निर्वाचन अघिको पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेस नेतृत्वमा बनेको गठबन्धन नाटकीय रुपमा भत्किएर नयाँ गठबन्धन बनेको छ । त्यो गठबन्धनको दोश्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार समेत बनेको छ । जसमा मुलुककै सर्वाधिक लोकप्रिय पार्टी र संसद्मा दोश्रो दल बनेको एमाले, राष्ट्रिय स्वतन्त्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति र अन्य स्वतन्त्र सांसदहरु रहेका छन । त्यसमा पनि एमाले, माओवादी, रास्वपा र जनमत पार्टी त सरकारमै सामेल भैसकेका छन । यो सरकार कांग्रेसको अहंकार, प्रचण्डको बाध्यता र एमालेको सुझबुझ पुर्ण कार्यले बनेको हो । भलै यो सरकार निमार्ण अपत्यारिलो ढंगले बनेको छ, हिजो सबै भन्दा बढि तिक्तता रहेका पार्टी र त्यसको प्रमुख नेताहरूको सुझबुझ र मिलनले बनेको छ । यो राम्रै संकेत हो तर यसले थुप्रै प्रश्नहरू पनि उब्जाएको छ ।
त्यो के भने हिजो एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी किन भनियो ? त्यो बेला संसद विघटन गर्नु प्रतिगमनकारी काम थियो भने अहिले त्यो कसरी सच्चियो ? बिनाकारण अहंकार र दम्भले मुलुककै सर्वाधिक ठुलो पार्टी नेकपालाई विघटन गर्नेदेखि दुईतिहाइ नजिकको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिँदै कम्युनिष्ट आन्दोलन नै कमजोर पार्ने काम किन गरियो ? अहिले त्यो कसरी एकाएक सच्चियो ? यसमा के कसका कस्ता स्वार्थहरू लुकेका छन ? नीति बिचार नभएका, मुलुकको लोकतन्त्र र संघीयतामै प्रश्न उठाई रहेका पार्टी र व्यक्तिसँग गठजोड गरेर बनेको सरकार कहिले सम्म टिक्ला ? यसले राजनीतिक स्थायित्व देला ? जस्ता प्रश्नहरू खासगरी नेकपा एमाओवादी पार्टी सामु उठेका छन । यसको उत्तर अध्यक्ष प्रचण्डले दिनुहोला वा यो प्रश्नको उत्तर दिन एमाले अध्यक्ष ओलीले सघाउनु होला । तर पूर्व नेकपाका नेताहरूका हिजोका जुन गतिविधि थिए ति बेठिक थिए भन्ने कुराको जस्टिफाई भने भएको छ । साथै अर्को कुरा राजनीतिमा असम्भव भन्ने केही कुरा हुँदैन रहेछ भन्ने पनि देखिएको छ ।
तर सुखद के भएको छ भने वाम पार्टीबीच कोर्ष करेक्सन भएको छ । गएको स्थानीय निर्वाचन पश्चात चर्चामा आएको र नेताहरूले सुरुवात गर्न खोजेको वाम केन्द्र निर्माणको बाटो खुलेको छ । कांग्रेसलाई मात्र फाइदा हुने गठबन्धन टुटेको छ । कम्युनिष्ट पार्टीका नेताबीचको तिक्तता समाप्त भएको छ । वाम पार्टी एकीकरणका बाटाहरु खुलेका छन । यसले कम्युनिष्ट आन्दोलन थप बलियो हुने आसा पलाएको छ । कांग्रेसको हातबाट सत्ताको चावी थुतेर वामको हातमा आएको छ । यससँगै कांग्रेसको बेथितिको अन्त्य भएको छ भने वाम सरकारको नेतृत्वमा मुलुकको विकास निर्माणले गति लेला कि भन्ने आशा पलाएको छ । यो अर्को खुसिको कुरा हो । तर अझै सरकारकालागि थप्रै चुनौतीहरु छन । जनतामा थुप्रै निरासाहरु छन । अर्थतन्त्र डमाडोल छ, बैंकले कर्जा दिन छाडेको छ । संघीय लोकतन्त्र र धर्म निरिपेक्षताको वकालत गर्नेदेखि जातिय क्षेत्रिय राज्यको वकालत गर्ने पार्टीसम्म यो गठबन्धनमा सामेल छन । यसलाई टिकाउन बहुतै गाह्रो छ । तथापि अबसरहरु पनि छन । यिनै चुनौतीबाट अवसर खोज्दै मुलुक र जनताको हितमा काम गर्नुको विकल्प यो सरकारसँग छैन । खासगरी कम्युनिष्ट पार्टीका नेताहरुसँग छैन । त्यसमा वाम सरकार सफल होस हाम्रो शुभकामना ।