सार्वजनिक पदाधिकारीमा हुनुपर्ने गुणहरू


डा. दामोदर रेग्मी

सरकारले जनताप्रति प्रवाह गर्नु पर्ने सेवा सुविधाहरु सरकारले आफ्नो संयन्त्रको परिचालनबाट गर्नेे गर्दछ । सरकारी सेवा सुविधाको प्रवाहको संयन्त्र तथा जन आकांक्षाहरुलाई नीति निर्माणको लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पु¥याइदिने सम्वाहकको रुपमा सार्वजनिक पदाधिकारीहरुको भूमिका अति नै महत्वपूर्ण रहने गर्दछ ।


विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकांक्षाको तह पनि उच्च रुपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक पदाधिकारीहरुको कार्यक्षमता, प्रभावकारिता र सवल उपस्थिति अनिवार्य शर्त हुन आउछ । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक पदाधिकारीहरुमा हुनु पर्ने न्यूनतम मूलभूत विशेषताहरु हुन् । यी विशेषताहरुको सक्षम उपस्थितिले नै सक्षम सार्वजनिक निकायको अपेक्षा गर्न सकिन्छ र यी विशेषताहरुको न्यून उपस्थिति वा क्षयीकरणले समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ , जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्दछ ।
सार्वजनिक भूमिकाको यो गरिमा र महत्वलाई दृष्टिगत गरेर यसलाई सक्षम र प्रभावकारी बनाउन विभिन्न उपायहरुको अवलम्बन गरिएको हुन्छ । सबैको सहज पहुंच निष्पक्षता सहितको प्रतिस्पर्धा, योग्यतामा आधारित छनोट प्रणाली, विज्ञता र विशेषज्ञता, वृत्ति विकासको स्पष्ट मार्गचित्र, उत्प्रेरणाका संयन्त्रहरुको प्रयोग उत्तरदायित्व, पारदर्शिता तटस्थता सदाचारिताको सैद्धान्तिक अवलम्बन सार्वजनिक पदाधिकारीहरुलाई सक्षम र प्रभावकारी बनाउने उर्जावान संयन्त्रहरु हुन् ।


सार्वजनिक पदाधिकारीहरु सरकारको अंग भएर मात्र होइन समाजको एउटा आदर्श चरित्रको रुपमा समेत स्थापित हुनुपर्ने कारणले यो अंग बढी सक्षम र प्रभावकारी हुनुपर्दछ । उनीहरुको सक्षमता र प्रभावकारिता भनेको पेशागत दक्षता सहितको व्यवसायिकता, कार्यसम्पादनमा तटस्थता र निष्पक्षता, कानुनको परिपालना गर्दै व्यवहारोपयोगी अन्तरवैयक्तिक सम्बन्धको निर्माण र सेवाग्राहीसँगको सहिष्णुता, भ्रष्टाचार रहित कार्यशैलीले युक्त सदाचारिताको अवलम्वन जस्ता कसीमा उत्तम सावित हुनु हो । यी सवै कार्यमा शासकीय संयन्त्रका अन्यपात्रहरुको भूमिका पनि यसै आयामको परिवेशमा केन्द्रित रहनु आवश्यक हुन्छ।
यस्ता सवल पक्षहरुको प्रभावकारिता व्यक्तिले हासिल गरेको औपचारिक शिक्षा, वातावरणीय पर्यावरण, सामाजिक पर्यावरण, रहनसहन, सांस्कृतिक परिवेशमा निर्भर रहन्छ । यसको अतिरिक्त व्यक्ति विशेषमा आन्तरिक रुपमै सिर्जित हुने मूल्य मान्यता प्रतिको विश्वास, एउटा मानवको हैसियतले स्व स्थितिको विकास र उन्नतिको साथसाथै समाज, राष्ट्र हुदै विश्व कल्याणमा योगदान गर्ने चाहना पनि यसै विषयका अन्तरबस्तु अन्तरगत पर्दछन् ।
सकारात्मकताको अवलम्बन नै सक्षमता तर्फको प्रस्थानको शुरुवात विन्दू हो । सकारात्मकताको प्रवेशताको प्रवद्र्धन जति औपचारिक शिक्षा र सकारात्मकताको भौतिक मापन विधिबाट गर्न सकिन्छ त्यति नै मूल्य, मान्यता, दायित्व वोध, समर्पण भाव, मधुरता, धैर्यता, परोपकारिता, सहिष्णुता जस्ता पक्षको आन्तरिक सवलीकरणबाट पनि सकिन्छ । शासन प्रणालीका पात्रहरुको भुमिका पनि यी दुई आयामहरुको परिधि भन्दा बाहिर जान सक्दैन ।


राजनीतिक नेतृत्व, विभिन्न पदाधिकारीहरु र कर्मचारीहरु परिवार, समाज, राष्ट्र र विश्व समुदायको एउटा सदस्य हुन् यसभन्दा अघि उनीहरु एउटा ब्यक्ति पनि हुन् । एउटा व्यक्तिको हैसियतले उनीहरु भित्र सकारात्मकता र नकारात्मकताका धेरैैं गुण र अवगुणहरु हुन सक्दछन् । तर जब उनीहरु व्यक्तिबाट सार्वजनिक भूमिकामा रहन पुग्दछन् उनीहरु व्यक्तिगत चरित्रको कित्ताबाट बाहिरिएर सार्वजनिक चरित्रको कठोर सीमारेखा भित्र बाधिन पुग्नु पर्दछ । यसपछि उनीहरुमा एउटा सामान्य व्यक्तिको हैसियतमा स्वभाविक रुपमा रहन सक्ने नकारात्मक गुणको उपस्थितिलाई ग्राह्य मानिदैन ,जवकि एउटा व्यक्तिमा थोरैनै मात्रामा भएपनि नकारात्मकताको अवशेष कुनै न कुनै रुपमा रहन्छ र त्यसले कुनै न कुनै वेला विकराल रुप लिन पनि सक्दछ भन्ने मान्यता रहेको छ । यसर्थ शासन प्रणालीका कर्ताहरुमा सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रवद्र्धन अनिवार्य शर्त वन्न पुगेको हो । सार्वजनिक चरित्रको वास्तविक अवलम्बनले नै जनमानसमा उनीहरु प्रति सकारात्मक छवि उत्पन्न हुन जान्छ यी पात्रहरुमध्ये केही पात्रहरुमा मात्र पनि सार्वजनिक चरित्रको उपस्थिति देखिएन वा गलत संस्कार वा प्रवृत्ति देखियो भने त्यसले समग्र प्रणाली प्रति नै जनमानसमा नकारात्मक छवि उत्पन्न हुन जान्छ । सकारात्मक सोंच सहितको इच्छाशक्ति र सदाचारिता शासन प्रणालीका पात्रहरुमा हुनु पर्ने अपरिहार्य गुणहरु हुन् । सदाचारिता विनाको इच्छाशक्ति र इच्छाशक्ति विनाको सदाचारिता दुवै अवस्था अपेक्षा गरिएको अवस्थाहरु होइन । सदाचारिता विनाको इच्छाशक्तिले गलत प्रवृत्तिलाई प्रश्रय दिइरहेको हुन्छ भने इच्छाशक्ति विनाको सदाचारिताले अपेक्षित परिणाम दिन सक्दैन । यसर्थ सदाचारिता र इच्छाशक्ति सार्वजनिक पदाधिकारीहरुमा संगसंगै आउनु पर्ने विषयहरु हुन् ।
शासन प्रणालीका पात्रहरु नीति निर्माता, रणनीतिकर्ता, सहमतिकर्ता, द्वन्द निवारक, सम्झौताकर्ता, मध्यस्थकर्ता, समाज र विश्व परिवर्तनको एउटा सम्बाहकको बहुपहिचान र बहुभूमिकामा उभिनु पर्दछ । यसको लागि उनीहरु आफैप्रति, परिवार प्रति समाज प्रति उतिनै अनुशासित, जिम्मेवार, निष्ठावान र चरित्रवान हुनु आवश्यक हुन्छ । यसको लागि मानवता, प्रकृति र समाजको लागि आवश्यक र स्वीकार्य मूल्य तथा मान्यताहरु ती मान्यताहरुको आन्तरिक र वाह्य प्रवद्र्धनका आधारहरु र त्यसको प्रयोग प्रतिको तत्परताको आवश्यकता हुन्छ ।
नैतिकताको सन्दर्भ पनि यिनै आयामहरुमै जोडिएर आउनु पर्दछ । मूल्य मान्यताको अवलम्बनको सैद्धान्तिक धरातलमा नैतिकता सहितको हरेक कदमले एउटा व्यक्तिलाई उन्नत, परिस्कृत र पूर्ण व्यक्तिमा दिगो रुपमा रुपान्तरण गर्नमा सहयोग पु¥याउछ । यसै आधारको अवलम्बनले सार्वजनिक दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई स्वीकारयोग्य सार्वजनिक चरित्रको प्रवेशताद्वारा सकारात्मकताको सन्देश प्रवाह गर्ने आदर्श चरित्र निर्माण गर्नमा सहयोग पुग्दछ ।
स्वीकार्य मूल्य मान्यता तथा नैतिकताको प्रवद्र्धन गर्ने गराउने परिपाटीको अभावले आजको सार्वजनिक प्रशासन एकाध अपवाद बाहेक ूसार्वजनिकू वन्न नसकि सदाचारमा कमजोर जस्ता नकारात्मक विशेषणबाट आभुषित हुन पुगेको हो ।


यसको लागि यसका पाठ्यक्रमहरु छनौट प्रणाली, कार्य संचालनका आधारहरु यसलाई सहयोग गर्ने खालको हुनु आवश्यक छ । यसर्थ यसको लागि शैक्षिक संस्था, तालीम प्रदायक संस्थाहरु र मूल्य मान्यता, नैतिकता योग प्रवद्र्धन गर्ने संस्थाहरुको बीचमा सहकार्यको आवश्यकता देखिन्छ । यसले मूल्य, मान्यता, दायित्व वोध, समर्पण भाव, मधुरता, धैर्यता परोपकारिता, सहिष्णुता, निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता जस्ता पक्षको विकास गरी आफ्नो पेशागत दक्षता र प्रभावकारिता अभिवृध्दि गर्नमा सहयोग पुग्न जान्छ । यसवाट सार्वजनिक दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई सार्वजनिक चरित्रको प्रवेशताद्वारा सकारात्मकताको सन्देश प्रवाह गर्ने आदर्श चरित्र निर्माण गर्नमा सहयोग पुग्दछ जसले अन्ततः सार्वजनिक सेवालाई जनमैत्री संयन्त्रको रुपमा लिई आस्थाको आवश्यक धरोहर मान्ने संस्कृतिको विकास हुन जान्छ ।


(लेखक अर्थ प्रशासनविद तथा गीतकार हुन्)