भारतले नेपाली भूमि तत्काल फिर्ता गरेर सेनाको ब्यारेक फिर्ता लानुपर्छ : गुरू बराल


गुरू बराल, केन्द्रीय सदस्य एवं राजकीय मामिला तथा सुशान विभाग सह–इञ्चार्ज

पहिले एउटै पार्टी हुँदा जितिरहेका ठाउँहरू भक्तपुर, धरान र चितवनका केही ठाउँहरू याे उपनिर्वाचनमा नेकपाले गुमाएको छ, तर पार्टी एक नभएको हो वा कार्यकर्ताबीच अन्तर्घुलन नभएर हो ?

पहिलो कुरा त नेपाली जनताको मुक्ति र आर्थिक राजनीतिक परिवर्तनको महान उद्देश्य बोकेर २००६ सालमा यो पार्टी जन्मिएको हो । स्थापनाकालदेखि यहाँसम्म आउँदा कम्युनिस्ट आन्दोलनले थुप्रै खालका समस्याहरूको सामना गरेको छ । पञ्चायती निरंकुश शासनका समयमा कैयौं राजनीतिक वैचारिक मतभेदहरू भए, कैयौंै राजनेताहरू पलायन भए, कैयौंै नेता जेलमा परे, गुटहरू बने, फुट व्यहोर्नु प¥यो र कम्युनिस्ट आन्दोलन कमजोर भयो । त्यसलाई हल गरेर पुनर्जीवन दिनका लागि झापा बिद्रोह मार्फत नेपाल कम्युनिस्ट पार्टीको पूर्नगठन सुरु भयो । तत्कालीन मालेले राजनीतिक विचार मिल्ने पार्टी र समूहसँग एकताको अभियान अगाडि बढाउँदै नेकपा एमालेबाट अगाडि बढेर अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपा भएको छ । यो नै अहिलेको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहसमेत बनेको छ, जसले नेपाली जनतामा आशा र उत्साह जगाएको छ, त्यसैको परिणामस्वरूप यो पार्टीले निर्वाचनमार्फत दुई तिहाईको सरकारसमेत सञ्चालन गरेको छ । पार्टी स्थापना कालदेखि यसलाई हेर्ने हो भने यहाँसम्म आइपुग्दा एउटा महान उपलब्धि हासिल गर्ने प्रक्रृयामा एक प्रकारको राजनीतिक सफलता हासिल भएको छ, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरू एकल रूपमा बनाएको छ । पहिलो त कम्युनिस्ट आन्दोलन एकत्रित भयो, अर्को तीनवटै तहको सत्तामा नेकपाको वर्चश्व रहन गएको छ । यो आर्जन गर्ने सन्दर्भमा हामीले जसरी दुई पार्टीलाई एकताबद्ध बनायां,ै त्यसैगरी यसलाई ६ महिनाभित्र सम्पूर्ण रूपमा तलसम्म एकताबद्ध बनाउनु पर्दथ्यो । तर विभिन्न प्राविधिक समस्याका कारण यो गर्न सकेनांै, पार्टीको एकता प्रक्रियामा विलम्ब भयो । जसले गर्दा गाउँ टोलमा पार्टीका राजनीतिक संगठनहरू बन्न सकेनन्, नेता कार्यकर्ताले सांगठानिक रूपमा जनतालाई एकताबद्ध बनाउन सकेनन्,पार्टीका विचार र कार्यक्रमहरू लान सकेनन्, विरोधीका भ्रमहरू समयमै चिर्न सकिएन, हाम्रो जनतमतलाई पार्टीको कमाण्डमा राखिरहन सकिएन । यो पहिलो कारण हो, त्यस्तै दोस्रो कारण अधिकांश स्थानीय तहमा हाम्रो पार्टीले सरकार बनाएको छ, प्रदेश २ बाहेक सबै प्रदेशमा हाम्रो एकल सरकार छ, यो सरकारले विकास निर्माणका लागि, आर्थिक रूपमा आफ्नो तह बलियो बनाउन वा आफ्नो राज्य,सरकार सञ्चालनका लागि व्यवसायिक कर निर्धारण गरेर कर सिद्धान्तका आधारमा नाफा कमाउने व्यवसायीसँग कर उठाउन थाल्यो । कर उठाएर आफ्नो सरकारलाई आत्मनिर्भर बनाउँदै जनताको हितलाई ध्यान दिएर तीनै तहको सरकारले काम त अगाडि बढायो तर संघीयताको नयाँ अभ्यास र त्यो सँग जोडिएका प्रणाली बनाउँदै र सिक्दैमा समय लाग्यो । जनताबाट उठाएको कर विकास निर्माणमा त लगायो तर त्यसको परिणाम आउन त केही समय लाग्छ । काम आरम्भ गरेको समय र परिणाम आउन लाग्ने समयको संक्रमणकालमै उपनिर्वाचन हुन पुगेको, कर उठाएअनुसारको र जनताले अपेक्षा गरेअनुसारको सेवा डेलिभरी दिन स्थानीय सरकारले नपाई सकेको अबस्थामा हामी निर्बाचनमा जानु प¥यो । कतिपय स्थानीय सरकारले जनअपेक्षा अनुसार नै काम गरिहेका पनि छन्, परिणाम पनि आइनैरहेको छ, तर आम रूपमा जनताको अपेक्षाअनुसार काम हुन सकिरहेको छैन । यसलाई विरोधीहरूले कम्युनिस्ट सरकारले कर बढायो अनावश्यक कुरामा कर लगायो भनेर प्रचार गरे । समाज विकास र परिवर्तनको विश्वव्यापी मान्यता एवं सिद्धान्तअनुसार राज्यले जनताबाट कर उठाउँछ, व्यवसाय गर्नेले लाभकर तिर्छ, यो सामान्य कुृरा हो, जो संसारका सबै देशमा हुन्छ त्यही कुरा हाम्रो देशमा पनि भइरहेको छ । तर यसलाई बहाना बनाएर कम्युनिस्ट सरकारले यसो ग¥यो उसो ग¥यो भनेर विरोधीले प्रचार गरे । अर्को कुरा जहिले पनि सत्तापक्षका विरुद्ध विपक्षीहरू आक्रामक हुन्छन्, गोलबन्द हुन्छन् र सत्तापक्षलाई हराउन खोज्छन् । यस्ता अभ्यास संसारमै हुन्छन भइरहेकै छन् । जसले गर्दा हामीले लामो समयदेखि जित्दै आएको वा अघिल्लो निर्वाचनमा जितेका धरान, भक्तपुर, चितवनलगायत अन्य केही ठाउँमा यस उपनिर्वाचनमा हामीले हार व्यहोरेका छौं । यसमा हामी कमजोर भएर, हामीलाई जनताले नरूचाएर हारेका हैनांै । यसको मुख्य कारण अघिल्लो निर्वाचनमा विभिन्न पार्टीहरू हुन्थे, उनीहरूले आफ्नो हैसियतअनुसार मत लिन्थे, सबैमा जनमत बाँडिन्थ्यो तर अहिले त्यसो नभएर बहुध्रुवीय मत एकिकृत भई दुई ध्रुवीय हुनपुग्यो । हाम्रो पार्टी सत्तासीन भएकोले र सत्ताप्रति अधिकांश विरोधीहरू निर्मम हुने भएकाले हामीविरुद्ध सबै विपक्षीहरू एक भए र हामीलाई हराउन कांग्रेसलाई भोट हाले । जसले गर्दा कतिपय हामीले हिजो जितेका ठाउँमा हामी थोरै मतअन्तरले हार्न पुग्यौं । हामी अलोकप्रिय भएर, हामी कमजोर भएर हारेका हैनांै किनकी हाम्रो मत घटेको छैन बरू थोरै बढेकै छ । तर हामीले जसरी पार्टीलाई गाउँ स्तरसम्म तल्कालै लैजानु पर्दथ्यो, जनताको मत जोगाई राख्न गाउँ टोलमा हाम्रो पार्टी कमिटी, संगठन र हाम्रा गतिविधिहरू हुनु पर्दथ्यो, त्यो नहुँदा केही समस्या भएको हो, ति कुरा हामी पराजित हुनमा सहायक कारण बनेका हुन । नेता कार्यकर्तामा भावनात्मक एकता नभएर, दुई पार्टीबीचका नेता कार्यकर्तामा अन्तर्घुलन नभएर, हाम्रो पार्टीलाई मन नपराएर जनताले भोट नहालेर पराजय व्यहोर्नु परेको होइन ।

दुई पार्टीका नेता कार्यकर्ताबीचको अन्तर्घुलन चाहेजति नहुँदा नेतृत्वले आफूखुसी उम्मेदवार तोकेर पठाउँदा कार्यकर्ता रिसाएका र कार्यकर्ता रिसाउँदा पार्र्टीले हार व्यहोर्नु परेको भन्छन्, यो समस्या कहिले समाधान होला त ?

हारको कारण त मैले माथि भनिसकेँ जहाँसम्म नेता कार्यकर्ताको अन्तर्घुलनको कुरा छ फरक फरक नीति, सिद्धान्त र व्यवहारबाट आएका दुई पार्टीबीचको एकता हुँदा यसका नेता कार्यकर्ता बीचमा भावनान्मक एकता हुन, एउटै व्यवहार एउटै मन हुन, एकले अर्कालाई पूरै बुझ्न केही समय लाग्छ नै तर पार्टी एकताको घोषणा भएपछि दुई पार्टीका नेता कार्यकर्ताका बीचमा उठ बस विचार विमर्श भइरहेको हुनाले अन्तर्घुलनको खासै समस्या छैन । तर पनि जति हुनु पर्ने हो त्यति हुन सकेको छैन । अब यो पार्टीको एकता करिब करिब टुंगिएको अवस्थामा पुगेको छ, केही थोरै बाँकी काम अब चाँडै सकिन्छ नै । यो एक भएको पार्टीलाई वैचारिक, सैद्धान्तिक,दार्शनिक रूपबाट दीक्षित गर्ने काम र राजनीतिक रूपबाट दिशानिर्देश गर्ने काम बाँकी छ । यो काम हामी निकट भविष्यमा हुने एकताको महाधिवेशनबाट सम्पन्न गर्छांै, त्यसले चयन गर्ने नेतृत्वले आम नेता कार्यकर्ताका बीच भावनात्मक एकताको निर्माण गर्छ, नेता कार्यकर्ताका बीचमा अन्तर्घुलन कायम गर्छ र पार्टीलाई व्यवस्थित र सुदृढ बनाएर लैजान्छ । त्यसपछि यी सबै समस्याको स्थायी रूपले समाधान हुन्छ । यही नेतृत्वले देश र जनताको समृद्धिको यात्रालाई अगाडि बढाउँछ र पूरा गर्छ ।

सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा पनि त भिन्न मतहरू होलान् नि पार्टीभित्र ?

हिजो हामीले एउटा सैद्धान्तिक धरातलमा पार्टी कार्यकर्तालाई दीक्षित गरिरहेका थियौं । त्यो बेला हामीसँग जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुदलीय जनवाद स्पष्ट रूपमा थियो । त्यसैको जगमा बनेको कार्यक्रम थियो, त्यही सैद्धान्तिक कार्यक्रमको आलोकमा राजनीतिक कार्यनीति स्पष्ट रूपले अगाडि बढेको थियो । अहिले पार्टी एकता गर्ने सन्दर्भमा हामीले राजनीतिक टर्मिनोलोजीलाई अलिक फरक ढंगले संयोजन गर्ने कोसिस ग¥यौं । एउटा जीवन्त पार्टीभित्र फरक मत, फरक विचार, फरक कार्यक्रम र फरक नीति पनि हुन सक्छ । हामी अब यो कुराको औचित्य स्थापित गर्ने प्रक्रियाभित्र चाँडोभन्दा चाँडो जानुपर्छ र यो अन्तरिम व्यवस्थालाई चाँडोभन्दा चाँडो विदा गर्नुपर्छ । सैद्धान्तिक, वैचारिक, कार्यक्रमिक र भावनात्मक एकताका साथ पार्टीलाई सशक्त र सुदृढ बनाउनुपर्छ, नयाँ उचाइका साथ अगाडि बढाउनुपर्छ । यो काम समयमा नभएकोले कार्यकर्ताले टिप्पणी गर्नु स्वभाविक छ । तर अब यो चाँडै मिल्नेछ ।

अहिले पनि तपाईंको पार्टीमा पूर्वपार्टीको ह्याङओभर निकै छ, दुई पार्टीकै जस्तो व्यवहार एकले अर्कामा गरेजस्तो अर्थात पूर्वएमालेले अहिले पनि एमाले नै खोज्ने, पूर्वएमाओवादीले एमाओवादी नै खोज्ने हामी एउटै पार्टीका नेता कार्यकर्ता हौं भन्ने जस्तो देखिन्न यसको अन्त्य कसरी होला त ?

यो पार्टीका नेता कार्यकर्ताको अन्तर्घुलनलाई विभिन्न कार्यक्रम, प्रशिक्षणमार्फत घनीभूत बनाउनुपर्छ , वैचारिक, सैद्धान्तिक र दार्शनिक रूपबाट पार्टी कार्यकर्तालाई दीक्षित गर्ने काम र राजनीतिक रूपबाट दिशानिर्देश गर्ने काम गर्नुपर्छ, महाधिवेशन चाँडोभन्दा चाँडो सम्पन्न गर्नुपर्छ, पार्टी कार्यकर्ताहरूलाई बलशाली बनाउनका लागि सयौं पार्टी प्रशिक्षणका कक्षाहरू सञ्चालन गर्नुपर्छ,पार्टीका नेता कार्यकर्तालाई व्यवहारमार्फत एक अर्कालाई चिन्ने चिनाउने काम गर्नुपर्छ र व्यवहारबाटै पार्टीलाई सुदृढ गर्ने काम गर्नुपर्छ । हिजो निर्वाचन लड्ने कुरामा हामी एक आपसमा अन्तर्घुलन भयौं तर सैद्धान्तिक, वैचारिक र व्यवहारिक रूपमा अझ अन्तर्घुलन हुन बाँकी नै छ । अझै दुई पार्टीका बीचमा तलसम्म एकता गर्ने, अन्तर्घुलन गर्ने, सैद्धान्तिकीकरण गर्ने, संगठन विस्तार गर्ने र विकास निर्माणका काम गर्न बाँकी नै छ, परिणाम निकाल्न बाँकी नै छ, पार्टीका कमि कमजोरी पहिचान गरेर हल गर्ने काम गर्न बाँकी नै छ । यी सबै काम सँगसँगै अगाडि बढाउनु पर्ने छ । पार्टीका जुन कार्यकर्ता हिजोदेखि निष्ठापूर्वक इमानदारिताका साथ लाग्नुभएको छ, चाहे जिम्मेवारी पाउँदा होस् वा नपाउँदा होस् निरन्तर पार्टी संगठनका लागि लागिरहनु भएको छ, जनताका हितमा लागिरहनु भएको छ, उहाँहरू आज पनि लागिरहनु नै भएको छ, भोलि पनि लागिरहनु नै हुने छ । कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता यस्तै हुनुपर्छ । कुनै सेवा सुविधा पाउँदा काम गर्ने नपाउँदा नगर्ने, पद र जिम्मेवारी पाउँदा फुरूक्क भएर माथि आउने नपाउँदा ओसाएर बस्ने काम गर्नु हुँदैन । यस्ता काम एउटा असल कम्युनिस्ट कार्यकर्ताको लागि सुहाउने कुरा पनि होइन, यस्तो गर्नु पनि हुँदैन । तसर्थ यस्ता कुरालाई दीक्षित गरेर नीति, विचार र सिद्धान्तको जगमा अडेर काम गर्दै पार्टीलाई अगाडि बढाउनुपर्छ, आफू पनि अगाडि बढ्नुपर्छ ।


कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता नीति, सिद्धान्त, मूल्य, मान्यता र कम्युनिस्ट आचरणमा छैनन्, अनुशासन र आचरणमा स्खलन आइरहेको छ, वर्ग पक्षधरता स्खलन भइरहेको छ, अवसरको न्यायोचित वितरण छैन,यो मेरो, यो तेरो भनेर छुट्याउन थालिएको छ, कसैलाई अति देवत्वकरण र कसैलाई दानवीकरण गर्ने काम हुन थालेको छ, हिजो पार्टीमा योगदान गरेका नेता कार्यकर्तालाई आज बाहिर पार्ने काम भइरहेको छ, पार्टी हाटहुट र डाङडुङले चल्न थालेको छ भन्छन् नि नेकपाकै नेता कार्यकर्ता, यस्तै हो ?

हाम्रो समाज वर्गीय समाज हो । हामीले राजनीतिक रूपले सामन्तवादी व्यवस्थालाई अन्त्य ग¥यौं, तर आर्थिक अवशेषहरू बाँकी नै छन् । त्यतिमात्र होइन, हिजोका सामन्तवादी सोच, व्यवहार, संस्कृति आचरण हरेक व्यक्ति, संस्था र हाम्रै पार्टीका नेता कार्यकर्तामा कम वा बेसी बाँकी नै छन् । यिनै अवशेषहरू विभिन्न रूप र व्यवहारमा अहिले पनि प्रकट हुने गरेका छन् । त्यसको अन्त्य राजनीतिक रूपमै गर्नुपर्छ । रह्यो अवसरको कुरा अवसरहरू सीमित हुन्छन, आकँक्षिहरू धेरै हुन्छन जो सबैलाई पुग्दैनन् यस्तो अवस्थामा नपाउनेले गुनासो गर्छ यस्तो अवस्थामा यस्तो समस्या आउने गर्छ तर यसलाई विधिमा बाँधेर मूल्यांकनको मापदण्ड बनाएर क्षमता र दक्षताको आधारमा अवसरको वितरण गर्न सक्यौं भने यस्तो गुनासो आउँदैन । अर्को कुरा जसले अवसर पाउँछ त्यसले यो अवसर मैले एक्लैले पाएको होइन, मेरो व्यक्तिगत क्षमताले मात्र पाएको होइन पार्टीको कारणले सामूहिक हितका लागि पाएको हो, यो सबैको लागि हो, यो एउटा विधिबाट सबैलाई हुने गरी पाएको हो भन्ने भावना भयो भने त्यसले कुनै समस्या निम्त्याउँदैन । त्यसले सबैको हित पनि हुन्छ । यसो गर्न सकिएमा जनताको अनुहारमा खुसी ल्याउन सकिन्छ । त्यो जिम्मेवारीले, त्यो पदले सबैको प्रतिनिधित्व पनि गर्छ । यसो नहुँदा भने यस्तो समस्या आउँछ । तसर्थ कसले पायो, कसले पाएन भन्नुभन्दा पनि देश, जनता र पार्टीले केही पायो कि पाएन, विधि, पद्धतिबाट पायो कि पाएन त्यो महत्वपूर्ण कुरा हो । पार्टी निर्माण र विकासको यात्रा भर्खरै अगाडि बढिरहेको सन्दर्भमा यसतर्फ पार्टी नेतृत्वको र वरिष्ठ नेताहरूको ध्यान जानुपर्छ, विधि पद्धतिबाट पार्टी चल्ने र अवसरहरूको न्यायोचित वितरण गर्ने प्रक्रियाको विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ । अहिले पार्टी सम्पूर्ण रूपले मिलि नसकेको अवस्थामा र संक्रमणकालीन अवस्थामा नेता कार्यकर्ता छान्दा यसबाट यति यसबाट यति भनेर गणितकै साहरामा छान्नुपर्ने अवस्था भएकोले पनि यसलाई अहिले सामान्य रूपले नै लिनुपर्छ । तर, भोलिका दिनमा चाहिँ विधिमा बाँधिएर मापदण्डका आधारमा जिम्मेवारी पाउने पद्धतिको विकासतर्फ हामी अगाडि बढ्नुपर्छ र लोकतान्त्रिक अभ्यासमा पार्टी अगाडि बढ्छ । पार्टीको यही लोकतान्त्रिक अभ्यासले नै समाजको विकास र राष्ट्रलाई पनि समृद्धि र गति दिन्छ ।

पार्टी अध्यक्षद्वयको जिम्मेवारी हेरफेर भएको छ तर पनि पार्टी एकताका सम्पूर्ण काम सम्पन्न हुन सकेका छैनन् किन हो के ले समस्या बनाइरहेको छ ?

पार्टी एकताको सम्पूर्ण कामलाई अन्तिम रूप दिने गरि अध्यक्षद्वय अगाडि बढिरहेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही समस्या आयो । त्यसले गर्दा जति छिटो यो काम हुनुपर्दथ्यो त्यसरी हुन सकेन । यद्यपि, प्रधानमन्त्री स्वास्थ्य उपचार गरेर फर्किसक्नु भएको छ , अब केही समय आराम गरेर काममा लाग्नुहुन्छ । उहाँलाई चिकित्सकले मृगौला प्रत्यारोपण गर्नु पर्ने सल्लाह दिएका छन् । अब त्यो काम पनि चाँडै गर्नु पर्छ, म उहाँलाई स्वास्थ्य लाभको कामना पनि गर्दछु । तर आत्मबल दह्रो भएका कारण यी सबै काम प्रधानमन्त्रीले सुव्यवस्थित रूपमै गरीरहनुभएकै छ । साथै मुलुक विकासका लागि र जनताको सुखी जीवनका लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हामीलाई, हाम्रो पार्टीलाई र मुलुकवासीलाई धेरै खाँचो छ, उहाँको नेतृत्वको खाँचो छ । उहाँ सरकार गठनदेखि सञ्चालन र मुलुकको हितमा अहोरात्र खटिरहनुभएको छ र देशलाई कुशल नेतृत्व दिइरहनुभएको छ । उहाँको नेतृत्वमा विकास निर्माणदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध र परिस्थितिहरू सुदृढ हुँदै गएका छन । भारतले मिचेको भूमि फिर्ता गर्न सबै पार्टीहरुको बिचमा राष्ट्रिय सहमति कायम गर्न सफल हुनुभएको छ, राष्ट्रिय गौरवका आयोजनाहरूको काम द्रूत गतिमा भइरहेका छन्, पार्टी एकताका काम पनि सम्पन्न हुने दिशातर्फ अग्रसर भइरहेको छ, पार्टीका गतिविधि पनि अगाडि बढिरहेका छन् । यद्यपि, गति धिमा छ तर काम भइरहेका छन् । अर्का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी कामलाई सक्रियताका साथ अगाडि बढाइरहनुभएको छ, जसले गर्दा पार्टी र सरकारका काम भइरहेका छन् । हाम्रा दुवै अध्यक्ष रथका दुई पांग्रा हुनुहुन्छ, उहाँहरू दुवैले एकले अर्कालाई सहयोग पुग्ने गरी मिलेर देश, जनता र पार्टीका काम अगाडि बढाइरहनुभएको छ ।

सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको काममा पार्टी र सरकारको संयोजन कसरी हुन्छ त ?

यो अभियान सरकारको मात्र होइन हामी सबैको लक्ष्य हो,पार्टीले नै अगाडि सारेको महाअभियान हो यसमा पार्टी अध्यक्षद्वय, पार्टीका वरिष्ठ नेतादेखि तपाईं हामी र जनताको पनि सहभागिता र सक्रृयताको खाँचो छ । यसलाई पूरा गर्नु सबैको दायित्व हो । यसमा के पार्टी, के सरकार, के नेता, के कार्यकर्ता, के कर्मचारी, के बुद्धिजीवी सबैको उत्तिकै दायित्व छ । त्यसमा पनि हाम्रो पार्टी, पार्टी नेतृत्व, हाम्रा पार्टीका नेता कार्यकर्ताको बढी जिम्मेवारी हुन्छ । यसलाई नेतृत्वले पनि स्वीकारेको छ, पाटीका नेताकार्यकर्ताले पनि स्वीकारेका छन । यसलाई पूरा गर्न पार्टीले अंगिकार गरेको कार्यक्रमलाई पूरा गर्न पार्टी र सरकारको सन्तुलन मिलाएर अगाडि बढ्नुपर्छ, त्यो दिशामा पार्टी र सरकार हिँडिसकेको छ । हिजो हामी जनताको बहुदलीय जनवाद भनिरहेका थियौं, हाम्रो कार्यक्रम पनि त्यहीअनुसारको थियो, त्यसैको आलोकमा हामीले सरकार बनाएर यहाँसम्म आएका छौं । तर पार्टी एक भएपछि हामीले जबजको सारलाई नछोडि जनताको जनवाद भनेको छौं र त्यसअन्तर्गत नै मुलुकको भाग्य र भविष्य निर्माण गर्ने छौं । अहिले हामीले विशेष परिस्थितिका कारण दुई अध्यक्षको अभ्यास गरिरहेका छांै, व्यवहारमा काम चलाउनका लागि निश्चित समयसम्मका लागि यो पद्धति अपनाएका हौं । अहिले हाम्रा दुवै अध्यक्ष पार्टीको प्रमुखमा हुनुहुन्छ दुवैको साथ पार्टी निर्माणदेखि सरकारका काम रहेको छ ।

भारतले मिचेको अतिक्रमित भूमि फिर्ता ल्याउन सकिएला त ?

भारतले हामीलाई सीमाका विषयमा लामो समयदेखि नेपाली सार्वभौमिकता र स्वाधीनताको सन्दर्भमा उल्झन दिइरहेको छ, दुःख दिइरहेको छ । यो उल्झनलाई समाप्त गर्नुपर्छ, भारतले दिने दुःखबाट चाँडै छुट्कारा पाउनुपर्छ भनेर नेपाली जनताले निकै अगाडि देखि संघर्ष पनि गरेका छन्, कूटनीतिक रूपमा पनि काम भईरहेका छन्, तर, यो विषयमा भारतले त्यति चासो नदेखाएकोजस्तो गरिरहेको छ । जसले गर्दा इलामको पशुपतिनगर, महेशपुर, सुस्ताहुँदै कालापानी र लिम्पियाधुरा लिपुलेकसम्म भूमि अतिक्रमण भएको छ । पछिल्लो समय भारत सरकारले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो क्षेत्रमा समावेश गरेपछि नेपालमा यस्को चौतर्फी विरोध हुनुका साथै भारतविरुद्ध प्रदर्शन र आलोचना भएको छ, उसको विस्तारवादी हेपाहा प्रवृत्तिको हामी विरोध गर्छौं । यो समस्या समाधानका लागि पहिले मुलुक एक थिएन, राजनीतिक दल एक थिएनन् तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प र प्रयत्नले यो विषयमा मुलुक एक भएको छ, प्रधानमन्त्रीले सबैसँग छलफल गरेर सर्वदलीय सहमति कायम गरेर मिचिएको भूमि फिर्ता लिन राजनीतिक र कूटनीतिक च्यानलमार्फत पहलकदमी थाल्नुभएको छ । हामी भारत सरकारको जवाफको प्रतीक्षामा छांै । यो समस्या समाधानका लागि हाम्रा पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिएको छ । उहाँ औपचारिक वार्ताको लागि भारत जाँदै हुनुहुन्छ । उहाँले यो विषयमा कुरा राख्नु हुनेछ र समस्याको समाधान निकाल्नु हुनेछ । भारत सरकारले नक्सा अविलम्ब सच्याउनु पदर्छ । चीनको युद्धताका अस्थायी रूपले बसेको भारतीय सेनाको ब्यारेक तत्काल भारतले फिर्ता लानुपर्छ । मलाई आशा छ, उहाँको भारत भ्रमणपछि यो समस्याको समाधान हुनेछ, भारतले पनि यस विषयलाई गम्भीरताका साथ लिएर समस्या समाधान गर्नेछ, अर्काको मिचेको भूमि तुरुन्त फिर्ता दिनेछ, नेपालको भूमिबाट आफ्ना सेना लैजाने छ । यो काम भारतले तुरुन्तै गर्छ भन्ने मलाई लाग्छ । किनकी यो नगरी हुँदै हुँदैन ।

गरेन भने नि ?

पहिले हामी हाम्रै पहल र प्रयत्नमा काम गर्नुपर्छ । हाम्रो पहल, प्रयत्न, आग्रहको भारतले सुनुवाई गरेन भने उसको विस्तारवादी नीति संसारसामु उदांगो हुनेछ । त्यसपछि हामीले अन्तर्राष्ट्रिय पहल र प्रयत्न अगाडि बढाउनुपर्छ र मिचिएका सबै भूमि फिर्ता ल्याउनुपर्छ ।

आस र त्रासले यहाँ सबै काम बिग्रिएको छ: भैरव रिसाल, वरिष्ठ पत्रकार तथा लेखक



यहाँ २०१८ सालमा लिपुलेक र कालापानी क्षेत्रमा राष्ट्रिय जनगणना गराउने व्यक्तित्व हुनुहुन्छ, नेपाली भूमि अतिक्रमण कसरी भयो यसको समाधान के होला ?

भारतले केही समयअघि नेपाली भूभाग लिम्पियाधुरा–कालापानी–लिपुलेक आफ्नो नक्सामा समावेश गरी राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसले नेपालमा तरंग ल्याएको छ । जसको विरुद्धमा आम नेपाली जनतादेखि सम्पूर्ण राजनीतिक शक्तिm एक ठाउँमा उभिएका छन्, आन्दोलित भएका छन् । यो सुगौली सन्धिअनुसार सरासर अन्याय हो, अतिक्रमण हो । दार्चुलाको लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा मैले २०१८ सालमा छैटौँ राष्ट्रिय जनगणना गराएको हुँ । त्यतिखेरका तथ्यांक विभागका महानिर्देशक थीरबहादुर रायमाझीले जनगणना गराउने क्षेत्रको नक्सा दिएर पठाउनुभएको थियो । त्यो नक्साअनुसार लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो । हालको दार्चुला तत्कालीन बैतडी जिल्लाअन्तर्गत थियो । तत्कालीन अवस्थामा गुञ्जी, नावी, कुटी, तिंकर, व्यास, प्रगन्ना,गर्खाका ६ वटा गाउँहरू बैतडी जिल्लाअन्तर्गत पर्दथे । जुनियर अफिसरको रूपमा मेरो मातहतमा त्यहाँ जनगणना भएको थियो । मैले अयन्त्र ठाउँहरू पनि हेर्नुपर्ने भएकोले म त्यहाँ पुग्न सकिनँ । त्यहाँ मेरो नेतृत्वमा गएको टोलीका खरिदार ऋषिराज द्धिवेदीसहितका गणकले त्यो क्षेत्रको जनगणना गरेका थिए । त्यो बेला यहाँ कुनै खालको विवाद थिएन किनकी त्यतिबेला हिन्दुस्थानको त्यहाँ कोही पनि थिएन । सीमा मिचिएको बारेमा अहिले विचारहरू फरक फरक आएका छन् । कसैले सन् १९५२ देखि नै भारतीय फौज बसेका भनेका छन् भने कसैले १९५९ देखि बसेको हो भन्ने आएको छ । मैले थाहा पाएअनुसार सन् १९६२ मा चीनसँग युद्ध हुँदा भारत हा¥यो । त्यही सन्दर्भमा पछाडि हट्दै आउँदा हाम्रो भूभाग कालापानीमा फौज बस्ने उपयुक्त ठाउँ देखेर बस्यो । त्यतिबेला दुई देशको सीमा कहाँ पर्दथ्यो केही थाहा नहुने अवस्था थियो होला । त्यहाँ हाम्रो देशको उपस्थिति थिएन । त्यहाँ हाम्रो उपस्थिति भइदिएको भए उनीहरू त्यहाँ एक रात बस्थे होला भोलिपल्ट हिड्ने थिए । त्यो कुरा नेपालले कहिले थाहा पायो त्यो पनि थाहा छैन । थाहा पाएपछि जा भन्यो कि भनेन, त्यो पनि थाहा छैन । एकथरिले राजा महेन्द्रलाई मुछेका छन् तर त्यसको प्रमाण छैन । त्यसभन्दा अगाडि मातृकाप्रसाद कोइरालाको समयमा हिन्दुस्थानबाट २००९ सालमा भारतीय सेनाहरू नेपाली सेनालाई तालिम दिन भनेर त्यहाँ आए । त्यही सिलसिलामा हाम्रो सरकारको अनुमतिमा उत्तरतिरका १८ क्षेत्रमा भारतले सैनिक चेकपोष्ट राख्यो । तर, त्यो १८ भित्र पर्दैन । पछि कीर्तिनिधि बिष्ट प्रधानमन्त्री भएका बेला ती १८ वटै हटाउनुभयो तर त्यो हटाउनुभएन किनकी त्यसको लिखत पनि थिएन,रेकर्ड पनि थिएन त्यसैले त्यो हटेन । त्यही सिलसिलामा मैले र बुद्धिनारायण श्रेष्ठले कीर्तिबाबुलाई सोध्यौ । तपाईंले १८ ठाउँको हटाउनुभयो १९ औं क्षेत्रको किन हटाउनुभएन भनेर । उहाँँले त्यहाँ भारतीय सैनिक छ भन्ने मलाई थाहा भएन, कसैले पनि भनेन् भनेको भए हटाउँथे भन्नुभयो । त्यसको जवाफमा मैले उहाँँलाई भनेँ कि तपाईंले हामीलाई ढाँट्नुभयो कि तपाईं प्रधानमन्त्री हुन योग्य हुनुहुन्न । किनकि आफ्नो मुलकभित्र विदेशी सेना बसेको छ, चेकपोष्ट छ भन्ने थाहा पाउँदैन भने त्यो व्यक्ति मुलुकको प्रधानमन्त्री हुन योग्य र लायक हुँदैन भनेँ । उहाँँ हाँस्नुभयो, सिद्धियो । त्यसपछि यस विषयमा कुनै कुरा आएन सबै चुप भए, कथा यही हो । भारत सरकारले आफ्नो संविधानको धारा ३७० खारेज गरी पाकिस्तानसँग जोडिएका जम्मु कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएर नयाँ राजनीतिक नक्सा जारी गरेपछि यहिले फेरि यो विवाद आएको हो । यो राजनीतिक नक्सा सार्वजनिक नभएको भए यो कुरा कसैले खोज्नेवाला थिएन । त्यसैले भारत र नेपालबीचको सीमा समस्या समाधान गर्न यसलाई सुनौलो अवसको रूपमा लिएर कूटनीतिक र राजनीतिक वार्तामार्फत विदेशी सेनालाई हाम्रो भूमिबाट फर्काउनु पर्छ ।

कसरी फर्काउने नि ?

अहिले अतिक्रमित क्षेत्रमा बसेका नेपालीहरूलाई त्यहाँको राज्य सरकारले सताउन लागेको छ । त्यसका विषयमा हाम्रो सरकारले हेर्दै हेरेको छैन । पहिले दार्चुला सदरमुकामबाट सीतापुरहुँदै माथि तुम्लिङलगायत अन्य ठाउँमा जाने १५ किमिको गोरेटो बाटो थियो । त्यो बाटो अहिले छैन । जुन क्षेत्र त्यतिबेला बैतडी क्षेत्रमा पर्दथ्यो । त्यो क्षेत्र भनेको जाडोमा ६ महिना तल झर्ने र बर्खामा मात्र त्यहाँ बस्ने चिसो ठाउँ हो । त्यहाँ तल आउन बाटो छैन, भारत भएर आउनुपर्छ । आउनलाई यात्रा अनुमति लिनुपर्छ नत्र भारतले छिर्न दिँदैन । त्यसकारण अहिले तत्कालै सरकारले १५÷२० करोड खर्च गरेर गोरेटो बाटो बनाइहाल्नुपर्छ । त्यसो भएपछि बूढाबुढी तल न्यानो ठाउँमा आउन सक्छन् जसले गर्दा मानिसहरू कठ्याँग्रिएर मर्दैनन् । यही विषयलाई ध्यानमा राखेर केही समयअगाडि हामीले सीमा बचाऔं अभियानको टिमले सरकारलाई भेटी यो बाटो बनाउने र राज्यको उपस्थिति जनाई त्यहाँका जनताको सुरक्षा गर्न भनेका छौं । यसै सन्दर्भमा गृहमन्त्री, शिक्षामन्त्री, राज्य व्यवस्था समितिकी सभापति पूर्णकुमारी सुवेदीसमेतलाई भेटी ज्ञापनपत्र दिएका छौं । उहाँँहरूले हामी हेर्छाैं भन्नुभएको छ । अहिले राज्यले ३०÷४० किलोमिटरको अन्तरमा सीमा सुरक्षा बल राखेको रहेछ, अब १० किलोमिटरको दूरीमा राख्ने भनेको छ । भारतलाई भनेर भारतीय सुरक्षा बलको अगाडि हाम्रा सेना पनि हतियार लिएर गए भने हतियार जुध्ने सम्भावना हुन्छ । त्यसैले भारतले जसरी हामीलाई जानकारी नै नदिई सेना राख्यो त्यसैगरी हामीलाई जानकारी नै नदिई अकस्मात त्यो हाम्रो भूमि छोडेर जानु बुद्धिमानी हुन्छ । स्थानीय जनताले तिरो तिरेको रसिद देखाएर आफ्नो घर नेपालको सरहदभित्रै पर्ने भनी प्रमाणको रूपमा पेस गरेका थिए । त्यो क्षेत्र नेपालको हो भन्नेमा कुनै विवाद छैन,यी भूमि नेपालकै रहेका विभिन्न प्रमाण छन्् । सुगौली सन्धिपछि लिम्पियाधुरा क्षेत्रका जनताले नेपालमा नै तिरो तिर्ने गरेका थिए । २०१८ सालसम्म त्यो लिम्पियाधुरा क्षेत्रसमेत नेपालकै अधीन थियो । ‘सन् १९६२ (विस २०१९) भन्दा अघि यो क्षेत्र निर्विवाद थियो । भारत–चीन युद्धपछि मात्रै विवाद भएको हो । नेपाल सीमा सुरक्षा गर्न नसकेको कारण भारतले अतिक्रमण गर्न पाएको हो । त्यो बेला कालापानीमा लगेर हामीले सुरक्षाकर्मी राखेको भए कहाँ उसले अतिक्रमण गर्न पाउँथ्यो र ? पछि गएर सीतापुरसम्म राखेको छ, जबकी त्यहाँ ६ महिना मात्रै सुरक्षाकर्मी बस्छन्् । हाम्रा शासकहरूले नहेरेकै कारण त्यो भूभाग भारतले कब्जा गर्न पाएको हो । यसर्थ यसमा विवाद गर्नुभन्दा हामीले थाहैनपाई खुरुक्क उठेर भारतीय सेना आफ्नो देशमा जानुपर्छ, अर्काको भूमि मिचेर बस्न पाइँदैन । हामीले धपाउनु भन्दा पनि उ आफैँ फिर्ता हुनु बुद्धिमानी हुन्छ ।

खुरुक्क फर्केला त भारतीय सेना ?

गाह्रो छ किनकी भारतको नियत राम्रो देखिँदैन । उसले त्यहाँ हाम्रो जमिनमा पुल बनाउने, स्थायी बाटो बनाउनेलगायतका निर्माणका काम गर्न थालेको छ । अर्काको जमिनमा यस्ता कुराको निर्माण गर्नु त जरुरी छैन । त्यसैले यसको नियत राम्रो देखिँदैन । यसर्थ भारतले हामीसँगको पुरानो मैत्रिपूर्ण सम्बन्ध,रोटिबेटिको सम्बन्ध, भूगोलको अवस्था, प्राग ऐतिहाँसिक सम्बन्ध आदिलाई बचाउन पनि भारतले जसरी आयो त्यसैगरी सरक्क जानु हितकर हुने छ । तर अवस्था हेर्दा राम्रो देखिँदैन । किनकि नेपालका लागि पूर्वराजदूत तथा भारतका परराष्ट्र सेक्रेटरीले नेपालका बारेमा एउटा लेख लेख्नुभएको छ जुन नेपालले स्वीकार गर्न नसक्ने खालको गलत नियतका साथ लेखिएको छ । त्यहाँ उहाँँले ६० लाख नेपाली भारतमा काम गर्छन् भन्नुभएको छ । त्यसरी हेर्ने हो भने हामी कहाँ त्योभन्दा बढी भारतीय नागरिक काम गर्छन् । त्यसैगरी, भारतमा रेमिट्यान्स भित्र्याउनेमा हाम्रो देश नेपाल विश्वको पाँचौं वा छैटौं नम्बरमा पर्छ । त्यत्रो पैसा भारत जान्छ हाम्रो । त्यसैले गर्दा हाम्रा नेपाली मात्र त्यहाँ बसेका छैनन् उनीहरूका नागरिक पनि यहाँ त्यतिकै मात्रामा छन् । हामी पनि उनीहरूलाई त्यसै भन्न सक्छांै । त्यसैले त्यसमा हामीलाई भारतले ब्ल्याकमेल गर्नुको कुनै तुक छैन । यो समस्याको समाधान पनि होइन । तर हामी शान्तिप्रेमी भएको नाताले हामी कसैसँग निहुँ खोज्दैनांै, कसैसँग झगडा गर्दैनांै, कसैको भूमि हडप्दैनौं, हाम्रा सेना अन्तर्राष्ट्रिय शान्ति मिसनमा गएका छन्, संसारमा शान्ति फैलाउने अभियानमा नेपाल छ, असंलग्न परराष्ट्रनीति अपनाएको छ, पञ्चशीलमा आधारित भएर काम गरिरहेको छ, यस्तो अवस्थामा हामी जुध्न जाने कुरा आउँदैन, रक्तपातमा जाने अवस्था आउँदैन । यस्तो छिमेकीको धैर्यतालाई कमजोरी नसोची युगौंदेखिको सम्बन्ध समधुर बनाउन भारतले नेपाली भूमि सरक्क छोडेर हिड्नु उस्को र हाम्रो दुवैको हितमा हुन्छ र यो काम भारतले गर्छ भन्ने मलाई लाग्छ ।

यो विषयलाई नेपाल सरकारले राम्ररी डिल गरेन, कूटनीतिक पहल कम भयो भनिरहेका छन् नि कांग्रेसलगायत अन्य पार्टीहरूले ?

सरकारले त कूटनीतिक पहल गरिरहेको कुरा सार्वजनिक रूपमै भनिरहेको छ तर त्यो बाहिर देखिएको छैन । हुन त यो कूटनीतिक पहल भनेको बाहिर देखिने पनि होइन क्यारे, भित्रभित्रै गरिने विषय पनि होला । त्यो हो भने ठीकै छ नत्र बाहिर देखिएको छैन । सीमा मिचिएको विषयमा नेपाली जनताको भावनामा चोट लागेको छ, आक्रोश आएको छ, यो तत्काल समाधान भएन र नेपाली जनताको रोष र आक्रोश बढेर गयो, त्यसले बाटो बिरायो भने र नेपाली जनतालाई गलत रूपमा उपयोग गरे भने त्यसको परिणाम नराम्रो हुन्छ । त्यसैले गर्दा राज्यले चनाखो भएर काम गर्नुुपर्छ । भरसक आफ्नै पहलमा आफ्नै बलबुतामा समस्या समाधान गर्नुपर्छ । सरकारको प्रयत्नले भएन भने, संयुक्तm राष्ट्रसंघ र अन्तर्राष्ट्रिय न्यायालयसम्म पनि गएर समस्या समाधान गर्नुपर्छ ।

यो लयबाट समस्याको समाधान होला त ?

हुन्छ, किनकी अहिले भारत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य हुन खोजिरहेको छ, यसमा पनि उसलाई नेपालको सहयोग पर्छ नै । यो समस्या समाधान भएन भने त नेपालले पनि उसलाई छोड्नेवाला त छैन, सानो मुलुकलाई हेप्ने भनेर अन्य मुलुकले भन्नेवाला छन्, त्यो कुराले उसले परिषद् सदस्य त गुमाउनु पर्ने हुनसक्छ । अर्को, नेपालजस्तो सानो मुलुकमा लोभ गरेर नेपाली भूमि अतिक्रमण गर्न खोज्नु र नेपालजस्तो शान्तिप्रिय देशलाई दुःख दिनु धाक धम्की दिनु भारतका लागि पनि सुहाउँदो कुरा र न्यायिक विषय होइन । फेरि भारत त नेपालजस्तो सानो मुलुक होइन, ऊ त विश्वको चौथो ठूलो देश, पाँचौ शक्तिराष्ट्रको रूपमा उँदाउँदै गरेको देश, संसारको पहिलो प्रजातान्त्रीक मुलुक भनेर चिनिएको देश हो । यो कुराले त भारतको पनि ईज्जत त रहँदैन, उसलाई पनि ईज्जतको सवाल होला त्यसैले यो कुरालाई हेरेर बुझेर भारतले यो समस्याको समाधान चाँडै गर्नुपर्छ, नेपाली भूमि छोडेर सरक्क आफनो मुलुक लाग्नुपर्छ । यसको कुनै बिकल्प छैन । भारत विस्तारवादी प्रवृत्तिको मुलुक भएकोले र १९६२ देखि हड्पेर खाएको क्षेत्र भएकोले यति सहजै त नछोड्ला तर यी सबै परिस्थिति र अन्तर्राष्ट्रिय प्रेसरले गर्दा उसले सरक्क छोड्नुको विकल्प पनि छैन र छोड्छ भन्नेमा म आशावादी छु ।

तपाईंहरूको सीमा बचाऔं अभियान समिति पनि छ नि त्यसले के कति काम ग¥यो ?
राज्यले केहि समय अगाडि एउटा सर्बदलिय सबैपक्षिय बैठक ग¥यो प्रधानमन्त्री निवासमा । त्यसमा राष्ट्रिय एकता कायम भयो । हामीले पनि यसमा सकारलाई सहयोग गर्नु प¥यो जनतामा यो कुरा लैजानु प¥यो भनेर एउटा समिति बनाएर सीमा जोगाऔं भन्ने अभियान चलायौं । त्यो समितिले सुगौली सन्धिको आधारमा चुच्चे नक्सा बनाएर सरकारलाई दियौँ । भारतले बनाएको नक्सा हाम्रो जमिन हड्पेर रहेको बुच्चे छ, हामीले बनाएको सिंगो ठूलो चुच्चे छ । हामीले त्यो चुच्चे नक्सा कायम गर्न भनेका छौं । त्यो अभियानमा राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि संस्कृतिविद सत्यमोहन जोशी,केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायत थुप्रै राष्ट्रिय व्यक्तित्वहरू हुनुहुन्छ । त्यो नक्सा हामीले गृहमन्त्री, भूमिसुधारमन्त्री, शिक्षामन्त्रीलगायत माननीय पूर्णकुमारी सुवेदीसम्मलाई दिएका छौं, कार्यान्वयनको लागि । हामीले नालापानीबाट हट भनेका छैनौं, कालापानीबाट हट भनेका छौं । त्यसैले मलाई लाग्छ यो अभियान सार्थक हुन्छ, सरकारले पूरा गर्छ, भारत एकदिन अवश्य हट्छ, नहटी सुख छैन । हटेन भने उसको पनि ईज्जत समाप्त हुन्छ ।

यो समस्याको समाधान तत्काल हुन्छ भन्नेमा तपाईं पूर्ण विश्वस्त हुनुहुन्छ त ?

म त पूर्ण विश्वस्त छु किनकी यो विषयमा पहिले मुलुक एक थिएन, अहिले यो विषयमा मुलुक एक छ,राष्ट्रिय सहमति कायम भएको छ, हामीलाई अन्याय भएकोे कुरा अन्तर्राष्ट्रले पनि देखेको छ, अन्तर्राष्ट्रिय रूपमा पनि हामी बलिया छौं । त्यसैले यो विषयमा हामी लागिरहन्छौं, सीमा अतिक्रमण रोक्न सरकारलाई मद्दत गर्छौं र सरकारमार्फत गुमेको भूभाग फिर्ता ल्याउँछौं ।

सन् १९५० को सन्धि खारेज हुन्छ त ?

यसको वियषमा बेल्लै विधि, बेल्लै कूटनीति अपनाउनुपर्छ । यो फरक पाटो हो । यसका बारेमा नेपाल भारत प्रबुद्ध समूहले होमवर्क गरिरहेको छ, सरकारले बेग्लै ढंगबाट यसका बारेका कुरा गर्छ, गरी पनि रहेको होला, यसको प्रोसेस अलि लामो होला, समय लाग्ला, छलफल होला, त्यो छुटै विषय हो, यो कालापानी लिम्पियाधुरा र लिपुलेकको विषय छुट्टै हो । यहाँ हाम्रो भूमि भएको लिखत प्रमाण आधार हुँदाहुँदै, कालापानी नेपालको भूभाग रहेको सबै ऐतिहासिक प्रमाण सुरक्षित हुँदाहुँदै जबर्जस्ती हड्पिएको छ । यो तत्काल फिर्ता हुनुपर्छ । अनि सन् १९५० को सन्धिका बारे पहलकदमी अगाडि बढाउनुपर्छ भन्ने मलाई लाग्छ ।

अंग्रेजले त सन् १९४७ मै भारतलाई छोडेको हो, अंग्रेजले भारतलाई छोडेपछि त अंग्रेजको शासन त गयो । भारतको सरकार आएपछि अंग्रेज सरकार त अवैधानिक भयो, अवैधानिक सरकारले गरेका काम, सन्धि, सम्झौता पनि अवैधानिक नै भए यस्तो अवस्थामा अवैधानिक सरकारले गरेका काम भारत सरकारलाई कसरी वैधानिक भयो र नेपालको सुगौली सन्धिमा गुमेको भूमि भारतको हो भनेर भारत सरकारले अहिलेसम्म फिर्ता नगरेर खाइरहेको हो ?

हो यो कुरालाई हाम्रा शासकले राम्ररी उठाउनु पर्दथ्यो,उठाएनन् । उठाउनुको त परै जाओस् ब्रिटिसले भारत छोडेपछि त्यसबेलाका राणाहरूलाई हामीले भारत छाडिसक्यो त्यसैले सुगौली सन्धिअघिको तिमीहरूको भूभाग फिर्ता माग भनेको थियो रे । त्यसपछि नेपालका राणाहरूको भारदारी बैठक हुँदा धोक्रे सुरुवाल लगाउने कांग्रेसले अहिले त हामीलाई टिक्न दिएका छैनन् हिन्दुस्थानसँग जमिन फिर्ता माग्दा हिन्दुस्थान रिसाउँछ, दार्जीलिङ, टिस्टा, पठारदेखि सतलज, काँगडासम्मको क्षेत्र हुन्छ, त्यत्रो मुलुक सञ्चालन गर्न सकिन्न हिन्दुस्थान रिसाएर धोक्रो सुरुवाल लगाउनेहरूलाई सहयोग गर्छ र हाम्रो शासन टिक्न दिँदैन भनेर त्यो जमिन नमागेको रे भन्ने सुनेको छुुुुु । त्यसपछिका शासकहरूले पनि आफ्नो पद, सत्ता जोगाउनका लागि यो जमिन फिर्ता नमागेको रे भन्ने सुनेको छु, के कति सत्य हो यस विषयमा म अनभिज्ञ नै छु ।

प्रजातान्त्रिक सरकार र तपाईंहरूजस्ता बौद्धिक जगतले पनि किन अभियानको रूपमा यसलाई लैजान नसक्नुभएको त ?

यस विषयमा बेलाबेला कुरा उठेकै हो । २०३० सालमा बहादुरसिंह आइतवाल भन्ने दार्चुला जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्य हुनुभएको थियो । उहाँँले त्यो बेला त्यो कुरा राष्ट्रिय पञ्चायतमा उठाउनुभएको थियो तर त्यो सफल भएन । त्यसपछि हामीले २०५५ साल असार १२ गते बागबजारस्थित काठमाडौं मोडल अस्पतालको सभाहलमा पद्मरत्न तुलाधरको संयोजकत्वमा ३९ जनाको बैठक गरेर सीमा अतिक्रमण प्रतिरोध समिति बनाएर १५ महिनासम्म काम गरेर एउटा रिपोर्ट राज्यलाई बुझाएको थियो । त्यसको कार्यान्वयन तत्कालीन सरकारले गरेन । हाम्रो पनि कमजोरी भयो होला, हामीले पनि घच्घच्याएनौं त्यो त्यसै खेर गयो, केही भएन । त्यसैले गर्न नखोजेको, कुरा नउठेको होइन । जसले गर्नु पर्ने हो त्यसले नगरेकोले यो कुराको चासो चर्चा कम भएको हो । तर पहिल्यैदेखि नै थियो ।

यसको मतलब भारतीय विस्तारवादी प्रवृत्तिले नै यो सबै समस्या भएको हो ?

हो, हालैको सीमा अतिक्रमणको कुरालाई हेर्दा हाम्रो छमेकी विस्तारवादको नाइकेजस्तो प्रवृत्तिको देखिन्छ । तपाईंलाई कतिको थाहा छ कि यहाँका शासकलाई भारतको आस र त्रास छ । सत्तामा हुनेलाई आफ्नो सत्ता जाला कि भन्ने त्रास, सत्ताबाहिर भएकालाई भारतलाई खुसी पार्न पाए त सत्तामा पुग्न सकिन्थ्यो कि भन्ने आस । सत्तामा टेक्न र सत्तामा टिक्नका लागि भारतको आशीर्वाद चाहिन्छ भन्ने एउटा मनोवैज्ञानिक त्रास र आस छ । अब त्यो कति सत्य छ, कति असत्य छ, त्यो मलाई थाहा छैन । तर यही आस र त्रासले गर्दा पहिलेका हाम्रा शासकले यो कुरालाई सशक्त रूपमा नउठाएको हुन सक्छ । तर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सशक्त रूपमा उठाउनुभएको छ । उहाँँले हिजो नाकाबन्दीको बेलामा पनि उठाउनुभएको थियो आज पनि सशक्त रूपले नै उठाउनुभएको छ, नेपालको एक इञ्च जमिन मिचिन दिन्नँ भन्नुभएको छ । यो कुरा व्यवहारमा प्रमाणित भयो भने उहाँँ राष्ट्र«का नेता हुनुहुन्छ । सन् १९८१ देखि २०१८ सम्म भारतमा १० वटा मात्र सरकार परिवर्तन भए तर नेपालमा १८ वटा सरकार परिवर्तन भए । अहिलेसम्म कुनै सरकारले यो काम गर्न सकेका छैनन् । यो नेकपाको बलियो सरकार भएकोले मलाई मलाई आशा छ यो काममा ओली सरकार सफल हुनेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त ओलीसँग सल्लाह गरेरै भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको आरोप लगाउनुभएको छ नि ?

मलाई लाग्दैन यो कुरा सत्य हो भनेर किनकी कांग्रेसका अर्का नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यो पार्टीको आधिकारिक धाराणा होइन, उहाँँको निजी विचार होला भन्नुभएको छ, यसले त उहाँँको कुरालाई खण्डन गरिगयो नि । उहाँको भनाइको कुनै अर्थ र स्थिरता हुँदैन । एकै छिनमा के भनिदिनुहुन्छ फेरि एकै छिनमा होइन मैले यसो पो भनेको भनेर अर्कै कुरा गर्नुहुन्छ । यस्तो कुराले उहाँँको पार्टीलाई समेत घाटा पुग्छ । उहाँँलाई यो कुराले निकै अप्ठेरो परेको छ जस्तो मलाई लागेको छ किनकी सामाजिक सञ्जालमा उहाँँका बारेका निक्कै नकरात्मक टिप्पणीहरू भएका छन् । यसले उहाँँलाई र उहाँँको पार्टीलाई निक्कै ठूलो क्षति भएको जस्तो मलाई लागेको छ । अर्को, यस्तो आरोपले नेपाली भूमि फिर्ता ल्याउन बल पुग्दैन, उल्टो भारतको मनोबल बढ्छ । निर्वाचनका बेला नेपालका राजनीतिक दलहरू नमिलून् भन्ने भारतीय चाहनालाई देउवाको यो आरोपले बल पु¥याएको छ । त्यसैले देउवाको यो आरोप चुनाव केन्द्रित प्रतिशोधप्रेरित छ । त्यसैले यो विषयमा देउवाले जानीबुझी सरकारको पार्टीलाई बद्नाम गरेर चुनाव जित्न सकिन्छ भन्ने आग्रहमा आधारित छ, तर मलाई यो हो भन्ने लाग्दैन । उहाँँले त्यस्तो सोच्नुभएकोे भए सर्वपक्षीय बैठक किन बोलाउनुहुन्थ्यो जहाँ मलाई पनि निम्ता थियो । फेरि, त्यसो भए उहाँँले त्यो बैठकमै किन भन्नुभएन ? यसमा प्रश्न गर्न सकिने प्रशस्तै आधारहरू छन् ।

तपाईंहरूजस्ता विज्ञ, विश्लेषक,कूटनीतिज्ञ र सल्लाहकारले पनि राम्ररी सरकारलाई सहयोग सुझाव दिन सकिरहनुभएको छैन नि किन ?

आस र त्रास भयो भने सही कुरा बाहिर आउन सक्दैन । हाम्रा बुद्धिजीवी हुन् वा विज्ञ हुन्, विश्लेषक हुन् वा सल्लाहकार हुन्, कूटनीतिज्ञ हुन् वा राजनीतिज्ञ हुन् उनीहरूमा आस र त्रास भयो भने सही कुरा बाहिर आउन सक्दैन । हाम्रा विज्ञ र बुद्धिजीवी भन्नेले पनि नियुक्तिको कुरालाई शिरमा राखेर सोच्ने गरेका छन्, त्यसले बिगारेको छ । अहिले सूर्यनाथ उपाध्यायले ३÷४ पेजको रिपोर्ट सरकारलाई दिनुभएको छ रे त्यो अहिलेसम्म सार्वजनिक भएको छैन । त्यो बाहिर ल्याइदिएको भए जनतालाई त्यो कुरा थाहा हुन्थ्यो । यस्ता कुराले समस्या भएको छ ।

यो समस्या कसरी हल हुन्छ त ?

प्रधानमन्त्रीले नसक्ने कुरा गर्छु नभन्ने, गर्छु भनेको कुरा गरि छाड्ने यति भयो भने सबै कुराको हल हुन्छ । हिजो ओलीले निर्वाचनमा के के भन्नुभएको छ जनतालाई त्यो कुरा पूरा गरिदिए त भइहाल्यो नि जनताले त यति चाहेका त हुन नि ।

सरकारको कामलाई कसरी लिनुभएको छ ?

सरकारले राम्रै काम गर्न खोजेको छ तर अपेक्षाकृत सफलता हासिल गर्न सकेको छैन । कर्मचारीलाई विश्वासमा लिन र काममा लगाउन सकिरहेको छैन । कर्मचारीले उहाँँलाई टेरिरहेका छैनन् । सिस्टमले काम गर्न सकिरहेको छैन, यति बलियो सरकार हुँदा पनि सरकारले आफ्नो शक्ति प्रर्दशन गर्न सकिरहेको छैन । हामीले प्रदर्शन गर भन्नेसम्मको उत्साह दिने त हो नि । सरकारलाई जनताको पूर्ण समर्थन छ, जुनसुकै संयन्त्र प्रयोग गरेर भए पनि जनताको हित हुने काम गर्नु पर्छ त्यसमा सरकारले प्रयत्न गरिरहेको छ, विदेशीसँगको सम्बन्ध मजबुत पारिरहेको छ, चीनका राष्ट्रपतिलाई नेपाल ल्याउन सफल भयो विकास निर्माणका काम पनि गरी नै रहेको छ, नेपाली भूमि फिर्ता गर्न कदम चालिरहेको छ, सिस्टम बनाउने कामदेखि कानुन निर्माण र संघीयता कार्यान्वयनमा पनि राम्रै काम गर्दै छ तर जनचाहनाअनुसार गर्नसकेको छैन,समय लाग्छ तर गरेर देखाउनु पर्छ । सरकार ठीकै दिशामा छ, ठीकै ढंगले चलिरहेको छ जस्तो मलाई लागेको छ । अलि काम बढी बोली कम गरेर जान सकेमा राम्रो हुन्छ ।

मन्त्रीपरिषद पुर्नगठन भोली


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले दुई अध्यक्षको कार्य्बिभाजन गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई र पार्टीको कार्यकारी अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई दिने निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले दुवै अध्यक्षको कार्य्बिभाजन भएको जानकारी पाँचैवर्ष सरकार दिनुभएको छ । प्रवक्ता श्रेष्ठका अनुसार अब पाँच वर्ष प्रचण्डले पार्टीको नेतृत्व र पाँच बर्ष प्रधानमन्त्री ओलीले सरकार चलाउनु हुनेछ । बैठकले मन्त्रिमण्डल फेरबदलको अधिकार प्रधानमन्त्रीलाई दिएपछि प्रम ओलीले आज हटने र राखिने मन्त्रीको टुङगो लगाई भोली सफथ खुआउने कार्यक्रम रहेको छ ।

दुर्गा थापा : जनताको कामले उच्च सम्मान पाएको व्यक्तित्व


बेलका नगरपालिका, उदयपुरका मेयर दुर्गा थापा

कुरैकुरा:

मेयरसाब दिनचर्या कसरी बितिरहेको छ ?
आर्थिक वर्षको योजना कार्यान्वयन गर्ने,प्रदेश र संघीय सरकारले समपूरक कोष, अनुदान
कोषहरूको सूचना निकालेकोले ती योजनाको डीपीआर तयार गर्ने, त्यसका लागि लबिङ गर्ने र योजना बुझाउने काममा लागेको छु ।
काम कतिको भइरहेको छ त ?
भइरहेका छन् तर संघीयताको अभ्यास नयाँ छ, हाम्रो कामको अनुभव पनि नयाँ नै छ,
जनताका अपेक्षा अधिक छन्, राज्यको स्रोत साधन सीमित छ, मुलुकलाई सिस्टममा लान
केही समय लाग्छ ।
जनताले के कुराको माग बढी गर्छन् ?
विकास निर्माण, रोजगारी र छिटो छरितो प्रशासनिक कामको माग गर्छन् ।
काम गर्न कतिको सहज छ ?
जनताको हित गर्ने इच्छाशक्तिका साथ काममा अगाडि बढ्दा असहज भन्ने केही हुँदैन, चुनौती छिचोल्दै काम गरिरहेका छौं ।
तपाईंको शुभनाम, जन्ममिति र ठेगाना बताइदिनुस् न ।
मेरो नाम दुर्गा थापा हो म खोटाङको चुइचुम्मा नाली भन्ने ठाउँमा २०२२ सालमा जन्मेको
हुँ । तर नागरिकतामा २०२० । १० । २९ छ, हाल उदयपुरको बेलका नगरपाकिा ८ र त्रियुगा नगरपालिका वडा नं ११ मा बसोबास छ ।
खोटाङबाट कुन परिस्थितिले यहाँ ल्याइपु¥यायो नि ?
आर्थिक दुरावस्थाका कारणले कामको सिलसिलामा २०२८ सालमा बुवाआमा तराई झर्नुभयो । त्यहाँबाट आसाम पनि पुग्नुभयो, त्यहाँ चित्त बुझ्दो नभएर फेरि नेपाल फर्किएर झापा, सुनसरीको चक्रघट्टीहुँदै हालको बेलका नगरपालिकामा आएर बस्नुभयो ।
परिवारमा को को हुनुहुन्छ ?
बुवा, आमा, म, मेरी श्रीमती २ छोरा र १ छोरी छौं । बुवा सूर्यबहादुर थापा, आमा विष्णुमाया
थापा, श्रीमती देवी थापा, छोरा अनिल र अनिस थापा र छोरी प्रतिभा थापा छन् ।
के के गर्नुहुन्छ ?
छोराहरू पढ्छन्, छोरीको विवाह भइसक्यो हाल कोरियामा छन् बुवाआमा र श्रीमती खेती
किसानीमा हुनुहुन्छ ।
आमाबुवाको स्वभाव कस्तो छ, के कुराले तपाईं उहाँहरूबाट प्रभावित हुनुहुन्छ ?
बुवा खोटाङको ओख्रे,धापलगायत जिल्लाका धेरै स्कुलको संस्थापक शिक्षक हुनुहुन्थ्यो पछि
बहुदल आएपछि बेलकाको वडाअध्यक्ष भएर काम गर्नुभयो । त्यो हिसाबले समाजसेवी,
शिक्षाप्रेमी, मिलनसार, मेहेनती, मिजासिलो, अनुसाशित हुनुहुन्छ भने आमा मिजासिलो र
मेहेनती हुनुहुन्छ । समाजसेवामा लागेर सबैको हित हुने काम गर्नुपर्छ, शिक्षा लिन दिने
कुरामा ध्यान दिनुपर्छ, मेहेनती हुनुपर्छ भन्नुहुन्थ्यो, त्यो कुराले प्रभावित पार्छ ।
यहाँको परिवार कुन वर्गको हो ?
खान लाउन पुग्ने निम्न मध्यम वर्गीय परिवार हो ।
तपाईंको बाल्यकाल कसरी बित्यो ?
आर्थिक चपेटका कारण बुवाआमासँगै विभिन्न ठाउँमा चाहार्दै, कृषिकर्मभित्रका सबै काम
गर्दै र पढ्दा अर्काको भाँडा माझ्नेसम्मका काम गरेर दुःखले बित्यो ।
बाल्यकालमा स्वभाव कस्तो थियो ?
मिलनसार सबैलाई सहयोग गर्ने खालको थिएँ ।
बाल्यकालमा कुट्ने, कुटाइ खाने काम कत्तिको भयो ?
म मिलनसार भएकोले सानोमा दुवै काम भएन । पछि पञ्चायती निरङ्कुश व्यवस्थाका
विरुद्ध लाग्दा, २०५४ सालमा स्थानीय स्वायत्त शासन विधेयक डढाउँदा र २०६२/६३ सालको राजनीतिक आन्दोलनमा लाग्दा थुनामा धेरै पटक परेको छु ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
पञ्चायती निरङ्कुश शासन थियो, अन्याय अत्याचार धेरै थियो, शिक्षाको अवस्था राम्रो
थिएन, आर्थिक अवस्था राम्रो थिएन दुःखदायी अवस्था थियो ।
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
अनौपचारिक रूपमा २०३५/३६ सालदेखि लागेँ तर कमिटेड रूपमा २०३८ सालदेखि ।
किन र कसरी लाग्नुभयो ?
गाउँका सामन्ती जिम्दार, मुखियाले गरिबलाई थिचोमिचो गर्थे, अन्याय अत्याचार गर्थे,
पुरुषोत्तम भट्टराई सरकोमा कम्युनिस्ट पार्टीका नेता आउँथे । उहाँले यो व्यवस्थाको अन्त्य
गर्न कम्युनिस्ट पार्टीमा लाग्नुपर्छ भन्नुहुन्थ्यो । उहाँकै प्रेरणाले राजनीतिमा लाग्दै जाँदा
माक्र्सवादी अध्ययन संस्था बन्यो । म अध्यक्ष बनेर त्यहाँ माक्र्स, माओ,लेनिनका पुस्तकहरू
पढेँ,त्यसबाट धेरै कुराको जानकारी भयो र सामन्ती व्यवस्थाको अन्त्य गरी सबैले गरीखाने
प्रगतिशील शासन व्यवस्था ल्याउन कम्युनिस्ट पार्टीमा लागेँ ।
सुरुवाति शिक्षा कहाँ लिनु भयो ?
खोटाङको ओख्रे स्कुलमा २ सम्म पढेँ ।
पढाइको स्तर कस्तो थियो ?
राम्रो थियो मावि पढ्दासम्म पहिलो दोस्रो हुन्थेँ ।
पढ्दा आर्थिक अभाव कत्तिको भयो ?
आर्थिक अभावले बुवाआमा बसाई हिँडनुभएको थियो, फि तिर्नसम्म बुवाआमालाई हम्महम्मे
पर्दथ्यो, ९÷१० मा पढ्दा अर्काको घरमा बसेर भाँडा माझेको छु भने पत्रिका बेचेर, ट्युसन
पढाएर उच्चशिक्षा पढेको छु ।
सानामा खान र खेल्नमा कस्तो रूचि हुन्थ्यो ?
खानामा यस्तो उस्तो भन्ने थिएन, साग, सिस्नो, च्याउसँग भात खान मन लाग्थ्यो भने
खेल्नमा चेस मन पर्दथ्यो ।
विवाह कोसँग, कहिले र कसरी भयो ?
२०४० साल वैशाख १० गते खोटाङको मातिममा जन्मेर उदयपुरको असारीमा बसोवास
गर्ने देवी थापासँग बुवाले मागी विवाह गरिदिनुभएको हो ।
विवाहमा खर्च कति भयो ?
त्यो बेला खर्चै धेरै हुँदैनथ्यो, सामान्य भयो ।
श्रीमतीको स्वभाव कस्तो छ, तपाईंलाई उहाँको के कुराले प्रभावित पार्छ ?
स्वभाव सरल छ,घर चलाएकी छिन्, त्यो राम्रो लाग्छ ।
त्यसो भए ठाकठुक त पर्दैन होला ?
म धेरै जनताकै काममा खट्छु, आफ्नो समस्यालाई भन्दा अर्काको दुःख ठूलो देख्छु सहयोग
गर्छु त्यसो गर्दा जहिले घरमा आर्थिक अभाव भइरहन्छ, घरमा आउन ढिला हुन्छ, त्यसमा
कहिलेकाहीँ सामान्य पर्छ तर मिलिहाल्छ ।
मेयर हुँदा कति खर्च भयो ?
जनताले नै खर्च गरे । सामान्य ५,६ लाख जति भयो होला ।
जागिर खानुभएन ?
जागिरै खाने भनेर काम गरिनँ, भेटेका पनि छाडेँ, शिक्षा आयोग र लोकसेवा आयोगमा
नाम निकालेर पनि छाडेँ, उदयपुर सिमेण्टमा गुणनियन्त्रक भएर पनि छाडेँ, वरपीपल
मावि र रामपुर स्कुलमा केही समय भोलेण्टियर्सको रूपमा पढाएर छाडेँ, हालको मुर्कुची
क्याम्पसलाई पहिले ७।÷८ बनाउन गाउँ गाउँमा गएर चन्दा उठाई त्यसको स्वीकृति ल्याएँ,
२ वर्ष निःशुल्क तर जागिर खान्छु भनेर लागिनँ ।
किन ?
अरूको निर्देशनमा बसेर काम गर्न सक्ने स्वभाव मेरो थिएन, म स्वतन्त्र रूपमा काम गर्न
रूचाउने मान्छे, त्यसैले मेरो स्वभावले जागिर खान दिएन ।
नेता को को मनपर्छ, किन ?
मदन भण्डारी किनकी उहाँले मलाई भूमिगतकालमा प्रशिक्षण दिनुभएको थियो,त्यसले मलाई सशक्त रूपमा पार्टीमा लाग्ने प्रेरणा मिल्यो । पछिल्लो समयमा जबजमार्फत नयाँ विचार दिएर नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनुभयो, देश, जनता
र परिवर्तनका लागि योगदान दिनुभयो, त्यसैले ।
बढी मन परेर पढेका पुस्तक ?
आमा र अग्निदीक्षा उपन्यास ।
तपाईंको कमजोरी ?
मान्छेको नाम बिर्सने, व्यवस्थापन गर्न नजान्ने, अध्ययन लेखनलाई निरन्तरता दिन नसक्ने आदि ।
प्रेरणाको स्रोत नि ?
आमा,बुवा, पुरुषोत्तम भट्टराई सर र मदन भण्डारी हुनुहुन्छ ।
सुख र दुःखको क्षण ?
मदन आश्रितको निधन हुँदा, पार्टी विभाजित हुँदा र गत संसदीय निर्वाचनमा पार्टीले टिकट दिएर दुई दिनपछि खोस्दा दुःख लागेको थियो भने पहिलो र दोस्रो जनआन्दोलन सफल हुँदा, गणतन्त्र आउँदा एवं सयौ जनताको दुःखमा सहयोग पु¥याएको छु, कतिको जीवन बचाएको छु, कति दुःखी परिवारमा हाँसो ल्याउने काम गरेको छु त्यस्ता काम गर्दा सुखी भएको छु ।

भूमिका:

खोटाङमा जन्मिएर उदयपुर सुनसरीलगायत तराईका क्षेत्रलाई कर्मक्षेत्र बनाउनुभएका दुर्गा थापा जिल्लाको राजनीति र सिंगो कम्युनिस्ट आन्दोलनमा योगदान दिएका नेता हुनुहुन्छ । सामन्ती व्यवस्थाको अन्त्य र प्रगतिशील समाजको निर्माण गर्ने कम्युनिस्ट पार्टीमा लाग्नुभएका उहाँले २०३७ सालदेखि राजनीति गर्दै आउनुभएको छ । अनेरास्ववियु, युवा संघ, जिफण्ट, मानव अधिकारवादी संघ संस्थादेखि उदयपुर जिल्ला पार्टी कमिटी सदस्य र सचिवालय सदस्यसम्म रहेर कुशलतापूर्वक काम गर्नु भएका उहाँले २०३८ सालमा तत्कालीन मालेको सदस्यता लिनु भएको थियो । जनतासँगै भिजेर २०५४ सालमा उदयपुरको ठोक्सिला गाविस अध्यक्षमा निर्वाचित भएर काम गरिसक्नुभएका उहाँले राजनीतिज्ञ, शिक्षक, समाजसेवी, पत्रकार, नगरप्रमुखलगायत विभिन्न भूमिकामा रहेर महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँले पार्टी, संगठन निर्माण विस्तारदेखि स्थानीय सरकारको नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु भएको छ । जनताको हितलाई सर्वोपरि ठानेर देशको परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ उदयपुर जिल्लाका इमान्दार र क्रियाशील नेता हनुहुन्छ । कम्युुनिस्ट आन्दोलनमा भूमिगत जीवन बिताउनुभएका थापाको लगभग ४ दशकको गतिशील राजनीति जीवन पछिल्लो समयमा आएर बेलका नगरपालिकाको क्रियाशील नगरप्रमुखको रूपमा काम गर्दै अगाडि बढिरहेको छ । सधैँ जनताको काममा बिताउने थापा अनुशासित र जिम्मेवार नेतामा पर्नुहुन्छ । बेलकावासी जनताको सुखी जीवनका लागि अहोरात्र खटिने उनै थापाको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

पारिवारिक पृष्ठभूमि, अनुभव र अनुभूति:

विभिन्न उतारचढाव छिचोलेर ५५ वर्षे जीवनयात्रामा हिँड्दै गर्नुभएका दुर्गा थापाका बुवाको नाम सूर्यबहादुर थापा, आमाको विष्णुमाया थापा, श्रीमतीको देवी थापा, जेठो छोराको अनिल, कान्छो छोराको अनिस थापा र छोरीको प्रतिभा थापा हो । उहाँका बुवा शिक्षाप्रेमी, समाजसेवी हुनुहुन्छ । उहाँले २०१८ सालमा खोटाङको ओख्रे स्कुलको स्थापना गर्नुभएको थियो भने त्यहाँ अध्यापन समेत गर्नुभएको थियो । त्यतिमात्र होइन, उहाँका बुवाले गाउँका मान्छेको तमसुक लेखिदिने,चिठी लेखिदिने, मुद्या मामिला मिलाइदिने, बिरामीलाई सुई लगाइदिने, औषधि उपचार गरिदिनेलगायतका काममा उत्साहित भएर लाग्नुहुन्थ्यो । मध्यम वर्गीय किसान परिवारबाट उठेर यहाँसम्म आउनुभएका थापाले समाज परिवर्तनका लागि थुप्रै यातना भोग्नु भएको छ, थुप्रै तीतामीठा अनुभव ,अनुभूति संगाल्नु भएको छ, आरोह अवरोह पार गर्नुभएको छ, थुप्रै दुःखका भगाँलाहरू पार गर्नु भएको छ, पार्टीका काममा महत्वपूर्ण आयाम दिनुभएको छ, स्थानीय तहमा जनताका लागि महत्वपूर्ण काम गर्नु भएको छ । समाज परिवर्तनका लागि भूमिगत राजनीति गरेका थापाले बेलका नगरपालिकामा सबैले अनुभूत गर्नेगरी काम गर्नुभएको छ । उहाँसँग चरम यातना खेपेको दुःखदायी अतित पनि छ, शिक्षा लिँदाको अभाव पनि छ, जनताले फूलमाला लगाइदिएको सुखद सन्दर्भ पनि छ, गरिबलाई सहयोग गरेको सन्दर्भदेखि किसानसँग काम गरेको सन्दर्भ पनि छ । त्यतिमात्र होइन, आफैँ सहभागी भएर ल्याएको २०४६ सालको प्रजातन्त्र, २०६२÷६३ सालको गणतन्त्र प्राप्तिको सुखद क्षण पनि छ भने मदन–आश्रितको निधन हुँदाको दुःखद क्षण र २०७४ सालको संघीय संसद्मा पार्टीले उदयपुरबाट सांसदको टिकट दिएर दुई दिनपछि खोसेको दुःखद क्षण पनि छ । उहाँसँग कृषि कर्मदेखि राजनीति कर्म र प्रशासकीय प्रमुख भएर काम गरेको अनुभूति छ । गाउँका सामन्तहरूले आफ्नै घरजग्गा हडपेको, झुठा मुद्दा लगाएको अनुभूतिदेखि समयमा खान र घर जानसमेत नपाई जनताको काम गरेको वर्तमान ज्यँुदै छ उहाँसँग । हरेक उतारचढाव भोगेर र दुःखका भँगाला छिचोलेर आउनु भएका उहाँ उदयपुरे जनताका प्रिय मेयरका रूपमा परिचित हुनुहुन्छ ।

शिक्षा:

बुवा नै शिक्षाप्रेमी र शिक्षक भएका कारण दुर्गा थापाले पनि शिक्षामा बहुतै रूचि राख्नुहुन्थ्यो । उहाँले दुई कक्षासम्मको शिक्षा गाउँकै स्कुल ओख्रेमा लिनुभयो भने त्यसपछि बुवाआमा बसाई सरेपछि उर्लाबारी, चक्रघट्टी, रामपुर स्कुल पढ्दै एसएलसी राजविराजको राजदेवी माविबाट २०३७ सालमा उत्तीर्ण हुनुभयो भने उच्च शिक्षा धरानको हात्तीसार र गाईघाटमा लिनुभएको थियो । ७ कक्षादेखि १० कक्षासम्मको शिक्षा आर्थिक कठिनाइले अर्काको घरमा भाँडा माझेर सम्पन्न गर्नुभएका उहाँले उच्च शिक्षा लिदा ट्युसनसमेत पढाएर सम्पन्न गरेको उहाँ बताउनुहुन्छ । पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाका लागि शिक्षालाई नै दाउमा राखेर कष्टसाध्य भूमिगत राजनीति जीवन बिताउनु भएका उहाँले शिक्षा, राजनीति र समाजसेवालाई सँगै अगाडि बढाउनुभएको थियो । उहाँले वरपीपल मावि र रामपुर स्कुलमा केही समय भोलेन्टियर्सको रूपमा पढाउनुभयो भने , मुर्कुची स्कुललाई ७÷८ सम्म बनाउन गाउँ गाउँमा गएर चन्दा उठाई कक्षा सञ्चालनको स्वीकृति गराएको उहाँ बताउनुहुन्छ । उहाँले ती विद्यालयमा २ वर्षसम्म निःशुल्क अध्यापन समेत गर्नुभएको थियो । हाल मेयरको रूपमा काम गर्दा पनि उहाँले शिक्षालाई उच्च महत्वका साथ लिएर नगरलाई नै शैक्षिक जागरण नगरको रूपमा अगाडि बढाइरहनु भएको छ । आर्थिक र राजनीतिक संकटका पहाड छिचोल्दै आफ्नो लक्ष हासिल गर्नुभएका उहाँ शैक्षिक प्रेरणादायी व्यक्तित्वको रूपमा चिनिनुहुन्छ ।

राजनीतिक यात्रा:

सानैदेखि कसैलाई अन्याय अत्याचार नगर्ने तर अन्याय अत्याचारको खुलेर विरोध गर्ने दुर्गा थापा पुरुषोत्तम भट्टराई र माक्र्सवादी अध्ययन केन्द्रको रूपमा त्यहाँ किनिएका माक्र्सवादी पुस्तक पढेर र मालेका अग्रज नेताहरूको प्रशिक्षण, सम्पर्कबाट कम्युनिस्ट पार्टीको राजनीति गर्दै परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । २०३६ सालको विद्यार्र्थी आन्दोलबाट प्रभावित हुनुभएका थापा अनेरास्ववियु सिराहा क्याम्पसको प्राक अध्यक्ष, गाईघाट क्याम्पसको स्ववियु सभापति, २०३८ सालमा आईएससी पढ्दा हात्तीसार क्याम्पस धरानको माक्र्सवादी अध्ययन समूहको अध्यक्षहुँदै उदयपुर जिल्ला कमिटी सदस्य र सचिवालय सदस्य भएर काम गर्नुभएको थियो । उहाँले कान्तिपुर, समाचारपत्रलगायत थुप्रै पत्रपत्रिकामा प्रतिनिधि भएर कलम चलाउनु भएको छ । नेपाल पत्रकार महासंघको झापामा भएको दोस्रो अधिवेशनमा प्रतिनिधिसमेत हुनुभएका थापाले मानवअधिकार संस्था हुरेण्डेक र इन्सेकको प्रतिनिधि, जिफण्टको कृषि मजदुर संगठनको संस्थापक अध्यक्ष, गैसस महासंघको केन्द्रीय सदस्य र कोषाध्यक्ष, युवा संघको केन्द्रीय सदस्यलगायतका थुप्रै संस्थामा रहेर काम गर्नुभएको छ । भूमिगत कालमा पार्टीको सम्पर्क व्यक्तिको रूपमा काम गर्नुभएका थापाले ज्ञानेन्द्रको शासनकालमा नेपालका नेताहरूलाई थुनेको बेला थाईल्याण्डमा रहेर यूएनको क्षेत्रीय कार्यालयमा गएर नेपालमा मानवअधिकारको हनन् भइरहेको जानकारी गराई नेपाल आएर भारतमा रहेका नेताहरूलाई हुमनराइट हुम भन्ने संस्थामा रहेर उद्धार गर्ने नेताहरूलाई व्यवस्थापन गर्ने कामसमेत गर्नुभएको थियो भने ज्ञानेन्द्रको शासन सत्तालाई अप्ठ्यारो पार्न र नेपालमा मानवअधिकार हनन् भइरहेको बेला नेपालका १५ वटा राजनीतिक दलको संयुक्तm भेला गरी तिनका एजेण्डा संयुक्तm राष्टसंघको ६२ औँ साधारणसभामा लगेर गैसस महासंघको नेतृत्वको पहलमा ती एजेण्डामा लबिङ गरी एजेण्डा नं १९ मार्फत संयुक्त राष्टसंघको उच्च आयुक्तको कार्यालयबाट इयान मार्टिनलाई नेपालको अवस्थाको बारेमा अनुगमन गर्न ल्याउन सफल भएको बताउनुहुन्छ । सामन्तवादी व्यवस्थाको अन्त्यका लागि निरन्तर खट्ने थापा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उदयपुरको ठोक्सिला गाविसको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँले त्यो बेलाको सरकारले ल्याएको स्थानीय स्वायत्त शासन विधेयकको विरुद्धमा आन्दोलन गर्दा जेलसमेत पर्नुभएको थियो । २०३६, ४६, ५४ साल र २०६२÷६३ को आन्दोलमा पटक पटक गिरफ्तारीमा पर्नुभएका थापालाई २०७४ सालको संघीय संसद्को निर्वाचनमा उदयपुरबाट टिकट दिएर पुन दुई दिनपछि खोसिएको थियो । त्यतिसम्म हुँदा पनि विचलित नभई देश, जनता र पार्टीका लागि लागिरहनुभएका उहाँ हाल बेलका नगरपालिकाको नगरप्रमुखको भूमिकामा रहेर नगरवासीका हितमा दिनरात खटिरहनुभएको छ । पञ्चायती व्यवस्था फाल्न भूमिगत राजनीति गर्दा राजकाज मुद्दा, यातना र जरिवानासमेत व्यहोर्नु भएका उहाँले पार्टीको नीति र निर्देशनअनुसार निरङ्कुशताका विरुद्ध प्रगतिशील चेतना जनतामा फैलाउनुभयो, निरङ्कुशताका विरुद्ध जेहाद छेड्न कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी भूमिगत राजनीति गर्नुभयो, जस्तोसुकै हण्डर, ठक्कर सहेर राजनीतिलाई निरन्तरता दिनुभयो, परिवर्तनका लागि सतिसाल बनेर राजनीतिमा खडा भइरहनुभयो । उहाँको यो अविचलित राजनीति यात्राले अन्य राजनीतिज्ञलाई पनि साहस पैदा भयो, यो उहाँको ठूलो योगदान हो ।

चिन्ता छैन यहाँ:

नेपाली जनताको सुखी जीवन बनाउने पार्टी कम्युनिस्ट पार्टी नै हो भनेर जीवनको बलिदान चढाएर कम्युनिस्ट राजनीतिमा लागेका दुर्गा अहिलेको पार्टीको अवस्था, नेताहरूको स्वार्थी राजनीति, गुट, उपगुट , चाकडी , चाप्लुसी, आस्था र निष्ठाको क्षयीकरणले पार्टी र सरकार बद्नाम हुँदै गएको र यसमा टेकेर जनविरोधी र राष्ट्रघातीहरूले चलखेल गरिरहेको भन्दै थापा चिन्ता व्यक्त गर्नुहुन्छ । तर यिनै नेताहरूलाई सुधारेर लानुको विकल्प नभएको पनि उहाँ बताउनुहुन्छ ।

विकास निर्माणका काम:

नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला नेता एवं बेलका नगरपालिकाका मेयर दुर्गा थापाले आर्थिक समृद्धि, सामाजिक न्याय र भौतिक पूर्वाधार, सुशासन र सामाजिक परिचालन दिगो विकासको आधार भन्ने नारा तय गरेर भिजनसहित काम सुरु गर्नुभएको छ । जसमा कृषि र पशुपन्छीको विकास, पर्यटनको विकास, उद्यमको विकास, सामाजिक विकास र पूर्वाधारको विकास रहेका छन् । अहिले उहाँले बेलकालाई नमुना नगर बनाउने गरी ५ वर्षे योजना बनाएर काम अगाडि बढाइरहनुभएको छ, सन्तुलित विकास, समान जनसहभागितामूलक विकासको अवधारणा ल्याउनुभएको छ । यस सँगसँगै उहाँले बेलका नगरभित्र चक्रपथ बनाउने काम सम्पन्नताको अन्तिम चरणमा पु¥याउनु भएको छ भने नगरभरि कति र कस्ता कस्ता सडकहरू आवश्यक छन्, ती कहिलेसम्ममा बनाइसक्ने बसपार्क कहाँ राख्ने, खेल मैदान, हाटबजार,औद्योगिक क्षेत्र, अस्पताल कहाँ राख्ने, कुन कुन स्थललाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने, सुकुम्वासीलाई कहाँ राख्ने भन्ने कुरालाई ध्यान दिएर काम गरिरहनुभएको छ । यसैगरी सुकुम्वासी समस्याको समाधानका लागि गुरुयोजना बनाएर सिंगो नगरमा नापी गरेर लालपुर्जा दिने योजना बनाइरहनुभएको छ भने सर्पदंश उपचार केन्द्र निःशुृल्क सञ्चालन गरेर उपचार गरिरहनुभएको छ । आँखा अस्पताल बनाएर सेवा प्रवाह गरिरहनुभएको छ र अब चाँडै आयुर्वेदिक अस्पताल र कृषि क्याम्पस खोल्ने योजनामा हुनुहुन्छ । जिम र योगशालाहरू खुलेका छन् । वृद्धआश्रम खोलेर सेवा दिइरहेको छ । महिलाले बच्चा जन्माउँदा कुनै किसिमको समस्या व्यहोर्नु नपरोस् भनेर विवाह भएकै दिन शुभकामना कार्ड दिएर बच्चा जन्माउँदा अपनाउनु पर्ने होसियारीदेखि जन्मान्तरको विषयमा समेत प्रशिक्षण दिने काम भइरहेको छ । यसका साथै १ हजार ८ जना अपांगलाई सहजीकरण र प्रोत्साहन गर्ने गरीका योजना बनिरहेका छन् । प्रजनन् स्वास्थ्यदेखि स्वस्थ्य बच्चा जन्माउनेसम्मका ज्ञान नगरपालिकाले दिइरहेको छ । बच्चा जन्माउन नसकेका सुत्केरी महिलालाई अस्पताल ल्याउनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ भने सुत्केरी हुने अघिल्लो दिन नै अस्पतालमा ल्याएर खाने, बस्ने र उपचारको निःशुल्क व्यवस्था गरेको छ । हिंसामा परेका जोसुकैलाई काउन्सिलिङ गर्नेदेखि आवश्यक सबै सहयोग गरेको छ, त्यसका लागि वडा वडामा काउन्सिलर खटाएको छ । ९३ जना मानसिक स्वास्थ्यका रोगीलाई निःशुल्क उपचार गरिसकेको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि नगरले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको उहाँ बताउनु हुन्छ । त्यसैगरी आश्रित र विपन्न परिवारका लागि प्रत्येक महिना रातो कार्ड बनाइदिएर प्रत्येक महिना उपभोग्य वस्तुको वितरण गरिरहेको छ भने सबै गरिबहरूलाई एकसरो नयाँ कपडा दिएको छ । कसैको घरमा आगो लाग्याो तत्काल दमकल पठाएर नियन्त्रण गर्ने, त्यहीँ राहत दिनेजस्ता सेवा प्रवाह गरिरहेको छ । यसैगरी अपांगहरूलाई मात्र हेर्न ४ जना कर्मचारी राखेको छ । उनीहरूले शिविर सञ्चालन गर्नेदेखि उपचार गर्ने, उनीहरूलाई आवश्यक औजारहरू बाँड्ने,उनीहरूका परिवारलाई आय आर्जन गर्नका लागि सीप सिकाउने, वृद्ध, महिला बालबालिकाका लागि सहयोग गर्ने कार्य गरिरहेको छ । त्यसैगरी माभीm, भुजेल, थामी र थारूको उत्थान र विकासको लागि छुट्टाछुट्टै कोष बनाएर काम गरिरहेको छ भने अति विपन्न क्षेत्री बाहुनहरूका लागि पनि बजेट छुट्ट्याएर उनीहरूको आय आर्जनका लागि नगरपालिकाले काम गरिरहेको छ । उत्पादनमा जोडेर सबैलाई आय आर्जनमा लगाउन ३ सय ३२ वटा कृषि सहकारी र २०४ जना एले आर्पिहरू खटाएको छ । तिनीहरूले ति सहकारी समूहमार्फत सबैलाई सेवा दिने गरेका छन् भने कृषकले उत्पादन गरेको वस्तु नपाले खरिद गरीदिने गरेको छ भने कृषिको बीमासमेत गरीदिने गरेको छ । कृषकलाई सस्तो ब्याज दरमा पैसा दिनेदेखि अनुदानको व्यवस्थासम्म गरिदिएको छ । त्यतिमात्र होइन, कृषको जमिनको माटो परीक्षण गरेर कृषि गर्न लगाएको छ, मल बीउ र बर्ना दिनेसम्मको काम नपाले गरेको छ । पैसाको अभाव हुनेलाई पैसा दिएका छ, जग्गा नहुनेलाई जग्गै उपलब्ध गराइदिएको छ, चक्लाबन्दी खेतीतर्फ आकर्षित गराएको छ । सामूहिक खेती गर्नेलाई प्रविधि र अनुदान सहयोगदेखि सबै सहयोग गरेका छ, कृषकको डाटा राखेको छ, कसले के उत्पादन ग¥यो, कुन बजारमा लग्यो, अनुदान लगेर काम ग¥यो वा गरेन वा दुरुपयोग ग¥यो, त्यसको जानकारी हुने गरी सफ्टवेयरको विकास गरेको छ । राम्रो गर्नेलाई पुरस्कृत गरेका छ र कालोबजारी गर्नेहरूको पनि अन्त्य भएको छ । अहिलेदेखि नपाले किसानले उत्पादन गरेका खाद्यवस्तु कतारसम्म पठाएर बेच्न थालेको छ । युवाहरू मेहेनती बनेर खेतीपातीमा लागेका छन्, आज आर्जनमा लागेका छन् । त्यसबाट नगरलाई आम्दानी भएको छ, जनता पनि सुखी भएका छन् । त्यसैगरी नगरलाई नेपालकै सबैभन्दा बढी खसी बाख्रापालन र संकलनको स्रोत केन्द्र बनाउने गरी योजना बनाइरहेको छ । नगरलाई पर्यटन हब बनाउन २२ वटा पर्यटकीय स्थलको पहिचान गरेको छ, त्यसमा संसारभरिका पर्यटक भित्र्याउने योजना बनाइरहेको छ । उहाँ भन्नुहुन्छ ‘विकास भनेको मनमा शान्ति र अनुहारमा क्रान्ति देखिनु हो । हामीले त्यही हुने गरी काम गरिरहेका छौं ।’

स्वभाव र शैली:

अधिकांश समय राजनीतिमा लगाउने दुर्गा थापा मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक काम कुरालाई परिणाममा हेर्ने र उत्पादनमा जोडिन चाहने उहाँ सबैलाई सिर्जनशील र दक्ष बन्न प्रेरित गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ । यसले उहाँलाई अगाडि बढ्न सहयोग पु¥याएको छ । उहाँ बेलकाको नगरपिता भए पनि सबैलाई समान देख्नुहुन्छ, त्यहीअनुसारको आचरण र व्यवहार गर्नुहुन्छ,जनताको काममा लागिरहनुहुन्छ, समाजलाई केही दिएर जाऔँ भन्ने सकरात्मक सोच राख्नुहुन्छ । यही सोच, शैली र स्वाभावले उहाँलाई असल नेता र जनप्रिय नगरपिता बनाएको छ ।

त्याग र समर्पण:

विद्यार्र्थी अवस्थादेखि नै समाजप्रति सचेत र समर्पित दुर्गा थापाले भूमिगतकालको कठिनतम अवस्थामा जीवनको परवाह नगरी सबै जोखिमसँग लड्नु भयो, सबैको मन जितेर राजनीतिमा सक्रिय हुनुभयो, जिल्लावासीको प्रिय नेता बन्नुभयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको राजनीति त्याग र समर्पण हो ।

साथीको नजरमा दुर्गा:

उहाँ मिलनसार स्वाभाव भएका, कसैलाई नराम्रो नगर्ने, जनताको हितमा रातदिन खट्ने, अन्याय कसैलाई हुन नदिने परिर्वतनकारी र विकासमा बढी चाख दिने नगरप्रमुख भएको उहाँका मिल्ने साथीहरू बताउनुहुन्छ ।

नेपाली भूमिबाट भारतीय सेना तुरुन्तै हट्नुपर्छ (सम्पादकीय)


भारत सरकारले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो क्षेत्रमा समावेश गरेपछि नेपालमा यसको चौतर्फी विरोध हुनुका साथै भारतविरुद्ध प्रदर्शन र आलोचनाको आँधीबेरी सुरु भएको छ । यसले उसको विस्तारवादी हेपाहा प्रवृत्ति नांगिएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र नेपाली स्वाभिमानमाथि निरन्तर अतिक्रमण गर्दै आएको आरोप भारत सरकारमाथि लाग्दै आइरहेको बेला यसलाई पुष्टि गर्दै सार्वजनिक भएको यो नक्साले भारतीय सरकार, नेपाल र नेपालीको असल छिमेकी होइन नेपालको भूमि आफ्नोमा मिलाउन चाहने विस्तारवादी सोच बोकेको शत्रु छिमेकीको घृणाभाव नेपालीमाझ पैदा भएको छ । यो असल छिमेकीका लागि दुःखद विषय हो । सुगौली सन्धिपछि पश्चिमतर्फ नेपाल भारतको सीमा महाकाली नदी हो भन्नेमा कुनै विवाद छैन । यसै सन्दर्भलाई लिएर सरकारले हालै सर्वदलीय–सर्वपक्षीय बैठक बोलाएर राष्ट्रियताका सन्दर्भमा सिंगो राष्ट एक भएर भारतले मिचेको भूमि तत्काल फिर्ता लिन सरकारलाई कूटनीतिक र राजनीतिक पहलकदमी लिइहाल्न सुझाव दिएका छन् । नेपालको भूमि मिचिएको सन्दर्भमा त्यसका विरुद्ध लाग्न र अतिक्रमित भूमि फिर्ता ल्याउन राष्ट्रिय सहमति बनेको छ । यही बेला अर्थात फलाम तातेको बेला नै घनले हाल्नुपर्छ, अनिमात्र त्यसले आकार लिन्छ भनेझैँ नेपाली भूमि मिचिएको सन्दर्भमा राष्ट्रिय एकता भएको बेला नै फिर्ता लिने काम गर्नुपर्छ किनकी हामीले छिमेकी फेर्न सक्दैनौं तर दुष्ट छिमेकीलाई सबैको प्रयत्नमा असल बनाउन सकिन्छ । त्यसैले दुष्ट छिमेकी भारतलाई असल छिमेकी भारत बनाउने सुनौलो अवसर यतिबेला नै हो । यतिबेला सिंगो मुलुक एकताबद्ध बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ मे २०१५ मा चीन भ्रमण गरेका बेला भारत र चीनले लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विस्तार गर्ने सम्झौता गरेका थिए तर त्रिदेशीय सीमाविन्दु लिपुलेक नभई धेरै पश्चिममा रहेको लिम्पियाधुरा हो । यस्तो यथार्थ हुँदाहुँदै नेपालको भूमिलाई दुई देशको सीमाविन्दु भन्नु दुवैको हेपाहा प्रवृत्ति हो, मिचाहा व्यवहार हो । यसको सबै मिलेर विरोध गर्नै पर्छ । भारतले नेपालका थुप्रै नदीनाला खाएको छ, थुप्रै सीमास्तम्भ सारेको छ, कतिपय गायव पारेको छ, नेपाली नदीमा एकतर्फी बाँध बाँधेर नेपाली जनताको बाँच्न पाउने नैसर्गिक अधिकार हनन् गरेको छ, थुप्रै नेपाली अपहरण गरेर भारतमा लगी मारेको छ, बेपत्ता पारेको छ, महाकाली नदीकै सहायक नदी धौलीगंगा नदीमा २८० मेघावाट क्षमताको जलविद्युत् परियोजना निर्माण गरेर नेपालीका सयौं घर डुबाएको छ, हजारौं नेपाली नागरिक घरबारविहीन बनाएको छ । कालापानी र लिपुलेक क्षेत्रमा वर्षौदेखि सेना तैनाथ गरेको छ ।

अतिक्रमित क्षेत्रमा मालसामान ढुवानी गर्न नेपालसँग अनुमति नलिई राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी दिनहुँ भारतीय हेलिकप्टर निर्वाध रूपमा नेपाली आकाशमा उडाइरहेको छ । महाकाली नदीमा लगाएको तुइन बारम्बार काटिदिने र उसका सेना नेपालको सीमा क्षेत्रमा प्रवेश गरी नेपालीलाई अनावश्यक दुःख दिने काम गरिरहेका छन् । नेपाल सरकारको अनुमतिविनै नेपाली भूमिमा एकतर्फी पुल र बाटो निर्माण गरेको छ । यस्तो हस्तक्षेपको समाचार लख्ने पत्रकारलाई धम्की दिने गरेको छ । यसले जन आक्रोश बढाएको छ, नेपाली जनता सडकमा आएका छन् । यो बेला नेकपाको सरकारले कूटनीतिक र राजनीतिक पहलकदमी लिएर यो समस्या समाधान गर्नु पर्दछ र नेपालीको मनमा लागेको चोटमा मलम लगाउनुपर्छ । यसैलाई निहुँ बनाएर भारतले नाकाबन्दी गर्छ भने बरू नेपाली भोकै मर्न तयार छन्, अनावश्यक निहुँ खोज्छ भने नेपाली लड्न मर्न तयार छन् तर महेन्द्र, बीपी, गिरिजा र शेरबहादुरले गरेका सत्ता स्वार्थ र राष्ट्रघाती कामलाई सच्याउनुपर्छ नेपाली भूमिमा राखिएका भारतीय सेना र मिचिएका सीमास्तम्भहरू हटाउनुपर्छ । उसका नराम्रा सबै कामका बारेमा उसलाई जानकारी दिएर त्यस्ता गतिविधिहरू आइन्दा नगर्न कूटनीतिक रूपमा भन्नुपर्छ, भन्दा नमाने त्यस्ता विषयहरूलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा लगेर हल गर्नुपर्छ । नेपाल रहेमात्र नेपाली रहने हो, नेपालै नरहे हामी कोही रहँदैनौं । देश जोगाए मात्र जनताको शासन जोगिन सक्छ । जनताको शासन जोगियो भने मात्र जनता सुखी हुन्छन्, यसको हेक्का सबैलाई होस् । यो काम नेकपाको सरकारले मात्रै गर्न सक्छ, गर्ने बेला पनि यही हो, जनताको चाहाना भावना पनि यही हो । हस्तक्षेपका विरुद्ध सिंगो मुलुक एक भएका बेला यो काम नेकपाको सरकारले गरोस्, यही हाम्रो कामना !