नेपालका यी चार खेलाडीले आइसिसीको बरियता पाए


काठमाडौँ-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् ।

नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ९४औँ र शरद १००औँ स्थानमा छन् । त्यस्तै बलिङतर्फ सोमपाल ९२औँ र रेग्मी ७४औँ स्थानमा छन् ।

आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा बरियता निर्धारण गर्छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि यसै वर्षदेखि बरियतामा समावेश हुँदै आएका छन् ।
रासस

विश्वकप प्याराग्लाइडिङ आजदेखि स्याङ्जामा शुरु हुँदैछ, २१ देशका ९८ खेलाडी सहभागि हुने


स्याङ्जा-आजदेखि स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ शुरु हुँदैछ । भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराइसकेको र खेलाडी प्रतियोगिता स्थलमा आउनेक्रम जारी रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिने बताइएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला समन्वय समितिका उपप्रमुख एवं प्रतियोगिता अनुगमन समितिका संयोजक दिलीपकुमार बगालेले बताउनुभयो । प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा सम्पन्न हुनेछ ।

आजदेखि शुरु हुने विश्वकप प्याराग्लाइडिङ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्वरेक मैदानमा उद्घाटन र डौवा फाँटमा समापन आयोजकले जनाएको छ ।

पीपीएल: चितवन राइनोजकाे पहिलो जीत, एक्स्पर्ट धनगढी १२६ रनले पराजित


काठमाडौं-पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले पहिलोपटक शानदार जीत हासिल गरेको छ । पोखरा रंगशालामा भएको खेलमा चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टिम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो ।

१९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले १६÷२ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन मात्रै बनाउन सक्यो । धनगढीले सुरुदेखि नै विकेट गुमाएको थियो । शून्य रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटको रुपमा डेन लवारेन्सलाई पनि शून्य रनमै गुमाएको थियो । चौथो ओभरको चौथो बलमा टिमको स्कोर ७ रन हुँदा सन्दीप सुनारलाई गुमाएपछि दबावमा आएको थियो ।

धनगढीका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेका थिएनन् । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने सौरभ खनाल ८ र दिलीपनाथ शून्य रनमै आउट भए । विदेशी खेलाडी पिटर ट्रेगोले २७ रन बनाउँदै इनिङ्सलाई सम्हाल्ने कोशिस गरेका थिए तर, उनी पनि भुवन कार्कीको बलमा क्याच आउट भए ।
त्यस्तै योगेन्द्रसिंह कार्कीले १७ रन बनाए ।

बलिङतर्फ चितवन राइनोजका लागि सन्नी पटेलले ४ विकेट लिए भने भुवन कार्की र स्मित पटेलले समान २÷२ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रहेको थियो । अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे ।

हरिशंकरले ५३ रन बनाए । अनिल ३७ रनमा आउट भए । सन्नी पटेल २६ रनमा अविजित रहँदा समिट पटेलले २४ रन जोडे । कप्तान पारस खड्काले १९ रन बनाएका थिए ।

भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्टइण्डिज ४३ रनले विजयी


काठमाडौं – भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्टइण्डिज विजयी भएको छ । तेस्रो एकदिवसीय खेलमा वेष्टइण्डिजले भारतलाई ४३ रनले पराजित गरेको हो । २८४ रनको लक्ष्यसहित मैदान ओर्लेको घरेलु टोली भारत ४७ दशमलव ४ ओभरमा २४० रनमै समेटियो । उसका लागि कप्तान विराट कोहलीले १०७ रन बनाए । कोहलीको यस शृंखलाको लगातार तीन खेलमा लगातार तेस्रो शतक हो । बलिङतर्फ वेष्टइण्डिजका मार्लुन स्यामुयल्सले ३ तथा जेसन होल्डर, ओबेड मेकोय र एस्ले नर्सले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित पचास ओभरमा ९ विकेट गुमाएर २८३ रन बनाएको थियो । एक समय ५५ रनमा तीन तथा १२१ रनमा ५ विकेटको स्थितीमा रहेको वेष्टइण्डिजको इनिङ साई होप र एस्ले नर्सले सम्हालेका थिए । सार्इ होप ९५ रनमा पेभेलियन फर्के भने नर्सले ४० रन जोडे । त्यस्तै सिमरोन हेट्मायरले ३७ तथा कप्तान जेसन होल्डरले ३२ रन बनाए ।

बलिङमा भारतका जसप्रित बुम्राहले चार विकेट लिए । यससँगै पाँच एकदिवसीय क्रिकेट खेलको शृंखला एक–एकको बराबरी भएको छ । पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । शृंखला अन्तर्गत चौथो खेल सोमबार हुनेछ ।

कार्तिक ९ देखि शुरु हुने पोखरा प्रिमियर लिगको उद्घाटन सभामुख महराले गर्ने


पोखरा-पोखरामा हुने ‘पोखरा प्रिमियर लिग’ (पिपिएल) खेलको उद्घाटन संघीय संसदका सभामुख कृष्णबहादुर महराले गर्ने भएका छन् । कार्तिक ९ देखि शुरु हुने पोखरा प्रिमियर लिग खेलको उद्घाटन सभामुख महराले गर्ने भएका हुन् ।

यही ९ गतेबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता २० गतेसम्म चल्नेछ । प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको आयोजक पक्षले जनाएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा उक्त खेल हुनेछ ।

प्रतियोगिताका लागि पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ फ्रेन्चाइज टिमले खेलाडी अनुबन्ध सकेर अन्य तयारीमा जुटेका छन् ।

पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी टिममा विदेशी खेलाडीहरु समेत खेल्नेछन् । प्रतियोगिताको सहभागी टिम चितवन राइनोजले दुई विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । चितवन राइनोजले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोजले भारतीय क्रिकेट खेलाडी सन्नी पटेल र समित पटेललाई टिममा भित्राएको छ ।