गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित


डा.हेमन्त खतिवडा

गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ ! यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार ले समेटेका छन् ! यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् ! दुई शय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु.२०० रहेको छ ! गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् ! गीतकार खतिवडा भन्छन् – प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ! ओम प्रकाशन दिल्ली ले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ !

गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् ! शव्दहरू सरल छन् तर ती शव्दहरूले बोक्ने भाव गम्भीर छन् ! उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् ! शव्द शव्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् ! विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन ! प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरु मा प्रेमका विविध स्वरुपहरु लाई विभिन्न आयामहरू बाट ब्याख्या गरिएको छ !

यो गीत संग्रह रोमान्टिक गीतहरु को दस्तावेज नै बन्न पुगेको छ ! गेयात्मक र लयात्मकता ले कृतिको ओज बढेको छ , खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् ! यस कृति लाई निकै महत्वका साथ हेरिएको छ !

जीवनसँग गीतसंगीत जोडिएको हुन्छः गायिका केसी


गायिका सुजता केसी नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनहुन्छ । सानैबाट गीतसंगीतमा लगाव भएकी सुजतालाई उहाँका पिताले गीत संगीतका क्षेत्रमा निक्कै हौसला र प्रेरणासहित साथ दिएका कारण आज आफू यो क्षेत्रमा राम्रा राम्रा प्रस्तुति पस्किन सफल भएको उहाँ बताउनुहुन्छ । उहाँका ‘क्या बाल, अल्झियो फरिया, मलाई के थाहा त, बाजा बजाउँदै, ओए कान्छी, ‘क्या बबाल’, ‘माया माया’ जस्ता गीत र चार्डपर्वका गीतमा यसपालीको तिहार, छमछम पाउँजु त्यस्तै राष्ट्रिय गीत तथा चलचित्रका थुप्रै गीतमा स्वर दिनुभएको छ । सुजता गायनमा मात्र नभएर अभिनयमा पनि उत्तिकै पोख्त हुनुहुन्छ । उहाँले चलचित्र ‘सूर्या’मा शीर्ष अभिनेतृका रुपमा अभिनय गर्नुभएको छ भने आफ्नै गीतका विभिन्न भिडियोमा पनि उहाँलाई देख्न सकिन्छ । वि.सं. २०७० सालमा आफ्नो पहिलो एल्बम आधुनिक पप् गीतीएल्बम ‘काकाकुल’ बाट गायन यात्रा सुरु गर्नुभएकी सुजताले ०७१ सालमा पनि तीनवटा गीत समावेश भएको ‘छमछम पाउजु’ नामक एल्बम स्रोता÷दर्शकमाझ ल्याउनुभएको थियो । सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय रहँदै आउनुभएकी सुजाताका कर्मले तारिफ बटुलिरहँदा थुप्रै सम्मान तथा अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । गीत संगीत र कला क्षेत्रमा नै आफूलाई पूर्णरुपमा समर्पित गर्नुभएकी सुजता केसीसँग छलफल साप्ताहिकका लागि डम्बर बस्नेतले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः

अहिले के गर्दै हुनुहुन्छ ?
गीत संगीत नै मेरो कर्म हो, त्यसैका कार्यहरुमा व्यस्त रहँदै आएको छु । त्यसलाई पनि निरन्तरता दिइरहेको छु । गीत संगीतका कामहरू छन्, तिनैको कार्य गरिरहेको छु । सबैले मलाई माया गर्नुहुन्छ, सम्झनुहुन्छ र हौसला प्रेरणा दिइरहनुहुन्छ यसैमा व्यस्त छु ।

यो क्षेत्रमा कसरी आउनुभयो ?

मेरो जन्म दक्षिण ललितपुरमा भएको हो । मेरो कलाक्षेत्रप्रति सानैदेखि थियो । यो क्षेत्रको मोह सानो छँदादेखि नै भएको हो । सानोमा हाँस्दा, खेल्दा, बोल्दा जतिबेला पनि कलाकारिता नै व्यक्त हुने गरेको कुरा मेरा अभिभावकहरूले बताएको कुरा आज पनि म सम्झन्छु । मलाई लाग्छ, म यस धर्तीमा त्यसैका लागि जन्मिएको हुँ । नत्र भने मेरो अवोध बाल मस्तिष्कले किन अभिनय गरिरहेको थियो त ! स्कूलमा विविध सांस्कृतिक कार्यक्रमहरु हुन्थे । मेरो बाबा गणेश केसी स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँले आफैंले कम्पोज गरेर गीत गाउने र विद्यार्थीलाई सिकाउनुहुन्थ्यो । सानैदेखि त्यही माहोलमा हुर्किएर पनि होला गीत संगीत र कलातर्फ मेरो लगाव भएको । विस्तारै बढ्दै जाँदा म यो क्षेत्रबाट कहिल्यै छुटिन नसक्ने गरी जोडिएकी थिएँ ।

पहिलो के थियो ?

मेरो यो क्षेत्रको लगाव देखेर अनौपचारिक रुपमा सानैदेखि नै गीत गाउन र अभिनय गर्न लगाइयो । म पनि गाउन र अभिनय गर्न भनेपछि हुरुक्कै हुन्थे । पछि वि.सं. २०७० सालमा पहिलो एल्बम आधुनिक पप् गीति एल्बम ‘काकाकुल’ बाट औपचारिक गायन यात्रा सुरु भयो । ०७१ सालमा पनि तीनवटा गीत समावेश भएको ‘छमछम पाउजु’ नामक एल्बम बजारमा आयो । यसले मलाई दर्शक स्रोतामाझ चिनायो । त्यसपछि थुप्रै आए ।

यस सम्बन्धी अध्ययन पनि गर्नुभयो कि ?

गरे नि । आफूमा रहेको प्रतिभालाई अझ निखार ल्याउनका लागि मैले संगीतको अध्ययन गरे । त्यसो त मेरो पहिलो गुरु मेरो बाबा गणेश केसी नै हुनुहुन्छ । उहाँसँग मैले सानैदेखि सिक्ने मौका पाए । मेरो पारिवारिक माहोल पनि गीत संगीत नै थियो । घरबाट नै संगीतको बेसिक कुराहरु सिक्ने मौका पाए । पछि व्यवसायिक रुपमा नै यो क्षेत्रमा होमिए पछि संगीतको विधालाई बुझ्दै जाँदा थप सिक्न जरुरी ठानेँ र अध्ययन गरेँ । मैले मनोजराज सिवाकोटी र दीपक रमनसँग संगीतको क्लास लिएँ ।

सांगीतिक यात्रा कस्तो भइरहेको छ ?


राम्रो भइरहेको छ । अहिलेसम्म राम्रै भइरहेको छ । राम्रै चलिरहेको छ भनौ । सबैको साथ सहयोगले थप उत्साहित छु । मन पराइदिनुभएको छ खुशी लाग्छ ।
देश विदेशका थुप्रै स्टेज कार्यक्रमा पनि रोजाइमा पर्नुहुन्छ नि ?
मेरा गीतले स्रोता÷दर्शकको मन मस्तिकमा दशतक दिइरहँदा मेरो खोजी हुनु स्वभाविकै हो भन्ने लाग्छ । मैले नेपालमा हुने थुप्रै स्टेज कार्यक्रममा आफूलाई प्रस्तुत गरेकी छु भने विदेशमा अष्ट्रेलियाको एडिलेटमा प्रस्तुति दिन पुगेकी छु ।

कस्ता गीत गाउन मनपर्छ ?

मलाई सबै किसिमका गीत मनपर्छ र सबै किसिमका गीत गाउन सक्ने खुबी राख्छु भन्ने लाग्छ । मैले आधुनिक, पप, लोकप्याट्रनका गीत, चाडपर्वका गीत त्यस्तै राष्ट्रिय गीत सबै प्रकारका गीत गाएकी छु र दर्शक÷स्रोताले पनि उत्तिकै मन पराइदिनु भएको छ ।
अभिनयतर्फ पनि आउनुभयो ?
हो, चलचित्रमा पनि अभिनय गरे, म्युजिक भिडियोमा पनि अभिनय गरेकी छु । अभियन भन्दा पनि मेरो लगाव भनेको गीतसंगीत क्षेत्रमा नै छ । गीतसंगीत नै मेरो मुख्य विषय हो ।
तपाईं कस्तो गायिका हो ?
म आफूलाई भर्सटाइल सिंगरको रुपमा चिनाउन चाहन्छु । कुनै एउटा दायराभित्र बाँधिन चाहन्न । पूर्वीय र पाश्चात्य दुवै शैलीका गीत मज्जाले गाउन सक्छु ।
कस्ता गीत सुन्नुहुन्छ बढी ?
म सबै प्रकारका गीत सुन्छु । नेपाली, अंग्रेजी, हिन्दी, रक, पप, क्लासिकल सबै गीतहरू सुन्छु ।
मनपर्ने गायक–गायिकामा ?
नेपालका गायक–गायिकाहरूमा मलाई नारायण गोपाल, तारादेवी, अरुणा लामाहरूको गीत अत्यधिक मनपर्छ ।

जीवन र संगीतलाई कसरी बुझ्ने ?

एकदमै राम्रो प्रश्न । जीवन र संगीत एकअर्काका परिपूरक हुन् । जस्तै भन्छौ नी कस्तो सुर खुसकेको मान्छे ? कस्तो ताल नभएको मान्छे ? कस्तो बेसुरको कुरा गर्छ भन्ने गरिन्छ । त्यसैले जीवनसँग गीतसंगीत जोडिएको छ । जीवन भनेकै संगीत हो र संगीत भनेकै जीवन हो । संसारमा गीत सङ्गीत मन नपर्ने को नै हुन्छ होला र !
संगीत के हो ?
संगीत साधना हो । जति सिक्यो, त्यति नयाँ नयाँ कुरा पाउन सकिन्छ ।
अन्त्यमा ?
यो साथ र संवादका लागि धेरै धेरै धन्यवाद । नेपाली गीत संगीतलाई माया गरौ । नेपाली गायक गायिकालाई हौसला प्रदान गरौं ।

चलचित्र क्षेत्र सबैभन्दा बढी प्रभावित भयो: द्वन्द्व निर्देशक केसी


हिमाल केसी, द्वन्द्व निर्देशक

लामो समयदेखि नेपाली सिनेक्षेत्रमा द्वन्द्व निर्देशकका रूपमा लोकप्रिय हुनुहुन्छ, हिमाल केसी । उहाँले अहिलेसम्म दर्जनौं चलचित्रमार्फत दर्शकको मन जित्न सफल हुनुभएको छ । विक्रम सम्वत २०३२ सालको साउन महिनामा ललितपुरको गोदावरीमा जन्मिएनुभएका उहाँ सानैदेखि खेलकुदमा रूचि राख्नुहुन्थ्यो । हिमालको एकातिर खेलकुदमा रूचि थियो भने अर्कोतर्फ सानैदेखि फिल्म क्षेत्रमा चाह थियो । त्यही सानैदेखिको चलचित्रक्षेत्रको लगावले नै आज उहाँ सफल द्वन्द्व निर्देशकका रूपमा हुनुहुन्छ यो क्षेत्रमा । चलचित्र ‘सोल्टिनी’ बाट सहायक द्वन्द्व कलाकारमा देखिनुभएको उहाँले २०६५ देखि द्वन्द्व निर्देशक भएर थुप्रै सफल चलचित्र पस्किनुभएको छ । उहाँका कर्मले धेरै अवार्ड र पुरस्कार तथा सम्मान पनि पाएका छन् । प्रस्तुत छ नेपाली चलचित्रको द्वन्द्व क्षेत्रमा लामो समय उत्कृष्ट क्रिएशन पस्किन सफल हिमाल केसीसँग छलफलका लागि टीबी विरहीले गरेको कुराकानीः

यतिबेला के गर्दै हुनुहुन्छ ?

तपाईंलाई थाहै छ विगत ६–७ महिनादेखि कोरोना कहरमा छौं हामीहरू । यसको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले सबैतिर प्रभावित पारेको छ । सबैभन्दा बढी हाम्रो क्षेत्र अर्थात चलचित्र क्षेत्र प्रभावित भएको छ । अन्य क्षेत्र केही चलायमान भए पनि चलचित्र क्षेत्र भने ठप्प नै छ । केही म्युजिक भिडियोहरूको छायांकन भइरहेको भए पनि पूर्णतया बन्दको अवस्थामा छ नेपाली कला क्षेत्र । यो बीचमा म केही सिर्जनशील काममा जुटे भने कोरोना कहरले अप्ठ्यारोमा पर्नुभएकाका लागि सहयोगी हात बढाएँ । आफ्ना केही व्यक्तिगत कामहरू, केही सामाजिक कामहरू, यस्तै यस्तैमा बित्दै छ दिनचर्या ।

नेपाली कला क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?

मलाई के लाग्छ भने हरेक मान्छेको एउटा रूचिको विषय हुन्छ । मेरो पनि सानैदेखिको रूचिको क्षेत्र भनेको कला र खेलकुद क्षेत्र हो । म आफ्नो रूचिको क्षेत्रमा विस्तारै विस्तारै हेलिँदै गएँ । म सानैदेखि अत्याधिक चलचित्र हेर्थेँ र घरमा गएर सबैलाई बटुलेर चलचित्रको फाइट खेल्ने गर्थेँ । मेरो यो क्षेत्रमा अत्याधिक लगाव थियो । विदाको बेला साथीसँग बालाजु घुम्न जाँदा वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनसँग भेट भयो । भेटघाट र चिनजानपछि मैले यो क्षेत्रमा मेरो इच्छा रहेको कुरा खुलस्त राखेँ । म चलचित्रको हिरो हुन चाहन्थे । उहाँले मलाई हुन्छ काममा आउँ भन्नुभयो । यसरी एनबी महर्जनसँग जोडिन पुगेँ । अर्को दिन मलाई चलचित्र छायांकन भइरहेको ठाउँमा लगियो । त्यहाँ चलचित्र बलिदानको छायांकन भइरहेको रहेछ । मलाई त्यहाँ सहयोगीको काम दिइयो । काम गरेँ तर, म यसबाट सन्तुष्ट भइनँ । मेरो इच्छा, चाहना र सोख भनेको कलाकार अझैँ भनौ हिरो बन्ने थियो । तर, मलाई त्यहाँ त स्पोर्ट ब्वाईमा पो राखियो । मैले मेरो असन्तुष्टि एनबी दाईसँग राखेपछि उहाँले चलचित्रमा खेलाउछु भन्नु भयो र उहाँसँग मैले काम गर्ने अवसर पाएँ ।

यहाँले नेपालमा पहिलोपटक कारको स्टन्ट गर्नुभयो होइन ?

हो, नेपालमा पहिलोपटक कारको स्टन्ट देखाएको थिएँ मैले चलचित्रमा । नेपालमा पहिलोचोटि हो, मैले ‘अञ्जली’ भन्ने फिल्ममा कारको स्टन्ट दिएको थिएँ ।

लक्ष्य फिल्मको हिरो बन्ने थियो होइन ?

म फिल्मको हिरो बन्छु भन्ने नै थियो । त्यसका लागि अभिनय र नृत्यका कक्षाहरू पनि लिएँ । मेरो पहिलो प्रथामिकतामा नै हिरो थियो । द्वन्द्व त दोस्रो । फिल्म खेल्नलाई धेरै कोसिस पनि गरेँ र फिल्ममा आबद्ध पनि भएँ । फिल्मको नाम थियो ‘कोसिस’ । फिल्मलाई तीर्थ थापाले निर्देशन गर्ने भनिएको थियो । ‘कोसिस’ कोसिसमै सीमित भयो, फिल्म बनेन ।’ पछि अन्य फिल्ममा स–सानो भूमिकामा अभिनय गरेँ । पछि म फिल्मको हिरो नबनेर भिलेन बन्न पुगेँ । मलाई फिल्म ‘नाई नभन्नु ल’ ले भिलेनको रूपमा परिचित गरायो । मलाई कलाकार हो भनेर चिनाएको भनेको नै फिल्म ‘नाई नभन्नु ल’ ले हो । त्यसपश्चात म केही फिल्ममा भिलेनको भूमिका देखिएँ ।

अनि द्वन्द्व निर्देशक तर्फ ?

एनबी महर्जनको असिस्टेन्ट बनेर मैले धेरै फिल्ममा सहायक द्वन्द्व निर्देशकको भूमिका निर्वाह गरेँ । मैले फिल्म ‘मर्यादा’ मा पहिलोपटक द्वन्द्व निर्देशक बनेर काम गरँे । जसबाट म सबैमा नोटिस पनि हुन पुगँे । पहिलो फिल्मले नै सफलता दिलायो मलाई । द्वन्द्व निर्देशक बन्नका लागि धेरै समय कुरेँ मैले । पछि सफलता हात लाग्दै गयो । मैले निर्देशकका रूपमा फिल्म ‘पिँजडा ब्याक अगेन’ गरेँ ।

काम गरेका केही चलचित्रको नाम लिनुपर्दा ?

‘प्रेमपूजा’, ‘प्रेमदीप’, ‘हत्यारा’ लगायत ७० वटा जति चलचित्र खेलेहुँला । त्यस्तै सहायक भएर ‘हामी तीनभाइ’, ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘मुग्लान’, ‘बन्दकी’, ‘पाहुना’, ‘सुखदुःख’ लगायत एकसयभन्दा बढी चलचित्र गरँे । २०६५ सालबाट मैले द्वन्द्व निर्देशकका रूपमा ‘मर्यादा’, ‘फैसला’, ‘राम बलराम’, ‘सिलसिला’, ‘मिस्टर मंगले’, ‘हाँसिदेऊ एकफेर’, ‘पराई’, ‘कवाज’, ‘मनले मनलाई छुन्छ’, ‘निगरानी’, ‘निरभाइ’, ‘जय शिवशंकर’, ‘बडीगार्ड’, ‘मेरो मनको साथी’, ‘मौसम’, ‘छविलाल कञ्जुस छैन’, ‘भैरव’, ‘यात्रा’, ‘मिस्टर नेपाली’, ‘ए मेरो हजुर–३’, ‘प्रसाद’ लगायत एकसय १५ भन्दा बढी चलचित्रको द्वन्द्व निर्देशन गरेँ ।

निर्देशनतिर पनि हात हाल्नु भएको छ, द्वन्द्व निर्देशनमा यहाँको एक खालको आफ्नै उचाइ छ अब कता लाग्नुहुन्छ त ?

फिल्म निर्देशनभन्दा म द्वन्द्व निर्देशनमा नै रमाउँछु । अबको दिनमा पनि द्वन्द्व निर्देशक नै भएर काम गर्छु । मैले फिल्म निर्देशन गरिसकेँ पनि एक्सन नै गर्छु अझै । किनभने जुन ठाउँबाट मैले आफूलाई हिमाल केसी भन्न पाएको छु त्यो कामचाहिँ अझ १० वर्ष गर्ने मन छ ।

कस्तो लाग्छ अहिले फर्केर हेर्दा ?

म लामो समयदेखि यो क्षेत्रमा आफ्नो पसिना बगााइरहेको छु र सफलता पनि प्राप्त भइरहेको छ । सानैदेखिको मेरो इच्छाको क्षेत्रमा लागेर आफ्ना केही सपनाहरू पूरा गरिरहेको छु । आजको दिनसम्म चुम्नका लागि धेरै मेहेनत र लगानी पनि परेको छ मेरो । यो एक दिन एक क्षणले भएको होइन, लामो समय व्यतित भएको छ यसमा । कडा संघर्ष र मेहेनतले सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुराको म आफू पनि एक उदाहरण हुँ भन्ने लाग्छ ।

यो क्षेत्रमा लागेर उचाइ चुम्दै गर्दा पुरस्कार तथा सम्मान पनि प्राप्त भए ?

राम्रो काम गर्दै जाँदा त्यसको कदर हुँदोरहेछ । ढिलो चाँडो मात्र हो । आफ्नो कामको लगावले त्यसको परिणाम पनि राम्रै आउने रहेछ । मेरो हकमा पनि त्यही भयो भन्ने लाग्छ । हो, मैले गरेका चलचित्रले सफलता प्राप्त गर्दै जाँदा म पनि त्यो सफलताको हकदार भएँ भन्ने लाग्छ । नेशन अवार्ड–२०६६, नेफ्टा अवार्ड–२०७०, नेफ्टा अवार्ड–२०७३, फान अवार्ड–२०७२, कामना फिल्म अवार्ड २०७३, कामना फिल्म अवार्ड २०७४, कामना फिल्म अवार्ड २०७५, एलजी सिने अवार्ड २०७३, एलजी सिने अवार्ड २०७४, डी सिने अवार्ड २०७३, इशान फिल्म अवार्ड २०७३ एनएफडी सिने फिल्म अवार्ड २०७३, बक्स फिल्म अवार्ड २०७३ लगायत अन्य पुरस्कार र सम्मानहरू मैले गरेका क्रिएशनमार्फत प्राप्त भएका छन् ।

भाइरल अघोरी बाबाले बिहे गरे


सामाजिक सञ्जालमा केही समयदेखि ‘भाइरल बाबा’ का नामबाट भाइरल भएका अघोरी बाबाले बिाह गरेका छन् । केही समयदेखि बिवाहको विषयलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा चलिरहेको थियो ।

धेरै भिडियोमा धेरै पैसादिनेसँग बिवाह गर्छु भन्ने बाबाको बिवाहको खबर एक्कसी एक अन्तर्वातामा सार्वजनिक भएको । उनले एक तप्पसीसँग नै बिवाह गरेका छन् भने बिवाह गरेको ३ महिना भएको उनले अन्तर्वातामा बताएका छन् ।

गायक प्रमोद खरेलकाे भजन संग्रह बजारमा


काठमाडौं-चर्चित गायक प्रमोद खरेलले पहिलोपटक भजन संग्रह बजारमा ल्याएका छन् । पहिलोपटक भजन गाएको अनुभव सुनाउँदै उनले संगीतको मुख्य साधना नै भजन बताए ।
म्यूजिक खबर डटकमको आयोजनामा राजधानीको बागबजारस्थित हेलो क्याफेमा एक कार्यक्रमबीच भजनसंग्रह ‘ज्ञान सुधा’ सार्वजनिक गरिएको थियो । वरिष्ठ गीतकार किरण खरेलको प्रमुख आतिथ्यता एवं वरिष्ठ गीतकार रत्नशमशेर थापाको विशिष्ट आतिथ्यतामा भजनसंग्रह ‘ज्ञान सुधा’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक भजन संग्रहमा नीरभीमको शब्द, दिपक भट्टराईको संगीत रहेको भजनसंग्रहमा प्रमोद खरेलको आवाज रहेको छ । पाँचवटा भजनहरु संग्रहित रहेको भजनसंग्रह ‘ज्ञान सुधा’ विमोचन समारोहमा गीतकार नीरभिमले क्यानडाबाट आफ्नो मन्तव्य भिडियोमा पठाएका थिए भने संगीतकार दिपक भट्टराईले जापानबाट आफ्नो मन्तव्य पठाएका थिए । उनीहरुको मन्तव्यसँगै गायक प्रमोद खरेलले भजनसंग्रह ६ महिना अघि तयार भएको भए पनि भ्वाइस अफ नेपालको कार्यक्रमले गर्दा सार्वजनिक गर्न ढिलाई भएको बताएका थिए । कार्यक्रममा गायक रामकृष्ण ढकालले आफूले पनि भजन गाएको बताउँदै भजन भनेको संगीतको साधनाको मुख्य केन्द्र रहेको बताएका थिए । प्रमोद खरेलले भजन गाउनु राम्रो भएको बताउँदै भजन भन्ने वित्तिकै स्वर नहुने, बुढो भएपछि गाउने या मन्दिरमा रमाइलो गर्न मात्र गाइने होइन, यसले संगीतको मर्मलाई शास्त्रअनुसार चलाउन सफल हुने गायक ढकालले बताए ।