बजार अनुगमनलाई प्रभावकारी बनाउँछौं– महानिर्देशक चिलुवाल


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले चाडबाडको समयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने बताएका छन् । उनले विभागले अरुबेला पनि अनुमगन गरिरहेको भन्दै चाडबाडका समयमा आउने गुनासोलाई कम गर्न आफू लागिपरेको बताएका छन् ।


नेपालीहरुको ठूलो चाड दशैं, तिहार तथा छठ नजिकिँदै गर्दा जनता महँगीको मारमा पर्दै आएका छन् । अनियन्त्रित मूल्यबृद्धि हुन थालेपछि सरकार र सम्बन्धित निकायप्रति मानिसले गुनासो गर्न थालेका छन् । महानिर्देशक चिलुवालले व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पु¥याई उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी आफूहरुको रहेको बताएका छन् । उनले विभागले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरिसकेको बताए । उनले सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरेर उपभोक्ताको हितमा काम गर्ने जनाएका छन् । ‘खाद्य पदार्थको आपूर्ति र मूल्यका विषयमा सञ्चारमाध्यम र आम उपभोक्ताबाट गुनासो आइरहेको देखिन्छ तथापि विभागले आफ्नो दायित्वलाई ध्यान दिँदै बजार अनुगमनलाई सघनरुपमा आफ्नो काम गरिरहेको छ’ महानिर्देशक चिलुवालले भने ‘अहिले केही वस्तुको मूल्य समग्ररुपमा घटेको छ, चामलको थोक बिक्री मूल्य प्रतिबोरा ५० रुरुपैंयादेखि देखि एक सयसम्म घटेको अवस्था छ, दलहन प्रकृतिका केही खाद्य वस्तुमा थोरै मूल्य बढेको देखिएको छ, चिनीको मूल्य अलि बढी देखिएको छ ।’

उनले आन्तरिक उत्पादन कम भएको र समयमै खाद्य वस्तुको आयात नहुनुलगायत कारणबाट उपभोक्ता मूल्यमा प्रभाव परेको स्पष्ट पारे । उनले अहिले आपूर्ति प्रणालीमा कुनै समस्या नभएको दाबी गरे । ‘दैनिक उपभोग्य वस्तुको अभावको अवस्था छैन । दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा अत्यधिक मूल्यवृद्धि भई विभिन्न माध्यमबाट आएका गुनासोका सम्बन्धमा भन्सार विभाग र स्वयम् उत्पादक, वितरक तथा पैठारीकर्ताबाट तथ्यांक माग गरी मूल्य विश्लेषणको कार्य भइरहेको छ’ उनले थपे ‘ सरकारले भर्खरैमात्र ५० प्रतिशत भन्सार महसुल छुटमा २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ । सहुलियत भन्सार दरमा चिनी ल्याउने प्रक्रिया अगाडि बढेको छ । २० हजार मेट्रिक टनका साथै थप ३० हजार मेट्रिक टन चिनी आयात गर्ने तयारीमा सरकार रहेको छ । ५० हजार मेट्रिक टन चिनी आइसकेपछि बजारमा सहज अवस्था सिर्जना हुन्छ ।’


स्वच्छ बजार कायम गराउने तथा उपभोक्तालाई ठगिनबाट जोगाउने जिम्मेवारी विभागको रहेको भन्दै उनले अनुगमन गर्ने आफूहरुको नियमित काम भएको पनि बताए । विभागको वार्षिक कार्यक्रममा अनुगमन पनि पर्ने गरेको छ । उनले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार विभागले नियमित रुपमा बजार अनुगमन गरिरहेको जानकारी दिए । विभागले चाडपर्वलक्षित संयुक्त बजार अनुगमन कार्यक्रम ल्याएको छ । चाडपर्वलक्षित संयुक्त बजार अनुगमन कार्ययोजना, २०८० पनि जारी भएको छ ।


कार्ययोजनाअनुसार ‘दश जोड दुई’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यसमा उपभोक्तासँग सम्बन्धित विभिन्न १० वटा निकायको प्रतिनिधित्व हुने गरी १० वटा टोली रहेको छ । टोलीमा वाणिज्य, खाद्य तथा गुण नियन्त्रण, औषधि व्यवस्था, स्वास्थ्य सेवा, आन्तरिक राजस्व, नापतौल तथा गुणस्तर, कृषि, पशुसेवा र पर्यटन विभाग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको सहभागिता रहेको छ । ‘दश जोड दुई’ कार्यक्रमअन्तर्गत १० वटा अनुगमन टोलीले दैनिक १० वटा फर्मको अनुगमन गर्ने गरी व्यवस्थापन गरिरहेको विभागले जनाएको छ ।

काठमाडौं बाहिरको हकमा कार्टेलिङ’ गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अखाद्य वस्तु मिसावट गर्नेलगायत उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने खराब प्रवृत्तिका व्यवसायीलाई कारबाही गर्नका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ ले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेको उनले बताए । उनले स्थानीय तहले आफू नजिक रहेर गुणस्तरीय वस्तु तथा सेवा पाउने उपभोक्ताको हकलाई स्थापित गर्नका लागि बजार अनुगमन गरिरहेको बताए ।


प्रदेशमा पनि वाणिज्य हेर्न निकायलाई पनि बजार अनुगमनको अधिकार प्रत्यायोजन गरिएको छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन कार्यलाई सघन र प्रभावकारी बनाउन उपभोक्ता संरक्षण ऐन र नियमावली, २०७६ को प्रावधानअनुसार योग्यता पुगेका विभागमा कार्यरत सम्पूर्ण अधिकृतस्तरका कर्मचारी, ७७ वटै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र सात सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृतको अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ । चिनीको मूल्य बढिरहेको विषयमा उनले भने ‘ हाम्रो देशको कूल मागको ५० प्रतिशत चिनी स्वदेशी उद्योगबाट आपूर्ति हुँदै आएको छ ।

बाँकी आयातबाट पूर्ति हुँदै आएको अवस्था हो । समयमा आयात नहुँदा आपूर्ति चक्र टुटेको हो कि भन्ने देखिएको छ । तथापि, अहिले त्यस्तो अवस्था छैन । परिमाणात्मक रुपमा चिनी प्राप्त छ तर चिनीको मूल्यमा अलिकति वृद्धि भएको छ भनेर गुनासो आइसके पछाडि हामीले चिनीको कुन तहमा मूल्यवृद्धि भएको हो भनेर अनुसन्धान गरिरहेका छौं ।’


उत्पादक वा पैठारी, थोक वा खुद्रा बिक्रेता वा तल्लो तहमा कहाँनेर चिनी मूल्य वृद्धि भएको छ ? भन्ने सन्दर्भमा यथार्थ पत्ता लगाउन कार्यदल गठन गरेको भन्दै उनले कार्यदलले केही दिनभित्रै प्रतिवेदन दिनेसमेत बताए ।


उनले कोही कसैबाट उपभोक्ता हितविपरीतका गतिविधि भए/गरेको, खाद्यवस्तुमा लेबल नराखी बिक्री गरेको, मिसावट गरिएको देखिएको अवस्थामा सचेत उपभोक्ताले निःशुल्क हटलाइन ११३७ नम्बरमा जानकारी गराउन पनि सबैलाई अनुरोध गरेका छन् ।