विचार नभएपछि भीडतन्त्र


पछिल्लो समय मुलुकको राजनीतिक अवस्था बिग्रिँदै गएको छ । राजनीतिमा आस्था, निष्ठा, त्याग, समर्पण, वर्गीयता, अनुशासन, विधि, प्रणाली र सिद्धान्त कमजोर बन्दै गएको छ, मनि मसल र भीडले राजनीतिलाई नियन्त्रण गर्न खोजिरहेको छ । राजनीतिका लागि प्रमुख योग्यता मनि, मसल र भीड जम्मा गर्न सक्ने ताकत हुँदै गएको छ । यो मुलुको राजनीतिका लागि राम्रो होइन । मुलुकको शासन प्रणालीलाई गाइड गर्ने राजनीतिले हो, राजनीतिलाई गाइड गर्ने विचारले हो । अर्थात राजनीतिमा दल, नेता, कार्यकर्ता, समर्थक,शुभेच्छुक जनता सबै हुन्छन् । त्यो सबैलाई गाइड गर्ने विचारले हो । पछिल्लो समय नेपालको राजनीतिमा यस्तो हुन सकेको छैन । विडम्बना राजनीतिलाई मनि, मसल र भीडले गाइड गरिरहेको छ । बिग्रिएको यहीँनेर हो ।

आज कुनै पनि राजनीतिक दलका कार्यकर्ता विचारबाट गाइडेड छैनन् मनि, मसल र भीड उपयोग गर्न जान्ने, सक्ने नेताबाट गाइडेड छन् । मुलुकमा बेथिति बढ्नु, मुुलुक बेथितिले चल्नु, मुलकवासी गरिब हुनु र विदेशिनुको प्रधान कारण यही हो । अहिले राजनीति विचारबाट होइन, मनि, मसल र भीडबाट निर्देशित छ । दलका मुख्य नेता यसैबाट चलिरहेका छन् । न उनीहरूलाई विचार चाहिएको छ, न देश र जनताको हित । उनीहरूलाई मनि, मसल र भीड चाहिएको छ । अनि कसरी मुलुक समृद्ध बन्छ, मुलुकवासी सुखी बन्छन् ? दलका नेता कार्यकर्ता विचारबाट गाइडेड नहुञ्जेल ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव छैन । हिजो एमालेले महाधिवेशन जुन रूपमा सम्पन्न ग¥यो नेपाली कांग्रेसले आज त्यही ढंगले सम्पन्न गर्दै छ । करोडौं खर्च,लाखौंको भीड यो किन आवश्यक छ ? यो कहाँबाट जुट्छ ? भ्रष्टाचारी व्यापारी र कार्यकर्ताको लेबिबाट होइन ? त्यहाँबाट उठेको पैसाले भीड जम्मा गरेर, करोडौं खर्च गरेर जनताले पाउने के ? यो प्रश्न उनुत्तरित छ नेताहरूका लागि ।

हिजो एमालेले खर्च ग¥यो, भीड जम्मा ग¥यो जनताले के पाए ? आज कांग्रेसले गर्दै छ जनताले के पाउने ? कांग्रेसका कति कार्यकर्तालाई वीपीको विचारले गाइड गरेको होला ? कम्युनिस्टका कति कार्यकर्तालाई माक्र्स, लेनिन् माओ र स्टालिनको विचारले गाइड गरेको होला ?उत्तर छैन । यहाँ विचारप्रधान राजनीति हेइन, डनमुखी र धनमुखी राजनीति भयो । जसले गर्दा कांग्रेस र कम्युनिस्ट पार्टीभित्र हाटहुटे, डाङडुङे,चाप्लुसीवाज ठेकेदार, व्यापारी र नबधनाढ्यहरूको रजाई भएको छ भने पार्टीप्रति त्याग, संघर्ष, आस्था निष्ठामा चल्ने इमान्दारवर्गको सफाया भएको छ । पद, पैसा र पावरका पछाडि भीड दौडिरहेको छ । पार्टी नेतृत्व भीड हेर्दै त्यो कामका पारखीहरूलाई भटाभट नेता बनाइदिइरहेको छ । यसैले सबै कुरा बिग्रिएको छ । अर्थात भीड केन्द्रित राजनीतिले सक्षमहरूलाई पाखा लगाइदिएको छ भने धनाढ्य नवप्रवेशीहरूलाई स्थापित गराइदिएको छ । भुत्ते नेताले पार्टी पनि भुत्ते बनाइदिएको छ । यसैले सबै कुरा बिग्रिएको छ । यसको अन्त्य जरुरी छ । विचार केन्द्रित पार्टीले नै सक्षम नेतृत्वको चयन गर्न सक्छ र सक्षम नेतृत्वले मात्र मुलुक र जनता समृद्ध बनाउन सक्छ ।

नेतृत्व आँखा नदेख्ने र लौरो समाउने नहुञ्जेल नछोड्ने, आफू र आफ्ना आसेपासेबाहेकलाई केही नगर्ने, चाकडी चाप्लुसी नगर्नेलाई खराब देख्ने त्यस्तालाई केही जिम्मेवारी नदिने भएकोले सबै कुरा बिग्रिएको छ । यसको अन्त्य विचारबाट निर्देशित भिजनवाहक दूरदर्शी नेतृत्वबाट मात्र सम्भव छ । यसका लागि मनि, मसल, भीड र गुटलाई घृणा गर्ने पिँढीलाई राजनीतिक नेतृत्व सुम्पिनु पर्छ । यो काम प्रमुख पार्टीहरूमा हुनु जरुरी छ । कांग्रेसको महाधिवेशनमा अपवादबाहेक गुटलाई भन्दा जनताको हितमा काम गर्न सक्ने नेतालाई जिम्मेवारीमा ल्याएको देखिएको छ भने मनि, मसल, गुट बोक्ने र भीडबाट आफू राजनीतिमा स्थापित हुन खोज्ने राजनीतिक बेइमान र अनुशासनहीन परम्परावादीहरू आंशिक भए पनि पराजित भएका छन् । यो शुभ संकेत हो ।

यो सबै पार्टीको नेतृत्व तहमा पनि हुनुपर्छ । गुटफुट, मनि, मसल र भीडबाट पद, प्रतिष्ठा आर्जन गर्न खोज्नेहरूको पत्तासाफ हुनुपर्छ । विचारप्रधान आस्था, निष्ठा र क्षमताको सफा राजनीति सुरुवात हुनुपर्छ । अनि मात्र देश बन्छ । कांग्रेसको नेतृत्वमा विचारवान् त्यस्तो नेतृत्व नदेखिएता पनि त्यसभन्दा तल कांग्रेसका आशालाग्दा नेताहरू महाधिवेशनबाट निर्वाचित भएका छन् । तीबाट केही आशा गर्न सकिन्छ । यसो हुनु एमालेलगायत अन्य दलमा पनि जरुरी छ । सुरुवात गरेकाले गरिहाले नगरेकाले आजैबाट गर्नुपर्छ । आज जनताले चाहेको र मुलुकले खोजेको पनि यही हो ।