गाँस, बास र कपासको स्थायित्वपछि मानिस स्टाइलिस हुन चाहन्छ: फेसन डिजाइनर थापा


इनु थापा, फेसन डिजाइनर

आफ्ना क्रिएशनमार्फत नेपाली फेसन क्षेत्रमा अव्वल रूपमा स्थापित नाम हो इनु थापा । उहाँले यो क्षेत्रमा फेसन डिजाइनरका रूपमा आफ्ना नयाँ नयाँ क्रिएशन पस्किँदै आउनुभएको छ । उहाँ सन् २०१२ देखि लगातार मिस टिन नेपालका लागि पनि डिजाइन गर्दै आइरहनु भएको छ, जुन प्रतियोगिता काठमाडौं जेसिसले गर्ने गर्छ । यस्तै, नेपालमा हुने अन्य प्रतियोगितामा पनि उहाँका डिजाइन प्रस्तुत हुने गर्दछन् । इनु फेसन क्षेत्रमा जति लोकप्रिय हुनुहुन्छ, समाजसेवमा पनि अग्रणी रूपमा आफूलाई स्थापित गर्नुभएको छ उहाँले । त्यस्तै, उहाँ फेसनसम्बन्धी प्रतियोगिताको निर्णायकका रूपमा पनि देखिनुहुन्छ । इनुका क्रिएशनले सर्वत्र चर्चा बटुलिरहँदा उहाँलाई थुप्रै पुरस्कार र सम्मान पनि प्राप्त भएका छन् । नेपालको फेसन क्षेत्रलाई थप उचाइ प्रदान गर्नुभएकी इनुसँग छलफलका लागि टीबी विरहीले गरेको कुराकानीको संक्षिप्त अंशः–

यहाँ लामो समयदेखि यो क्षेत्रमा रहेर आफ्ना क्रिएशनमार्फत वाहवाही बटुल्न सफल हुनुहुन्छ, कस्तो छ फेसनको अवस्था ?

पहिलाभन्दा अहिले यसतर्फ धेरैको रूचि बढेको छ । फेसनतर्फ सचेतना बढेको पाउँछु म । गाँस, बास र कपासको स्थायित्वपछि मानिस स्टाइलिस हुन चाहेको मैले पाएकी छु । पछिल्लो समय वेस्टर्न फेसन जस्तो आयो यहाँ पनि त्यसलाई फलो गर्ने बढेका छन् ।

हामीकहाँ फेसनप्रतिको लगाव कस्तो पाउनुहुन्छ ?

हामीकहाँ यसले गुणात्मक विकास गरेको छ । हिजोआज पहिरनमा विविधता आएको छ । आधुनिक मानिसहरूबीच पछिल्लो फेसन अपनाउने होड नै चलेको छ । उनीहरूको धेरैजसो कुराकानी पनि फेसनकै विषयमा हुन्छ । सबैजसो मानिस सकेसम्म समयअनुरूपको फेसन अँगालेर हिँड्ने भएकाले पार्टी, कार्यालय, बजार वा कुनै पनि औपचारिक एवं अनौपचारिक कार्यक्रममा वस्त्राभूषणको चमकदमक देख्न सकिन्छ । फेसनको दुनियामा आएको यस प्रकारको परिवर्तनले पहिरनको महत्वलाई उजागर गर्छ ।

यसलाई स्ट्याटस सिम्बोल पनि मान्न थालिएको हो ?

हो, अहिले आएर हरेक उमेर, वर्ग तथा मौसम सुहाउँदो पहिरनमा देखिनुलाई मानिसहरू स्ट्याटस सिम्बोल पनि मान्न थालेका छन् । उनीहरू मौसम तथा उत्सवअनुरूप बुटिक तथा रेडिमेड वेयरका शोरूम धाउँछन् । विवाहका लागि किनमेल गर्दा बुटिक छनोट गर्छन् । बुटिकमा जानु अब दिनचर्या बनिसकेको छ ।

नेपाली महिलाहरूमा ‘ड्रेस सेन्स’ कस्तो रहेको पाउनुहुन्छ ?

नेपाली महिलाहरूमा छोटो अवधिमै ड्रेस सेन्स विकसित भएको पाउँछु म । पार्टीमा जाँदा महिलाहरू चिटिक्क परेर आउँछन्, डिस्को पार्टीमा निलेन्थ प्रकमा कम्मर मर्काउँछन् भने अफिस जाँदा उनीहरू फर्मल वेयरमा देखिन्छन् । फेसन कन्सियस भएको पाउँछु म नेपाली महिला । पहिले बुटिकमा जाँदा ग्राहकहरू कुन पहिरन कसरी लगाउने भनेर प्रश्न गर्थे तर अहिले उनीहरू आफ्नै डिजाइन लिएर आउँछन् । कोही पत्रिकाको कटिङ ल्याउँछन् भने कोही सिरियल र नायिकाहरूको रिफ्रेन्स लिएर पनि आउँछन् । अहिले काठमाडौं, पोखरालगायतका नेपालका सहरका महिलाहरूको फेसनप्रति रूचि अत्यधिक रहेको पाउँछु म । नेपाली महिलाहरू दक्षिण एसियामै फेसनेबल भएको पनि बताइन्छ ।

हामीले कस्तो कस्तो कुरामा ध्यान पु¥याउनु पर्छ फेसन गर्दा ?

यसलाई व्यक्तित्वसँग पनि त्यसरी जोडेर हेर्ने गरिन्छ । अहिले बजारमा पहिरन र फेसनका हिसाबले विभिन्न थरीका पहिरन पाइन्छन् । पहिरन नसुहाएजस्तो लाग्दा त्यसले व्यक्तिको आत्मविश्वासमा कमी ल्याउँछ । अरूले केही भन्लान् कि भन्ने आशंकाले मनमा ग्लानि पैदा हुन्छ । आफूलाई नसुहाउने पहिरनले जो–कोहीलाई पनि मानसिक तनाव दिनु स्वाभाविक हो । कहिलेकाहीँ आफूलाई मन नपरेको शरीरको भाग लुकाउन मानिसहरू बढी समय खर्चन्छन् । यसले समस्या कम गर्नुको साटो समस्या भएको अंग अझ बढी हाइलाइट हुन्छ । कसैलाई आफ्नो हिप मन पर्दैन भने ठूल्ठूला पकेट भएका वा प्रिन्ट गरिएका जिन्स प्रयोग गर्नु हुँदैन ।

कस्तो डिजाइन गर्न मन पराउनु हुन्छ ?

म सबै प्रकारका डिजाइन गर्र्छु । विगत लामो समयदेखि यसैमा छु । स्लिम तथा मोटा मानिसका लागि डिजाइन गर्न मन लाग्छ । परफेक्ट फिगरलाई त जसले पनि डिजाइन गर्न सक्छ तर मोटा मानिसलाई आकर्षक देखाउनु अर्को चुनौती हो । मलाई चुनौतीका काम गर्दा रमाइलो लाग्छ । यो व्यवसाय अन्य व्यवसायभन्दा चुनौतीपूर्ण छ ।

क्रिएटिभिटी हुन जरुरी छ होइन ?

हो नि । यो व्यसायमा क्रिएटिभिटी हुन जरुरी छ । सानो सानो कुरामा पनि कसरी प्रस्तुत गर्ने भन्ने हुनुपर्छ आफूमा ।

कसरी आकर्षित हुनुभयो यो क्षेत्रमा ?

खासमा म यही पेसा अँगाल्छु भनेर पढेको होइन । म ट्राभल व्यवसायसँग सम्बन्धित मान्छे हुँ । तर, पछि फेसनसम्बन्धी पढेपछि मैले जानेका कुरा अन्यलाई किन नपस्किने भनेर यो पेसा अँगालेकी हुँ ।

सन्तुष्ट हुनुहुन्छ ?

एकदमै सन्तुष्ट छु । आफूले गरेका कामले तारिफ पाइरहँदा अझ हौसला बढ्ने गरेको छ ।
समाजसेवामा पनि यहाँलाई अग्रणी रूपमा देखिने गरिन्छ नि ?
हामी यो धर्तीमा आइसकेपछि, बुझ्ने भइसकेपछि हाम्रो समाजप्रतिको दायित्व पनि हुन्छ । त्यो दायित्वलाई हामीले पूरा गर्नुपर्छ । म हरेक समाजिक कार्यमा सक्रिय भएर लागिरहेकी हुन्छु । पछिल्लो समयमा कोरोना कहरबाट पीडित भएकाहरूका लागि केही सहयोग पु¥याउने कार्यमा लागिरहेकी छु । यसले छुट्टै आनन्द प्राप्त हुन्छ, छुट्टै सन्तुष्टि प्राप्त हुन्छ । म जेसीआईको पहिलो नेपाली महिला पनि हुँ । यसमार्फत पनि धेरै समाजसेवाका काम गरिएको छ ।

यहाँ फेसनसम्बन्धी विभिन्न कार्यक्रमको निर्णायक पनि हुनुहुन्छ र थुप्रै पुरस्कार तथा सम्मान पनि प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ आफ्ना कामले चर्चा पाइरहँदा र गरेका कार्यले सफलता चुम्दै गर्र्दा ?

पक्कै पनि आफ्ना कामहरूले सफलता पाइरहँदा जो कोहीलाई पनि आनन्दको अनुभूति हुने गर्दछ र त्यो ममा पनि लागू हुन्छ । म यो क्षेत्रमा लामो समयदेखि आफ्ना क्रिएशनहरू पस्किरहेकी छु । मेरो कामले तारिफ पाउँदै गर्दा विभिन्न पुरस्कार र सम्मानहरू पनि प्राप्त भएका छन् । यसले अझ बढी हौसला प्रदान गर्दोरहेछ । यस्तै फेसनसम्बन्धी विभिन्न आयोजनामा निर्णायकको भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दै आइरहेकी छु । खुसी लाग्छ फर्केर हेर्दा । राम्रो गरिरहेकी छु भन्ने नै लाग्छ ।