समग्र परिवर्तनको रक्षाका लागि विद्रोह गरिएको


 समग्र परिवर्तनको रक्षाका लागि विद्रोह गरिएको- अध्यक्ष नेपाल


पोखरा,साउन २१
 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समग्र परिवर्तनको रक्षाका लागि विद्रोह गरिएको बताउनु भएको छ । मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष नेपालले संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह र आकर्षण बढेको उहाँको भनाइ थियो ।

 आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर थप स्थापित गर्नेसमेत बताउनु भयो ।
अध्यक्ष नेपालले पार्टीका नेता-कार्यकर्तालाई सङ्गठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशनसमेत दिनुभयो ।  गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउन समेत आग्रह गर्दै  ‘गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नुहोला । जनताको दुःख, सुखमा साथ दिने काम गरेर निर्वाचनमा पार्टीलाई महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्नुपर्नेछ ।’ उहाँको भनाई थियो ।

297952619_3212062662455409_6051563455613914602_n1659803063.jpg

गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा जित्न सफल भएको उनले उल्लेख गर्दै अध्यक्ष नेपालले धेरै स्थानमा पार्टीको चुनाव चिह्न जनतालाई चिनाउन नसकेको र धेरै मत बदर भएकाले समेत अपेक्षित नतिजा प्राप्त हुन नसकेको बताउनु भयो ।

नेपालमा मुस्लिम समुदायमा रहेको गरिबी अन्त्य गर्नुपर्ने खाँचो रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको तर्फबाट पिछडिएको वर्गका लागि विशेष ध्यान दिनुपर्ने बताउनु भयो । सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुन, पोखरा महानगरका प्रमुख धनराज आचार्य, मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष ताजमहमद मियाँलगायतले मुस्लिम समुदायको हक-अधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।