सौन्दर्य व्यवसायबाट पनि आत्मनिर्भर हुन सकिन्छ: रीना शाक्य, ब्युटीसियन


अहोरात्र आफ्नो पेसामा सक्रिय रूपले लागिपर्नुभएकी रीना शाक्य जीवनमा अगाडि बढ्नलाई हातमा सीप हुनु पर्ने र त्यतिकै आत्मबल, ईच्छाशक्तिको आवश्यकता पर्ने बताउनु हुन्छ । उहाँले ब्युटीसियन पेसालाई नै रोजेर आफ्नो क्षमता, ईच्छा, लक्ष्यलाई यसै माध्यमबाट पूरा गर्नुपर्छ भन्ने सोची यस क्षेत्रमा लागिपर्नु भएको पनि दुई दशक बढी समय बितिसकेको छ । आफू कसैमा निर्भर नभई आत्मनिर्भर हुनुपर्छ भन्ने सोच बोक्नु भएकी वरिष्ठ ब्युटीसियन रीना शाक्यको सौन्दर्य, श्रृंगारको क्षेत्रमा छुट्टै स्थान बनिसकेको छ । २०६२ सालदेखि ठमेल ज्याठाचौकमा ग्लामर ब्युटीपार्लर एवं ट्रेनिङ सेन्टरको स्थापना गरी अहिले पनि यसै क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ सौन्दर्य कला संघको आजीवन सदस्य, अल नेपाल ब्युटि एसोसियसनको आजीवन सदस्यलगायत सौन्दर्यसम्बन्धी अन्य संघ, संस्थामा पनि आबद्ध रहेर काम गरिरहनु भएको छ । देशबाहिर हुने सौन्दर्य कार्यशालाहरूमा पनि उहाँको सहभागिता हुँदै आएको छ । उहाँले नेपालका आर्थिक अवस्था कमजोर भएका दिदी, बहिनीहरूलाई विविध संघ, संस्थाको माध्यमबाट प्रशिक्षण दिदै आइरहनु भएको छ । आफूले गर्दैै आएको पेसा वा व्यवसायबाट सन्तुष्ट रहेको बताउनु हुने शाक्यसँग सौन्दर्य प्रसाधनको सेरोफेरोमा रहेर छलफल संवाददाताले गरेको कुराकानीः

रीना शाक्य, ब्युटीसियन तथा सौन्दर्य व्यवसायी

सौन्दर्य सामाग्रीको कत्तिको ध्यान दिनु पर्छ ?

मेकअप प्रडक्टको गुणस्तरमा ध्यान दिनु अति आवश्यक हुन्छ । मेकअप प्रडक्ट खरिद गर्नुपूर्व कुन कम्पनीको प्रडक्ट राम्रो हन्छ बुझ्नु जरुरी छ ।

छालाअनुसारको श्रृंगार गर्नुपर्छ भनिन्छ नि ?

हो, स्किनअनुसारको मेकअप प्रडक्ट प्रयोग गर्नुपर्छ । त्यसैले मेकअप गर्नुपूर्व आफ्नो स्किन कस्तो प्रकृतिको छ भनेर जाँच गर्न जरुरी हुन्छ । आयली र ड्राई स्किनका लागि छुट्टाछुट्टै प्रडक्ट प्रयोग गर्नुपर्ने हुन्छ । मेकअप प्रडक्ट लामो समयसम्म प्रयोग गर्नुपर्ने हुन्छ, किनकी यस्ता प्रडक्ट आवश्यकताअनुसार प्रयोग गरिन्छ । त्यसैले यसको एक्सपाएरी डेटबारे पनि राम्ररी जानकार भएर मात्र खरिद गर्न आवश्यक हुन्छ । एक–डेढ वर्ष पहिलेको मेकअप सामग्री खरिद गर्नु हुँदैन किनकी स्किनसँग लापरबाही गर्नु हुँदैन, यो घातक हुन सक्छ ।

प्रशंग बदलौं, अहिले सौन्दर्य व्यवसायको अवस्था कस्तो देख्नु हुन्छ ?

अहिले यो व्यवसायमा प्रतिस्पर्धाको अवस्था छ । विगतको दाँजोमा पार्लर खुल्ने क्रम पनि बढेको छ । पार्लरको संख्यासंगै ब्युटीसियन र प्रयोगकर्ता पनि उत्तिकै बढिरहेका छन् । समग्रमा भन्नु पर्दा राम्रो छ ।

कस्तो खालको उपचारको लागि पार्लर जान्छन् मानिसहरू ?

पार्लरमा खासगरी अनुहार र कपालको सौन्दर्यताका लागि नै जाने हुन् । पहिले जस्तो छैन, अहिले त महिलामात्र नभएर पुरुष पनि पार्लर जाने गरेका छन् । पहिले म नै उपभोक्तालाई चाहिने प्राकृतिक सौन्दर्य सामग्रीको मात्र व्यवसाय गर्थे भने अहिले ब्युटीसियनको कामअनुसार छाला र कपाललाई मात्र राम्रो पार्ने होइन, शरीर भित्रदेखि नै स्वस्थ हुनुपर्छ भन्ने मान्यताबमोजिम अमेरिकाको नै सप्लिमेन्टको डिलर लिएर सेवा विस्तार गरिरहेको छु ।

० हामी कहाँ क्वालिटीको सौन्दर्य सामग्री पाइन्न र ?

नेपालमा सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनी खासै छैन । त्यसैले अन्तर्राष्ट्रिय कम्पनीबाट डिलर लिएर मेकअपसम्बन्धी, कस्मेटिक सामग्री स्वदेश, विदेशमा पठाउनेदेखि ठाउँ, ठाउँमा पुगेर आफै उत्कृष्ट सेवा पनि दिने गरेको छु ।

समाजसेवामा पनि त्यतिकै सक्रिय हुनुहुन्छ, समय तालिका कसरी मिलाइरहनु भएको छ ?

जहाँ ईच्छा, त्यहाँ उपाय भनेजस्तै मानिसलाई ईच्छा लाग्यो र चाहना छ भने समय कहिल्यै बाधक बन्दैन । ब्युटीपार्लरमा काम पनि गरिरहेको छु, आर्थिक अवस्था कमजेर भएका दिदी, बहिनीहरूलाई निःशुल्क प्रशिक्षण पनि दिँदै आइरहेको छु । केही काम नपाएर डान्स बारमा काम गरिरहेका उनीहरूलाई केही सीप सिकाउन सकियो भने भोलिका दिनमा राम्रो पेसाबाटै आत्मनिर्भर हुन्छन् भन्नेतिर पनि सोच बनाएर काम गरिरहेको छु ।

जाडो मौसम सुरु भयो, यो अवस्थामा कस्तो मेकअप सामग्री प्रयोग गर्दा राम्रो हुन्छ ?

कतिपय मानिसले जाडो र गर्मीमा एकै प्रकृतिको मेकअप सामग्री प्रयोग गर्छन् । तर, यसो गर्दा छालामा प्रभावकारी प्रतिक्रिया नदेखिन सक्छ । जाडोमा छाला सुक्खा भएको हुन्छ भने गर्मीमा चिल्लो । जाडोमा मोस्चराइजरको बढी प्रयोग गर्नुपर्ने हुन्छ, गर्मीमा चाहिँ मोस्चराइजरको प्रयोग गरिँदैन । बरू, स्किन टोनर प्रयोग गर्नुपर्छ । जाडो र गर्मी मौसमकै लागि भनेर छुट्टाछुट्टै खालका प्रडक्ट खरिद गर्न सकिन्छ ।

अन्त्यमा केही ?

म सबै दिदीहरूलाई आत्मनिर्भर बन्न र त्यसका लागि आफ्नो रुचिअनुसारको सीप सिकी आत्मबल, ईच्छाशक्ति र लगनका साथ लागी पर्न अनुरोध गर्दै यस कार्यका लागि आवश्यक सल्लाह, उत्प्रेरणा र सहयोगका निर्धक्क मसँग सम्पर्क गर्न अनुरोध गर्दछु । हामीलाई जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न सल्लाह, उत्प्रेरणा र सहयोगको सदैव आवश्यकता पर्दछ ।