बिपतका बेला सबै दलहरुको एउटै स्वर


कार्तिक १९ गते, काठमाडौं । अरुबेला आ–आफ्नै अडान लिने दलहरु बिपतका बेला भनें एउटै लाइनमा आउने गरेका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जनजिवन अस्तव्यस्त बनाएको छ ।


यो असहज अवस्थामा सबै दलहरुले एक भएर अघि बढ्न सबैलाई आग्रह गरेका छन् । दलहरुले शनिबार विज्ञप्ती प्रकाशित गरी राहत, उद्वार र पुनस्र्थापनामा लाग्न आफ्ना नेता तथा कार्यकर्ताका साथै सबैलाई अनुरोध गरेका छन् । पार्टीले प्रकाशित गरेको विज्ञप्तीमा असहज अवस्थामा सबैले हातेमालो गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले आफ्ना पूर्वनिधारित कार्यक्रम स्थगित गरेको छ । पार्टीले पूर्वनिर्धारित कार्यक्रम सञ्चालन गरिरहँदा राहत र उद्वारमा असर पर्ने भएकाले ती कार्यक्रम स्थगित गरिएको जनाएको छ । संसदमा प्रतिनिधित्व गरेको हुन् वा अन्य पार्टीले पनि यो बेलामा एकताको लागि अपील गरेका छन् । नेपाली कांग्रेसले राज्यको कोषमा पार्टीको तर्फबाट ५० लाख रुपैंयाँ उपलब्ध गराउने जनाएको छ ।

पछिल्ला दिनमा कांग्रेस यी र यस्ता सामाजिक कार्यमा सक्रिय बन्दै आएको छ । प्रदेश सरकारले पनि भूकम्प प्रभावित दुई जिल्लामा सहयोग गर्ने भन्दै नगदसहित आवश्यक राहत सामग्री पठाउने जनाएका छन् । सबैजसो प्रदेश सरकारले यसको औपचारिक घोषणा गरेका छन् । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा जनजिवन अस्तव्यस्त बन्दै गएको छ । घाइतेहरुको उपचारमा पनि समस्या भएको छ । अस्पताल र स्वास्थ्यचौकीहरुले सामान्य रोकथामका लागि पनि औषधि र जनशक्तिको अभाव भएको बताउँदै आएका छन् । गम्भीर घाइते कतिपयलाई प्रदेश सदरमुकामका अस्पतालमा ल्याएर उपचार गराइएको छ । कतिपय अस्पतालले यस्तो असहज अवस्थामा सहयोग गर्ने भन्दै निःशुल्क उपचार गरिदिने घोषणा पनि गरेका छन् । रातको समयमा भूकम्प आएकाले मानिसहरु भाग्न नपाएकाले बढी मानवीय क्षति भएको जनाइएको छ । यी दुई जिल्लामा रहेका प्रायजसो पुराना सबै घरमा क्षति पुगेको स्थानीयले जनाएका छन् । हिजो बिहानैदेखि त्यहाँका स्थानीय तहका साथै, नागरिक, प्रहरी प्रशासनलगायतले सक्रियता देखाइरहेका छन् ।


पार्टीहरुले यो बेला देखाएको एकता र सहकार्यलाई सकारात्मक रुपमा लिनुपर्छ । उनीहरुले यो असहज अवस्थामा राजनीतिक दाउपेच छोडेर राहत र उद्वारमा लाग्नुपर्ने जनाएका छन् । केही पार्टीका विभिन्न संगठनका मानिसहरु त्यतातिर जाने क्रममा नै छन् । नेकपा एमालेले दसैँ, तिहार, छठ र नेपाल संवतको अवसरमा विभिन्न जिल्लामा राखिएको चियापान तथा शुभकामना कार्यक्रम स्थगित गरेको छ ।


एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले शनिबार राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिए । उनले राहत र उद्धारको काममा केन्द्रित हुनुपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताए । एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत संकलनमा सहयोग गर्न आग्रह गरेको छ ।


पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकार र स्थानीय जनप्रतिनिधि एवं सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहत कार्यमा आवश्यक भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले भूकम्प प्रभावित क्षेत्रमा हुने जोखिम न्यूनीकरणमा पनि ध्यान दिन सरकारसँग आग्रह गरे । अध्यक्ष नेपालले अब हुनसक्ने क्षतिलाई ध्यानमा राखेर बाँकी काम गर्नुपर्नेमा सरोकारवाला निकायहरू चनाखो हुनुपर्नेमा जोड दिए ।


२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा धेरै धनजनको क्षति भएको थियो । संविधान निर्माण गर्नुपर्ने यो बेलामा दलहरु अलग–अलगतिर फर्किएको यो बेला भूकम्पपछि सबै दल एक भएका थिए । उनीहरुले भूकम्पबाट प्रभावितलाई कसरी राहत दिन सकिन्छ भन्ने छलफल गरेसँगै देश र जनताको विषयमा पनि सोचेका थिए । फलस्वरुप असोज ३ गते नेपालको संविधान जारी भयो । त्यो भूकम्पले पु¥याएको क्षतिका कारण अझै पनि मानिसको दैनिकी सहज बन्न सकेको छैन । पटकपटक जिल्लाकेन्द्रित भूकम्प गइरहने भएकाले पनि मानिसमा संकटमाथि संकट पर्ने गरेको छ ।


सरकार र अन्य निकायले बिपत कुनै दिन आउन सक्छ भन्ने थाहा पाउँदापाउँदै पनि पूर्वतयारी गर्न सक्रियता नदेखाउने गरेकाले अनाहकमा धेरैले ज्यान गुमाउनुपरेको छ । सम्भावित खतरा आउँदैछ भन्ने सूचना दिने संयन्त्रको विकास गर्न सकिएमात्र पनि क्षतिलाई कम गर्न सकिन्छ । विकसति देशमा बिपतको सूचना केही समयअघि नै दिने भएकाले गर्दा मानिसहरुले आफ्नो तयारी गर्न पाउने गरेका छन् । यो बेलामा सरकारले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने जरुरी छ ।