
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हिजो भेटवार्ता गर्नुभएको छ । ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा उहाँले अध्यक्ष दाहालसँग काठमाडौं महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गर्नुभएको थियो । भेटमा प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराउनुभएको बताईएको छ ।
अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा आफ्नो साथ र सहयोग रहने विश्वास दिलाउनुभएको थियो । अध्यक्ष दाहालले धरान, काठमाडौंलगायतमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले मुलुकमा नयाँ क्रान्तिको शुरुवात भएको बताउनुभएको सचिवालयले जनाएको छ । महानगर प्रमुख शाहले अध्यक्ष दाहालसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेण्डा बोक्न सक्ने र दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको जानकारी दिनुभयको थियो । यसअघि शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरिसक्नुभएको छ ।