागिता परिचालन, युवा स्वास्थ्य र सामाजिक सुरक्षा र युवाका लागि खेलकुद र मनोरञ्जन यी पाँचवटा पिलरलाई समग्र नेपाली युवाको समाधानको कडी बनाएर युथ भिजन २०२५ ले अंगीकार गरेको यो विषय वस्तुलाई आत्मसात गर्दै कामको प्रारम्भ गरेका थियौं । शिक्षाको सवालमा लिड गर्ने शिक्षा मन्त्रालय छ तर शिक्षाका खास विषयहरूलाई सेन्सेटाइज गर्ने र नीतिमा ब्याकिंग गर्ने अनि गुणस्तरीय शिक्षामार्फत समाजलाई रूपान्तरण गर्ने तथा व्यवस्थामा आएको नयाँ परिवर्तन र त्यसका इण्डिकेटरहरूलाई नयाँ ढंगले सेटलमेन्ट गर्ने र मोभिलाइज गर्ने जिम्मेवारी युवा परिषद्को पनि रहेको छ । यसका लागि हामी तीन वर्षदेखि सार्वजनिक शिक्षाको सवलीकरणको मुद्दामा लगातार वकालत गरिरहेका छांै, यसका लागि शिक्षा मन्त्रालय र सरकारको ध्यानाकर्षण गराइरहेका छौं । यसको कार्यान्वयनको लागि स्थानीय सरकारलाई यो क्षेत्रतिर आकर्षित गर्न सार्वजनिक शिक्षाको सवलीकरण भन्ने मुद्दामा स्थानीय तहका सदरमुकाम र पालिकाहरूमा विभिन्न अन्तक्र्रिया, गोष्ठी, सेमिनारसहित सशक्त कार्यक्रम पठाएका छौं र श्रमसँग शिक्षालाई जोड्ने राष्ट्रिय अभियानको हामीले नेतृत्व गर्न खोजिरहेका छौं । त्यो भनेको एक शिक्षण संस्था बहुउद्यम कम्तीमा एक उद्यमको कन्सेप्टलाई सँगै जोडेर विद्यार्थीको तर्फबाट गरिने स्वयंसेवकबाट उद्यम तयार गर्ने शिक्षक र विद्यार्थीको व्यवस्थापनबाट त्यसलाई निरन्तर लिएर जाने, पूर्वविद्यार्थीको चासो र चिन्तालाई त्यसको सपोर्टको रूपमा सहयोग लिने मोटो थिम बनाएर शिक्षा मन्त्रालय र हामीले अभियानको रूपमा अगाडि बढाइरहेका छौं । अर्कोतर्फ युवा उद्यमशीलता, रोजगारी र सीप विकासको सन्दर्भमा हामीले युवालाई स्वरोजगार बनाउने, रोजगार दिने, लोन एलोकेट गर्ने, तालिम दिने गरी समेट्यौं र मानव सूचांकमा पछि परेको प्रदेशलाई आधारित बनाएर मधेसका ११ वटा जिल्लाका १८ वटा महिला युवा समूहमा आबद्ध चमार, सतार, डुम, लोहार, कोतवे जस्ता परिवारका ४० वर्षभित्रका महिलालाई फोकस गरेर मोरल बुस्ट, उद्यमशीलता तालिमसहित उद्यमका लागि उनीहरूलाई सिड मनि दिएर उद्यम कार्यक्रम चलाइरहेका छांै । त्यसैगरी युवा उद्यम कार्यक्रमअन्तर्गत पहिलो वर्ष सरकारले दिएको अनुदान १२ करोड रुपैयाँलाई रिभल्बिङ फण्ट बनाएर दश, बीस, तीस, चालीस गर्दै ५ वर्षभित्र फिर्ता लिने, उद्यमीलाई सफल बनाउने, राज्यको सावाँ फिर्ता गर्ने र त्यसका बीचमा हुने सरकारका सबै ईकाइबाट अनुगमन गर्ने र विकासको हिसाबले प्राविधिक सहयोग गर्ने गरी स्किम बनाएर हामीले लग्यौं र त्यो अहिले सफल मोडलको रूपमा त्यो तलसम्म अगाडि बढिरहेको छ । त्यसैगरी शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक लोनको स्किम पनि अगाडि बढायौं तर हाम्रो फन्टले केही नहुने भएकाले अर्थ मन्त्रालयसँग अनुरोध गरेर अर्थले सहुलियतसम्बन्धी सातवटा कर्जा परियोजना जारी ग¥यो र त्यसलाई फोकस गरेर हामीले विदेशबाट फर्किएर आउने युवालाई उद्यमी बनाउने गरी योजना बनायौं । त्यो आज राष्ट्रिय युवा परिषद्, रिटर्नि माईग्रेट र एनएमबी बैकबीच त्रिपक्षीय समझदारीमा १ वर्षभित्रमा एक अरब लोन एलोकेट गर्न सरकारको स्किममा तयार हुने कुराको उद्घोष भइसकेको छ । त्यसैगरी कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म, शैक्षिक प्रमाणपत्रको आधारमा लोन ७ लाखसम्म, महिला उद्यमशील विकास व्यवसाय कर्जा १५ लाखसम्म, दलित उद्यम विकास व्यवसाय कर्जा १० लाखसम्म, विदेशमा काम गरी फर्किएका उद्यमशील युवाका लागि १० लाखसम्म र जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा पढ्न ५ लाखसम्म लोन पाउने गरी पहलकदमी हामीले गरेका छौं । त्यसलाई कार्यान्वयन गराउन यससँग सम्बन्धित सरकारी निकायसँग सहकार्य गरी हामीले तालिम कोष निर्माण गरी विभिन्न तालिम प्याकेजहरू बनाएर देशभरि लाने गरी काम गरिरहेका छांै । अर्को हामीले युवा परिचालन र सहभागिताको पार्टलाई ध्यानमा राख्दै युथ पार्लियामेन्टको कामलाई अगाडि सा¥यौं र वडा वडामा क्लब बनाएर स्थानीय सरकारमार्फत युवालाई आर्थिक, राजनीतिक, शैक्षिक,प्राविधिक, सामाजिक सबै क्षेत्रमा सक्षम,सबल र समृद्ध बनाउने योजना अगाडि बढाएका छौ । जसअन्तर्गत १ सय १८ वटा युवा क्लब बनेका छन, ७ वटा प्रदेशका १४ वटा पालिकामा युथ पार्लियामेन्ट सञ्चालन भएको छ, केन्द्रमा सञ्चालन भएको छ । यस वर्ष १२ सयवटा युवा क्लब गठन भए, ९० वटा पालिकामा यो पार्लियामेन्ट सञ्चालन भयो, ७ वटा प्रदेशमा युथ पार्लियामेन्ट सञ्चालन भयो र अहिले केन्द्रीय युथ पार्लियामेन्ट सञ्चालन भइरहेको छ र यसले हिड्ने बाटो तय गरेको छ । सबै युवाको क्षमता उजागर गर्न पहिलो वर्ष समृद्ध नेपाल सुखी नेपालीको विषयमा वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरायौं । दोस्रो वर्ष उद्यमीका बीचमा गरायौं । अहिले हामी प्रपोजल लेखनको विषयलाई प्रतिस्पर्धा गराएर उनीहरूलाई पुरस्कृत गरिरहेका छौं । त्यसैगरी गुणस्तरीय र भरपर्दो उत्पादनको लागि टेक्नोलोजी विकास गर्न विभिन्न प्राविधिक विषयमा रिसर्च गरिरहेका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा पढिरहेका विद्यार्थीलाई रिसर्चमा आकर्षित गर्ने र ग्राण्ड दिने व्यवस्था पनि हामीले सार्वजनिक ग¥यौं । त्यो सानो पैसाबाट अहिले ३२ वटा रिसर्चहरू गराइरहेका छौं । साइन्स एण्ड टेक्नोलोजीको क्षेत्रमा हामीले दोस्रो वर्ष योङ साइन्टिस्टहरूको कन्फ्रेन्स ग¥यौं । तेस्रो वर्ष प्रदेश स्तरीय कन्फ्रेन्स ग¥यौं, अहिले अन्तर्राष्ट्रिय स्तरको युवा वैज्ञानिक कन्फ्रेन्स आउँदो कार्तिक ४ देखि ६ गतेसम्म गर्दैछौ । यसरी हामीले नास्टसँग मिलेर विज्ञान र प्रविधिमा पनि काम गरिरहेका छौं । त्यसैगरी युवाको इस्युमा काम गर्ने ८ सय संघ संस्थाहरूलाई युवा परिषद्मा आबद्ध गरेर मोबिलाइज गरी हामीसँग जोडेर विभिन्न क्याम्पेनमा सहभागी गराउने गरी हामीले योजना बनाइरहेका छांै । र, यस वर्ष सरकारले युवा परिचालन वर्ष युवा परिषद्को नेतृत्वमा सञ्चालन गर्ने घोषणासमेत गरिसकेको छ । त्यो भनेको सार्वजनिक शिक्षाको सवलीकरण र करप्सन कन्ट्रोल, सरसफाइ, वृक्षारोपण, पर्यटन प्रबद्र्धन र स्वास्थ्यका क्षेत्रमा देशव्यापी क्याम्पेन चलाउने गरी काम गरिरहेका छौं । सूचनाको क्षेत्रमा पनि नेपाल सरकारले पुरस्कृत गर्ने निकायको रूपमा युवा परिषद्ले आफूलाई स्थापित गरेको छ । हाम्रा सूचना अधिकारी उत्कृष्ट सूचना अधिकारीको रूपमा पुरस्कृत हुनुभएको छ । युवा परिषद्ले बनाएको सूचनाको वेभसाइट सूचना आयोगको नम्सभित्र छ भन्ने प्रमाणित भएको छ । यसका साथ साथै सरकारले हामीलाई जति बजेट छुट्याएको छ त्यसको तीन गुणा हामीले काम गरेर त्यसको रिजल्ट देखाएका छौं यसर्थ विभिन्न आरोह अवरोह, उतार चढाव, आर्थिक कठिनाइ र कर्मचारीको अभावका बावजुद हाम्रो संस्था गतिशील संस्थाको रूपमा स्थापित भएको छ । स्रोत साधन, जनशक्तिmका हिसाबले हामीले सोचेभन्दा बढ्ता गरेका छौं र भोलिका दिनमा अझ धेरै गर्ने गरी अगाडि बढिरहेका छौं ।

तपार्ईंले यतिका धेरै काम गरेको भन्नुभयो तर युवाहरू घरबारी बेचेर विदेश पलाएन हुने अवस्था रोकिएको छैन नि ?
मैले अघि बताएका सबै कुरा समाधानको कडीका रूपमा बताइसकेँ । पहिलो कुरा, उद्यममा आकर्षित गर्ने, स्वदेशमै रोजगार दिने, युवाको नेतृत्व विकास गर्ने, सीप विकास गर्ने, काउन्सलिङ गर्ने, लोन दिने, परामर्श दिने, अरू कसैको सहयोग चाहिएमा अरू संघ संस्थाको सहयोग जुटाई दिने र प्रत्येक युवालाई युवा परिषद्सँग एकपटक परामर्श लिएरमात्र विदेश जान म आग्रह गर्न चाहन्छु । दोस्रो अहिले चेञ्ज आएको छ । आजभन्दा चार वर्षअगाडि ५ लाख ३८ हजार युवा विदेश गएका थिए, अहिले त्यो डाटा घटेर ३ लाखमा झरेको छ । २ लाख ३८ हजारले नेपालमै बसेर केही गर्ने मन बनाएका छन् । पहिले पुरुषको साक्षारता ७६ प्रतिशत र महिलाको ७१ प्रतिशत थियो, अहिले पुरुषको ८५ र महिलाको ८१ प्रतिशतमा उक्लिएको छ । अहिले खाडी देशमा काम गरिरहेका युवाहरू नेपालमै आएर केही गरौं भनेर फर्किनेको बाढी चलेको छ र हाम्रा युवामा अब देशमै बसेर केही गर्नुपर्छ भन्ने माहोल बनेको छ । यो ठूलै परिवर्तन हो । एकैचोटी सबै कुरा परिवर्तन हुँदैन त्यसका लािग समय लाग्छ । किनकी हाम्रो सयौं वर्षदेखि बिग्रेको देश, आर्थिक रूपमा पछाडि परेको देश, विदेशीको स्वार्थ टकराउने परिस्थितिमा गुज्रेको देश, खुला सीमानाका ब्यारिएरहरू पनि छन् जसले गर्दा हामीले चाहेजस्तो गर्न नसकिरहेको अवस्थाबाट गुज्रनु परेको अवस्था, ट्र्याकभन्दा बाहिर गएको देश, हाम्रा पूरातन र सामन्तवादी सोचका बीच काम गर्नु पर्ने अवस्थाले गर्दा यसलाई पूरै परिवर्तन गर्न केही समय त लिन्छ नै तर पनि सरकारले काम गरिरहेको छ, सडकहरू बनिरहेका छन्, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने अभियान चलिरहेको छ, युवाका लागि विभिन्न स्किमहरू सरकारले घोषणा गरिरहेको छ, वैदेशिक सम्बन्ध सुधार भइरहेको छ, रेल र पानीजहाज सञ्चालनका कामहरू अगाडि बढिरहेको छ, कृषि र पर्यटनको विकासमा सरकार लागिरहेको छ, कर्मचारी समायोजनका कामहरू भइसकेका छन्, सरकारले अगाडि ल्याएका नीति र कार्यक्रमलाई सबैको सहयोगले कार्यान्वयन गर्न सकिएमा पैसाका कारणले कोही भोको हुनुपर्ने नाङ्गो हुनुपर्ने, काम नपाएर विदेश जानुपर्ने अवस्था हुनेछैन । त्यो स्पिडमा सरकारले काम गरिरहेको छ हामीले काम गरिरहेका छौं ।

तपार्ईं विद्यार्थी नेता पनि हुनुहुन्छ शिक्षाको शुल्क त त झन बढिरहेको छ नि ?
विद्यालयको फिको विषय हेर्ने जिम्मेवारी विद्यार्थी संगठनको हो, हाम्रो होइन तर चासो भने हाम्रो पनि हुन्छ । शिक्षालाई सरकारको पूर्ण स्वामित्वमा ल्याउन नसक्दासम्म शिक्षाभित्रको असमानता सधैँभरि कायम भइरहन्छ । यसको अन्त्य गर्न माध्यमिक तहसम्मको शिक्षा अनिवार्य निशुल्क हुनैपर्छ र त्यसको जिम्मा सरकारले लिनुपर्छ । त्यो गर्नलाई वा शिक्षालाई पूर्ण रूपमा निशुल्क गर्न २० खर्ब रुपैयाँ चाहिने रहेछ तर सरकारको सम्पूर्ण बजेट नै १५ खरबको छ, त्यसैले तत्कालै त्यो सम्भव छैन । उच्च शिक्षालाई छोडेर र निजी विद्यालयलाई छोडेर पनि १२ कक्षासम्मको शिक्षालाई राज्को पूर्ण स्वामित्वमा ल्याउन र त्यसलाई निशुल्क गर्न पनि १० खरब बजेट आबाश्यक पर्छ । यो पनि अहिल्यै सम्भव छैन । तसर्थ सरकारले सार्वजनिक विद्यालयको शिक्षा र त्यसमा अध्ययन अध्यापन गराउने विद्यार्थी र शिक्षकलाई जिम्मेवार बनाएर उच्च गुणस्तरको शिक्षा आर्जन गर्ने विद्यालयको रूपमा स्थापित गराउने गरी शिक्षाको गुणस्तर बढाउन लागियो,त्यहाँ पढाउने शिक्षकको शैक्षिक स्तर बढाउन सकियो र निजी विद्यालयको भन्दा राम्रो बनाउन सकियो भने हाम्रा विद्यार्थीहरू निजीमा भन्दा सार्वजनिक विद्यालयमा पढ्न रूचाउँछन्, सार्वजनिक विद्यालयमा विद्यार्थीहरू खचाखच हुन्छन् । त्यसका लागि सार्वजनिक शिक्षाको सवलीकरणमा हाम्रो ध्यान जानुपर्छ, सरकारको र विद्यार्थी संगठनहरूको ध्यान जानुपर्छ । क्वालिटी सुधारका लागि विद्यार्थी संगठनले ध्यान दिनुपर्छ, रेखदेख गर्नुपर्छ । अरू सबै कुरामा विद्यार्थी संगठनको ध्यान गइरहनु पर्दैन । सरकारी स्वामित्वमा बनेका विद्यालय, सरकारको तलब खाएर काम गर्ने शिक्षक कर्मचारीले जिम्मेवार भएर काम गरे,सिकाइका तालिमहरू लिएर पठनपाठन गरे र सार्वजनिक स्कुललाई स्तरीय शिक्षा आर्जन गर्ने थलो बनाए भने शिक्षाको गुणस्तमा सुधार हुन्छ, गरिबका छोराछोरीले पनि आफूले चाहेको विषय सहज ढंगले पढ्न सक्छन् र शिक्षाको असमानता हटेर जान्छ । त्यसो भयो भने छोराछोरी पढाउन सहर आएका अभिभावकहरू गाउँमै अब छोराछोरी पढाउँछु भनी फर्कन थाल्नेछन् । सार्वजनिक स्कुलको अवस्था सुधार भयो भनेर गाउँ फर्कने गरी सार्वजनिक स्कुलको गुणस्तर सुधार गर्नुपर्छ । यसतर्फ सरकार र विद्यार्थी संगठनहरूको तत्काल ध्यान पुग्नु पर्दछ ।

यसो गर्न र भ्रष्टाचार रोक्न के ले छेक्यो त ?
हाम्रो ईच्छाशक्तिमा खोट छ । भ्रष्टाचार एउटा प्रधानमन्त्रीले माथिबाट भन्दैमा रोकिने होइन, यो त तलदेखि माथिसम्म नै क्यान्सरको रूपमा छ । यसलाई निमूर्ल पार्न ठेकेदारले गरेको करप्सनमा निगरानी गर्नुप¥यो, कर्मचारीले गरेकोमा गर्नुप¥यो अन्य जहाँकहीँमा भए पनि विद्यार्थी संगठनले निगरानी गर्नुपर्छ, जसले जे कुुराको जिम्मेवारी लिएको छ उसले त्यो जिम्मेवारी इमान्दारिताकासाथ पूरा गर्नुपर्छ । एउटा निकाय वा व्यक्तिले गरेको कामको भागीदार प्रधानमन्त्रीले लिने कुरा हुँदैन, जसले लिएको हो उसैले लिनुपर्छ । तर, अहिले यसको ठीक उल्टो भइरहेको छ । एउटाले काम बिगार्ने प्रधानमन्त्रीलाई दोष दिने कुराले हामी सही ठाउँमा पुग्न सकिँदैन । यसमा युवा विद्यार्थीहरूको ध्यान जानुपर्छ । यसो भयो भने सार्वजनिक शिक्षाको सवलीकरण र करप्सन कन्ट्रोल हुन्छ । यो दुईवटा विषयमा ध्यान दिने र सार्वजनिक शिक्षाको अभियानलाई उत्पादनसँग जोड्ने हो भने उद्यमशीलताको कुरा पनि सँगै जोडिन्छ, सिंगो देशको उत्पादनमा पनि सहयोग पुग्छ । जसले सुशासन र आर्थिक सम्पन्नता पनि आउँछ । मलाई लाग्छ आजका युवा विद्यार्थी संगठनले आफ्नो रोललाई नयाँ ढंगले डिफाइन गरेर अगाडि बढ्नुपर्छ । आज राष्ट्रले युवा विद्यार्थीहरूको भूमिका यहाँनेर खोजिरहेको छ ।

यसबाहेक अन्य समस्या के के छन् नि ?
समस्या त थुप्रै छन् । पहिलो त आर्थिक,राजनीतिक, सांस्कृतिक, नीतिगत, कानुनी समस्या र निर्णय कार्यान्वयनका समस्या छन् । अर्को कर्मचारीको समस्या छ, हामीले सोचेजस्तो मेनपावर छैन, स्किलफुल मेनपावरलाई अलिक कस्ट लाग्छ त्यो हामीले बेयर गर्ने सक्ने अवस्था छैन । सोचेजस्तै गरी ढ्याक्क ढ्याक्क काम गर्न त केही हडल्सहरू पक्कै छन् । तर पनि हामीसँग जहाँ जे छ त्ससैलाई उपयोग गर्दै केही गरौं भन्ने सोचले हामी काम गरिरहेका छौं र सबैले पनि गर्नुपर्छ भन्ने म ठान्दछु ।

तपार्ईंको पार्टीको सरकारले राम्रो गर्न सकेन, विवादस्पद काम बढी ग¥यो, जनताका हितमा काम गर्न सकेन, पार्टीको विधिमा चलेन, पार्टीले सरकार चलाएको नभएर सरकारले पार्टी चलाएको जस्तो भयो, सल्लाहाकार र विज्ञले असफल पार्न खोजे भन्ने ब्यापक चर्चा छ, हो ?
आज जुन प्रधानमन्त्री मुलुकले पाएको छ योभन्दा अब्बल अर्को पाइन्थ्यो कि भनेर पाउन सक्ने अवस्था छैन, किनकी अहिलेको कन्टेक्समा टेस्ट नभएको सबैभन्दा अब्बल नेता छानेर हामीले प्रधानमन्त्री बनाएका हौं । फेरि अहिले के कामै नभएका हुन् त ? त्यो पनि त होइन । नेपालमा ५ लाख कर्मचारीहरू छन्, ८ लाखभन्दा बढी पार्टी कार्यकर्ता छन्, यति शक्तिशाली पार्टी छ, ती सबैलाई आशा र सपना देखाउने सरकार यही हो । कुनै पनि नेताले देश निर्माणको सपना नदेखी विकास निर्माणको काम सम्पन्न गर्न सक्दैन । यो सरकारले पनि काम गरिरहेको छ, विकास निर्माणका काम भइरहेका छन्, सडकलगायत भौतिक पूर्वाधार निर्माणका काम गरिरहेको छ, पाइपबाट तेल ल्याउने काम भइरहेको छ,राष्ट्रियताको सवालमा यो सरकारले अब्बल काम गरेको छ । अहिले जति पनि विधेयक आएका छन् ती सबै जनताकै हितमा आएका थिए, तरकारीका विषयमा जनतालाई विषादीयुक्त तरकारी खुवाउनुहुन्न भनेर नै प्रधानमन्त्रीले यो काम गर्नुभयो, तर, उहाँलाइै गुमराहमा राख्दा उच्च प्रशासकले राम्ररी काम नगर्दिँदा खेरी जनताको अगाडि झुकेर माफी माग्नुभयो, जनतासामु मैले गल्ती गरेँ भनेर भन्नु कम ठूलो र इमान्दारीपूर्ण काम होइन । यो सरकारले सुन तस्करहरूलाई तह लगाउन खोज्यो, सिण्डिकेटको अन्त्य गर्न खोज्यो, जनताका हितमा गुठीलगायत विभिन्न विधेयकहरू ल्याएर यहाँभित्र भएका बेथिति रोक्न खोज्यो, शिक्षा र स्वास्थ्यका विषयमा विधेयक ल्याउन खोजियो, सेयरको विषयलाई राम्रो बनाउन खोजियो, विषादीयुक्त तरकारी ल्याउन रोक्न खोजियो तर यी सबै कदमलाई रोक्न खोजियो, गर्न दिइएन । किन यसो भइरहेको छ अफट्याकल भइरहेको छ भने आज हाम्रो संरचनाभित्र, हाम्रो पार्टीभित्र विभिन्न खालका सोच चिन्तन भएका सामन्तवादी विचार भएका नजताको हित नचाहने सरकारलाई असफल बनाएर स्वार्थसिद्ध गर्न चाहने, विदेशीको इसारामा चल्न खोज्ने तत्वहरू प्रशस्त छन्, सरकारको वरिपरी छन् । यो देश त मध्यम वर्गको बाहुल्य भएको देश हो, मध्यम वर्गभित्र यी सबै चरित्रहरू छन् । अर्थात यो मध्यम वर्गको चरित्रभित्र सामन्तवादी र पूँजीवादी बुर्जुवा शिक्षा पढेर त्यसबाट माइनसेट भएका मान्छे छौं । यस्ता मान्छेलाई के कुरा मन पर्छ के कुरा मन पर्दैन भन्न सकिने कुरा भएन । जग्गाको कारोबार सरकारले रोक्न खोज्यो त्यो केका लागि भने जग्गाको कारोबार गर्न दिनेवित्तिकै जग्गाको कारोबार गर्ने छिमेकी दाइले वर्षमा करोड कमायो तरकारी खेती गर्ने छिमेकी भाइले उत्पादन गरेको टमाटर बेचेर दुई रुपैयाँ नाफा लिएर कहिले करोड कमाउनु अनि कसले गर्छ खेती र कसरी हुन्छ उत्पादन ? यो कुरालाई रोक्न खोज्दा त्यसमा मालामाल भएको दलाल र बिचौलियाहरूले सरकारलाई चारतिरबाट घेरा हालेर रोक्न खोज्नेहरूको संख्या त देखि हाल्नुभयो । यो सबैलाई बुझ्दा यो देश माफिया र दलालहरूको चंगुलमा छ, यो माफिया र दलालहरूको चंगुलबाट उम्कन र विकासको गति लिन सरकारलाई कठिन भइरहेको छ, जस्ले गर्दा अहिले देखिएका हडल्सहरू अहिले देखिएका अफ्ट्याकल्सहरू त्यो चिजमा छन् । प्रधानमन्त्रीको मिसनमा एक इञ्च पनि तलमाथि छैन । सबै कुरा राम्रो गर्नका लागि हो । गुठीमा पनि कसैका जग्गा हडप्न खानका लागि होइन, यहाँभित्रको वर्षौदेखिको विकृति विसंगति समाप्त पार्न खोजेको हो । मिडियाको विषयमा पनि तल्लो तहका मान्छेहरूले आज न्यूनतम पारिश्रमिक पाउन सकेका छैनन् मिडियाका मालिकहरूले अन्याय र शोषण गरिरहेका छन्, पेसाको ग्यारेण्टी छैन, मालिकको हितमा काम नगर्नेवित्तिकै हट्नु पर्ने अवस्था छ । सम्पादकीय स्वतन्त्रता छैन, मालिकले जे भन्यो त्यही लेख्नुपर्ने अवस्था मिडिया मालिकहरूले बनाएको गुनासो स्वयं त्यहाँ काम गर्ने तल्लो तहका कर्मचारीहरूले भनिरहेका छन् । यसलाई सरकारले हटाउन खोज्यो, तल्लो तहका मानिसहरूका लागि काम गर्न खोज्यो मध्यम र माथिल्लो तहका मान्छेहरू र मिडिया मालिकहरू त्यसलाई रोक्न सरकारका विरुद्ध खनिय । कम्युनिस्ट सरकार भनेको गरिब, निमुखा र तल्लो तहका जनताको हितमा काम गर्ने हो, समाजवादको लक्ष्य पनि यही हो तर तिनका पक्षमा काम गर्दा शोषक, सामन्ती, दलाल र माफियाहरू सरकारका विरुद्ध जाइलागेका छन् । सरकारले तल्लो तहका जनताको पक्षमा काम गर्दा बीचको र हाई लेवलकाले यसलाई पचाउन सकिरहेका छैनन् र हाम्रो समाजमा तिनीहरूको बाहुल्यता बढी भएकोले उनीहरूले तल्लो तहका जनताको पक्षमा सरकारलाई काम गर्न दिएका छैनन् । आज सबै ठाउँमा भएको यही हो । सरकारलाई सूचना लुकाएर गुमराहामा राख्न खोजेका छन्, प्रधानमन्त्रीको शिर झुकाउन बाध्य पारेका छन् तर प्रधानमन्त्रीले जनताको अगाडि शिर झुकाएर मैले गल्ती गरेँ भनेर शिर झुकाएर माफी माग्नु भएको छ । यो प्रधानमन्त्रीको महानता हो । धेरै कामहरू भएका छन्, हुन्छन् सरकारले राम्रै गरिरहेको छ । तर यो घटनाले सरकारलाई आफू वरपर बस्नेबाट सतर्क हुनुपर्ने, विचार पु¥याएर काम गर्नुपर्ने, विचार पु¥याएर, बुझेर बोल्नुपर्ने, हरेक निर्णय गर्दा अध्ययन गरेर, तलसम्म निगरानी गरेर काम गर्नुपर्छ । सल्लाहकारले दिएका सल्लाहहरूमा धेरैतिर बुझेर, अलि तयारीपूर्वक अगाडि बढ्नुपर्ने रहेछ भन्ने सबक र सन्देश दिएको छ सरकारलाई । हो सरकार नेकपाको दुई तिहाईको छ तर चिन्तन, विचार र व्यवहारका हिसाबले दुई तिहाईको छैन । सरकारले चिन्तनको हिसाबले काम गर्न खोजिरहेको छ तर व्यवहारको हिसाबले चिन्तनमा दुई तिहाई छैन । जसका कारणले यी सबै हडल्स र अफट्याकल्सहरू भइरहेका छन् । पार्टीको एकता प्रक्रिया सम्पन्न नहुँदा पनि त्यसले सरकारका कामलाई जस्ताको तस्तै जनतामा लैजान असहज भएको छ, नेता कार्यकर्ताहरू कामविहीन भएका छन् । यसले पार्टी र सरकारलाई ठूलो क्षति भएको छ । यसलाई जस्तोसुकै मूल्य चुकाएर चाँडोभन्दा चाँडो टुङ्ग्याउनु पर्छ । तर सरकार विधिमै नचलेको, कामै नगरेको भन्ने कुराचाहिँ दृष्टिदोष र पूर्वाग्रहपूर्ण कथन हो ।

सरकारलाई असफल बनाउन खोज्नेहरूले समस्या पारेका छन्


डा.पुष्प कँडेल, उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

डाक्टरसाब राष्ट्रिय योजना आयोगले के कस्ता काम के कसरी गरिरहेको छ ?
राष्ट्रिय योजना आयोगको या एक वर्ष धेरै व्यस्त रहने वर्ष भयो । हामीले यो अवधिमा गत सालको बजेटमा थोरै सहयोग गर्न भ्यायौं । पूरै वर्षभरि १५ योजना र दीर्घकालीन सोचको आधार तयार गर्ने काममा लाग्यौं । वैशाख १५ गते सरकारले त्यो स्वीकृत ग¥यो । त्यसपछि फेरि हामी अर्थ मन्त्रालयका बजेट बनाउने कामलाई मार्गदर्शन दिने, बजेटको सिलिङ दिने, फेसिलेटेड गर्ने अन्य परियोजना पारित गर्ने, पूँजीगत खर्चको छलफल गर्ने र बजेट आइसकेपछि केही केही अनुगमन निरीक्षण गर्ने कामदेखि संसद्मा पेस गर्नुपर्ने केही डकुमेन्ट बनाउने काममा पनि लाग्यौं । हामीले दिगो विकासको प्रतिबद्धता जाहेर गरेका छौं, त्यसमा काम गरिरहेका छौं । अहिले त्यही दिगो विकास लक्ष्यको विषयगत समितिहरूको बैठक गर्ने, त्यसको समन्वय समितिको बैठक गर्ने र त्यसको स्थिति कहाँ छ भनेर मूल्याङकन गर्ने जस्ता काममा लागिरहेका छौं ।

बजेट कार्यान्वयन हुने स्थिति कत्तिको छ ?
पहिलेदेखिकै हाम्रो स्थिति बजेट बनाउने तर हुबहु कार्यान्वयनमा जान नसक्ने अवस्था हो । तर पहिलेको अवस्था र अहिलेको अवस्था फरक छ । किनकी पहिले एउटा सरकारले योजना बनाउने, अर्कोले बजेट बनाउने र अर्कोले कार्यान्वयन गर्ने अवस्था थियो । चाँडो चाँडौ सरकार परिवर्तन हुने कारणले गर्दा तर अहिले अवस्था त्यस्तो होइन । अहिले स्थिर सरकार छ, दीर्घकालीन योजना र बजेट यही सरकारले बनाएको छ, कार्यान्वयन यही सरकारले गर्ने हो । त्यस कारणले हामी आशावादी छांै, हाम्रो तर्फबाट पहलकदमी पूरै लिन्छांै, सहयोग, समन्वय,अनुगमनलगायत सबै काममा हाम्रो पूर्ण सहयोग हुन्छ । हाम्रो काम पनि यही हो । हामी सबै इफोर्ट लगाएर बजेट कार्यान्वयनमा सरकारसँग हातेमालो गरेर अगाडि बढ्छौं । यसमा पार्टीलगायत सबैको पनि सहयोग रहने हुनाले कार्यान्वयन हुन्छ भन्नेमा म विश्वस्त छु ।

विकास खर्च लक्ष्यअनुसार किन हुन सकेन त ?
विकास खर्च मात्र होइन बजेटअनुसार सबै खर्च लक्ष्यअनुसार हुन सकेको छैन । त्यसमा पनि पूँजीगत खर्चचाहिँ झन् ज्यादै कम भइरहेको छ । किनकी चालु खर्च नै तलब भत्ता खानुपर्ने भएकोले यताउता देखाउन सजिलो भयो, तर पूँजीगत खर्चलाई धेरै प्रक्रिया पूरा गर्नु पर्ने भएकोले यो कम भएको हो । हामीले हिजो मात्रै विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेका थियौ, त्यहाँ मैले आफैँले प्रस्तुत गरेको प्रतिवेदन हेर्दा खेरी तात्विक रूपमा सुधार आएको देखिएन ।

कुनै कुनै मन्त्रालयले रामै्र गरेका छन्, कुनै कुनै मन्त्रालयमा खर्च हुन सकेको छैन ।
कारण के रहेछ ?

ती कारणहरू हामी खोज्दैछौं । त्यसमध्यै सार्वजनिक खरिद ऐन नियमावलीमा समस्या हो कि भनेर संशोधन गर्न गइरहेका छन् नियमावली त संशोधन पनि भइसक्यो । त्यसैगरी हिजो राष्ट्रिय योजना आयोगमा योजना स्वीकृत गर्न धेरै समय लाग्छ त्यसले समस्या हुन्छ भनेर सोझै मन्त्रालयबाट स्वीकृत गर्ने भनेर त्यहाँबाट सोझै गर्ने गरी पनि लगियो । यहाँ सामान्य सैद्धान्तिक छलफल मात्र हुन्छ । हामी विकास खर्च बढाउन भनेर थुप्रै चिजहरू परिवर्तन गरिरहेका छांै तर त्यसअनुसार खर्च बढेको देखिँदैन ।

विकास खर्च नबढ्नुमा मूल समस्या कहाँ देखिन्छ ?
समस्या एउटामात्र छैन, छरिएर रहेका छन् । एकमुष्ठ समस्या भनेको आयोजनामा छुट्याइएको बजेट खर्च नहुनु हो । जस्तो आयोजना राखिन्छ तर अध्ययन नै पूरा नभई राखिन्छ । जग्गा दर्ता गरिसकेको हुँदैन, त्यसको वातावरणीय अध्ययन भएको हुँदैन, त्यसको डीपीआर गरिसकेको हुँदैन, ठेक्का लगाउनका लागि तयारी भइरहेको हुँदैन, ठेकेदारलाई जसरी कस्नुपर्ने हो त्यसरी हामी कस्न सक्दैनांै, त्यहाँ अन्य थुपै्र समस्या हुन्छन् भन्ने कुरा निर्माण व्यवसायकै साथीहरूले भनिरहनुभएको छ, कतिपय अवस्थामा निर्माण क्षेत्रका र प्राविधिक क्षेत्रका साथीहरूसँग कुरा नमिल्दा समस्या आउने गरेका पनि सन्दर्भ बाहिर आइरहेको छ, कतिपय अवस्थामा १५ प्रतिशतको कुराले काम भइसकेको हुन्छ भुक्तानी रोकेर राखेको हुँदोरहेछ यो पनि निर्माण क्षेत्रकै साथीहरूले भनिरहनुभएको छ । यी र यस्ता कतिपय समस्याले खर्च नहुने अवस्था आउँदो रहेछ । हामीसँग साना साना आयोजनाहरू धेरै छरिएर रहेका छन् । ती सबैमा एक एक हजारका हुँदा पनि एकमुष्ठमा लाख हुनेभयो, एक एक लाख हुँदा करोड हुनेभयो । यी विविध समस्याले यस्तो भएको हो ।

कर्मचारीलाई सरकारले विश्वासमा लिन नसक्दा यस्तो समस्या आएको हो भन्छन नि हो ?
मैले त्यस्तो त देख्दिनँ बरू कर्मचारीलाई तलब अलि कम भयो कसरी काम गर्ने भन्नेचाहिँ थियो । त्यसले गर्दा तलब पनि बढायो सरकारले । अरू सानातिना समस्या त हिजोदेखि नै थिए भई नै रहन्छन् । सरकार भनेको निर्वाचित बडि हो यो आउने जाने गरिरहन्छ तर कर्मचारी भनेको स्थायी संयन्त्र हो, स्थायी संयन्त्रलाई लाग्दो हो, यो सरकार भनेको आउने जाने संयन्त्र हो,यस्तै चल्छ भन्ने हिजोकै अवस्था जस्तो लाग्दो हो । अर्को अहिले समायोजन नै समस्या भइरहेको छ । तल कर्मचारी नगएका कारणले खर्च नहुने, माथि कर्मचारी मलाई कहाँ पठाउने हो टुङगो छैन भनेर काम नगर्ने, उत्साहित नहुने अवस्थाले यस्तो भएको हुन सक्छ । कतिपय ठाउँमा कर्मचारी नभएर, दरबन्दी खालि भएर काम नभएर पनि समस्या भएको देखिएको छ ।

सरकारले त तपाईंकै कार्यालयलाई उद्देश्यअनुरूप काम नगरेको भनेको छ नि ?
खोई कस्ले के सन्दर्भमा भन्यो मलाई त थाहा छैन, यहाँ त राष्ट्रिय योजना आयोगका सन्दर्भमा बुझाइ नै गलत भएर समस्या भइरहेको छ । हिजो एक थरी मान्छेहरू राष्ट्रिय योजना आयोग नै चाहिँदैन भनेर लागिरहेका थिए, तिनले अहिले पनि त्यही लाइनमा लेखे भनेको सुनिएको छ, तिनको सोचाइ नै फरक छ । राष्ट्रिय योजना आयोगमा कहाँनेर कमजोरी छ त्यतातिर मात्र हेर्छन् । अर्को एक थरीले राष्ट्रिय योजना आयोग नभई हुँदैन भनिरहेका छन्, तिनले समर्थन गरिरहेका छन् । कोही मध्यमार्गी छन् त्यसैले यो आआफनो विचारअनुसार कमेन्ट गर्ने रहेछ । वास्तवमा भन्ने हो भने हामीलाई काम छैन भन्ने ती कतिपयले राष्ट्रिय योजना आयोगको गठन आदेश नै हेरेको रहेनछ जस्तो देखिन्छ । राष्ट्रिय योजना आयोगको गठन आदेशमा हामीलाई जम्मा ४ वटा काम दिइएको छ । पहिलो दीर्घकालीन सोचसहितको योजना बनाउने भनेको छ जुन काम हामीले एक वर्ष लगाएर सिध्यायौं । १४ औँ योजना यो वर्ष सिद्धिने १५ औँ योजना चाहिने थियो त्यो पूरा ग¥यौ । त्यसको आधारपत्र तयार भयो अब फाइनल गर्न बाँकी छ । एउटा समन्वय गर्ने भन्ने छ । माथिका मन्त्रालयहरूसँग समन्वय भई नै रहेको छ विभिन्न कामहरूको सन्दर्भमा । हिजो मात्रै पनि त्यहीसँग सम्बन्धित विकास समस्या समाधान समितिको बैठक भयो, विभिन्न कामहरूका सन्दर्भमा मूल्याङकन पनि भई नै रहेको छ । प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न अहिलेसम्म मेकानिजम नै बनेको छैन । हिजो बैठक बसेर अब तीन महिनाभित्र बनाउने भनेको छ, त्यो जान्छ । तैपनि व्यवहारमा हामीेले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी नै रहेका छौ । अर्को अनुगमन र मूल्याङनको पाटो । त्यो हिजोदेखि नै त्यति बलियो भएर आएको थिएन यो विषयमा सिस्टममै अलि समस्या छ । तर अब स्थायी सरकार आएको अवस्थामा सिस्टम विकास गरेर अनुगमन र मूल्याङकनको पद्धति कसरी राम्रो बनाउने भनेर हामी हेर्दैछौ । हिजोसम्म यसका ऐन कानुन नै थिएनन् आज हामी ऐन कानुन नै बनाएर नयाँ सिराबाट जान खोजिरहेका छौं । अर्को अध्ययन अनुसन्धानको काम हो । त्यो पनि क्रमशः अलिअलि भई नै रहेको अवस्था छ । त्यसबाहेक उपाध्यक्षले गर्ने काम कर्तव्य र अधिकारको कुरा छ त्योदेखि सरकारको सहयोगीको रूपमा गर्ने कामहरू छन् त्यो पनि हामीले गरी नै रहेका छौ । अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार जानुपर्ने, दिगो विकास लक्ष्यलाई हामीले नै हाँकेर लानुपर्ने छ, त्यसलाई पनि हामीले सँगसँगै लगिरहेका छौं । बाहिरबाट हेर्दा के देख्छन्, के सोच्छन् त्यो हामीलाई थाहा भएन तर सरकारले राम्रै भनेको छ, हामीले पनि सरकारलाई सहयोग नै गरिरहेका छौ । हिजै मात्र पनि प्रधानमन्त्रीले हाम्रो बारेमा राम्रै भन्नुभएको छ । त्यसैले सरकारले भनेको होइन सरकारलाई असहयोग गर्न खोज्नेहरूले त्यस्तो भनेका हुन सक्छन् सरकारले भनेको छैन । लोकतन्त्रमा हामीलाई स्वस्थ्य आलोचना गर्ने राइट त सबैको छ तर न्यायोचित आँखाले हेर्नुप¥यो त्यसले हामीलाई सहयोग नै पु¥याउँछ । तर सरकारले भन्यो भन्ने कुराचाहिँ कसरी आयो मलाई थाहा भएन ।

यति बलियो सरकार हुँदाहुँदै मूल्यवृद्धि साँढे पाँच प्रतिशतले बढेको छ, व्यापार घाटा लगभग ११ खर्ब पुग्न लागेको छ, विकास खर्च ज्यादै कम छ, आयात बढेको बढ्यै छ, निर्यात घटेको घट्यै छ, त्यसले परनिर्भरता झन् बढाइरहेको छ, जनतामा निरासा त्यत्तिकै छ यसले सरकारको सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियान पूरा होला ?
सुखी नेपाली समृद्ध नेपालको अभियान सरकारको मात्र होइन, हामी सबैको हो, राष्ट्रिय लक्ष्य हो । यसैकै अधारमा हामीले दीर्घकालीन सोच र १५ योजना बनाएका छौं । यो पूरा हुने राष्ट्रिय लक्ष्य हो, पूरा हुन्छ । जहाँसम्म परनिर्भरता बढ्यो भन्नु भएको छ, परनिर्भरता आज बढेको होइन, हिजै बढेको थियो, त्यसलाई हामी क्रमशः कम गर्दैछौं । हिजोसम्म लोडसेडिङ धेरै थियो, त्यो कम हुँदै गएको छ, अब केही समयपछि हामी बिजुलीमा आत्मनिर्भर मात्र होइन, हामी बेच्ने अवस्थामा पुग्छौं । तपाईंले भनेको आयत बढेको कुरा सही हो । यसको कारण हामीले सडक यति धेरै बनायौ कि सडक बनाएका कारणले सवारी साधनको ज्यादै वृद्धि भएको छ । त्यसले इन्धनको खपत मात्रा बढेको छ, मोल बढेको छ तर त्यसले पनि उत्पादन बढाउन सहयोगै गरेको छ । त्यस्तै निर्माणका सामाग्रीको आयात अत्यन्त धेरै भएको छ, यो पनि विकासकै लागि भएको देखिन्छ । नेपाली युवा विदेशमा भएकाले उत्पादन केही मात्रामा घटेको भए पनि समग्रमा घटेको छैन । आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा छ, साँढे पाँच प्रतिशत मुद्रास्फितिको कुरा गर्नुभयो हाम्रो वार्षिक लक्ष्य साँढे छ प्रतिशतको छ भने हाम्रो लक्ष्यभन्दा त कमै छ । अरू सूचकहरू पनि ठीकै छन् डराउनु पर्ने अवस्थाको छैन । डराउनु पर्ने दुईवटा मात्र सूचकहरू छन् । एउटा पूरै खर्च गर्न नसक्नु र आयात बढ्नु यो राम्रो होइन । तर हामीले आन्तरिक तयारी गरेर उत्पादन विकास खर्च बढाउन सकिन्छ तर आयात घटाउने वा विदेशी मुद्रा संचिती बढाउने कुरामा चाहिँ हामीले अलि धेरै मेहेनत र गृहकार्य गर्नुपर्ने हुन्छ । अहिलेसम्म त त्यस्तो चुनौतीपूर्ण छैन, तर भोलि रेमिटेन्स रोकियो भने चुनौतीपूर्ण हुन्छ कि भन्ने देखिन्छ तर समग्र अर्थतन्त्रको अवस्था र सूचकहरूको अवस्था त्यस्तो कहालीलाग्दो निरासापूर्ण भने छैन ।

निर्यात बढाउन के गर्नुपर्छ त ?
अन्तर्राष्ट्रिय रूपमा निर्यात गर्न सकिने नेपाली वस्तुहरूको उत्पादन बढाउनुपर्छ, अन्तर्राष्ट्रिय बजारका बारेमा जानकार हुनुप¥यो । हामी अहिले अलि बढ्ता नै उदार हुन खोज्दैछौ, हामी व्यापार संघमा जाँदाखेरी पनि एउटा विकासशील देशले पाउने सुविधा पनि नलिइकन हामी बसिराख्यौं त्यसले पनि हामीलाई समस्या भयो । त्यसलाई सन्तुलनमा लिन भन्सारका केही केही दरहरू बढेको जस्तो देखिन्छ । अर्को, धेरै नेपाली युवाहरू बाहिर गएका छन्, उनीहरूका जहान परिवार यहाँ उत्पादन नगरी बसेर खाएका छन् । त्यसो गर्दा विदेशबाट किनेर ल्याएर खानुप¥यो । त्यसले पनि उत्पादन घट्ने र आयात बढ्ने भयो । त्यसो हुँदा पनि नेपालीको आम्दानीचाहिँ बढेकै छ । अर्थात नेपालीको किनेर खाने शक्तिचाहिँ बढिरहेकै छ । तर स्वदेशी उत्पादन घटेको छ । यसले गर्दा व्यापार घाटा भए पनि त्यस्तो समस्या नै हुने अवस्थामा छैन । किनकी हामीसँग अहिले पनि सात महिनालाई पुग्ने वस्तु तथा सेवाको र आठ महिनालाई पुग्ने वस्तुको आयात गर्न सक्ने संचित क्षमता हामीसँग भएको तथ्याङक मैले पढेको छु तर यसमा हामी गम्भीर भएर उत्पादन बढाउनेतर्फ चाहिँ लाग्नैपर्छ । अहिले हाम्रा विकासका कामहरू तीव्र भएकाले विगत दश महिनामा केही घटेको हो तर समस्यै हुने अवस्था भने होइन ।

मौद्रिक नीतिमा पनि समस्या छ कि ?
यो विषय त मेरो कार्यक्षेत्रभित्र पर्दैन तर यो वित्तीय पोलेसीको कुरा हो । यसतर्फ जाने हो भने बजारमा लोन बढी माग छ, आर्थिक वृद्धि पनि राम्रै भइरहेको कारणले बजारमा उत्साह छ तर त्यसअनुुसार लोन प्रवाह हुन सकिरहेको छैन । कतिपय फ्रिज भएर बसेको छ । यो सरकारका संयन्त्रहरू अलि कमजोर भएका कारणले खर्च गर्न नसकेकोले पनि पैसा डम्पिङ भएर बसेको छ । एकातिर लगानी चाहने अवस्था, अर्कोतिर पैसा खर्च गर्न नदिने वा नपुग्ने अवस्थाले गर्दा चलखेल हुने अवस्था हुने भयो । माग बढी भएपछि ब्याजदर निश्चित रूपमा बढी हुने नै भयो । त्यसले इकोनोमीलाई अलि बढी महङ्गो बनाएको छ । यस्तो अवस्थामा मौद्रिक नीति बनाइरहँदा यो पक्षलाई ध्यान दिएर सरकारको खर्चलाई अलि बढाउने गरी जानुपर्छ । त्यसो भयो भने सरकारको ढुकुटीमा अलि पैसा रहन्छ, ब्याजदर अलि कम हुन्छ ।

यसको मतलब अहिले सरकारको पक्ष र विपक्षमा जसरी कुराहरू आइरहेका छन्, हौसिहाल्नु पर्ने र निरासै भइहाल्नुपर्ने अवस्था होइन ?
यो किन आइरहेको छ योचाहिँ त मैले बुझिरहेको छैन । विधेयकको विषयमा अलिअलि आउनु स्वभाविक हो तर पहाडै खसेजस्तो गरी आउनुचाहिँ आश्चर्यको विषय हो । यहाँ एकथरी तीव्र परिवर्तन चाहने छन्, अर्कोथरी परिवर्तन नै नचाहने होलान् । त्यस्ता खालका शक्तिहरूले भनेजस्तो दुवै काम भएको छैन, त्यो सम्भव पनि छैन । विकासको आफ्नै नियम र गति हुन्छ, त्यसअनुसार भइरहेको छ, यसमा त्यस्तो केही छैन तर कतिपयचाहिँ घोषित रूपमै सरकारलाई असफल बनाउन लागेकाले यस्तो हल्ला खल्ला भएको हुनसक्छ । सरकारको मनसाय ठीक छ, काम पनि ठीक छ, काम पनि भई नै रहेका छन् । होला, काम गर्ने दौरानमा जति छलफल हुनुपर्ने हो त्यसमा कमी भयो, केही गल्ती भए, गुठीकै विषयमा काठमाडौं उपत्यकाभित्र साँस्कृतिक कुरा अलि बढी जोडिएको हुनाले त्यहाँ सरकारको काम सर्वस्वीकार्य हुन सकेन तर बाहिरको आवश्यकताअनुसार नै अहिलेको गुठी ऐन आएको हो । यसमा पनि जनताले विरोध गरेपछि सरकारले होस न त भनेर फिर्ता लिइसकेको छ । अरू विधेयकका बारेमा केही केही प्रश्न उठेको छ, हामी कहाँ के छ भने हामी लामो संक्रमणकालीन अवस्थाबाट गुज्रिएकाले हामी सबै सकेसम्म अराजकतामा बाँच्न चाहने मनसाय छ, कानुन बनाएर बिधिमा नजाओस्, सकेसम्म कानुन नै मान्न नपरोस्, अर्काले डिक्टेड नगरोस्, आफैले डिक्टेड गर्न पाइयोस् भन्ने सोच चाहे पत्रकारमा होस्, चाहे वकिलमा होस्, चाहे,कर्मचारीमा होस्, चाहे राजनीतिज्ञमा होस् चाहे निजी क्षेत्रका उद्योगी व्यवसायीमा होस्, चाहे शिक्षकमा होस्, चाहे विद्यार्थीमा होस् वा जनतामै किन नहोस् यो खालको सोच सबैमा छ । यसले सबैतिर समस्या बनाइरहेको छ । अहिले भ्रष्ट्राचारका कुरा आइरहेका छन्, जग्गाका विषय आइरहेका छन्, विधेयकका कुरा आइरहेका छन्, सुन तस्करीका कुरा आइरहेका छन, खर्चका कुरा आइरहेका छन्, हत्या हिंसा अपहरणका कुरा आइरहेका छन् यस्ता विषयलाई लिएर सरकारको आलोचना भइरहेको छ । यी सबै कुरामा सरकारले राम्रो गर्न थालेपछि, यस्ता विषयलाई नियन्त्रण गर्न खोजेपछि नै यस्ता हल्लाहरू बढी आउन थालेका छन् । यस्ता कुरा पहिलेका सरकारले खोजीनीति गर्दैनथ्यो, चुप लागेर बस्थ्यो, सरकार संकटमा पर्छ भनेर तैँ चुप मै चुप हुन्थे । अहिले स्थिर सरकार भएकोले यो सरकारले यस्ता विकृति विसंगति हटाउने गरी काम गर्न थालेकाले त्यस्तामा आड लाग्ने,आड लाग्न चाहने, त्यस्ता विषयमा खेलेर स्वार्थ लिइरहेकाहरू, धमक्याएर असुली गर्नेहरू सरकारको अहिलेको कामबाट अत्तालिएका छन् । यसर्थ यो अहिलेको भद्रगोल होइन पहिलेको भद्रगोल ब्यबस्थापन गर्न खोज्दा यस्तो कोकोहोलो र सरकारको बढी आलोचना भइरहेको छ । यो कुरा जनतालाई राम्ररी बुझाउन सक्नुपर्छ र अब हाम्रो समाज पनि अलि अनुशासित बन्नुपर्छ । यही कुरा सरकारले अहिले उठाइरहेको छ । त्यसैले कोही मात्तिनु र कोही आत्तिनु पर्ने अवस्था छैन ।

दुई तिहाईको सरकार छ, भ्रष्टाचारीलाई, अपराधीलाई,भूमाफियालाई डिक्टेड गर्न कारबाही गर्न के ले रोकेको छ र ?
होइन डिक्टेड गर्नु राम्रो हो र ? समस्याचाहिँ सञ्चारकर्मीले गलत बुझिदिएर,गलत बुझाइदिएर पनि भएको छ । दुई तिहाईको सरकारले आफैँ अण्डा पार्ने त होइन नि । यसले त नियम कानुन पारित गर्ने, पारित भएका नियम कानुनलाई कार्यान्वयन गर्ने हो, त्यो त गरिरहेकै छ नि । केही केही समस्या भएका ठाउँमा फुकाउने, छिटो काम गर्ने कुरामा दुई तिहाईको उपयोग होला तर दुई तिहाई छ भन्दैमा जनताका आवश्यकता चाहना सबैलाई मारेर नियम कानुन बनाउँदै सबैलाई ठोकेर जाने कुरा त होइन । दुई तिहाई त हाम्रो राजनीतिक सामाजिक सन्तुलन कायम गर्न,जातीय, क्षेत्रीयतावादलाई परास्त गर्न, सार्वभौम सत्ता बलियो बनाउन र देशलाई स्थिरतासहित दिगो विकासतर्फ लैजानका लागि हो । त्यही लक्ष्य र उद्देश्य पूरा गर्न सरकार अगाडि बढेको छ । सरकारको यो उद्देश्य नबुझ्ने, कतिपय बुझेर बुझ पचाउने र सरकारलाई असफल पार्न खोज्ने तत्वले सरकारलाई समस्या पारेको छ ।

अहिलेको नीति कार्यक्रम र बजेटलाई सरकारले आधार वर्ष भनेको छ , समृद्धिका लागि सरकारले के कुरालाई बढी प्राथमिकतामा राखेर जानुपर्ला ?
राष्ट्रिय योजना आयोगले जे भनेको छ त्यहीअनुसार गएको छ सरकार । हामीले साँढे आठ प्रतिशतको वृद्धिदर राख्नुपर्छ भनेका थियो त्यहीअनुसार गएको छ, खर्च गर्दा भौतिक पूर्वाधारमा बढी खर्च गर्नुपर्छ भनेका थियौं त्यसैमा बढी राखेको छ, पुराना आयोजनाहरूलाई छिटो टुङग्याउने भनेका छांै, त्यहीअनुसार राखेको छ, कृषि र पर्यटनमा जोड दिने भनेका थियौं त्यही भएको छ, अन्य विषयमा पनि हामीले १५ औँ योजनामा जे चिजलाई बढी प्राथमिकतामा राखेका थियांै, त्यसैलाई आधार बनाएर नै बजेट बनाइएको छ । कसैले बदमासी नगरौं,सबै इमान्दार भएर काम गरौं, अहिल्यै एक वर्षमै केही भएन भनेर निरासा व्यक्त गरेर, त्यस्ता धाराणा बनाएर सरकारलाई काम गर्नबाट नरोकौं, सरकारले काम गर्ने समय अझै चार वर्ष छ, मुलुक बनाउन सबैले सहयोग गरौं, सरकारले गरेका असल कामको प्रसंसा गरांै, खराब कामको मात्र विरोध गरौं, सरकारलाई असफल पारेर खुसी मनाउन खोज्ने प्रवृत्तिको अन्त्य गरौं । विदेशमा होइन स्वदेशमै आएर बसेर काम गरौं, यसबाटै सबैको कल्याण हुन्छ । राजनीतिबाहेक आर्थिक आँखाबाट हेर्दा सरकारले ठीकै विषयलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ ।

राजनीतिक आँखाबाट हेर्दा सरकारलाई कस्तो देखिन्छ ?
यो देशमा राजाको शासन पनि हामीले देख्यौं, कांग्रेसको दुई तिहाई र बहुमतको सरकार पनि देख्यौं, अन्य संयुक्त सरकारहरू पनि हेरियो, कांग्रेसको बेथितिले देश यो अवस्थामा आएको र जनताले कांग्रेसलाई आजको साईजमा राखिदिएको यथार्थ हाम्रो सामु छँदैछ । अहिले दुईवटा पार्टी मिलेर बलियो पार्टी नेकपा बनेको छ, तर पार्टी एकताका सबै काम पूरा हुन नसक्दा, यसले बिधि पहिल्याउन नसक्दा, पार्टीभित्र सामूहिक बहस, छलफल नहुँदा र पार्टीले कहिलेकाहीँ गल्ति गर्दा सुझाव सल्लाह दिने निकाय राम्रो नहुँदा पार्टीलाई ठूलो नोक्सान भएको छ । यसको अन्त्य गरेर पार्टीका कमिटीहरू चाँडो बनाउने र पार्टीलाई चलायमान बनाउनु पर्दछ यसो भयो भने सबै कुरा ठीकठाक हुन्छ ।