निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिनु हुँदैन् : विज्ञ


काठमाडौं – फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ ।

बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समतिले आगामी ५÷७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग समेत गरेको छ ।

समितिले प्रेस वक्तव्य जारी गर्दै भनेको छ,‘हामी प्रदेश २ बासी यो आयोजना कुनै पनि बाहानामा गुमाउन चाहान्नौं । अब पनि कुनै बाहानामा आयोजना अल्झाई राख्ने अधिकार कसैलाई छैन् । तत्काल निर्माण कार्यलाई अघि बढाउन र ५÷७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग गर्दछौं । सबैखाले चलखेलका विरुद्ध हामी संघर्षमा उत्रिन तयार छौं । साथै हामीले स्थानीय स्तरबाट गर्नुपर्ने समन्वयका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहान्छौं ।’

समितिका संयोजक रविराज दंगालको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोखे । उनले भने,‘यो बस्तीको कारणले विकास निर्माण नरोकियोस् । सरकारले बरु बस्तीको उचित व्यवस्थापन गर्नुपर्छ ।’

उक्त गाउँमा १६ घर धुरी लालपुर्जाविहीन रहेको सुनाउँदै उनले भने,‘त्यस्तै यो क्षेत्रमा ११० विघा नम्बरी जग्गा छ । वातावरण भन्दापनि विनाशकोबारेमा अध्ययन गर्न आवश्यक छ । अनावश्यक रुपमा जंगल फडानी गर्नुहुँदैन् । बन विनाश हुन्छ भनेर बहस गर्ने विषयपनि होईन । यो योजना अन्तै सर्नेपनि सम्भावना र विकल्प छैन् ।’

आयोजना प्रमुख ओम शर्माले उक्त परियोजना निर्माणको प्रगति विवरणबारे प्रकाश पारेका थिए । उनले भने,‘अहिले नदी नियन्त्रणको काम भैरहेको छ । सेनासँग समन्वयको कार्यपनि जारी छ । र, जग्गाको मुआब्जा वितरण गर्ने काम पनि जारी छ ।’

त्यस्तै उनले एक लाख २८ हजार रुखमध्ये २५ हजारमात्रै सालको रुख रहेको पनि सुनाए । उनले भने,‘तीन लाख २५ हजार चाहीँ पोल काठ छन् । बस्तीको सहज स्थानन्तरणेका लगिपनि हामीले अध्ययन गरिरहेका छौं ।’

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र बहादुर देउजाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै समस्याहरु रहेको सुनाए । उनले भने,‘टिआईएमा एकमात्रै धावन मार्ग छ, त्यस्तै नजिकै पहाड छन् । यतिमात्रै होईन हाम्रो विमास्थलमा भिजिविलीटीपनि कम छ । यसले गर्दा अबको एक दशकभित्र विमान अवतरणमा ठूलो समस्या आउँदैछ । यसतर्फ सचेत हुनुपर्छ ।’