नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्छ – अध्यक्ष मल्ल


काठमाडौ । ११ औँ एसिया प्रशान्त सहकारी मन्त्रीयस्तरीय सम्मेलन हालै सम्पन्न
भएको छ । सो सम्मेलनमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेबी मल्लले नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्ने बताउनुभएको थियो ।


जोर्डनमा २८ अप्रिलबाट शुरु भएको ११ औं एशिया प्रशान्त सहकारी मन्त्रीस्तरीय सम्मेलनमा सहकारी समुत्थान सम्बन्धी नेपालको संविधानमा भएको व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष मल्लले उक्त कुरा बताउनु भएको थियो । सो सम्मेलनलाई माननिय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पनि सम्बोधन गर्नुभएको थियो ।


३० अप्रिलमा सम्पन्न भएको सो सम्मेलन सरकार र सहकारी बीचको साझेदारीको महत्वलाई वकालत गर्ने महत्वपूर्ण प्लेटफर्म भएको अध्यक्ष मल्लले बताउनुभएको थियो । एसिया प्रसान्त, मध्य पुर्वी एसिया र उत्तर अफ्रिकाको सहकारी समुत्थान, दिगो विकास र समावेशी विकासका लागि सरकार र सहकारीको साझेदारीतालाई बढवा दिने सम्मेलनको उदेश्य रहेको थियो ।


अन्तर्राष्ट्रिय सहकारी महासंघका निवर्तमान ग्लोबल बोर्ड सदस्य समेत रहनुभएकी अध्यक्ष मल्लले विश्व आर्थिक मन्दीका वेला सन् २००८ मा सहकारीको समुत्थानशिल शक्तिका कारण सहकारी अर्थतन्त्रलाई वढावा दिएका मुलुकहरुको अर्थतन्त्र टिकेको वताउनुहुदै १० बर्षे सशस्त्र द्वन्द्व, महाभुकम्पलगायतका अप्ठ्यारो परिस्थितिमा समेत सहकारीको समुत्थानशिल शक्तिका कारण नेपालको ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान रहन सफल भएको बताउनु भएको थियो । संविधानमा नै सहकारीलाई समावेश गरेका कारण नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका बृद्धि भइरहेको बताउदै संविधानमा नै समाजवाद उन्मुख तीन खम्बे अर्थतन्त्रलाई समावेश गरेको बताउनुभएको थियो । उहाँले सदस्य केन्द्रीयता, सुदृढ सञ्जाल, संस्थागत पूँजीकोषहरुको व्यवस्था, सामाजिक पूँजी निर्माण मार्फत सदस्यको आर्थिक सामाजिक र वातावरणीय हित अभिवृद्धि जस्ता तत्वहरु नेपालको संविधान एवं सहकारी ऐन नियममा अन्तरनिहित रहेकोले सहकारीको समुत्थानशिल शक्ति प्रतिविम्वित भएको वताउनु भयको थियो । नेपालको संविधानमा नै सहकारीलाई सम्बोधन गरेको विषयलाई अन्य मुलुकले समेत विशेष रुपमा हेरेको भन्दै उहाँले ‘संविधानको भावना अनुसार सहकारी क्षेत्रलाई अगाडि बढाउन सहकारीकर्मी र सरकारले हातेमालो गरेर अगाडि बढेको खण्डमा नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्ने बताउनु भएको थियोे ।


एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरु, नियमनकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु र यस क्षेत्रका सहकारी अभियन्ताहरुको उत्साहवद्र्धक सहभागिता रहेको सो मन्त्रीस्तरीय सम्मेलनमा नेपालबाट अध्यक्ष मल्ल लगाएत भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्ण दुवाडी, सह सचिव कृष्ण सापकोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत सहभागिता रहेको थियो । सो सम्मेलनको समयमा आइसीए एशिया प्रशान्त क्षेत्रको बोर्ड बैठक समेत सम्पन्न भएको उहाँले जानकारी दिनुभएको थियो ।

आइसीए एपीका संचालक महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल भने भर्चुअल बैठकमा सहभागि हुनुभएको थियो । अध्यक्ष मल्ल लगाएत सहभागी टिम कार्यक्रम सफल रुपमा सम्पन्न गरेर हालै नेपाल फर्कि सकेको छ ।