भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्टइण्डिज ४३ रनले विजयी


काठमाडौं – भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्टइण्डिज विजयी भएको छ । तेस्रो एकदिवसीय खेलमा वेष्टइण्डिजले भारतलाई ४३ रनले पराजित गरेको हो । २८४ रनको लक्ष्यसहित मैदान ओर्लेको घरेलु टोली भारत ४७ दशमलव ४ ओभरमा २४० रनमै समेटियो । उसका लागि कप्तान विराट कोहलीले १०७ रन बनाए । कोहलीको यस शृंखलाको लगातार तीन खेलमा लगातार तेस्रो शतक हो । बलिङतर्फ वेष्टइण्डिजका मार्लुन स्यामुयल्सले ३ तथा जेसन होल्डर, ओबेड मेकोय र एस्ले नर्सले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित पचास ओभरमा ९ विकेट गुमाएर २८३ रन बनाएको थियो । एक समय ५५ रनमा तीन तथा १२१ रनमा ५ विकेटको स्थितीमा रहेको वेष्टइण्डिजको इनिङ साई होप र एस्ले नर्सले सम्हालेका थिए । सार्इ होप ९५ रनमा पेभेलियन फर्के भने नर्सले ४० रन जोडे । त्यस्तै सिमरोन हेट्मायरले ३७ तथा कप्तान जेसन होल्डरले ३२ रन बनाए ।

बलिङमा भारतका जसप्रित बुम्राहले चार विकेट लिए । यससँगै पाँच एकदिवसीय क्रिकेट खेलको शृंखला एक–एकको बराबरी भएको छ । पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । शृंखला अन्तर्गत चौथो खेल सोमबार हुनेछ ।