क्या बात ! नेपाली खेलाडीहरू (सम्पादकीय)



गत मंसिर १५ गते सुरु भएर २४ मा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद(साग)मा नेपाली खेलाडीहरूले थुप्रै अभाव,तनावब र दबाबका बीच प्रतिस्पर्धा गर्दै नेपालका लागि ५१ स्वर्ण पदक जिताएर दोस्रो स्थान हासिल गरी कीर्तिमान कायम गरेका छन्,राष्ट्रको इज्जत बढाएका छन् । यसले नेपाललाई भारतपछिको शक्तिशाली मुलुक मात्र बनाएको छैन कांग्रेस सरकारले लथालिंग पारेको राट्रिय खेलकुद परिषद्(राखेप)को साखलाई उजिल्याउन, सुधार्न र मुलुकलाई खेल क्षेत्रबाट समृद्ध बनाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो मुलुकको लागि सुखद सन्दर्भ र ऐतिहासिक उपलब्धि हो । कुनैबेला ५१ खेलमा सहभागिता जनाउन नसक्ने नेपालले नेपाल कम्युनिस्ट पार्टीको सरकारले मुलुकको नेतृत्व गरेका बेला ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कुल २०६ पदक जित्दै तालिकामा दोस्रो भएर नेपालको खेलकुद क्षेत्र र नेपाली जनतालाई मात्र होइन अन्तर्राष्ट्रिय खेल क्षेत्रलाई समेत नेपाल सबै क्षेत्रमा अगाडि बढिरहेको सन्देश दिएको छ । यसका लागि जस्तोसुकै चुनौती र समस्याको सामना गर्दै र कुनै पनि अभावको परवाह नगरी मुलुकलाई पदक दिलाउन आआफ्नो क्षेत्रबाट लाग्ने सबै नेपाली खेलाडी,प्रतियोगितामा सफल बनाउन लाग्ने आयोजक राखेपको सिंगो व्यवस्थापन टिम, पदक हात पार्नका लागि अहोरात्र प्रशिक्षणमा खट्ने सहभागी सबै खेलाडी एवं प्रशिक्षकहरू बधाई र स्याबासीका पात्र हुन् । आयोजकले खेलहरू काठमाडौंलगायत सशुन्दर नगरी पोखरा र जनकपुरमा समेत आयोजना गर्नुले त्यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदाको तस्बिर संसारमा पुगेको छ । यसले पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण योगदान पुगेको छ । सुरक्षा,टिकट र खेल व्यवस्थापनमा केही कमी कमजोरी भए पनि नेपाली खेलाडीहरूले जसरी उत्कृष्ट खेल खेले, पदक जिते र नाम राखे यो चानचुने उपलब्धि होइन । यो खेलबाट खेलाडीले राज्यको खेलकुदमा लागेको बजेटको सही सदुपयोग भएकोसमेत सन्देश दिएका छन् । यसै सन्दर्भमा साग प्रतिगोगितामा पदक विजेता खेलाडीहरूलाई बुधबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरप्राइज’ रकमको घोषणा गर्नुभएको छ । उहाँले दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कांस्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरी खेलाडीलाई थप उत्कृष्टता हासिल गर्न प्रोत्साहित र उत्साहित गर्नुभएको छ । यो नेपालको खेल क्षेत्रलाई विकासमा अगाडि बढाउने महत्वपूर्ण काम र खेलकुदको माध्यमबाट मुलुकलाई संसारमा चिनाउने शुभ संकेत हो । यो ऐतिहासिक अवसरमा सागमा पदक विजेता खेलाडीहरूलाई राखेप र नेपाल ओलम्पिक कमिटीले खेलाडीहरूलाई अबिर,माला लगाएर नगरपरिक्रमा गराएको छ । यो राम्रो काम हो यसले खेलाडीलाई थप हौसला बढाएको छ । यसका साथै नेपाली खेलाडीलाई योभन्दा ठूला प्रतियोगितामा सहभागी हुनु पर्ने, त्यहाँ पनि सफलता कायम गर्नु पर्ने चुनौती थपेको छ । यसरी हेर्दा खेलाडीलाई अवसर र चुनौती दुवै सिर्जना भएको छ । यसै सन्दर्भमा राखेपका सदस्यसचिव रमेश सिलवालले सागपछि एसियन खेलकुद, ओलम्पिक र विश्वकपसहितको महत्वकांक्षी योजनासहित अघि बढ्ने बताउनु भएको छ भने काठमाडौं महानगरपालिका, प्रदेश सरकारललगायत अन्य थुप्रै संघसंस्थाहरूले समेत खेलाडीलाई सम्मान र पुरस्कृत गर्ने बताइरहेका छन् । यो राम्रो काम हो, यसले भोलिका दिनमा खेल क्षेत्रले अपेक्षाकृत सफलता हासिल गर्ने र मुलुकको अन्तर्राष्ट्रिय पहिचान बढ्नुका साथै पर्यटन प्रर्वद्धनमा समेत टेवा पु¥याउने देखिन्छ । यो सफलता भेदन गर्नका लागि राखेपले सजगता र सतर्कताचाहिँ अपनाउनै पर्छ । किनकी कांग्रेसलगायत हिजोका सरकारले राखेपलाई आफू, आफ्ना नातेदार, वरपरका र आफ्ना कार्यकर्ताको भर्तिकेन्द्र बनाएको छ, थुप्रै विकृति विसंगति भित्र्याएको छ, फोहोर थुपारेको छ । यस्तो संस्थाको फोहोर सफा गर्न धेरै ठूलो मेहेनत गर्नुपर्छ, धेरै कुरालाई फाल्नुपर्छ । नेकपाको सरकार आएपछि र यो सरकारले ल्याएको राखेपको कुशल नेतृत्वले खेल क्षेत्रलाई सुधारको प्रक्रियामा लगिरहेको छ, यसले आफूलाई सुधारेर थप उपलब्धि हासिल गरोस्, राखेपले खेललाई उत्पादनशील क्षेत्रको रूपमा विकास गरेर खेलाडीलाई उत्पादनशील काममा जोड्दै समृद्ध राखेप बनाओस्, राष्ट्रिय अर्थतन्त्रमा थप टेवा देओस्, खेलाडीहरूको जीवन सुखी बनोस् । सबैमा शुभकामना र बधाई !