तीन जलविद्युत् आयोजनाबाट ३० मेगावाट विद्युत् थप हुने


 

 

चौतारा, १ साउन । विसं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति पु¥याइ बन्द भएको ४.२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२.२ मेगावाटको चाकु ए र ३.२ मेगावाटको गेलुङ खोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको हो ।

जुगल गाउँपालिकाअन्तर्गत हगामस्थित ३.१ मेवाको गेलुङ खोला आयोजनाबाट आउँदो असोज महिनाभित्र विद्युत् उत्पादन हुनेछ । त्यसलाई भूकम्प र बाढीपहिरोको असरले गर्दा निर्धारित समयभन्दा दुई वर्षपछि सम्पन्न भएको हो । निजी क्षेत्रबाट सञ्चालित ४.२ मेगावाटको बरम्ची खोला आयोजना भूकम्पबाट क्षति पुगेपछि विगत दुई वर्षदेखि बन्द छ ।

सो आयोजनालाई आगामी कात्तिकसम्म पूर्णरुपमा सञ्चालनमा ल्याइने भएको छ । विनाशकारी भूकम्प र बाढीका कारण सञ्चालनमा आइरहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना विगत दुई वर्षदेखि बन्द छ ।

विसं २०७२ वैशाखमा सम्पन्न गरिने लक्ष्य रहेको भोटेकोशी करिडोरअन्तर्गत शिवश्री हाइड्रो पावरद्वारा निर्माण भइरहेको २२ दशमलव २ मेगावाटको चाकु ए आयोजना आगामी माघ महिनामा सम्पन्न गरिने कार्यकारी निर्देशक उमेश कसजुले बताउनुभयो ।

सो आयोजना सम्पन्न हुने बेलामा भूकम्पले ठूलो क्षति पु¥याएपछि दुई वर्ष ढिलाइ भएको हो । पुनःनिर्माणको काम अगाडि बढाइरहेकै अवस्थामा नाकाबन्दी र गत वर्ष असार तेस्रो साता तिब्बतबाट भोटेकोशीमा आएको बाढीले बाह्रबिसे–तातोपानी २६ किमी सडकखण्ड ध्वस्त भई लामो समयसम्म यातायात बन्द भएको थियो । हाल सो आयोजनाको काम तीव्ररुपमा भइरहेकाले आगामी माघसम्म सम्पन्न भई विद्युत् उत्पादन हुने बताइएको छ ।

 

विद्युत प्राधिकरणलाई २ अर्ब फाइदा


 

 

 

काठमाडौं, २९ असार । लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएको नेपाल बिद्युत प्राधिकरण पछिल्लो समय चुहावट नियन्त्रणका लागि प्रयत्नशील छ । प्राधिकरणले तयार पारेको प्रारम्भिक आँकडाअनुसार यो वर्ष करिब २.५ प्रतिशतले मात्र चुहावट कम भएको छ र यसबाट २ अर्ब फाइदा भएको छ ।

अहिले पनि तराईका जिल्लामा ठुलो मात्रामा बिजुली चोरी हुने गरेको छ । त्यहाँ ५५ देखि ६० प्रतिशतसम्म बिजुली चुहावट हुने गरेको छ । जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत पर्ने जिल्लाहरुमा अधिक मात्रामा बिजुली चुहावट हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । भारतबाट चर्काे महशुल तिरेर ल्याएको बिद्युत नेपालमा चुहावट हुँदा प्राधिकरणलाई ठुलो घाटा लाग्छ । देशमा उपलब्ध जलविद्युत आयोजनाबाट उत्पादित बिद्युतले माग धानिरहेको छैन । जसका कारण विद्युत प्राधिकरणले भारतबाट ठुलो माात्रामा बिद्युत आयात गर्नु परिरहेको छ ।

अहिले बर्षातका कारण खोलानाला बढेसँगै भारतबाट आयातित बिजुलीको मात्रामा केही कमी आएको छ । सुख्खा याममा ३८५ मेगावाटसम्म भारतबाट बिद्युत आयात गरेको प्राधिकरणले अहिले २२६ मेगावाटमा झारेको छ । अहिले स्वदेशमा रहेका आयोजनाबाट कुल ६ सय ३५ मेगावाट उत्पादन भइरहेको छ । पिक समयमा अहिले १२ सय ४६ मेगावाटको आवश्यकता पर्दछ ।

प्रवक्ता अधिकारीका अनुसार यो वर्ष नेपालले भारतबाट करिब १७ अर्बको बिद्युत खरिद गरेको छ । स्वदेशका निजी जलबिद्युत उत्पादन कम्पनीसँग भने १२ अर्ब बराबरको बिद्युत खरिद गरेको छ ।

तराई मात्रै होइन, काठमाडौं उपत्यकामै पनि बिद्युत चोरी हुने गरेको छ । प्राधिकरणका अनुसार भक्तपुर जिल्लामा सबैभन्दा बढि बिद्युत चुहावट हुुन्छ । मिटर बिगारेर हुने यस्तो चोरीमा प्राधिकरणकै कर्मचारीको समेत संलग्नता पाइन्छ । यस्तो विद्युत चोरी गर्ने केहि कर्मचारीलाई प्राधिकरणले केही महिनाअघि कारबाही समेत गरेको थियो । तर, पछिल्लो समय भने यसमा खासै प्रगति भएको छैन ।

यो वर्ष प्राधिकरणको घाटामा समेत केही कमी आउने देखिन्छ । यो वर्षको घाटा ३ अर्बमै सिमित हुने प्राधिकरणले तयार पारेको प्रारम्भिक आँकडाले देखाएको छ । अघिल्लो वर्ष प्राधिकरणको घाटा ९ अर्ब थियो ।

 

चुनावको मतदान गर्ने दिनसम्म पनि पानी पर्नसक्ने पूर्वानुमान


काठमाडौं,२६ बैशाख। मौसमविदहरुले स्थानीय चुनावको मतदान गर्ने दिनसम्म पनि पानी पर्नसक्ने पूर्वानुमान गरेका छन् ।

हिजोदेखि नै परिरहेको पानीले कतिपय जिल्लामा चुनाव प्रचार प्रसारको काम प्रभावित भएको छ ।

मौसमविद समिर श्रेष्ठका अनुसार पानी पार्ने मौसमी प्रणाली बैशाख ३१ गतेसम्म नै सक्रिय रहने भएकाले भोट हाल्ने दिन पनि पानी पर्नसक्ने सम्भावना छ ।

गएरातिदेखि काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ र पूर्वी तथा मध्य नेपालमा पानी परिरहेको छ । पूर्व र मध्यको तुलनामा पश्चिम नेपालमा कम पानी परेको छ ।

पश्चिम नेपालको नजिक रहेको न्युन चापिय क्षेत्र, नेपालको मध्येभागबाट भारतको ओडिसासम्म बिकसित भएको अर्को न्युन चापिय क्षेत्र र बंगालको खाडीबाट जलवाष्पयुक्त वायु पूर्वी क्षेत्रबाट नेपालमा छिरेको कारण अहिले पानी परिरहेको छ ।

अहिले नेपालमा प्री-मनसुन सक्रिय छ । सामान्यता जुन १० तारिखबाट नेपालमा मनसुन सुरु हुन्छ ।

फेसबुकले गर्यो चार महिनामा ८ अर्ब डलरभन्दा बढीको कारोबार


काठमाडौं । अमेरिकाको सानफ्रान्सिस्कोमा मुख्य कार्यालय रहेको फेसबुकले सन् २०१७ को प्रारम्भका चार महिनामा ८ अर्ब डलरभन्दा बढीको कारोबार गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, उक्त कारोबार गत वर्षको पहिलो चार महिनामा भएको भन्दा ४९ प्रतिशत बढी हो । यस अवधिमा फेसबुकले ३ अर्ब डलर बराबरको नाफा आर्जन गरेको समाचारमा उल्लेख छ ।
कम्पनीले सन् २०१७ को पहिलो चार महिनामा ८ करोड मासिक प्रयोगकर्ता बढाएको छ । अहिले फेसबुक सक्रिय रूपमा प्रयोग गर्ने मासिक प्रयोगकर्ता १.९४ बिलियन छन् भने दैनिक फेसबुक प्रयोग गर्ने सक्रिय प्रयोगकर्ताहरू १.२८ बिलियन छन् । यसको मुनाफाको अधिक अंश विज्ञापनमार्फत उठ्ने गर्छ ।

एनसेल ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित


काठमाडौं, २२ वैशाखl  एनसेल एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड मानिने ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड संचालकसँग सहकार्य गर्दै, स्थानिय बासिन्दालाई सञ्चार तथा उर्जा सेवा पु¥याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो ।

 

एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चाईना युनिकमको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडी पार्दै यो अवार्ड हात पार्न सफल भएको हो ।

 

टेलिकम एसियाका स्वतन्त्र निर्णयक मण्डलले नवीनता, वित्तिय प्रर्दशन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासन लगायतका मापदण्डका आधारमा प्रोजेक्टहरुको मुल्याङ्कन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए  ।
बुधबार मलेसियामा आयोजित २० औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । एनसेलकी कर्पोरेट संवाद निर्देशक सञ्जु कोईरालाले अवार्ड लिनुभएको हो ।