‘तिहारकै बेला फेरि मूल्यवृद्धि’


काठमाडौं । तिहार नजिकिरहेको बेला उपत्यकालगायत बाहिरका ठूला सहर बजारमा अखाद्य र गुणस्तरहीन सामग्री बिक्री हुन थालेको छ । चाडपर्व नजिकिएसँगै व्यवसायीहरूको मनोमानी हुन थालेकोले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धिसँगै अखाद्य सामग्री बिक्री भइरहेको देखिएको छ ।

काठमाडौंका कतिपय पसलहरूमा प्रमाणित नभएका, समय सकिएका, मिसावट गरिएका, उत्पादन मिति नराखिएका लगायत थुप्रै अखाद्य वस्तुको बिक्री वितरण भइरहेको उपभोक्ताले जनाएका छन् । सरकारको अनुगमन फितलो हुँदा मूल्य बढाउन र यस्ता समानहरू बेचबिखन गर्ने गरेको देखिएको छ । त्यतिमात्र होइन, बसमा समेत जथाभावी रकम असुल्ने गरेको यात्रुहरूले बताएका छन् भने अन्य वस्तुहरू बिचौलियाले बढी मूल्य लिएर बेच्ने गरेको र यसले उपभोक्तालाई समस्यामा पारेको छ । यस्ता गतिविधिहरू काठमाडौंलगायत अन्य सहरमा बढी भइरहेको देखिएको छ ।

अहिले पेट्रलियम पदार्थको मूल्यसमेत अस्वभाविक रूपमा बढेको छ भने खाने तेल र तिहारका लागि आवश्यक सबै सामानको मूल्य अचाक्ली बढेको उपभोक्ताहरूले बताएका छन् । तर बेथिति बढे पनि त्यसअनुसारको कारबाही भने नभएको स्थानीयहरूको गुनासो छ । बेथिति बढिरहने, जनताले सूचना गरिरहने, सरकारी निकायका कर्मचारीहरू व्यवसायीसँगको मिलोमतोमा फाइदा लिएर हेरिरहने, अवस्थाले आमउपभोक्तालाई मारमा पारेको छ ।