जीवनसँग गीतसंगीत जोडिएको हुन्छः गायिका केसी


गायिका सुजता केसी नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनहुन्छ । सानैबाट गीतसंगीतमा लगाव भएकी सुजतालाई उहाँका पिताले गीत संगीतका क्षेत्रमा निक्कै हौसला र प्रेरणासहित साथ दिएका कारण आज आफू यो क्षेत्रमा राम्रा राम्रा प्रस्तुति पस्किन सफल भएको उहाँ बताउनुहुन्छ । उहाँका ‘क्या बाल, अल्झियो फरिया, मलाई के थाहा त, बाजा बजाउँदै, ओए कान्छी, ‘क्या बबाल’, ‘माया माया’ जस्ता गीत र चार्डपर्वका गीतमा यसपालीको तिहार, छमछम पाउँजु त्यस्तै राष्ट्रिय गीत तथा चलचित्रका थुप्रै गीतमा स्वर दिनुभएको छ । सुजता गायनमा मात्र नभएर अभिनयमा पनि उत्तिकै पोख्त हुनुहुन्छ । उहाँले चलचित्र ‘सूर्या’मा शीर्ष अभिनेतृका रुपमा अभिनय गर्नुभएको छ भने आफ्नै गीतका विभिन्न भिडियोमा पनि उहाँलाई देख्न सकिन्छ । वि.सं. २०७० सालमा आफ्नो पहिलो एल्बम आधुनिक पप् गीतीएल्बम ‘काकाकुल’ बाट गायन यात्रा सुरु गर्नुभएकी सुजताले ०७१ सालमा पनि तीनवटा गीत समावेश भएको ‘छमछम पाउजु’ नामक एल्बम स्रोता÷दर्शकमाझ ल्याउनुभएको थियो । सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय रहँदै आउनुभएकी सुजाताका कर्मले तारिफ बटुलिरहँदा थुप्रै सम्मान तथा अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । गीत संगीत र कला क्षेत्रमा नै आफूलाई पूर्णरुपमा समर्पित गर्नुभएकी सुजता केसीसँग छलफल साप्ताहिकका लागि डम्बर बस्नेतले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः

अहिले के गर्दै हुनुहुन्छ ?
गीत संगीत नै मेरो कर्म हो, त्यसैका कार्यहरुमा व्यस्त रहँदै आएको छु । त्यसलाई पनि निरन्तरता दिइरहेको छु । गीत संगीतका कामहरू छन्, तिनैको कार्य गरिरहेको छु । सबैले मलाई माया गर्नुहुन्छ, सम्झनुहुन्छ र हौसला प्रेरणा दिइरहनुहुन्छ यसैमा व्यस्त छु ।

यो क्षेत्रमा कसरी आउनुभयो ?

मेरो जन्म दक्षिण ललितपुरमा भएको हो । मेरो कलाक्षेत्रप्रति सानैदेखि थियो । यो क्षेत्रको मोह सानो छँदादेखि नै भएको हो । सानोमा हाँस्दा, खेल्दा, बोल्दा जतिबेला पनि कलाकारिता नै व्यक्त हुने गरेको कुरा मेरा अभिभावकहरूले बताएको कुरा आज पनि म सम्झन्छु । मलाई लाग्छ, म यस धर्तीमा त्यसैका लागि जन्मिएको हुँ । नत्र भने मेरो अवोध बाल मस्तिष्कले किन अभिनय गरिरहेको थियो त ! स्कूलमा विविध सांस्कृतिक कार्यक्रमहरु हुन्थे । मेरो बाबा गणेश केसी स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँले आफैंले कम्पोज गरेर गीत गाउने र विद्यार्थीलाई सिकाउनुहुन्थ्यो । सानैदेखि त्यही माहोलमा हुर्किएर पनि होला गीत संगीत र कलातर्फ मेरो लगाव भएको । विस्तारै बढ्दै जाँदा म यो क्षेत्रबाट कहिल्यै छुटिन नसक्ने गरी जोडिएकी थिएँ ।

पहिलो के थियो ?

मेरो यो क्षेत्रको लगाव देखेर अनौपचारिक रुपमा सानैदेखि नै गीत गाउन र अभिनय गर्न लगाइयो । म पनि गाउन र अभिनय गर्न भनेपछि हुरुक्कै हुन्थे । पछि वि.सं. २०७० सालमा पहिलो एल्बम आधुनिक पप् गीति एल्बम ‘काकाकुल’ बाट औपचारिक गायन यात्रा सुरु भयो । ०७१ सालमा पनि तीनवटा गीत समावेश भएको ‘छमछम पाउजु’ नामक एल्बम बजारमा आयो । यसले मलाई दर्शक स्रोतामाझ चिनायो । त्यसपछि थुप्रै आए ।

यस सम्बन्धी अध्ययन पनि गर्नुभयो कि ?

गरे नि । आफूमा रहेको प्रतिभालाई अझ निखार ल्याउनका लागि मैले संगीतको अध्ययन गरे । त्यसो त मेरो पहिलो गुरु मेरो बाबा गणेश केसी नै हुनुहुन्छ । उहाँसँग मैले सानैदेखि सिक्ने मौका पाए । मेरो पारिवारिक माहोल पनि गीत संगीत नै थियो । घरबाट नै संगीतको बेसिक कुराहरु सिक्ने मौका पाए । पछि व्यवसायिक रुपमा नै यो क्षेत्रमा होमिए पछि संगीतको विधालाई बुझ्दै जाँदा थप सिक्न जरुरी ठानेँ र अध्ययन गरेँ । मैले मनोजराज सिवाकोटी र दीपक रमनसँग संगीतको क्लास लिएँ ।

सांगीतिक यात्रा कस्तो भइरहेको छ ?


राम्रो भइरहेको छ । अहिलेसम्म राम्रै भइरहेको छ । राम्रै चलिरहेको छ भनौ । सबैको साथ सहयोगले थप उत्साहित छु । मन पराइदिनुभएको छ खुशी लाग्छ ।
देश विदेशका थुप्रै स्टेज कार्यक्रमा पनि रोजाइमा पर्नुहुन्छ नि ?
मेरा गीतले स्रोता÷दर्शकको मन मस्तिकमा दशतक दिइरहँदा मेरो खोजी हुनु स्वभाविकै हो भन्ने लाग्छ । मैले नेपालमा हुने थुप्रै स्टेज कार्यक्रममा आफूलाई प्रस्तुत गरेकी छु भने विदेशमा अष्ट्रेलियाको एडिलेटमा प्रस्तुति दिन पुगेकी छु ।

कस्ता गीत गाउन मनपर्छ ?

मलाई सबै किसिमका गीत मनपर्छ र सबै किसिमका गीत गाउन सक्ने खुबी राख्छु भन्ने लाग्छ । मैले आधुनिक, पप, लोकप्याट्रनका गीत, चाडपर्वका गीत त्यस्तै राष्ट्रिय गीत सबै प्रकारका गीत गाएकी छु र दर्शक÷स्रोताले पनि उत्तिकै मन पराइदिनु भएको छ ।
अभिनयतर्फ पनि आउनुभयो ?
हो, चलचित्रमा पनि अभिनय गरे, म्युजिक भिडियोमा पनि अभिनय गरेकी छु । अभियन भन्दा पनि मेरो लगाव भनेको गीतसंगीत क्षेत्रमा नै छ । गीतसंगीत नै मेरो मुख्य विषय हो ।
तपाईं कस्तो गायिका हो ?
म आफूलाई भर्सटाइल सिंगरको रुपमा चिनाउन चाहन्छु । कुनै एउटा दायराभित्र बाँधिन चाहन्न । पूर्वीय र पाश्चात्य दुवै शैलीका गीत मज्जाले गाउन सक्छु ।
कस्ता गीत सुन्नुहुन्छ बढी ?
म सबै प्रकारका गीत सुन्छु । नेपाली, अंग्रेजी, हिन्दी, रक, पप, क्लासिकल सबै गीतहरू सुन्छु ।
मनपर्ने गायक–गायिकामा ?
नेपालका गायक–गायिकाहरूमा मलाई नारायण गोपाल, तारादेवी, अरुणा लामाहरूको गीत अत्यधिक मनपर्छ ।

जीवन र संगीतलाई कसरी बुझ्ने ?

एकदमै राम्रो प्रश्न । जीवन र संगीत एकअर्काका परिपूरक हुन् । जस्तै भन्छौ नी कस्तो सुर खुसकेको मान्छे ? कस्तो ताल नभएको मान्छे ? कस्तो बेसुरको कुरा गर्छ भन्ने गरिन्छ । त्यसैले जीवनसँग गीतसंगीत जोडिएको छ । जीवन भनेकै संगीत हो र संगीत भनेकै जीवन हो । संसारमा गीत सङ्गीत मन नपर्ने को नै हुन्छ होला र !
संगीत के हो ?
संगीत साधना हो । जति सिक्यो, त्यति नयाँ नयाँ कुरा पाउन सकिन्छ ।
अन्त्यमा ?
यो साथ र संवादका लागि धेरै धेरै धन्यवाद । नेपाली गीत संगीतलाई माया गरौ । नेपाली गायक गायिकालाई हौसला प्रदान गरौं ।