दाङका बालबालीका काफल बेचेर पढाइ खर्च जुटाउदै


दाङ, ३१ वैशाख । दाङका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो ।

 

कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताउनुहुन्छ । “काफल बेचेर पढाइखर्च चलेको छ,” उहाँले भन्नुभयो । हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताउनुभयो । उहाँ जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गर्नुहुन्छ ।

 

त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्नुहुन्छ । कक्षा– ७ मा पढ्दै गरेकी पुनले रु ७० मा एक मानो काफल किनेर रु एक सयमा बिक्री गर्नुहुन्छ । “दैनिक रु तीन सयदेखि रु पाँच सयसम्म फाइदा हुन्छ,” उहाँले भन्नुभयो । काफल बिक्री गरी दैनिक रु चार सय भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताउनुभयो । उहाँ जस्तै अन्य बालबालिकाले काफल बेचेर मनग्य आम्दानी गदैआएका छन् ।