१८ गतेदेखि अग्रिम टिकट काट्न पाइने


काठमाडौं । सरकारले यो वर्षको दशैंका लागि असोज १८ गतेदेखि अग्रिम टिकट खुलाउने तयारी गरेको छ ।


यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले असोज १८ गते वा २० गतेदेखि अग्रिम टिकट खुला गर्ने जानकारी दिए । उनका अनुसार यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतसँग सामूहिक बैठक बसेर यसबारे निर्णय हुने बताए । यसअघि असोज ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको संयोजकत्वमा बैठक बसी कमिटी गठन भएको थियो । यो वर्षको घटस्थापना असोज २८ गते परेको छ । कात्तिक ४ गते फूलपाती र कात्तिक ७ गते दशैंको टीका परेको छ । यातायात व्यवसायीहरूले भने अग्रिम टिकट खोल्नुभन्दा अगाडि आफूहरूका विभिन्न माग पूरा हुनुपर्ने अडान राखेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मागहरू सरकारले पूरा गर्नुपर्ने र त्यसपछि मात्रै दशैंको अग्रिम टिकट खोल्नुपर्ने बताए । उनले अवरुद्ध बाटा खुलाउनुपर्ने, पहाडी क्षेत्रको लामो रुटको सडक पीच गरी सुरक्षित गर्नुपर्ने र भाडा समायोजन गर्नुपर्ने यातायात व्यवसायीहरूको माग राखेका छन् ।


उनले सरकारले सडक सुरक्षाप्रति चासो नदेखाएको भन्दै गुनासो गरे । ‘असोज ५ गते नै यातायातमन्त्रीको संयोजकत्वमा कमिटी बनेको थियो, त्यो कमिटीले ती मागबारे हेर्ने, बाटोघाटोको अवस्था अध्ययन गर्ने र त्यसको एक हप्तापछि पुनः बैठक बस्ने भन्ने कुरा भएको थियो तर सरकारले यसलाई वास्ता गरेन, अहिलेसम्म बैठकबारे मौन छ’, उनले भने । सिटौलाले यो वर्षको दशैंमा उपत्यकाबाट करिब १२ लाख व्यक्ति बाहिरिने अनुमान यातायात व्यवसायी गरेको बताएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘यो वर्षको दशैंमा १० देखि १२ लाख मानिसहरु उपत्यकाबाट बाहिरिन्छन् होला भन्ने हाम्रो अनुमान छ ।’ उनले यी सबै यात्रुलाई सुरक्षित ढंगले गन्तव्यमा पु¥याउने पनि बताए । उनका अनुसार अघिल्लो वर्ष १७ लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिएका थिए । यातायात व्यवसायीहरूले भाडा समायोजन गर्ने माग गरिरहँदा सरकार भने तत्काल समायोजन गर्ने पक्षमा नदेखिएको उनीहरुले आरोप लगाएका छन् ।