चुनाव पक्का


सरकार र निर्वाचन आयोगले तोकेको समय यताउता भएन र त्यो प्रभावकारी रुपमा कार्यान्वयन भयो भने आउने नयाँ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन्छ । जसको चटारो नेतालाई हुन थालेको छ, भाषण भुषण हुन थालेको छ, नेताहरुले देश दौडाहा सुरु गरिसकेका छन । तोकिएको स्थानीय निर्वाचन नजिकिँदै गर्दा सर्वसाधारण जनता पनि उम्मेद्वार छान्न चिया चौतारीमा को राम्रो, को नराम्रो, कुन पार्टी ठिक कुन पार्टी बेठिक भन्न थालेका छन । यो राम्रो कुरा हो । किनकि तोकिएको समयमा निर्वाचन भयो भने धेरै समस्याहरू पर्गेलिन्छन्, मुलुक समस्यामा पर्दैन र लोकतन्त्र बलियो हुन्छ ।


अहिले महँगी बढेको छ, भ्रष्टाचार, बेथिति, अनावश्यक खर्च र राष्ट्रिय ढुकुटीको दोहन व्यापक छ । यस्तो अवस्थामा जनताले मत कसलाई देलान् ? कस्ता पार्टीका जनप्रतिनिधिलाई जिताउलान् यो चासोको विषय छ । अहिले राजनीतिक दलहरूबीच निक्कै तिक्तता बढेको छ, आरोप, प्रत्यारोप र अशिष्ट गालीगलौज चलिरहेको छ, यस्तो बेला विवेकशील, उत्तरदायी, देश र जनताको हित गर्ने नेता सत्तामा पुग्यो भने राजनीति पनि सङ्लन्छ, मुलुकमा विकास र समृद्धि पनि भित्रिन्छ । त्यसो भयो भने जनताले सुख पाउँछन् । त्यसो भएन र सत्तामा हिजैको जस्ता अहंकारी, घमण्डी,लोभि, पापी र खर्चालु नेता पुगे भने देश र जनता धरापमा पर्छन् । यसर्थ पनि यो निर्वाचन निक्कै महत्वको छ ।
अहिले जिम्मेवारी र कर्तव्य केही बहन नगर्ने सेवा सुविधा र अधिकार खोजी हाल्ने प्रवृत्ति समाजमा मौलाएको छ । यो राम्रो होइन । अहिलेको अवस्थामा जिम्मेवारी बोधका साथ देश र जनताको रक्षा र हित गर्ने अभिभारा प्रमुख दलको हो । तर यो अभिभारा कुनै पनि दलले जिम्मेवारीसाथ बोकेका छैनन् । सत्तामा पटकपटक बसेर राज्यकोषको दोहन गरिसकेपछि जिम्मेवारीसाथ काम पनि गर्नुपर्छ । त्यो प्रभावकारी रुपमा हुन सकेको छैन । निर्वाचनका बेला यस्ता कुरा जनताले पनि नेताहरूलाई चेतना आउने गरी बुझाउनुपर्छ ।


किनकि जनताले ७० वर्ष लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थाले पनि नेताको बाहेक जनताको सुख समृद्धि ल्याउन सकेको छैन, जीवन स्तरमा परिवर्तन ल्याउन सकेको छैन । आफ्नै जीवन सक्ने लामो संघर्ष गरेर सर्यो सहिद भएर हजारौँ घाइते भएर लाखौँ आन्दोलनमा सहभागि भएर ल्याइएको ब्यवस्था र प्रणालीले कुनै परिणाम दिन सक्नुका पछाडि सत्तामा बस्ने नेताको दोष छ । यसको अन्त्य भनेको देश र जनताको हितमा काम गर्ने, सच्चा राजनेतालाई सत्तामा ल्याउनु पर्छ । त्यसकालागि सच्चा इमान्दार र राजनैतिक नैतिकता भएका नेताहरूलाई तलैबाट छानेर ल्याउनु आवश्यक छ । जुन स्थानीय निकायमा हुन्छन । स्थानिय निकायको निर्वाचन नजिँकिदै गरेको सन्दर्भमा यो कुरा लाई जनताले ख्याल गर्नुपर्छ । अहिले मुलुक अप्ठ्यारोमा छ, मुलुकमा भ्रष्टाचार बढेको छ, पदमा बस्ने नेताहरुले पदको चरम दुरपयोग गरेका छन,अर्थतन्त्र डामाडोल छ, प्राकृतिक दोहन त्यतिकै छ, राजनीति दलहरु जनताबाट अलग थलग भैरहेका छन, आयात बढिरहेको छ, निर्यात घटिरहेको छ, स्वदेशी बस्तु र उद्योगहरु घटिरहेका छन, नेपाली युवाहरु बिदेशीको गुलाम बन्न बाध्य भैरहेका छन, जनताका सेवक भनेर सोचियका नेताहरु जनताका मालिक बेनका छन । देश र जनताको पक्षमा काम गर्छौं भन्ने र आश्वासन दिने कुनै पनि पार्टीका नेताहरु आफ्नो विचार र सिद्धान्तमा हिँडेको देखिँदैन । जसले गर्दा मुलुक कंगाल, जनता दरिद्रि बन्दै गएका छन । यो विडम्बनाको विषय हो । त्यसैले यो सबै बिक्रिति र विसंगतिको अन्त्य गर्ने समृद्ध मुलुक निमार्णकालागि आवश्यक प्रणालीको विकास गर्न असल नेता चुन्ने निर्वाचन नजिकिरहेको अवस्थामा अब जनताले सोच्ने बेला आएको छ । नेताहरुको गल्ति कमिकमजोरी सुधार गर्न निर्देशन दिने र सवक सिकाउने बेला आएको छ, सबैले बुझौं ।

गठबन्धनको भविष्य अनिश्चित


अहिले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताको जस्तै पास गर्ने वा परिमार्जन सहित पास गर्ने भन्ने कुराले सत्ता गठबन्धनमा अन्तरबिरोध मात्रै पैदा भएको छैन त्यसले मुलुकको राजनीतिलाई नै तरंगित बनाएको छ । जसले सत्ता समिकरणदेखि राजनीतिक ध्रुवीकरण हुने सम्मको अवस्था सृजना हुने सम्भावना देखिएको छ । अहिले सत्ताको बागडोर कांग्रेसको हातमा छ तर त्यसको साँचो एमाओवादी र एकीकृत समाजवादीको हातमा छ । ति दलहरुले सत्ता गठबन्धनबाट हात झिकेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार ढल्छ । यस्तो अवस्थामा नेकपा एमालेको निर्णय महत्वपुर्ण भएको छ । अर्थात प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा राखी राख्ने वा फाल्ने भन्ने विषयको निर्णय एमालेसँग जाने सम्भावना छ । त्यसैले आफ्नो पद जोगाउन अहिले प्रधानमन्त्री देउवा एमालेको सरणमा पुगेका छन ।
पछिल्लो समय प्रधानमन्त्री देउवा निक्कै अप्ठ्यारो अवस्थामा छन ।

प्रधानमन्त्री देउवालाई अहिलेको अप्ठ्यारो आउनुको कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा ल्याइएको महाअभियोग र विवादास्पद एमसीसी प्रकरण हो । कांग्रेस प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छन भने प्रधानन्यायाधीश राणालाई पनि जोगाउने ध्याउन्नमा थिए । तर सत्तारूढ पार्टीकै सांसद एवं सभामुख यसको विरुद्धमा उभिएपछि र प्रधानन्यायधीश विरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएपछि उनको रणनीति र तयारीले फेल खाएको छ । जसकारण एमसीसी टेबुल नै हुन सकेको छैन भने प्रधानन्यायधीश राणा निलम्बनमा परेका छन । यसले देउवाको सपना मुर्छित भएको छ । यसले देउवालाई त अप्ठ्यारो परेको छ नै सिंगो कांग्रेसलाई नै अप्ठ्यारोमा पारेको छ । किनकि महाअभियोग प्रस्ताव पारित गर्न प्रतिनिधिसभाको दुईतिहाइ बहुमत पुर्याउनुपर्छ त्यो अवस्था देखिँदैन । कांग्रेस समेतको सहभागितामा ल्याइएको महाअभियोगको प्रस्ताव असफल भयो र राणा पुनः प्रधानन्यायाधीशको कुर्सीमा फर्किए भने कांग्रेसलाई निकै अफ्ट्यारो पर्नेछ । त्यतिमात्र होइन कांग्रेसबाहेका सत्तारुढ दलका प्रमुख नेताहरू सहित जनता समेत परिमार्जन नगरी एमसीसी पास गर्न नहुने अडानमा रहेका बेला कांग्रेस सभापति देउवा जसरी पनि एमसीसी पास गर्ने भनेर लागिरहेकोले कथम् एमालेको साथ पाएर एमसीसी पास नै भएपनि कांग्रेसलाई भोलिको स्थानीय निर्वाचनमा त्यतिनै अप्ठ्यारो पर्ने देखिन्छ । त्यस्तो अवस्थामा नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने हुन्छ ।

अर्को कुरा सत्तामा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसी प्रस्ताव संसद्मा अघि नबढाउन प्रधानमन्त्री देउवालाई खबरदारी मात्रै गरेका छैनन्, संसदमा एमसीसी टेबुल भए सरकार छाड्ने चेतावनीसमेत दिई सकेकाछन् । जस अनुसार ति दुबै पार्टीका भातृ संगठन एमसीसीको विरोधमा सडकमा समेत उत्रिइ सकेका छन । अर्को तिर संसदीय गणित हेर्दा एमसीसी पारित हुन सक्नेदेखिन्न । एमसीसी पास हुन सकेन भने पनि प्रधानमन्त्री देउवा अल्पमतमा परेको पुष्टि हुन्छ र सरकार छोडनुपर्ने अवस्था आउन सक्छ । अर्कातिर एमसीसी विधेयक संसद्मा अघि बढाउन प्रधानमन्त्री देउवामाथि अमेरिकी दबाब त छँदैछ एमसीसीको विषयलाई लिएर छिमेकि देश चीनले अमेरीकि दवाबको कडा बिरोध गरेको छ ।

अहिले कांग्रेस दोवाटोमा छ । एमसीसी पास भए पनि आगामी निर्वाचनमा जनताको तारो बन्ने छ भने एमसीसी फिर्ता भए अमेरिकाको तारो बन्नेछ । यस्तो अवस्था एकातिर छ भने अर्को तिर राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक र आर्थिक जटिलता एवं जनताका अपेक्षाबिचको असन्तुलनले कांग्रस र यसको नेतृत्वलाई निकै समस्यामा पारेको छ । यसलाई कांग्रेस र यसको नेतृत्वले सहज ब्यवस्थापन गर्न सक्ने अवस्था देखिँदैन । जसले गर्दा देउवालाई त अप्ठ्यारो छ नै सिंगो कांग्रेसलाई अप्ठ्यारो देखिन्छ । त्यसैले कांग्रेसले यसको निकास कसरी निकाल्छ, ब्यवस्थापन कसरी गर्छ, गठबन्धन कसरी जोगाउँछ, प्रमुख प्रतिपक्षको साथ कसरी लिन्छ, छिमेकी र दातृनिकायको साथ कसरी लिन्छ यो हेर्न भने केहि समय कुर्नुपर्ने देखिन्छ ।

विचार नभएपछि भीडतन्त्र


पछिल्लो समय मुलुकको राजनीतिक अवस्था बिग्रिँदै गएको छ । राजनीतिमा आस्था, निष्ठा, त्याग, समर्पण, वर्गीयता, अनुशासन, विधि, प्रणाली र सिद्धान्त कमजोर बन्दै गएको छ, मनि मसल र भीडले राजनीतिलाई नियन्त्रण गर्न खोजिरहेको छ । राजनीतिका लागि प्रमुख योग्यता मनि, मसल र भीड जम्मा गर्न सक्ने ताकत हुँदै गएको छ । यो मुलुको राजनीतिका लागि राम्रो होइन । मुलुकको शासन प्रणालीलाई गाइड गर्ने राजनीतिले हो, राजनीतिलाई गाइड गर्ने विचारले हो । अर्थात राजनीतिमा दल, नेता, कार्यकर्ता, समर्थक,शुभेच्छुक जनता सबै हुन्छन् । त्यो सबैलाई गाइड गर्ने विचारले हो । पछिल्लो समय नेपालको राजनीतिमा यस्तो हुन सकेको छैन । विडम्बना राजनीतिलाई मनि, मसल र भीडले गाइड गरिरहेको छ । बिग्रिएको यहीँनेर हो ।

आज कुनै पनि राजनीतिक दलका कार्यकर्ता विचारबाट गाइडेड छैनन् मनि, मसल र भीड उपयोग गर्न जान्ने, सक्ने नेताबाट गाइडेड छन् । मुलुकमा बेथिति बढ्नु, मुुलुक बेथितिले चल्नु, मुलकवासी गरिब हुनु र विदेशिनुको प्रधान कारण यही हो । अहिले राजनीति विचारबाट होइन, मनि, मसल र भीडबाट निर्देशित छ । दलका मुख्य नेता यसैबाट चलिरहेका छन् । न उनीहरूलाई विचार चाहिएको छ, न देश र जनताको हित । उनीहरूलाई मनि, मसल र भीड चाहिएको छ । अनि कसरी मुलुक समृद्ध बन्छ, मुलुकवासी सुखी बन्छन् ? दलका नेता कार्यकर्ता विचारबाट गाइडेड नहुञ्जेल ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव छैन । हिजो एमालेले महाधिवेशन जुन रूपमा सम्पन्न ग¥यो नेपाली कांग्रेसले आज त्यही ढंगले सम्पन्न गर्दै छ । करोडौं खर्च,लाखौंको भीड यो किन आवश्यक छ ? यो कहाँबाट जुट्छ ? भ्रष्टाचारी व्यापारी र कार्यकर्ताको लेबिबाट होइन ? त्यहाँबाट उठेको पैसाले भीड जम्मा गरेर, करोडौं खर्च गरेर जनताले पाउने के ? यो प्रश्न उनुत्तरित छ नेताहरूका लागि ।

हिजो एमालेले खर्च ग¥यो, भीड जम्मा ग¥यो जनताले के पाए ? आज कांग्रेसले गर्दै छ जनताले के पाउने ? कांग्रेसका कति कार्यकर्तालाई वीपीको विचारले गाइड गरेको होला ? कम्युनिस्टका कति कार्यकर्तालाई माक्र्स, लेनिन् माओ र स्टालिनको विचारले गाइड गरेको होला ?उत्तर छैन । यहाँ विचारप्रधान राजनीति हेइन, डनमुखी र धनमुखी राजनीति भयो । जसले गर्दा कांग्रेस र कम्युनिस्ट पार्टीभित्र हाटहुटे, डाङडुङे,चाप्लुसीवाज ठेकेदार, व्यापारी र नबधनाढ्यहरूको रजाई भएको छ भने पार्टीप्रति त्याग, संघर्ष, आस्था निष्ठामा चल्ने इमान्दारवर्गको सफाया भएको छ । पद, पैसा र पावरका पछाडि भीड दौडिरहेको छ । पार्टी नेतृत्व भीड हेर्दै त्यो कामका पारखीहरूलाई भटाभट नेता बनाइदिइरहेको छ । यसैले सबै कुरा बिग्रिएको छ । अर्थात भीड केन्द्रित राजनीतिले सक्षमहरूलाई पाखा लगाइदिएको छ भने धनाढ्य नवप्रवेशीहरूलाई स्थापित गराइदिएको छ । भुत्ते नेताले पार्टी पनि भुत्ते बनाइदिएको छ । यसैले सबै कुरा बिग्रिएको छ । यसको अन्त्य जरुरी छ । विचार केन्द्रित पार्टीले नै सक्षम नेतृत्वको चयन गर्न सक्छ र सक्षम नेतृत्वले मात्र मुलुक र जनता समृद्ध बनाउन सक्छ ।

नेतृत्व आँखा नदेख्ने र लौरो समाउने नहुञ्जेल नछोड्ने, आफू र आफ्ना आसेपासेबाहेकलाई केही नगर्ने, चाकडी चाप्लुसी नगर्नेलाई खराब देख्ने त्यस्तालाई केही जिम्मेवारी नदिने भएकोले सबै कुरा बिग्रिएको छ । यसको अन्त्य विचारबाट निर्देशित भिजनवाहक दूरदर्शी नेतृत्वबाट मात्र सम्भव छ । यसका लागि मनि, मसल, भीड र गुटलाई घृणा गर्ने पिँढीलाई राजनीतिक नेतृत्व सुम्पिनु पर्छ । यो काम प्रमुख पार्टीहरूमा हुनु जरुरी छ । कांग्रेसको महाधिवेशनमा अपवादबाहेक गुटलाई भन्दा जनताको हितमा काम गर्न सक्ने नेतालाई जिम्मेवारीमा ल्याएको देखिएको छ भने मनि, मसल, गुट बोक्ने र भीडबाट आफू राजनीतिमा स्थापित हुन खोज्ने राजनीतिक बेइमान र अनुशासनहीन परम्परावादीहरू आंशिक भए पनि पराजित भएका छन् । यो शुभ संकेत हो ।

यो सबै पार्टीको नेतृत्व तहमा पनि हुनुपर्छ । गुटफुट, मनि, मसल र भीडबाट पद, प्रतिष्ठा आर्जन गर्न खोज्नेहरूको पत्तासाफ हुनुपर्छ । विचारप्रधान आस्था, निष्ठा र क्षमताको सफा राजनीति सुरुवात हुनुपर्छ । अनि मात्र देश बन्छ । कांग्रेसको नेतृत्वमा विचारवान् त्यस्तो नेतृत्व नदेखिएता पनि त्यसभन्दा तल कांग्रेसका आशालाग्दा नेताहरू महाधिवेशनबाट निर्वाचित भएका छन् । तीबाट केही आशा गर्न सकिन्छ । यसो हुनु एमालेलगायत अन्य दलमा पनि जरुरी छ । सुरुवात गरेकाले गरिहाले नगरेकाले आजैबाट गर्नुपर्छ । आज जनताले चाहेको र मुलुकले खोजेको पनि यही हो ।

क्या बात ! नेपाली खेलाडीहरू (सम्पादकीय)



गत मंसिर १५ गते सुरु भएर २४ मा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद(साग)मा नेपाली खेलाडीहरूले थुप्रै अभाव,तनावब र दबाबका बीच प्रतिस्पर्धा गर्दै नेपालका लागि ५१ स्वर्ण पदक जिताएर दोस्रो स्थान हासिल गरी कीर्तिमान कायम गरेका छन्,राष्ट्रको इज्जत बढाएका छन् । यसले नेपाललाई भारतपछिको शक्तिशाली मुलुक मात्र बनाएको छैन कांग्रेस सरकारले लथालिंग पारेको राट्रिय खेलकुद परिषद्(राखेप)को साखलाई उजिल्याउन, सुधार्न र मुलुकलाई खेल क्षेत्रबाट समृद्ध बनाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यो मुलुकको लागि सुखद सन्दर्भ र ऐतिहासिक उपलब्धि हो । कुनैबेला ५१ खेलमा सहभागिता जनाउन नसक्ने नेपालले नेपाल कम्युनिस्ट पार्टीको सरकारले मुलुकको नेतृत्व गरेका बेला ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कुल २०६ पदक जित्दै तालिकामा दोस्रो भएर नेपालको खेलकुद क्षेत्र र नेपाली जनतालाई मात्र होइन अन्तर्राष्ट्रिय खेल क्षेत्रलाई समेत नेपाल सबै क्षेत्रमा अगाडि बढिरहेको सन्देश दिएको छ । यसका लागि जस्तोसुकै चुनौती र समस्याको सामना गर्दै र कुनै पनि अभावको परवाह नगरी मुलुकलाई पदक दिलाउन आआफ्नो क्षेत्रबाट लाग्ने सबै नेपाली खेलाडी,प्रतियोगितामा सफल बनाउन लाग्ने आयोजक राखेपको सिंगो व्यवस्थापन टिम, पदक हात पार्नका लागि अहोरात्र प्रशिक्षणमा खट्ने सहभागी सबै खेलाडी एवं प्रशिक्षकहरू बधाई र स्याबासीका पात्र हुन् । आयोजकले खेलहरू काठमाडौंलगायत सशुन्दर नगरी पोखरा र जनकपुरमा समेत आयोजना गर्नुले त्यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदाको तस्बिर संसारमा पुगेको छ । यसले पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण योगदान पुगेको छ । सुरक्षा,टिकट र खेल व्यवस्थापनमा केही कमी कमजोरी भए पनि नेपाली खेलाडीहरूले जसरी उत्कृष्ट खेल खेले, पदक जिते र नाम राखे यो चानचुने उपलब्धि होइन । यो खेलबाट खेलाडीले राज्यको खेलकुदमा लागेको बजेटको सही सदुपयोग भएकोसमेत सन्देश दिएका छन् । यसै सन्दर्भमा साग प्रतिगोगितामा पदक विजेता खेलाडीहरूलाई बुधबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरप्राइज’ रकमको घोषणा गर्नुभएको छ । उहाँले दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कांस्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरी खेलाडीलाई थप उत्कृष्टता हासिल गर्न प्रोत्साहित र उत्साहित गर्नुभएको छ । यो नेपालको खेल क्षेत्रलाई विकासमा अगाडि बढाउने महत्वपूर्ण काम र खेलकुदको माध्यमबाट मुलुकलाई संसारमा चिनाउने शुभ संकेत हो । यो ऐतिहासिक अवसरमा सागमा पदक विजेता खेलाडीहरूलाई राखेप र नेपाल ओलम्पिक कमिटीले खेलाडीहरूलाई अबिर,माला लगाएर नगरपरिक्रमा गराएको छ । यो राम्रो काम हो यसले खेलाडीलाई थप हौसला बढाएको छ । यसका साथै नेपाली खेलाडीलाई योभन्दा ठूला प्रतियोगितामा सहभागी हुनु पर्ने, त्यहाँ पनि सफलता कायम गर्नु पर्ने चुनौती थपेको छ । यसरी हेर्दा खेलाडीलाई अवसर र चुनौती दुवै सिर्जना भएको छ । यसै सन्दर्भमा राखेपका सदस्यसचिव रमेश सिलवालले सागपछि एसियन खेलकुद, ओलम्पिक र विश्वकपसहितको महत्वकांक्षी योजनासहित अघि बढ्ने बताउनु भएको छ भने काठमाडौं महानगरपालिका, प्रदेश सरकारललगायत अन्य थुप्रै संघसंस्थाहरूले समेत खेलाडीलाई सम्मान र पुरस्कृत गर्ने बताइरहेका छन् । यो राम्रो काम हो, यसले भोलिका दिनमा खेल क्षेत्रले अपेक्षाकृत सफलता हासिल गर्ने र मुलुकको अन्तर्राष्ट्रिय पहिचान बढ्नुका साथै पर्यटन प्रर्वद्धनमा समेत टेवा पु¥याउने देखिन्छ । यो सफलता भेदन गर्नका लागि राखेपले सजगता र सतर्कताचाहिँ अपनाउनै पर्छ । किनकी कांग्रेसलगायत हिजोका सरकारले राखेपलाई आफू, आफ्ना नातेदार, वरपरका र आफ्ना कार्यकर्ताको भर्तिकेन्द्र बनाएको छ, थुप्रै विकृति विसंगति भित्र्याएको छ, फोहोर थुपारेको छ । यस्तो संस्थाको फोहोर सफा गर्न धेरै ठूलो मेहेनत गर्नुपर्छ, धेरै कुरालाई फाल्नुपर्छ । नेकपाको सरकार आएपछि र यो सरकारले ल्याएको राखेपको कुशल नेतृत्वले खेल क्षेत्रलाई सुधारको प्रक्रियामा लगिरहेको छ, यसले आफूलाई सुधारेर थप उपलब्धि हासिल गरोस्, राखेपले खेललाई उत्पादनशील क्षेत्रको रूपमा विकास गरेर खेलाडीलाई उत्पादनशील काममा जोड्दै समृद्ध राखेप बनाओस्, राष्ट्रिय अर्थतन्त्रमा थप टेवा देओस्, खेलाडीहरूको जीवन सुखी बनोस् । सबैमा शुभकामना र बधाई !

मन्त्रीहरूलाई बधाई (सम्पादकीय)



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हालै बसेको सचिवालय बैठकले महत्वपूर्ण र दूरगामी निर्णय गरेको छ । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी फेरबदल गरेको छ । मुलुकको सर्वाधिक शक्तिशाली र दक्षिण एसियाकै दोस्रो ठूलो कम्युुनिस्ट पार्टी नेकपा सञ्चालनका सन्दर्भमा सबै निर्णय एक्लै लिन सक्ने गरीको कार्यकारी अधिकारसहितको पार्टीको जिम्मेवारी पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई र राज्य सञ्चालनका सबै कामको निर्णय एक्लै लिन सक्ने गरीको पूर्णअधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । यो दूरगामी असर पार्ने ऐतिहासिक निर्णय हो । यसले एकातिर दुवै अध्यक्षलाई आफ्नो सोच, शैली र स्पिरिटमा हिड्न, मुलुक र पार्टीलाइ हिडाउन सहज भएको छ भने अर्कोतिर, पार्टी एकता र सरकार सञ्चालनमा असहज भइरहेका काम अगाडि बढाउन, निर्णय लिन सहज भएको छ । अब सरकार, पार्टीका बीचको कुनै झमेला बाँकी नरहने, जस अपजस आ आफूले लिने भएपछि सम्बन्ध पनि समधुर बन्ने, सहयोगको आदान प्रदान पनि राम्ररी हुने, पार्टी र सरकारको गतिलाई पनि यसले तीव्र बनाउने हुन्छ । यो पार्टीपंक्ति र जनताको लागि पनि सुखद विषय हो । यसैको फलस्वरूप हालैको सचिवालय बैठकलाई जानकारी गराएर प्रधानमन्त्री ओलीले पहिलोपटक आफ्नो मन्त्रिपरिषद्को हेरफेर गर्नुभएको छ । मौजुदा मन्त्रिपरिषद्मा पहिले बनेका केही मन्त्रीहरूले विदा पाएका छन् भने केहीको थमौती भएर पूर्ण जिम्मेवारी पाएका छन् । कोही साविक जिम्मेवारीमा छन् भने कसैको जिम्मेवारी फेरिएको छ । झण्डै झण्डै दुई तिहाईको एक्लै सरकार निर्माण गर्न सक्ने ताकत बनाएको र अहिले दुई तिहाईकै सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा हेरक हण्डर ठक्कर उतारचढाव झेल्दै यहाँसम्म आएको छ । यसमा एकीकृत भएका दुवै पूर्वपार्टीले सबैखाले परिस्थितिको सामना गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई सुरक्षित अवतरण गरी यहाँसम्म ल्याएका छन् । यसमा हजारौं सहिदले बलिदानी गरेका छन्, लाखौले कष्टपूर्ण संघर्ष गरेका छन्, विरोधी शक्तिसँग लडाई गरेका छन् र करोडौंले यसलाई आफ्नो ठानी माया गरेर मत दिई सरकार बनाउन सहयोग गरेका छन् । जसकारण आजको पार्टी बनेको छ, दुई तिहाईको सरकार बनेको छ, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री,सांसद, राजदूत, सल्लाहकारहरू बनेका छन्, सार्वजनिक पदमा थुप्रै पुगेका छन् । तर विडम्बना, उनीहरू पदमा पुग्दा कम्युनिस्ट आचरणमा स्खलित भएका छन् । कम्युनिस्ट पार्टीका नेता, मन्त्री, सांसद जो कोही भए पनि उनीहरूले कसैलाई होचो अग्लो, आफ्नो अर्काको, नजिक, टाढा देख्दैनन्, व्यक्तिगत स्वार्थमा लाग्दैनन्, कसैको सियोसम्म त्यसै लिँदैनन् । तर अहिलेका कम्युनिस्ट पार्टीका नेताहरू थोरैबाहेक धेरैले सिद्धान्तविपरीतका आचरण र व्यवहार देखाउने गरेका छन् । मन्त्री र सांसद बन्दा सामूहिक योगदानका आधारमा बन्ने, पदमा पुगिसकेपछि आफू त्यहाँ आएको धरातल बिर्सिएर म आफ्नै योगदानले यहाँ आएको भन्नेजस्तो गरी, कसैले नगरेको योगदान एक्लै गरेकोजस्तो गरी प्रस्तुत हुने गरेका छन् । त्यतिमात्र होइन, पदमा पुगेपछि र अवसरको बाँडफाँडमा सामूहिकताको भावना, समन्यायिक भावना नराखी आफ्ना आसेपासे, भाइभारदार, साला, साली, वरपरका हुक्के,ढोके, आफू पदमा पुग्दा चाकडी गर्न महंगा दोसल्ला र पुष्पगुच्छा लिएर आउनेहरूलाई, ठेक्कापट्टा मिलाई दिएवापत रसदपानी आफूलाई ल्याउनेहरूलाई मात्र हेर्ने, उनीहरूको मात्र कुरा सुन्ने, उनीहरूलाई मात्र मन्त्री क्वार्टर र मन्त्रालयका गोप्य कोठामा राख्ने, आफू मालिक जनतालाई दास देख्ने प्रवृत्तिको पुनरावृत्ति विभिन्न पदमा पुगेका, मन्त्री भएका कम्युनिस्टहरूबाट भएको छ । जुन कम्युनिस्ट आचरणविपरीतका काम हुन् । यस्ता काम हिजोका पञ्च र कांग्रेसले गर्थे, आज यो रोग सामूहिक सहभागिताका आधारमा निर्माण भएको कम्युनिस्ट पार्टीमा पनि सरेको छ । यसले मन्त्रीहरू सांसदहरू सुविधाभोगी, भए, व्यक्तिगत सम्पत्ति आर्जन गर्ने,नवधनाढ्य बन्ने, सामन्तहरूको जस्तो आचरण र व्यवहार कार्यकर्ताहरूमा गर्ने जस्ता विकृतिले नराम्ररी घर गरेको छ । फलत पार्टी विभाजित भए, नेता पूँजीवादी भाषामा गएर पलाएन भए, भ्रष्टाचारमा कम्युनिस्ट पार्टीका नेता, मन्त्री, सांसदहरू मुछिए । यसले पार्टीका इमान्दार कार्यकर्ताहरूलाई निरास बनाएको छ । अहिले मन्त्रिपरिषद् पुनर्गठन भएको छ, कामको मूल्यांकनको आधारमा रहने र हट्ने भएको, राम्रालाई निरन्तरता दिइएको, काम गर्न नसक्ने र खराब आचरण भएकालाई विदा दिइएको जस्तो देखिएको छ । यसरी हेर्दा केही मन्त्रीहरूले काम गर्न नसकेको, कसैको आचरण ठीक नभएको,भ्रष्टाचार गर्दा, गर्न नसक्ने कुरा जथाभावी बोल्दा, आफूलाई उपल्लो र कार्यकर्तालाई तुच्छ ठान्दा यस्तो भएको हुनसक्छ । अपवादबाहेक सबै यस्तै समस्याको सिकार भएका हुन सक्छन्, जनतालाई दास देख्ने आफूलाई मालिक ठान्ने र स्वार्थकेन्द्रित काम गर्नेहरू पर्न सक्छन् । जे होस् अब भोलिका दिनमा अहिले आएका र पुराना रहेका मन्त्रीहरूबाट यस्तो व्यवहार नहोस्, पार्टीका कार्यकर्ता र जनतालाई हेर्ने दृष्टिकोण कम्युनिस्ट आचरणअनुसारको बनोस्, आफूलाई जनताको सेवक ठान्ने होस्, म जनताको हितमा काम गर्न आएको हुँ, मैले देश र जनताको हितमा काम गर्नुपर्छ भन्ने भावनाको विकास होस् । योगदानका आधारमा अवसरको बाँडफाँड हुनुपर्छ, मलाईजस्तै अरूलाई पनि मन्त्री र सांसद हुने ईच्छा हुन्छ भन्ने सोचको विकास सबैमा होस्, यो कुराको हेक्का पार्टी नेतृत्वलगायत सबै नेतामा पनि होस्, जनताले सुख पाऊन्, पार्टी शक्तिशाली बनोस्, देशमा समृद्धि छाओस्,अहिलेका मन्त्रीहरूले भोलि अपदस्त नहुने गरी राम्ररी काम गरून्, सबैका साझा मन्त्री बनून्, कार्यकाल सफल बनोस् । यही शुभकामना अनि बधाई !