भ्रष्टाचारी शिक्षित हुँदैनन् ? (सम्पादकीय )


नेकपाको सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अगाडि बढेको छ । प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलतासहित ‘म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ’ भन्ने उद्गार व्यक्त गरेका छन् । त्यसअनुसार खरदार, सुब्बा र एकाध त्योभन्दा माथिका कर्मचारी र तल्लो तहका जनप्रतिनिधिलाई प्रकाउ पनि गरेको छ । तर, भ्रष्टाचार माथिल्लो पदमा बस्नेहरूले नै गरिरहेका छन्, शिक्षित छु, विद्वत छु, जानेको बुझेको छु भन्नेहरूले नै गरिरहेका छन्, भ्रष्टाचारीलाई उनीहरूले नै संरक्षण दिइरहेका छन् । यस्तो विद्वता र पदको कुनै अर्थ छैन । जतिसुकै विद्वत भए पनि, जतिसुकै ठूलो पदीय जिम्मेवारीमा रहेको भए पनि, जतिसुकै आदर्शवान साहित्यकार, भए पनि निहीत स्वार्थ बोकेर देश र जनताको अहितमा काम गर्ने मान्छे, भ्रष्टाचारी, दुराचारी, माफिया र तस्करहरू हुन् त्यस्ताबाट समाजको कुनै हित हुँदैन । तर, त्यस्ताहरूलाई अहिले कारवाही पनि हुन सकेको छैन । त्यस्ता राष्ट्रद्रोहीहरूलाई कारवाही पनि हुनुपर्छ, त्यस्तालाई सामाजिक बहिस्कार पनि गर्नुपर्छ, जुन हुन सकेको छैन । अहिले भ्रष्टाचारीको नाममा साना पदका २०÷ ५० हजार लिने बढी कारवाहीमा परेका छन्, करोडांै, अरबौ गर्ने र गराउन प्रोत्साहित गर्ने परेका छैनन् । ठूलाठूला भ्रष्टाचारी,घूसखोरी र तस्करीहरू पार्टीका नेताहरूबाट संरक्षित भइरहेका छन् । यो आश्चर्यको विषय हो किनकी यहाँ भ्रष्टाचार र काला व्यापारीको डरलाग्दो सञ्जाल छ, करोडौं अरबौ भ्रष्टाचार भइरहेको छ, काला व्यापारी, तस्कर र कमिसनखोरहरूको सेटिंगमा वस्तुको मूल्य १०० देखि २०० प्रतिशतसम्म बढेको छ, सरकारी जग्गाहरू पहुँचवालाले हडपी रहेका छन्,सरकारी कामकाजमा ढिलासुस्ती त्यतिकै छ, पार्टीभित्र पदीय भागबण्डा चलिरहेको छ, सरुवा, बढुवा र नियुक्तिमा त्यस्तै चलखेल छ, पार्टीभित्र आफ्ना मान्छेहरूलाई मात्र नियुक्त गर्ने पुरानै परम्पराले निरन्तरता पाइरहेको छ । कमिशनमा कुरा नमिलेर कतिपय संवैधानिक निकायहरूमा अझै आयुक्तहरू नियुक्त गरिएको छैन । यी सबै काम भ्रष्टाचार गर्ने, कमिसन खाने र सम्पति आर्जन गर्ने उद्देश्य अन्र्तगत भएका छन् ।

मुलुक सुशासन र समृद्धिमा जानुपर्ने बेलामा घिनलाग्दा काम, घूस, कमिसन र भ्रष्टाचार झन् बढेको समाचार आइरहेको छ । सरकारी बेरुजु बढ्दै गएको महालेखाको प्रतिवेदनले भनिरहेको छ । सार्वजनिक निर्माणका आयोजनाहरूमा ढिलासुस्ती झन् बढेर गएको समाचार आएको छ, दर्जनौं सडक र पूर्वाधार निमार्ण कार्यले गति लिन सकेको छैन, फजुल खर्चको मात्रा बेरोकटोक बढ्दै गइरहेको कतिपय नेताहरूले नै बताइरहेका छन् । सरकारी निकायमा चरम बेथिति व्याप्त छ, सवारीचालक अनुमति पत्रसमेत वितरण हुन सकिरहेको छैन । सुन तस्करहरूलाई कारवाही हुन सकेको छैन, वाइड बडी घोटाला काण्डका मुख्य अभियुक्तहरूलाई अहिलेसम्म कारवाही भएको छैन, एनसेल कर छली काण्ड त्यसै छ, अरबांै राजस्व छली गर्नेहरूलाई कारवाही गर्नुको सट्टा पुरस्कृत गरिएको समाचार आइरहेको छ । सरकारबाट लिनुपर्ने सेवा सुविधामा ढिलासुस्ती र घूसको प्रचलन यथावत् छ । अर्थात हिजोकै विकृति र विसंगतिले अहिले पनि निरन्तरता पाइरहेको छ । यसमा सुधार ल्याउने कुरामा कसैको ध्यान गएको छैन । यो नेकपाकै इमान्दार नेताहरूले भन्ने गरेको कुरा हो । यसले विगतका सरकारहरूको कार्यशैलीभन्दा अहिले के कुरामा सुधार आयो ? के कुरामा प्रगति भयो ? भन्ने प्रश्न उठाएको छ । त्यतिमात्र होइन, योजना ल्याउने नेता, उच्च प्रशासक, भ्रष्टाचारी र काला व्यापारीहरूको अघोषित कमिसन साँठगाँठ र लेनदेनले मुुलुक आक्रान्त भइरहेको सुनिएको छ । त्रिविभित्रैबाट फेल भएकालाई गोल्ड मेडलिस्ट बनाउने, पीएचडीका सर्टिफिकेट बिक्री हुने,आफैँ विज्ञापन गर्ने, आफैँ प्रश्न बनाउने, आफैँ जाँच लिने, आफैँ उत्तरपुस्तिका जाँच्ने र अन्तर्वार्ता लिएर आफ्नै परिवारका मान्छेलाई जागिर दिनेसम्मको दुष्कर्महरू भएका छन् । तर, यस्ता कुरामा कारवाही कसैलाई भएको देखिएको छैन, भए पनि देखाउनका लागि मात्र भएको छ । यो दुःखद परिस्थिति हो ।

यस्तो बलिया सरकार बनेको बेला चारैतिर आशा, उत्साह, जोस र जाँगरको वातावरण बन्नुपर्ने हो यस्तो राजनीतिक अबस्थाले देशमा निरासा बढ्नुका साथै विकासमा बाधा पुगिरहको छ । त्रिविभित्रैबाट फेल भएकालाई गोल्ड मेडलिस्ट बनाउने सम्मको कल्पनै गर्न नसकिने बेथितिहरू भएका छन । आफैं विज्ञापन गर्ने, आफैँ प्रश्न निकाल्ने, आफैँ जाँच लिने, आफैँ उत्तरपुस्तिका जाँच्ने र अन्तर्वार्ता लिएर आफ्नै परिवारका मान्छेलाई जागिर दिने, बढुवा प्रयोजनका लागि पीएचडी डिग्रीलाई पहिल्यैदेखि दिइँदै आएको नम्बर घटाएर पीएचडी नगर्ने आफैँलाई प्राध्यापकमा बढुवा गर्नेसम्मको दुष्कर्म त्रिविमा भएको छ । यसले विगतमा जस्तै भागबण्डा र आफ्नो निकटका व्यक्तिलाई चयन गर्ने परम्परा तोडिने अवस्था देखिँदैन । बहुमतको स्थिर सरकार हुँदा पनि काम गराइमा हिजोकै शैली अपनाउने कुराले यत्रो ऐतिहासिक परिवर्तनबाट ल्याएको लोकतन्त्र र कम्युनिस्ट सरकारको के अर्थ भन्ने प्रश्न टड्कारो रूपमा उठेको छ । यसको सही उत्तर खोजिनु आजको मुख्य आवश्यकता हो ।

श्रीमान श्रीमति पक्राउ


काठमाडौं, साउन ८ प्रहरीले निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जानकारी दिएको । छविकी पत्नी हेमा ओझाले गत आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हाल्नु भएको थियो । उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन् । पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन् । हेमाले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन् । नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिमाना हुनसक्छ ।

क्लिनफिल्ड लागू हने


काठमाडौं, असार १७ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिज्ञापन ऐनमार्फत क्लिनफिल्ड लागू गर्ने दृढ संकल्पसहित संसदमा बिद्येयक दर्ता गरेपछि सरकारबिरुद्ध लागेको बिदेसी एजेण्टको योजनामा आइफा अवाडएको लफडा निकालिएको तथ्य खुलासा भएको छ । सरकार क्लिनफिल्डबाट पछि नहटने प्रष्ट जानकारी पाएपछि नेपालमा हुन लागेको भारतीय चलचित्र महोत्साव (आइफा) अवार्डमा अर्वौै खर्च गर्न लाग्यो भन्दै लफडा मच्चएको पाइएको हो । संसदमा बिचाराधिन रहेको बिज्ञापन बिद्येयकमा रहेको क्लिनफिल्ड हटाउन भातरीय दुतावासले खुलेरै नेपालका केही राजनीतिक नेता र केवल सञ्चालकहरुमार्फत दवाव दिइरहेको छ । क्लिनफिल्ड रोक्न नसक्ने देखिएपछि भारतीयकै योजनामा आइफाको लफडा निकालिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको प्रष्ट पारेपछि आइफाको नाममा क्लिनफिल्ड फिर्ता गराउने षडयन्त्र छताछुल्ल भएको हो । केही दिनयता सरकारले भारतीय चललिच महोत्सव, आइफा अवार्डका लागि झण्डै एक अर्व भन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको भन्दै सत्तारुढ तथा बिपक्षी दलका नेताहरुले नै आरोप लगाएपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले सरकारले एक रुपैया पनि नदिएको प्रष्ट पार्नुभएको हो । चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । तर त्यहाँ एक रुपैयाँ पनि दिने अनुमति भएको छैन । त्यसैले यो हल्लाको पछाडि नलाग्न सरकारका सूचनामन्त्रीले सबैलाइ आग्रह गरेका छन ।

चलचित्र प्रतिस्पर्धी भयो भने नै उत्कृष्टता जाँचिन्छ


मित्रदेव गुरूङ, चलचित्र सम्पादक

तपाईं उत्कृष्ट चलचित्र सम्पादकको भूमिका निर्वाह गरिरहनुभएको छ के कस्ता काम गर्दै हुनुहुन्छ कत्तिको व्यस्त हुनुहुन्छ ?
म अहिले चलचित्र सम्पादनमै लागिरहेको छु । मैले सम्पादन गरेका पछिल्ला सफल चलचित्रहरू दालभात तरकारी र जात्रैजात्राले राम्रो गरिरहेका छन् । यिनीहरूले ५१ औं दिन पूरा गरेका छन् । यो बीचमा कुम्भकर्ण चलचित्र पनि गरेको छु, केही समयपछि नै नवल नेपालको निर्देशनमा बनेको मारुनी, एभरेष्ट सूर्य बोहोराको निर्देशनमा बनेको हलो जिन्दगी रिलिज हुँदैछ । अब आउने दसंैमा अशोक शर्माको निर्देशनमा रातो टीका निधारमा रिलिज हुने तयारीमा छ, यस्तै काम गर्दैछु । यिनै काम गर्दा नै फुुसैद हुदैन, यस्तैयस्तै काममा व्यस्त छु ।

कमाई कस्तो गरिरहेको छ त ? फिडब्याक कस्तो पाउनुभएको छ ?
म संख्यात्मकतालाई भन्दा गुणात्मकतालाई ध्यान दिन्छु । राम्रो कथावस्तु र राम्रो सृजनशील टिम भएको चलचित्रहरू मात्रै छानेर म काम गर्छु । तसर्थ मैले सम्पादन गरेका सबै चलचित्रहरू उत्कृष्ट, गुणस्तरीय हुन्छन्, सफल हुन्छन्, दर्शकले मन पराउने हुन्छन् । ससर्थ यस्ता चलचित्रले कमाइ पनि राम्रै गर्छन्, फिडब्याक पनि राम्रै आउँछ, आएको छ ।

चलचित्र सम्पादकहरूको जीवनस्तर राम्रै बनेको छ त ?
पछिल्लो समयमा राम्रै बनेको छ । नेपालमा चलचित्र सम्पादकलाई अहिले दोस्रो निर्देशकको रूपमा पनि लिन थालिएको छ, नाम र दाम दुवै राम्रै दिन थालिएको छ । यस हिसाबले चलचित्र सम्पादन गरेर अहिले सम्पादकहरूले आफनो गुजारा चलाउन सक्ने अवस्था छ, जीवनस्तर पनि राम्रै बन्दै गइरहेको छ, काम पनि भ्याई नभ्याई भइरहेको छ । जीवनयापन पनि सहज र सन्तुष्टिपूर्ण नै बनिरहेको छ ।

यो काम गरिरहँदा अर्थात सम्पादनको काम गर्दा के कस्ता समस्या आउँछन् ?
समस्या जुनसुकै क्षेत्रमा हुन्छन् तर यसमा समस्या धेरै बाँडिन्छन्, अधिकांश समस्या सामूहिक जस्ता हुन्छन्, धेरै थोरै मात्रै व्यक्तिगत समस्या हुन्छन् त्यसलाई पनि एक अर्कामा समन्वय गर्न जानियो भने समस्या त्यति जटिल बन्दैनन् । फेरि हामीले कस्ता कुरालाई समस्याको रूपमा लिने कस्तालाई नलिने त्यसको ठीक पहिचाहन आफैँले गर्नुपर्छ । कतिपय समस्या अनुभव र शिक्षा भएर आउँछन्, कतिपय समस्याले अवसर पनि लिएर आएको हुन्छ । त्यसैले मैले यो क्षेत्रमा रहेर काम गर्दा जस्तासुकै समस्यालाई पनि अवसर र आफ्नो अनुभव बढाउने विषय ठानेर हेर्छु र त्यही रूपले हल गर्छु । यद्यपि काम गर्दा सानातिना प्राविधिक समस्याहरू आउन सक्छन् त्यसलाई प्राविधिक रूपमै हल गर्नुपर्छ र म त्यसै गर्छु । समस्याको रूपमा लिन्नँ ।

चलचित्रमा त पर्दामा देखिनेको मात्रै चर्चा हुन्छ, नाम र दाम पनि त्यस्तै हुँदो हो तपाईं त पर्दाभित्र बसेर गर्ने मान्छे देखिनु पाए हुन्थ्योजस्तो लाग्दैन ?
टिन एजर समयमा त्यस्तो भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यो बेला मेरो रूचि सम्पादनमै बढी भयो, यसैमा लगाब बस्यो, यसैैमा मेहेनत गरेँ, पसिना बगाएँ त्यसो गर्दागर्दै मलाई यही पेसा राम्रो लाग्यो, यसैमा दिल बस्यो, यसैमा सहजता भयो, मेरा कामलाई निर्देशकहरूले पनि पत्याउनुभयो,यसैमा मैले आफूलाई निखार्दै लगेँ, यही क्षेत्र मेरो परिचय र जीवन अगाडि बढाउने दिनचर्या बन्यो, यसैमा रमाएँ र यसैमा काम गरेँ । मैले राम्रो सम्पादन गरेँ भने मात्रै चलचित्र पनि राम्रो बन्छ नत्र बन्दैन । त्यसैले राम रमाइलो गर्ने, फिलिममा देखिनेभन्दा पनि चलचित्रलाई कसरी उत्कृष्ट बनाउने होला भन्ने सोचमै म हराइरहेको हुन्छु, डुबिरहेको हुन्छु । यसर्थ अहिले त पर्दामा देखिनु पाए हुन्थ्यो भन्ने मोह पनि छैन । फेरि चलचित्र राम्रो भयो भने कस्ले सम्पादन गरेको रहेछ भनेर मान्छेले अहिले खोज्न थालेका पनि छन् । त्यसैले त्यस विषयको कुनै चिन्ता लोभ छैन ।

राम्रो चलचित्र निर्माण गर्न सम्पादकले के कुरामा होसियारी अपनाउनु पर्छ ?
यो काम आफैँमा चुनौतीपूर्ण हो किनकी निर्माताले करोडौं लगानी गरेर फिल्म बनाएका हुन्छन् त्यति ठूलो प्रोजेक्ट सम्पादकले पाएको हुन्छ । जुन काम गर्दा थोरैमात्रै होसियारी पुगेन, होसियारी नअपनाई काम गरियो, बिग्रियो भने सबैजनाको मेहेनत पनि खेर जान्छ लगानीकर्ताको लगानी पनि खेर जान्छ । त्यसैले यस्तो संवेदनशील विषयमा धेरै होसियारी अपनाएर सम्पादन प्रविधिमा काम गर्नुपर्छ, दोहो¥याई तेह¥याई हेर्नुपर्छ । कहिलेकाहीँ प्रविधिमा गडबडी भइदिन्छ र समस्या आउँछ, कतिपय अवस्थामा स्क्रिप्टले मागेको कुरा सम्पादनमा छुट्न जाने र अपूरो भइदिने हुन्छ । यस्ता विषयमा ध्यान दिनुपर्छ । राम्रो सेवा सुविधा लिएपछि काम पनि राम्रो र इमान्दारीपूर्वक गर्नुपर्छ भन्ने कुराको हेक्का पनि राख्नुपर्छ, टिमका अन्य साथीभाइलाई पनि यस्ता विषयमा ध्यान पु¥याउन भन्नुपर्छ । निर्माता निर्देशकहरूसँग छलफल गरेर सम्पादनको काम गर्नुपर्छ । त्यसो हुँदा कुनै कुरा बिग्रिहाल्दैन, उहाँहरूको सुझाव सल्लाहले काम राम्रो हुन्छ । यस्ता कुरामा पनि ध्यान दिनुपर्छ । यति हुँदाहुँदै पनि मुख्य कुराचाहिँ आफूले लिएको जिम्मेवारी के हो, त्यसलाई कसरी पूरा गर्ने, त्यसमा भएका कमी कमजोरी कसरी सुधार्ने भन्ने कुरालाई राम्ररी ध्यान दिनुपर्छ ।

काम गर्दा सम्पादकीय स्वतन्त्रताको कुरा पनि हुन्छ त्यसमा हस्तक्षेप कत्तिको हुन्छ ?
हुन्छ, यो जटिल समस्या हो । हामीले एउटा कोणबाट राम्रो गर्छु भनेर सोचिरहेको हुन्छौं तर निर्देशक, निर्माताले अर्कै ढंगबाट सोचिदिँदा, गरिदिँदा काममा परिणाममा फरक पर्न सक्छ आफ्नो क्यारिएरमै समस्या आउन सक्ने हुन्छ । तर भए पनि त्यसमा होसियारी अपनाउँदै उनीहरूले भन्न खोजेको, गर्न खोजेको कुरा बुझेर यो यस्तो, यसले यस्तो हुन्छ, यसले यस्तो हुन्छ, यस्तो गर्दा यस्तो राम्रो हुन्छ, यस्तो गर्दा यस्तो नराम्रो हुन्छ भनेर बुद्धि विवेक पु¥याएर कतिपय अवस्थामा उहाँहरूसँग पनि छलफल गरेर सुझाव सल्लाह लिएर काम गर्नुपर्छ । सम्पादकले गर्ने काममा उहाँहरूले सुझाव दिनु राम्रो हुन्छ तर हस्तक्षेप गर्नु हुदैन । त्यसो गर्दा द्वन्द्व आउन सक्ने सम्भावना हुन्छ । राम्रो कामका लागि द्वन्द्व आउनु कुनै नौलो विषय होइन तर इगोका लागि द्वन्द्व गर्नु हुदैन र यस्तो अवस्था आउन दिनु पनि हुदैन ।

चलचित्र हिट हुन के चाहिन्छ ? के के गर्नुपर्छ ?
पहिलो कुरा त चलचित्रको कथा पटकथा राम्रो हुनुपर्छ । त्यो कुरालाई निर्देशकले राम्रोसँग प्रस्तुत गर्नुपर्छ । साथै कलाकार छायाकारले पनि राम्रो गर्नै पर्छ । क्यामराम्यानले त्यस्तै राम्ररी खिचेको हुनुपर्छ । पब्लिसिटीको काम त्यसैगरी हुनुपर्छ, सम्पादकले त्यसैगरी राम्ररी गर्नुपर्छ, निर्देशकको भिजन र स्क्रिप्ट बुझेर सम्पादन गर्नुपर्छ । यसरी सबै कुरा मिलेपछि मात्रै चलचित्र हिट बन्नसक्छ ।
तपाईंले कुनकुन चलचित्रमा पुरस्कार अवार्डहरू पाउनुभयो ?
मैले यो क्षेत्रमा आइपुग्न १५ वर्षको समय र निकै मेहेनत लगाएको छु, निकै संघर्षका उकाली ओरालीहरू हिँडेको छु । यो ठाउँमा म त्यसै आइपुगेको छैन । यिनैलाई आधार मानी मलाई अवार्ड पनि दिइएको हुनुपर्छ । अहिलेसम्म मैले गरेका उत्कृष्ट चलचित्रमा जात्रा, मंगलम, शत्रुगते, दालभात तरकारी, जात्रैजात्रा, ठूलीलगायत थुप्रै चलचित्र छन् । त्यसले मलाई अवार्ड पनि दिलाएको छ । एनएफडीसी राष्ट्रिय अवार्ड, कलाकार संघले फान अवार्डबाट पुरस्कृत गरेको छ, एलजी सीने अवार्डले पुरस्कृत गरेको छ, त्यसैगरी जात्राबाट ४ वटा, शत्रुगतेबाट १ वटा र मंगलमबाट १ वटा अवार्ड पाएको छु ।

यो विधालाई अझ राम्रो बनाउन नीतिमा के फेरबदल गर्नु पर्ला ? नीति निर्माण तहमा बस्नेलाई के भन्नुुहुन्छ ?
नीति राम्रो हुँदैमा काम राम्रो हुने परिणाम देखिने हुदैन । नीति राम्रै हुँदा पनि कार्यान्वयन नहुँदा हरेक कुरामा समस्या हुने हुन्छ । नीति नियम एकातिर काम कर्तव्य अर्कातिर हुँदा पनि समस्या भएको छ । यसर्थ नीति नियम राम्रै भए पनि यसको कार्यान्यनको पक्ष ज्यादै फितलो भएको देखिन्छ । कपि राईटको कुरा, रोयल्टीका कुराहरू, करका कुराहरूमा सरकार अलि प्रप्ट हुनुपर्छ । कलाकार बाँच्न सक्ने गरीको नीति नियम बनाउनुपर्छ । यो क्षेत्रमा लाग्ने सबै साथीभाइहरूले पनि ऐन निमय कानुन पालना गर्नुपर्छ । राजस्वका बारेका पनि एउटा कन्सेप्ट बनाएर यो क्षेत्रलाई सिस्टममा हाल्नुपर्छ र यसको विकास गरेर जनतालाई सहयोग पुग्ने गरी काम गर्नुपर्छ ।

निर्देशक, दर्शक, कलाकार, पत्रकार, निर्माता, सम्पादकलगायत यो क्षेत्रमा योगदान गर्नेहरूलाई के भन्नुहुन्छ ?
चलचित्र सम्पादकहरूले आफ्नो व्यवसायिक क्षमताअनुसार सबैलाई विश्वासमा लिएर उत्कृष्ट हुने गरी, पेसाको मर्यादा हुने गरी चलचित्र सम्पादनको काम गरौँ, निर्देशकले पनि आफनो जिम्मेवरी अनुसारको उत्कृष्ट चलचित्र हुने गरिको कथावस्तु बनाऔं, निर्माताले होस पु¥याएर राम्ररी लगानी गरांै, कलाकारले आफ्नो कला उत्कृष्ट ढंगले पोखौं र दर्शकहरूले नेपाली चलचित्र पनि राम्रो राम्रो आइसकेको छ, विदेशीभन्दा राम्रो आइसकेको छ, स्वदेशी चलचित्रलाई माया गरिदिनुस्, हेरेर रचनात्मक सुझाव दिनुहोस्, स्वदेशको पैसा स्वदेशमै रहने वातावरण निर्माण गरौं र सरकारी निकायमा बस्ने उच्च प्रसासक एवं सरकारले नेपाली चलचित्रको विकास र श्रीवृद्धि हुने गरी यसलाई राम्रो उद्योगको रूपमा विकास गर्ने खालको नीति बनाओस् यही भन्न चाहन्छु ।

यो क्षेत्रमा लागेर तपाईंलाई सन्तुष्टि असन्तुष्टि के छ ?
म १५ वर्षदेखि यो क्षेत्रमा लागेको छु, राम्रै गरिरहेको छु । उत्कृष्ट चलचित्रको सम्पादन गर्ने मौका पाएको छु, नाम कमाएको छु, जीवन गुजरा पनि चलाएकै छु, यही क्षेत्रमा लागेर कतिलाई अध्यापनसमेत गराएको छु, राष्ट्रपति, प्रधानमन्त्रीलगायत अन्य उच्च ओहोदाका व्यक्तित्वबाट पुरस्कार र सम्मानहरू पाएको छु, सबैको माया साथ सहयोग पाएको छु । असन्तुष्टि केहीमा छैन । एयटा समस्या छ यो हरेक क्षेत्रमा छ्, त्यो हो खुट्टा तान्ने प्रवृत्ति यसले केही समस्या त पारेको छ तर यसलाई असन्तुष्टिको रूपमा लिनु उपयुक्त हुदैन जस्तो मलाई लाग्छ तर यसलाई हटाउनुपर्छ ।

यो पेसामा रहेर अन्य के कस्ता काम गर्नुभएको छ त ?
म यही क्षेत्रको नेपाल चलचित्र एकेडेमि भन्ने कलेजमा हेडअफ डिपार्टमेन्टमा रहेर काम हेरिरहेको छु, सम्पादनको कक्षा पनि लिइरहेको छु । नेपाली चलचित्र क्षेत्रको पुरानो संस्था बालाजुमा रहेको छ त्यसको सबै व्यवस्थापकीय काम र सम्पादनको काम मैले गरिरहेको छु । त्यसैगरी नेपालका चलचित्रकर्मीहरूको एकमात्र संस्था नेपाल चलचित्र संघ नेपm्टामा पनि सदस्यको रूपमा रहेर काम गरिरहेको छु । यिनै कामहरू गरिरहेको छु ।

त्यसबाट के फाइदा हुन्छ ?
फाइदा बेफाइदाभन्दा पनि आफूले काम गरेको क्षेत्रमा सबैतिर पार्टी रिसेप्सन हुँदा चिनजान हुन्छ,आफनो क्षमताको प्रर्दशन हुन्छ, स्थापित हुन सहज हुन्छ ।

विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छ नेपाली फिल्मी क्षेत्र ?
छ, अहिले त नेपाली चलचित्र पनि निकै राम्रा र महँगा प्रविधियुक्त आइसकेका छन् । यसको बजार पनि ठूलो भइसकेको छ । नेपाली चलचित्रहरूको विदेशमा धेरै माग हुन थालेको छ, कलाकारहरू पनि विदेशी चलचित्रमा जान थालेका छन् । त्यसैले अहिलेको अवस्थामा नेपाली चलचित्रले विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्दैनन् कि भन्ने अवस्था छैन, सक्छन्, गरिरहेका पनि छन् । यो हुनु राम्रो पनि हो, यो क्षेत्रमा पनि ठूलो ठूलो लगानी भइरहेको छ ।

सञ्चार क्षेत्रको सहयोग तपाईंलाई कत्तिको छ ?
सहयोग छ, राम्रै चिनजान छ एक आपसमा सरसहयोग हुुनपर्छ भई पनि रहेको छ । तर हामी पर्दापछाडिका प्राविधिक भएकोले अरूलाई जस्तो दिनहुँ हामीलाई आवश्यक पर्दैन तर प्रचार प्रसार सबैलाई चाहिन्छ ।

सम्पत्तिमा नयाँ कर निर्धारण


काठमाडौं, असार १० । काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा नयाँ ब्यवस्था लागु गर्ने भएको छ । काठमाडौं महानगर नगरसभाको ५ औं अधिवेशनले २०७६÷७७ को बजेट सार्वजनिक गर्दै सम्पत्तिमा नयाँ कर निर्धारण गरेको हो ।जसअनुसार शून्य दशमलव शून्य दस प्रतिशतदेखि शून्य दशमलव ६०० प्रतिशतसम्म करको दर निर्धारण गरिएको छ । महानगरले पहिलो सुरूको एक करोडको सम्पत्तिमा शून्य दशमलव शून्य दस प्रतिशतको दरले १ हजार कर लाग्ने छ । त्यसपछि २ करोडको सम्पत्तिमा शून्य दशमलव १५ प्रतिशतको दरले २ हजार ५ सय कर तिर्नुपर्ने बजेटमा उल्लेख छ । ३ करोडको सम्पत्तिमा शून्य दशमलव शून्य २० प्रतिशतको दरले ४ हजार ५ सय, ४ करोडको सम्पत्तिमा शून्य दशमलव शून्य ४० प्रतिशतको दरले ८ हजार ५ सय, ५ करोडको शून्य दशमलव शून्य ६० प्रतिशतको दरले १४ हजार ५ सय, ६ करोडको सम्पत्तिमा शून्य दशमलव १०० को दरले २४ हजार ५ सय कर निर्धारण गरिएको छ । यस्तै ८ करोडको सम्पत्तिमा शून्य दशमलव ३०० को दरले ८४ हजार ५ सय, १० करोडको सम्पत्तिमा शून्य दशमलव ४५० को दरले १ लाख ७४ हजार ५ सय कर लाग्ने बजेटमा उल्लेख । महानगरले नगरसभामा १५ अर्व ५० करोड ७० लाख १२ हजारको बजेट प्रस्तुत गरको छ । महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठद्वारा प्रस्तुत बजेट बक्तव्यमा चालु आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढि हो । चालु आर्थिक वर्षमा १३ अर्व १२ करोड ८२ लाख बजेट विनियोजन गरिएको थियो । महानगरपलिकाले आफ्नै स्रोतबाट ७ अर्व ५६ करोड ६ लाख प्रस्ताव गरिएको छ । जुन कुल बजेटको ५२.५८ प्रतिशत हो । बजेटको ५१ प्रतिशत पूर्वधार सुधार तथा विकास खर्च गर्ने प्रस्ताव गरेको महानगरपालिकाले कार्यलय सञ्चालनमा ४ प्रतिशत, तवल तथा सुविधामा ९.८१ प्रतिशत, पुँजिगत सम्पत्ति खर्चमा १०.८ प्रतिशत खर्चगर्ने अनुमान गरेको छ । त्यस्तै सशर्त अनुदानबाट पूँजिगत खर्च २३.५ प्रतिशत रहेको छ । महानगरपालिकाले उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तिय क्षेत्र र सहकारीको लागि ६९ कारोड ७ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृती प्रवद्र्धनको लागि ३ अर्व ७२ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।