वर्तमान सरकार र ओलीसँगको अपेक्षा


रामकुमार बस्नेत



प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली नेपालको संविधानको धारा ७६ (२) बमोजिम गत हप्ता प्रधानमन्त्री नियुक्त हुनुभएको छ । हालका प्रधानमन्त्री ओलीले बनाएका निबर्तवान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि ओली प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओली नेपाली राजनीतिमा नयाँ अनुहार होइन् । उहाको चरित्र र प्रवृत्तिबाट नेपाली जनता अनभिज्ञ छैनन् । यसैले तेस्रोपटक नेपालको प्रधानमन्त्री भएपछि ओलीले चमत्कारै गर्लान् भन्ने अपेक्षा जनताले गरेका छैनन् । यस अगाडीको समयमा पनि काम भन्दा कुरा र सपना बढी भएका कारण यसपटक पनि सुधारको त्यस्तो चमत्कार होला भन्ने छैन । बरु राजनीतिक संक्रमणको सुरुवात हुने तर्फ पनि मुलुकको राजनीति अगाडी नबढला भन्न सकिन्न । किनकि यहाँ आफ्नो ढंगले केहि चल्दैन । बाहे शक्ति राष्ट्रका स्वार्थहरु टकराउँछन ।

अर्को कुरा सरकार गठन भएकै दिन महिला संविधानमा ब्यबस्था गरे विपरित १० प्रतिसत मात्र समावेश गरीएको छ भने जनजातिलाई सुन्य पारिएको छ । यसो गर्नु भनेको संविधानले ब्यबस्था गरेको समावेशि सिद्धान्तको बर्खिलाप हो । जुन आरोप यो सरकारलाई लागी सकेको छ । सरकारमा कांग्रेस, एमाले र अरू साना दलका गरी २१ जनाले मन्त्री पदको शपथ लिई सकेका छन् । जसमा कतिपय अनुहारहरु विवादमा मुछिएका पनि छन् । अगिल्लै सरकारका पालामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम एवं राजस्व र व्ययको अनुमान पारित भइसकेको छ । अब बजेटप्रति सरकारको दृष्टिकोण कस्तो हुनेछ भन्ने चासो बढ्को छ । देशका अधिकांश भाग अहिले नै बाढी, पहिरो र डुबानको चपेटामा परेका छन्, जनधनको थुप्रै क्षति भएको छ । यस्तो अबस्थामा सरकारले पीडित जनताको सहायता र सुरक्षाका निम्ति युद्धस्तरमा काम गर्नु जरुरी छ । साथै राज्यको ढुकुटी अनहाकमा रित्तयाउने पात्र र प्रवृत्तिको पनि अन्त्य गर्नुपर्ने छ । अघिल्ला कार्यकालमा प्रधानमन्त्री ओलीले थुप्रै गल्ति गर्नुभएको छ । त्यसलाई आत्मसमीक्षा गरेर पुराना गल्तीहरू नदोहो¥याउने वाचा गर्नुकासाथै छिमेकिसँगको सन्तुलन राम्ररी मिलाउनुपर्ने जरुरी छ । अर्को उहाँका वरीपरि बस्नेहरु बहुतै लोभि, पापी, स्वार्थी र अवसरबादीहरु छन । तिनीहरुबाट जोगिनु पर्ने छ । कतिपयले ओलीलाई स्वार्थकालागी हौस्याउने पनि गरेका छन । त्यस्ताका कुरा सुनेर हौसिनुहुँदैन भने आफु सत्तामा छँदा पार्टी र आफ्नो नेतृत्वलाई संविधानभन्दा ठूलो ठान्ने प्रवृत्ति पनि बदल्नुपर्छ ।

साथै प्रतिपक्षको पनि साथ, सहयोग र सल्लाह लिनुपर्छ । काँग्रेस प्रतिस्पर्धि दल भएको हुनाले उसको रणनीति बुझेर सरकार सञ्चालन गर्नु जरुरी छ । नत्र अर्को निर्बाचनमा एमाले समाप्तिको दिसामा जानेछ । यसतर्फ पनि होसियार हुनुपर्ने छ । साथै काँग्रेस पनि देश र जनताको हितमा भन्दा आफ्नो र आफन्तको हितमा मात्र काम गर्ने पार्टी भएकोले उसको हित विपरित काम हुनेबित्तिकै सरकार ढाल्ने तिर लाग्न सक्छ । यसलाई ध्यानमा राखेर प्रधानमन्त्री ओलीले सबैसँग सन्तुलन मिलाउन सकेको खण्डमा उहाँलाई सफलता मिल्ने छ । उहाँलाई सफता मिलोस् । शुभकामना !

सार्वजनिक प्रशासनको प्रभावकारितामा आध्यात्मिकताको महत्व


                                          

डा. दामोदर रेग्मी

     

वर्तमान समयमा मानिसको ठूलो रोग आन्तरिक व्यक्तिगत मूल्य, प्रवृत्ति, श्रेष्ठ भावनाको लागि वाह्य साधन, व्यक्ति र वस्तुमा खुशीको खोजी गर्नु रहेको छ । राम्रो सोचाई जीवनशैलीको एक आधार हो तर यो मात्र सम्पूर्ण भने होइन । जति राम्रो सोचाइको आवश्यकता छ त्यति नै श्रेष्ठ कर्मको पनि महत्व हुन्छ । दोस्रो, व्यक्ति वा अन्य वस्तुको प्राप्तिले मात्र हामीमा स्थायी प्रसन्नता उत्पन्न गर्न सक्दैन । वाह्य पक्षहरुले हाम्रो जीवनमा योगदान, मार्गदर्शन र प्रेरणा त प्रदान गर्न सक्लान तर प्रसन्नतामा मौलिकता प्रदान गर्ने उत्तरदायित्व व्यक्ति मै निर्भर रहेको हुन्छ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याहरुले जीवनको यात्रालाई कठीन बनाउछ तर समाधान आफैबाट खोजिनु पर्दछ ।

वर्तमान समयमा मानिसको जीवनका प्रत्येक कदमहरु संकट, समस्या र निराशापूर्ण बनेका छन् । यसको समाधान कसरी गर्ने । स्वयंलाई निराश र हतास हुनबाट कसरी बचाउने ? यी प्रश्नको समाधान केवल आफै भित्र आध्यात्मिकता को खोजीबाट मात्रै संभव छ । आफ्नो चेतना जागृत बनाउन ‘स्व’ को ज्ञानको आवश्यक हुन्छ । आध्यात्मिक ज्ञानले मानिस भित्र सकारात्मक चिन्तन उत्पन्न हुन्छ जसले जीवन प्रतिको यथार्थ दृष्टिकोण विकास गर्नमा सहायक सिद्ध बन्दछ । यो नयाँ विकसित आध्यात्मिक ज्ञानले जीवनमा उत्पन्न हुनसक्ने नकारात्मकता र यसबाट सिर्जित हुने कष्टलाई कम गराउनमा सहयोग पु¥याउछ । स्वयं प्रति बढी भन्दा बढी सकारात्मक दृष्टिकोणको उत्पत्ति गराउदा हाम्रो मनोवृत्ति अरु व्यक्ति र अन्य परिस्थिति प्रति पनि सकारात्मक बन्न पुग्दछ । वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्ति को विकास आफैबाट गर्न सक्नु पर्दछ किनकी जीवनलाई प्रभावित गर्ने वाह्य पक्षले जीवनलाई चुनौती दिदै भ्रम उत्पन्न गरिरहेका छन् । यसर्थ आन्तरिक शक्ति नै आध्यात्मिक व्यक्तिको लक्षण हो यसबाट जीवनमा सन्तुष्टता मात्र प्राप्त हुने होइन कि जीवनको सार्थकताको समेत स्पष्ट अनुभूति हुन पुग्दछ । आध्यात्मिक शक्तिको कारणले निराशाको क्षणलाई आशा तथा अन्धकारमा सदा प्रकाशको अनुभूति हुन्छ । आध्यात्मिक शक्तिको अनुभवले जीवन र जगतलाई फरक ढंगले हेर्ने र सकारात्मक परिवर्तन गर्ने चाहना राखेको हुन्छ । यो आन्तरिक शक्तिको अनुभूतिले मानवीय सम्बन्धमा प्रेम, शान्ति, प्रसन्नतालाई सत्यतापूर्वक प्रयोग गर्न सक्ने शक्ति प्राप्त हुन्छ । यसर्थ आध्यात्मिक शक्तिको अनुभवको लागि सत्यता अति आवश्यक हुन्छ  आचरण र व्यवहारमा देखावटीपन र कृतिमताले पूर्णताको अनुभव हुन सक्दैन । वनावटी व्यवहार आन्तरिक रिक्तता र अधिक स्वार्थवृत्तिको लक्षण हो । कसैको बारेमा एउटा निश्चित आधारमा सोच्ने अधिक चासो लिने बानीले निर्भरता, अभाव आवश्यकता र क्षमा जस्ता प्रवृत्ति उत्पन्न हुन जान्छ ।

आध्यात्मिक जीवनको प्रारम्भ विन्दु स्वयमको बारेमा यथार्थ ढंगले सोच्ने र सचेत रहनु हो आफू भित्र सकारात्मक एवं नकारात्मक संकल्पको परीक्षण र पहिचान गर्नु नै स्वयमको बारेमा यथार्थ जान्नु हो । स्वयममा विद्यमान सत्य आध्यात्मिक पहिचानको स्वीकार गर्न सकेमात्र कुनै वहाना अथवा परिवर्तनको भय विरुद्ध लड्न सक्ने साहस सहज ढंगबाट आउन थाल्दछ । जीवनमा  श्रेष्ठताको लागि प्रवृत्ति, भावना तथा अभिप्रायमा शुध्दता आवश्यक हुन्छ । सबभन्दा महत्वपूर्ण कुरा यो हो कि स्व को मौलिक गुण अविनाशी छ जसलाई मानिसले प्रायः अस्वीकार गरेको पाइन्छ । स्व मा निहीत अविनाशी गुण नै मानिसको मनुष्यताको गरिमाको आधार हो । यो अविनाशी गुण नै दिब्यता हो र यहि दिब्यताले नै मानिसलाई महामानव वनाइदिन्छ । यसर्थ आध्यात्मिक व्यक्ति हुनुको अर्थ जीवनको हरेक गतिविधिमा दिब्यताको अवलम्बन गर्नु हो । उत्कृष्ट मानव जीवन नै दिब्यता हो जसका मूल आधार प्रेम, शान्ति प्रसन्नता हुन् । जीवनका उत्कृष्ट वस्तु(प्रेम, शान्ति र प्रसन्नता) निःशुल्क हुन्छन् । तर निःशुल्क चीजहरुको खरीद विक्री हुन सक्दैन यसको व्यापक वितरण भने संभव छ । आध्यात्मिकताले जीवनलाई तेजस्वी र समस्या र संकटको समयमा आनन्द र प्रेमबाट पूर्णताको अनुभव गराइदिन्छ । 

आध्यात्मिकताको जानकारी र प्रयोगले जीवनमा प्रसन्नता ल्याउछ । तत्वमा जीवन जीउने कला जान्नु नै आध्यात्मिकता हो । पूजा पाठको पद्दति वा कर्मकाण्ड आध्यात्मिकता होइन । यो स्वयं र अन्य व्यक्तिहरुले अपनाउदै आएको जीवन प्रतिको संघर्ष समाप्त गर्ने उद्देश्यले अपनाइने एक सकारात्मक दृष्टिकोण हो । यसको अवलम्वनले जीवन खुशी र सुखमय बन्दछ । मानव जीवनका स्वार्थ रहित मित्रता, उद्देश्यपूर्ण जीवन र भावनात्मक सन्तुष्टता प्रसन्नताका आधारहरु हुन् । प्रसन्नता प्राप्ति वा यसको अभावको वाह्य कारणको प्रभाव  होइन यो आन्तरिक विषय नै हो । उदाहरणको लागि धन न त प्रसन्नता प्रदान गर्ने साधन हो न त अप्रसन्नताको साधन । व्यक्तिको वाह्य साधन वा वस्तुहरु (धन, व्यक्ति, घटना, वस्तुको उपयोग र दुरुपयोग) प्रतिको हेराईको दृष्टिकोणले नै यसको निधारण गर्दछ ।

आध्यात्मिक उन्नतिको लागि अपनाउन सकिने प्रकृयाहरु

१. स्वयं तथा अन्य व्यक्तिहरु प्रति सकारात्मक चिन्तनबाट दिनचर्याको प्रारम्भ गर्ने ।

२. आफ्नो संकल्प, वोली र कर्मलाई सकारात्मक बनाइ सकारात्मक जीवनशैलीको अवलम्वन गर्ने ।

३. पूर्वाग्रह र भेदभाव विना सबै व्यक्तिहरु प्रति आदरभाव प्रकट गर्ने ।

४. विविध विचार, दृष्टिकोण र संस्कृतिको वारेमा सहजतापूर्वक सुन्न सक्ने क्षमताको विकास गर्ने र आग्रह पूर्वाग्रहको भावनाको त्याग गर्ने ।

५. प्रत्येक दिन आध्यात्मिक तथा नैतिक शक्ति विकास गर्न तथा आन्तरिक शान्ति अभिवृद्धि गर्न योग ध्यान गर्ने ।

६. प्रेम, सहनशीलता, नम्रता तथा दया जस्ता आत्माका मूल गुणहरुलाई दैनिक व्यावहारिक जीवनमा प्रयोग गर्न प्रयत्नशील रहने ।

७. जीवनलाई ईश्वरको अमूल्य उपहारको रुपमा स्वीकार्ने र हर क्षण मुस्कानको अवस्थामा रहने ।

आध्यात्मिकताको अवलम्वनले व्यक्ति विशेषमा दैनिक गतिविधि र कार्यसूचीहरुलाई उपयूक्त तबरबाट व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुन्छ । मानसिक एकाग्रताको अभिवृद्धिले लक्ष्य प्राप्तिमा नकारात्मक असर पार्न सक्दैन । आध्यात्मिक शिक्षा र प्रवृत्तिको अवलम्वनले अहमपनाको समाप्तिको साथै अनुशासित र उत्तरदायीपूर्ण जीवनशैलीको अवलम्वनमा सहयोग पुग्न जान्छ ।

नेतृत्वदायी व्यक्तिले आफ्नो असल कर्म र विचारको व्यवहारिक प्रदर्शन गर्न सक्नुपर्दछ । धैर्यता, दूरदर्शिता, अनुकुलनको सामायिक व्यवहार नेतृत्वको लागि आवश्यकीय विशेषताहरु हुन् । यी सबै गुणहरु आध्यात्मिकताको अवलम्बन गर्ने व्यक्तिहरुमा बढी मात्रामा पाउन सकिन्छ । आध्यात्मिकताको अवलम्वनले प्रवृत्ति, दृष्टिकोण र कार्य दक्षतामा वृद्धि ल्याइदिनुको साथै यी दक्षताहरुको व्यवहारिक प्रयोगमा उर्जा प्रदान गर्दछ जुन कुरा नेतृत्व क्षमताको विकासको लागि अपरिहार्य पक्ष हो ।

व्यवसायिक जीवन विविध अनेक पक्षहरु र आरोह अवरोहहरुको संगम हो । परिश्रम, धैर्यता, सहनशीलता समस्याहरुसँग भिड्न सक्ने क्षमता, चुनौतीहरु वीच पनि अवसर देख्न सक्न व्यावसायिक जीवनका अपरिहार्य विषयहरु हुन् । आध्यात्मिकताको विकासले व्यक्तिमा उपरोक्त गुणहरु गहिराईबाट प्रवेश भएका हुन्छन् । आध्यात्मिकताले श्रमलाई सहज रुपमा स्वीकार्ने र शुभभावनायूक्त बनाउनमा सहयोग पुर्याउँछ । जसले व्यक्तिलाई व्यवसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ ।

आध्यात्मिकताको अर्थ न त भौतिक जगतसँग भावनात्मक रुपमा बढी नै मात्रामा आवद्ध हुनु हो न त सांसारिक साधनको उपभोगबाट पृथक भएर बस्नु हो । हाम्रो अर्धचेतन मनलाई सर्वोच्च सत्तासँगको निरन्तर सम्बन्ध र समर्पण भाव नै यथार्थतामा आध्यात्मिकता हो । आध्यात्मिकतालाई आस्तिक वा नास्तिकको सीमारेखाबाट हेरिने तथा कर्मकान्डी वा क्रान्तिकारीताको विभेदको कसीमा हेरिदा पनि आध्यात्मिकताको सही परिभाषा भएको मान्न सकिदैन । आध्यात्मिकताको अर्थ र उद्देश्य सही रुपमा बुझ्न नसक्दा पनि मानवजीवन प्रभावशाली बन्न सकिरहेको छैन । आध्यात्मिकता धर्म भन्दा पनि अलग छ यो आध्यात्मिकता चेतना र व्यवहार बीचको समिश्रण हो । यसको व्यवहारपरक प्रयोगले हाम्रा नियमित कार्य व्यवहारहरु प्रभावकारी, आदर्श र अनुकरणीय वन्ने मात्र होइनकी यसले हामीमा मानसिक शान्ति, सन्तुलन र स्वस्थ्यताको दिगो आधारस्तम्भ समेत प्रदान गर्दछ ।

सरकारले जनताप्रति प्रवाह गर्नु पर्ने सेवा सुविधाहरु सरकारले आफ्नो संयन्त्रको परिचालनबाट गर्ने गर्दछ । सरकारी सेवा सुविधाको प्रवाहको संयन्त्र तथा जन आकांक्षाहरुलाई नीति निर्माणको लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पुर्याइदिने सम्वाहकको रुपमा सार्वजनिक पदाधिकारीहरुको भूमिका अति नै महत्वपूर्ण रहने गर्दछ ।
विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकांक्षाको तह पनि उच्च रुपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक पदाधिकारीहरुको कार्यक्षमता, प्रभावकारिता र सवल उपस्थिति अनिवार्य शर्त हुन आउछ । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक पदाधिकारीहरुमा हुनु पर्ने न्यूनतम मूलभूत विशेषताहरु हुन् । यी विशेषताहरुको सक्षम उपस्थितिले नै सक्षम सार्वजनिक निकायको अपेक्षा गर्न सकिन्छ र यी विशेषताहरुको न्यून उपस्थिति वा क्षयीकरणले समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ , जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्दछ ।

सार्वजनिक भूमिकाको यो गरिमा र महत्वलाई दृष्टिगत गरेर यसलाई सक्षम र प्रभावकारी बनाउन विभिन्न उपायहरुको अवलम्बन गरिएको हुन्छ । सबैको सहज पहुंच निष्पक्षता सहितको प्रतिस्पर्धा, योग्यतामा आधारित छनोट प्रणाली, विज्ञता र विशेषज्ञता, वृत्ति विकासको स्पष्ट मार्गचित्र, उत्प्रेरणाका संयन्त्रहरुको प्रयोग उत्तरदायित्व, पारदर्शिता तटस्थता सदाचारिताको सैद्धान्तिक अवलम्बन सार्वजनिक पदाधिकारीहरुलाई सक्षम र प्रभावकारी बनाउने उर्जावान संयन्त्रहरु हुन् ।
सार्वजनिक पदाधिकारीहरु सरकारको अंग भएर मात्र होइन समाजको एउटा आदर्श चरित्रको रुपमा समेत स्थापित हुनुपर्ने कारणले यो अंग बढी सक्षम र प्रभावकारी हुनुपर्दछ । उनीहरुको सक्षमता र प्रभावकारिता भनेको पेशागत दक्षता सहितको व्यवसायिकता, कार्यसम्पादनमा तटस्थता र निष्पक्षता, कानुनको परिपालना गर्दै व्यवहारोपयोगी अन्तरवैयक्तिक सम्बन्धको निर्माण र सेवाग्राहीसँगको सहिष्णुता, भ्रष्टाचार रहित कार्यशैलीले युक्त सदाचारिताको अवलम्वन जस्ता कसीमा उत्तम सावित हुनु हो । यी सवै कार्यमा शासकीय संयन्त्रका अन्यपात्रहरुको भूमिका पनि यसै आयामको परिवेशमा केन्द्रित रहनु आवश्यक हुन्छ।

यस्ता सवल पक्षहरुको प्रभावकारिता व्यक्तिले हासिल गरेको औपचारिक शिक्षा, वातावरणीय पर्यावरण, सामाजिक पर्यावरण, रहनसहन, सांस्कृतिक परिवेशमा निर्भर रहन्छ । यसको अतिरिक्त व्यक्ति विशेषमा आन्तरिक रुपमै सिर्जित हुने मूल्य मान्यता प्रतिको विश्वास, एउटा मानवको हैसियतले स्व स्थितिको विकास र उन्नतिको साथसाथै समाज, राष्ट्र हुदै विश्व कल्याणमा योगदान गर्ने चाहना पनि यसै विषयका अन्तरबस्तु अन्तरगत पर्दछन् ।
सकारात्मकताको अवलम्बन नै सक्षमता तर्फको प्रस्थानको शुरुवात विन्दू हो । सकारात्मकताको प्रवेशताको प्रवद्र्धन जति औपचारिक शिक्षा र सकारात्मकताको भौतिक मापन विधिबाट गर्न सकिन्छ त्यति नै मूल्य, मान्यता, दायित्व वोध, समर्पण भाव, मधुरता, धैर्यता, परोपकारिता, सहिष्णुता जस्ता पक्षको आन्तरिक सवलीकरणबाट पनि सकिन्छ । शासन प्रणालीका पात्रहरुको भुमिका पनि यी दुई आयामहरुको परिधि भन्दा बाहिर जान सक्दैन ।
राजनीतिक नेतृत्व, विभिन्न पदाधिकारीहरु र कर्मचारीहरु परिवार, समाज, राष्ट्र र विश्व समुदायको एउटा सदस्य हुन् यसभन्दा अघि उनीहरु एउटा ब्यक्ति पनि हुन् । एउटा व्यक्तिको हैसियतले उनीहरु भित्र सकारात्मकता र नकारात्मकताका धेरै गुण र अवगुणहरु हुन सक्दछन् । तर जब उनीहरु व्यक्तिबाट सार्वजनिक भूमिकामा रहन पुग्दछन् उनीहरु व्यक्तिगत चरित्रको कित्ताबाट बाहिरिएर सार्वजनिक चरित्रको कठोर सीमारेखा भित्र बाधिन पुग्नु पर्दछ । यसपछि उनीहरुमा एउटा सामान्य व्यक्तिको हैसियतमा स्वभाविक रुपमा रहन सक्ने नकारात्मक गुणको उपस्थितिलाई ग्राह्य मानिदैन ,जवकि एउटा व्यक्तिमा थोरैनै मात्रामा भएपनि नकारात्मकताको अवशेष कुनै न कुनै रुपमा रहन्छ र त्यसले कुनै न कुनै वेला विकराल रुप लिन पनि सक्दछ भन्ने मान्यता रहेको छ । यसर्थ शासन प्रणालीका कर्ताहरुमा सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रवद्र्धन अनिवार्य शर्त वन्न पुगेको हो । सार्वजनिक चरित्रको वास्तविक अवलम्बनले नै जनमानसमा उनीहरु प्रति सकारात्मक छवि उत्पन्न हुन जान्छ यी पात्रहरुमध्ये केही पात्रहरुमा मात्र पनि सार्वजनिक चरित्रको उपस्थिति देखिएन वा गलत संस्कार वा प्रवृत्ति देखियो भने त्यसले समग्र प्रणाली प्रति नै जनमानसमा नकारात्मक छवि उत्पन्न हुन जान्छ । सकारात्मक सोंच सहितको इच्छाशक्ति र सदाचारिता शासन प्रणालीका पात्रहरुमा हुनु पर्ने अपरिहार्य गुणहरु हुन् । सदाचारिता विनाको इच्छाशक्ति र इच्छाशक्ति विनाको सदाचारिता दुवै अवस्था अपेक्षा गरिएको अवस्थाहरु होइन । सदाचारिता विनाको इच्छाशक्तिले गलत प्रवृत्तिलाई प्रश्रय दिइरहेको हुन्छ भने इच्छाशक्ति विनाको सदाचारिताले अपेक्षित परिणाम दिन सक्दैन । यसर्थ सदाचारिता र इच्छाशक्ति सार्वजनिक पदाधिकारीहरुमा संगसंगै आउनु पर्ने विषयहरु हुन् । कार्यव्यवहारमा आध्यत्मिकताको अवलम्बनले   र सार्वजनिक प्रशासनलाई सदाचार र इच्छाशक्तिले युक्त बनाउनमा सहयोग गर्दछ । 

(लेखक प्रशासनविद तथा गीतकार हुन् )

प्रचण्डको अबशान र नयाँ सरकारका चुनौती


प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको १९ महिना भयो । यो बीचमा ४ पटक सरकार परिवर्तन भएको छ । सुरुमा माओवादी–एमाले, त्यसपछि माओवादी–कांग्रेस, अनि माओवादी–एमाले हुँदै अहिले कांग्रेस–एमालेको जोडी सरकार बनाउने तर्खरमा छन् । यसले माओवादीलाई सरकारबाट बाहिर पारि दिएको छ । केन्द्रको राजनीतिक समीकरण प्रदेश सरकार पनि पर्ने भएकाले प्रदेश सरकार पनि अब फेरीने भएका छन । १० पुस, २०७९ मा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एमालेसँगको यात्रा लामो समयसम्म जोगाउन नसक्दा यस्तो अबस्था आएको हो ।

१५ फागुन, २०७९ मा एमाले सरकारबाट बाहिरियो भने माओवादीको समर्थनमा कांग्रेस उभियो । त्यसपछि करिब १ वर्षसम्म कांग्रेससँग सहकार्य गरेका प्रचण्डले २१ फागुन, २०८० मा कांग्रेससँगको गठबन्धन तोडेपछि फेरि एमालेलाई साथमा लिएर प्रचण्ड प्रधानमन्त्रीमै रहे । तर, प्रचण्डका लागि एमालेको साथ फेरि पनि लामो समयसम्म टिक्न सकेन । गत असार १९ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफैँ सरकारको नेतृत्व लिन तयार भयो । माओवादीबाट २–२ पटक धोका पाएका कांग्रेस र एमाले एक ठाउँमा उभिँदा माओबादी बाहिरीएको छ । २८ असारमा कसैको पनि बहुमत आउन नसकेको अवस्थामा प्रचण्ड नै सत्तामा रहिरहनुपर्छ भन्ने पनि छैन । तर, स्थिर सरकार भइदिए हुँदै आएका कामहरूलाई मन्त्रालयगत रूपमै अघि बढाउन पक्कै पनि सहज हुने थियो । यो सरकारका कतिपय मन्त्रीले राम्रा काम गरेका छन, शिक्षा, स्वास्थ्य, खेलकुद र गृहमा राम्रो काम भएको छ, त्यसलाई यो सरकारले निरन्तरता दिनुपर्छ ।

यसैगरी त्रिभुवन विश्वविविद्यालयको अतिक्रमित जग्गाबारे छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजगत्वमा समिति गठन भएर प्रतिवेदन समेत दिई सकेको छ । अब यसलाई निर्मम ढंगबाट कार्यान्वयन गर्नुपर्छ । यस्ता काम हुन्छन कि हुँदैनन् ? यदि आउने सरकारले यि काम गरेन भने प्रश्न उठने देखिन्छ । त्यसैगरी यो सरकारले छानविन गरीरहेको नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुनकाण्डसम्मको अनुसन्धान के हुन्छ ? जवकि कांग्रेसका बालकृष्ण खाण, एमालेका सचिव टोपबहादुर रायमाझी, एमालेकै उपाध्यक्ष रामबहादुर थापाका छोरा यही प्रकरणमा पक्राउ परेका छन । त्यसैगरी अहिलेका गृहमन्त्री रवि लामिछानेको सहकारी ठगिको अनुसन्धान के होला ? कांग्रेस र एमालेले नै मिलेर अब सरकार चलाउने भएकाले यो अनुसन्धानले निरन्तरता पाउने र दोषीहरूलाई कारबाही हुनेमा शंका छ । त्यस्तै, काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको बाल मन्दिरको जग्गा कौडीको भाउमा निजी शैक्षिक संस्थालाई लिजमा दिने गरी भएको विवादित सम्झौतामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहहरू मिसिएको यो घोटालामा पनि कांग्रेसका नेता÷कार्यकर्ताहरू जोडिएकोले यो प्रकरण पनि रातारात साम्य हुने शंकाछ । त्यसैगरी यो सरकारले चलाएको अर्को अनुसन्धान र कारबाही हो सुनकाण्डमा । यो खालको अनुसन्धान अब आउने सरकारले गर्छ गर्दैन यो चासोको बिषय भएको छ । किनकि यस्ता काण्डमा बढी गरेर कांग्रेस र एमालेका नेता÷कार्यकर्ताहरूका नाम जोडिने गरेकाले पनि यस्ता घटनाको निश्पक्ष अनुसन्धान होला भन्नेमा आशंका छ ।


हरेकपटक सरकार परिवर्तन हुँदा अघिल्लो सरकारले गरेका राम्रा कामहरू त्यसै हराएर जाने प्रचलन नै बसिसकेको छ । अबका दिनमा पनि त्यो नदोहोरिएला भन्न सकिन्न । तर, अस्थिरताको अन्त्य गर्न र स्थिरतासहितको सुशासनको नारासहित आउन लागेको सरकारले त्यस्ता कामलाई निरन्तरता दिनैपर्छ । होइन भने स्वार्थपूर्ति र भ्रष्टाचार गरेर सम्पत्ति थुपार्नकालागि मात्र सरकार बदलिएको पुष्टि हुनेछ । त्यो भयो भने यी दुबै दल ईतिहाँसका पानामा खोज्नुपर्ने दिन आउनेछ । यसबाट बच्नका लागि पनि असल काम र सुधारका कामलाई निरन्तरता दिनु उनीहरुका हितमा हुनेछ । यी काममा एमालेले बढता ध्यान दिनुपर्छ । नत्र एमालेको हालत हुनेत छँदैछ, वाम आन्दोलननै धरासयी हुनेछ ।

सुशासनको नवीनतमा आयाम खुला सरकार साझेदारिता


डा.दामोदर रेग्मी

  शासनका आधारभूत पक्षहरूमा नागरिक सर्वोच्चता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, कानुनको शासन, बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध दुरदृष्टिलेयुक्त र तदनुरूपको कार्यशैली, सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरूसमेत शासनका आधारभूत पक्षका रूपमा रहेका हुन्छन् ।संविधान, कानुन र तदनुरूपका विधि र प्रक्रिया बमोजिम शासन सञ्चालन हुनु, राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अङ्ग सरकार र यसका अङ्गहरू मार्फत शासन सञ्चालन गरिनु,  सार्वभौमसत्ता सम्पन्न नागरिकका प्रतिनिधिद्वारा नागरिक सर्वोच्चताको अवधारणा र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिनु  शासनका मूलभूत विशेषताहरू हुन् । 

शासकीय प्रणालीमा मा समयको परिवर्तन संगै धेरै आयामिक परिवर्तनहरू आएका छन् । कर्मचारीतन्त्रको अवधारणावाट सुरू भएको प्रशासन प्रणाली अलि पछि गएर सार्वजनिक प्रशासनको नामवाट परिचित हुन थाल्यो । कर्मचारीतन्त्र शव्द मूलत कर्मचारीको आयामवाट परिचित थियो जसमा पदसोपान, नियममा आधारित कार्यप्रणाली, वृत्तिविकास, तलव सुविधाका कुरा चलनचल्तीमा थिए तर ती सवैको आशय सेवा प्रवाह नै थियो । सार्वजनिक प्रशासनको कित्तामा पुगेपछि यो अव जनता प्रति वा सार्वजनिक मुद्दाहरू प्रति बढी केन्द्रित हुन पुग्यो । तत्पश्चात सार्वजनिक मुद्दाहरूको सम्बोधनलार्ई परिणाममुखी बनाउने उद्देश्यका साथ विकास प्रशासनको अवधारणा आयो । यसले परिवर्तनलार्ई समय आवद्धता संग जोड्यो । समयक्रमसंगै विकास प्रशासन र नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणा साथ अगाडी बढ्न थाल्यो । यो अवधारणाले व्यवस्थापनवाद खासगरि खर्च वा लगानी अनुसारको उत्पादन वा सेवा प्रवाह हुनु पर्ने, खर्च वा लगानी अनुसार गुणस्तरयुक्त उत्पादन वा सेवा प्रवाह हुनुपर्ने कुरामा जोड दियो । यो अवधारणाले सरकारी कामकारवाहीहरूमा पनि निजी क्षेत्रका गुणहरू रहनु पर्ने अवधारणाले मान्यता पाउन थाल्यो । यसपछि जवाफदेशी शासन वा रेस्पोन्सिभ गभर्नेसको अवधारणा अगाडी बढ्दै गयो। यसले पारदर्शिता, उत्तरदायित्व, जवाफदेहिता, समावेशी जस्ता पक्षहरूलार्ई प्राधान्यता दिनु पर्ने कुराहरूमा जोड दिएको छ  ।  

सन् १९८० को दशकबाट विकसित उदारीकरण र भूमण्डलीकरणले सिर्जना गरेका नवीनतम परिवेश तथा दुई ध्रुवमा विभाजित अन्तर्राष्ट्र्यि राजनीतिको उपजको रुपमा रहेको राजनीतिक परनिर्भरता क्रमशः आर्थिक अन्तरनिर्भरता को अवधारणामा परिणत हुदै गएपछि वदलिदो सन्दर्भ अनुरुप प्रशासनिक मान्यता र कार्यशैलीमा समेत परिवर्तनको आवश्यकता महशुस हुनु स्वभाविकै थियो ।यसको अतिरिक्त विसौं शताव्दीको अन्तिम दशकमा विश्वका अधिकांश देशहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति प्रजातान्त्रिक लहरवाट प्रभावित हुन पुगे । यसै अवधिमा डेभिड ओस्वर्न र टेड ग्याव्लरको सरकारको पुनः आविष्कार को अवधारणा प्रतिपादित हुन पुग्यो । एल गोरको जनताको नजीकमा रहनु पर्ने प्रशासनिक संयन्त्रको परिकल्पना र वेलायतवाट सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, सरल र उत्तरदायी वनाउने सन्दर्भमा नागरिक वडापत्रको प्रयोग, न्यूजील्याण्डमा नयां सार्वजनिक व्यबस्थापनको उदय, सरकार सार्वजनिक साझेदारी अवधारणाको विकास, नेक्स्ट स्टेप एजेन्सी लगायत अन्य अवधारणको विकास र सूचना र प्रविधिका क्षेत्रमा भएको ब्यापक तथा तीब्रतम विकास तथा सरकारको स्वरुप र शासकीय मान्यतामा आएका परिवर्तन, गैर राज्यीय साझेदार को उदय र प्रशासनिक मूल्य मान्यतामा आएका आयामिक परिवर्तनहरु संग प्रशासनलाई अनुकुलित गराउने सन्दर्भमा तत् तत् परिवर्तन संग शासकीय स्वरुपलाई समायोजन गर्ने सन्दर्भमा नवप्रवर्तनको अवधारणा सामयिक बन्दै गएको छ ।

यसै सन्दर्भमा बहुस्तरीय शासनको अवधारणा अगाडी बढेको छ ।  बहुस्तरीय शासन शासन प्रणालीमा बहुपात्र वा वहु संस्थाको उपस्थिति र सहकार्यलाई वढावा दिने अवधारणा हो । यस अवधारणाले शासनमा प्रणालीमा राष्ट्रिय, उपराष्ट्रिय , सार्वजनिक, निजी तथा गैरसरकारी क्षेत्रका पात्रहरूको संलग्नता द्वारा शासन प्रणालीलाई कुशल र प्रभावकारी बनाउन सहयोग गर्ने गर्दछ ।  बहुस्तरीय शासनमा संलग्न पात्र र संस्थाहरुको  क्षेत्रगत  विज्ञता रहने गर्दछ यसै क्षेत्रगत विज्ञताको आधारमा संलग्न पात्र र संस्थाहरु बीच नियमित रूपमा सहकार्य हुने गर्दछ । यस अवधारणाले शासन प्रणालीमा नागरिक सहभागिता र नागरिक समाजको सहभागितामा जोड दिने गर्दछ ।

शासन शब्दको परम्परागत अवधारणाले नियन्त्रण र निर्देशन गर्ने कार्यलार्ई बढी जोड दिने गरेको भएपनि वर्तमानमा यो शब्दले नागरिक र समग्रमा राज्यको हितका लागि गरिने कार्यलार्ई जनाउँछ । शासनको परम्परागत अवधारणा नियन्त्रणमुखी र प्रक्रियामुखी कार्यशैलीका अतिरिक्त, गोप्यतावादी संस्कार, एकल निर्णय, केन्द्रप्रति उत्तरदायी कार्य सम्पादनमा विश्वास गर्दथ्यो ।  यसको अतिरिक्त सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रत पक्षलार्ई शासन भनिन्छ । शासन राज्य प्रणाली सञ्चालन गर्ने विधिसम्मत प्रणाली हो ।यसमा राज्य प्रणाली सञ्चालनका आधारभूत अवयवहरू र सरचनाहरू रहेका हुन्छन् । यो राज्य शक्ति श्रोत र अधिकारलार्ई जनहित र कल्याण एवम् राष्ट्रको उन्नति र विकासका निमित प्रयोग र अभ्यास गर्ने पद्दति पनि हो। राज्य प्रणाली सञ्चालनका अवयवहरू र सरचनाहरूको सकारात्मक सहकार्यले समग्र शासन प्रणाली जनमुखी वन्न पुग्दछ ।

अहिले सामयिक विश्व प्रजातान्त्रिक शासन प्रणालीको अवलम्बन र यसको सुदृढीकरण र सशक्तिकरणको मार्गचित्र अनुरुप अगाडी वढिरहेको । प्रजातन्त्रले नीति नियम प्रक्रिया आदिमा सर्वसाधारणको पहुँच हुनुपर्ने  यी सबै बिषयहरु पारदर्शी हुनु पर्ने मान्यतामा विश्वास राख्दछ । प्रजातन्त्रमा जनताले आफ्नो अभिमतद्वारा जनप्रतिनिधि चुन्ने गर्दछन्। जनप्रतिनिधि वाट गठित सरकार जनता प्रति मात्र होइन शासकीय प्रणालीका सवै सरोकारवालाहरु प्रतिउत्तरदायी र पारदर्शी हुनुपर्ने सन्दर्भमा खुला सरकारको अवधारणा अर्थात द ओपन गभर्नमेन्ट पार्टनरसिपको अवधारणा  अगाडी आएको हो। यस अवधारणाले पारदर्शी, सहभागितामूलक, समावेशी र उत्तरदायी शासन प्रणालीको वकालत गर्दछ ।  

खुला सरकार साझेदारिता संघीय र प्रादेशिक सरकारको तहमा नागरिक सशक्तिकरण, पारदर्शिता, भ्रष्टाचार विरुद्धको नियमित लडाइ, नवीन प्रविधिको प्रयोग द्वारा शासकीय संरचनाको सशक्तिकरण द्वारा खुला सरकारको प्रवर्द्धनगर्ने वहुपक्षीय संरचना हो । २० सेप्टेम्वर २०११ का दिन संयक्त राष्ट्र संघको महासभा को दौरानमा भएका समानान्तर वैठकको परिणति स्वरुप खुला सरकारको अवधारणा आएको हो। संयुक्त राज्य अमेरिका,ब्राजिल, इन्डोनेशिया, संयुक्तअधिराज्य, नर्वे, मेक्सिको, फिलिपिन्स, दक्षिण अफ्रिका का सरकार प्रमुखहरु अभियानका संस्थापकको रुपमा रहेका छन। यी सरकार प्रमुखहरुले खुला सरकार घोषणा पारित गरेका छन्। खुला सरकार साझेदारिताको अवधारणा को शुरुवात ८ राष्ट्र बाट भएको मा हाल ७५ देशहरु, १०४ स्थानीय सरकारहरु,  हजारौं नागरिक समाजको सहभागिता रहेको छ ।  

खुला सरकार घोषणाका विषय वस्तुहरुमा सरकारी कार्यहरुको सूचना उपलब्धतामा बढोत्तरी गर्ने, नागरिक सहभागितालाई बढावा दिने, प्रशासकहरुमा उच्च स्तरको इमान्दारिता अभिवृद्धि गर्ने, खुलापन र उत्तरदायित्वको सुनिश्चितताको लागि नवीन प्रविधिको पंहुच र उपयोग लाई प्रोत्साहन गर्ने, २१औ शताब्दीमा खुला सरकारको संस्कृतिको अभिवृद्धि गर्न अन्तराष्ट्रिय साझेदारिता र सहकारिताप्रति प्रतिवद्ध रहने जस्ता समसामयिक अन्तरवस्तुहरु  रहेका छन् । 

खुला सरकारको अवधारणा संचालनको लागि विभिन्न संरचनात्मक व्यवस्थाहरु गरिएका छन् । अन्तराष्ट्रिय तहमा नीतिगत निर्देशन को व्यवस्था गर्न र मानदण्डहरुमा एकरुपता ल्याउन तथा यसको दिगोपनाको सुनिश्चितता को लागिमूल समिति रहने व्यवस्था छ । यस समितिमा सबै सदस्य राष्ट्रहरुवाट सरकार र नागरिक समाजको समान संख्यामा सहभागिता रहन्छ र चक्रीय प्रणालीको आधारमा सरकार र नागरिक समाजको तर्फवाट एक एक सह अध्यक्ष रहने गर्दछन् । मूल समिति अन्तरगत तीनवटा उपसमितिहरु रहेका छन जसमा शासकीय र नेतृत्व उप समिति, मानदण्ड उप समिति र सिकाई आदान प्रदान उप समितिहरु रहेका छन् । यसै गरि खुला सरकार साझेदारिता विषयगत कार्यसमूहहरुमा वित्तीय खुलापन कार्यसमूह, कानूनी खुलापन कार्यसमूह, सूचनामा पहुंच कार्य समूह, भ्रष्टाचार विरुद्धको कार्यसमूह, खुला तथ्याङ्क कार्यसमूह र प्राकृतिक श्रोतहरुको खुलापन कार्यसमूहहरु रहेका छन् । सचिवालयको भूमिका निर्वाह गर्न सहयोग इकाइ रहेको छ । स्वतन्त्र प्रतिवेदन संयन्त्रले अवधारणामा सहभागी राष्ट्रहरुमा शासकीय खुलापन वा पारदर्शिता को अवस्था र प्रगतिको वारेमा वर्षको दुई पटक प्रतिवेदन प्रकाशित गर्ने गर्दछ र सुधारका लागि सुझावहरु समेत दिने गर्दछ ।

यसको अर्को संरचनामा नागरिक समाजको सहभागिता रहेको छ जसले खुला सरकार साझेदारिताको अभियानको सुदृढीकरणको लागि वृहदनागरिक समाजको सहभागितामा जोड दिने गर्दछ । यसको साथै प्रादेशिक वा उप क्षेत्रीय  सरकारहरुको लागि कार्यक्रम संचालन गर्नु यस अवधारणाको उद्देश्य रहेको छ । 

खुला सरकारको अवधारणामा अवधारणामा सहभागी हुन चाहने देशले वित्तीय पारदर्शीता सूचनामा पहुंच, सम्पत्तीको घोषणा, नागरिक सहभागिता लगायतका चार क्षेत्रको मूल्याङ्कनमा ७५प्रतिशत अंक प्राप्त गर्नु पर्दछ । यसको साथै नागरिक समाज समेतको सहभागितामा राष्ट्रिय कार्ययोजना वनाउनु पर्दछ यसमा सुधार प्रतिवद्धताका कार्यक्रमहरु, पारदर्शीता, उत्तरदायित्व र प्रविधि विकासका कार्यक्रमहरु समावेश गर्नु पर्दछ।

सरकार र शासकीय प्रणालीलाई वढी पारदर्शी, उत्तरदायी, सहभागितामूलक र समावेशी गराउने उद्देश्यका साथ सन् २०२३ देखि सन् २०२८ को लागि रणनीति तयार गरिएको छ । यसका पाँचवटा रणनीतिहरु रहेका छन् । जसमा पहिलो  खुला सरकारका सुधारक, क्रियाशील र विज्ञहरुको विस्तारित, प्रतिबध्द, अन्तरआवध्द समाज निर्माण गर्ने रहेको छ। दोस्रोमा केन्द्रदेखि सवै तहका सरकारले आफ्ना प्राथमिकताहरुको प्रवाह गर्नका लागि खुला सरकारको निर्माण रहेको छ । यसै गरि जनसहभागिताको अवसरको सुनिश्चितता, खुला सरकार निर्माणमा तीव्रताको लागि खुला सरकार सुधार र नवीनता, र प्रमाणमा आधारित खुला सरकारको उत्प्रेरकहरुको सुनिश्चितता अन्य रणनीतिहरु रहेका छन्     

नेपालमा खुला सरकारको अवस्थालाई हेर्ने हो भने सूचनाको हक र सो सम्बन्धी कानून र संस्थागत संरचनाको व्यवस्था गरिएको छ । सरकारी काम कारवाहीहरुमा पारदर्शिता, वेवसाइट, प्रवक्ता, सूचना अधिकारी आदिवाट नियमित सूचना प्रवाह गर्ने गरिएको छ । नागरिक समाज एक सशक्त शासकीय सहकर्ताको रुपमाविकास हुदै गैरहेको छ । भ्रष्टाचार नियन्त्रणमा जनता, सरकार र शासकीय सहकर्ताको चासो र प्रथामिकताको विषय वनेको छ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा प्रतिबध्दता र राष्ट्रिय रणनीति हरुको कार्यान्वयनमा तदारुकता देखाउने गरिएको छ । नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात नेपाल एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट परिमार्जित हुदै संघीय लोकतान्त्रिक राज्यमा रुपान्तरण हुनपुगेको छ । नेपालले २०४७ सालको जनआन्दोलन पश्चात प्रजातान्त्रिक शासन प्रणाली अवलम्बन गर्दै आएकोमा २०६२/ २०६३ को जनआन्दोलनले देशलाई गणतान्त्रिक राज्यमा रुपान्तरण गर्यो र वर्तमान संविधानले देशलाई संघीय शासन प्रणालीमा रुपान्तरण गरेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनको सात दशक भन्दा लामो ऐतिहासिक योगदान पश्चात देशले उच्चतम प्रजातान्त्रिक प्रणालीले युक्त संघीय शासन प्रणाली अवलम्वन गर्न पुगेको छ। यसले शासकीय संरचना र परिपाटीहरुमा थप खुलापन र पारदर्शीताको माग गरेको छ । संघीय संरचनामा संघ, प्रदेश र स्थानीय तहको व्यवस्थावाट तीन तहका सरकार वीचमा समन्वय, सहकारिता र सहअस्तित्व रहनु पर्ने अवस्थाले सबै तहका सरकारहरु पारदर्शी हुनु पर्ने अवस्था सिर्जना भएको छ । सरकारी, सहकारी र निजी क्षेत्र अर्थतन्त्रका तीन आधार स्तम्भको रुपमा रहेको र यसले उदारीकरणलाई प्रश्रय दिएको छ ।

प्रजातन्त्र जनताको प्राथमिक चाहनाको विषयहो । यो राजनीतिक,  आर्थिक,  सामाजिक र शासकीय पक्षलाई सकारात्मक प्रभाव पार्ने सामर्थ्य राख्ने महत्वपूर्ण पक्ष पनि हो । प्रजातन्त्र मूलतः जनमुखी शासनको प्रतिरुप हो । प्रजातन्त्रले सरकारको सम्पूर्ण प्रयास सार्वभौम जनताप्रति समर्पित रहनुपर्दछ भन्ने जनाउँछ । प्रजातन्त्र र स्वतन्त्रता यी दुई शब्दहरु एक आपसमा सँगसँगै आउने शब्दावलीहरु हुन्। । प्रजातन्त्र स्वतन्त्रता प्राप्तिमा सहयोग पुर्याउने विचार र सिद्धान्त हो प्रजातन्त्र स्वतन्त्रताको संस्थागत स्वरुपहो । प्रजातन्त्र व्यक्तिगत स्वतन्त्रता, न्याय, शान्ति तथा अग्रगमनको आधारशीला हो यो सैद्धान्तिक विषय मात्र नभएर उपरोक्त विषयहरुको व्यवहारिक प्रयोगको अवस्था पनि हो । मानवअधिकार, विधिको शासन, शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन, राजनैतिक दलहरुको उपस्थिति आवधिक निर्वाचन, नागरिक समाज, राजनीतिक संस्कृति, असलशासन, मेलमिलाप र शान्ति प्रजातन्त्रमा अन्तरनिहीत हुनुपर्ने अवयवहरु हुन् प्रजातन्त्रको यो अवधारणा वर्तमानमा आइपुग्दा यसले धेरै व्यापकता पाएको छ र यो शासकीय अवधारणा र परिवर्तनको अपरिहार्य विषय वनेको छ । समग्रमा लोकतन्त्र र प्रजातन्त्र सरकारको एउटा यस्तो आदर्श स्वरुपहो जसमा राज्यको शासनगर्ने शक्ति कुनै अभिजात्यवर्ग, व्यक्ति विशेष वा समुदायमामात्र सीमित नरही सर्वाङ्गीण रुपमा आम जनतामा निहित रहेको हुन्छ ।प्रजातन्त्रलाई लोकतन्त्र, जनतन्त्र, बहुलवाद अदिको नामले पनि चिन्ने र चिनाउने गरिन्छ । नेपालमा पछिल्लो भएको राजनीतिक परिवर्तनले उच्चतम प्रजातान्त्रिक प्रणालीलेयुक्त संघीय शासन प्रणाली अवलम्बन गर्ने अवसर दिएको छ ।

जनमुखीशासन प्रणालीको प्रतिरुप प्रजातन्त्र हो । प्रजातन्त्र व्यक्तिगत स्वतन्त्रता, न्याय, शान्ति तथा अग्रगमनको आधारशीलाहो । यसैले प्रजातन्त्र आममानवको प्राथमिक चाहनाको विषयहो । प्रजातन्त्र सैद्धान्तिक विषयमात्रनभएर उपरोक्तविषयको व्यवहारिक प्रयोगको अवस्थापनिहो । प्रजातन्त्रमा बहुलवाद, प्रतिस्पर्धा , संवैधानिक सर्वोच्चता, कानूनको शासन, शक्तिपृथकीकरण, समता, मौलिकहक र अधिकारको प्रत्याभूति , आधारभूत स्वतन्त्रता र अधिकारको प्रत्याभूति प्रजातन्त्रका आधारभूत पक्षहरु हुन् । शान्ति, आर्थिक सामाजिक, साँस्कृतिक विकास प्रजातन्त्रका , मानवअधिकार, विकास, शान्ति प्रजातन्त्रका सकारात्मक उपजहरु हुन् । प्रजातन्त्रले राजनीतिक आयामको सशक्तिकरण गर्दै आर्थिक र सामाजिक आयाममा समेत परिवर्तन ल्याउने सामर्थ्य राख्दछ । नेपालले प्रजातन्त्रको माथिल्लो रुप संघीयताको अवलम्बन गर्ने अवसर पाएको छ । यसवाट राजनीतिक आयामको सशक्तिकरण गर्ने र आर्थिक तथा सामाजिक आयाममा परिवर्तन ल्याउने सामर्थ्यलाई व्यवहारमा परिणत गर्ने अवसर पनि सिर्जना भएको छ । जनताले वास्तविक प्रजातन्त्रको अनुभूति मूलत दुई तहवाट गर्ने गर्दछ पहिलो राजनैतिक परिपाटीले अगालेको समग्र शासकीय परिपाटी र दोश्रो जनताले सेवा प्राप्ति गर्ने विन्दूमा रहेका प्रशासनिक संयन्त्रको उपस्थिति र प्रभावकारिता । प्रजातान्त्रिक सरकार सधै असल सरकार, प्रभावकारी सरकार र जनमैत्री सरकारको रुपमा सधैं जनसरोकारको शीघ्र सम्वोधनगर्ने कार्यमा तल्लीन रहेको हुन्छ। नेपालको संघीय शासन प्रणाली समक्ष यी जन अपेक्षालाई सम्बोधन गर्नु पर्ने गुरुत्तर दायित्व रहेको छ ।

शासन प्रणालीमा नागरिक सहभागिता वा नागरिक मैत्री शासन प्रणाली प्रजातान्त्रिक शासन प्रणालीको मूल आदर्श हो । नागरिक शासन सहभागितामूलक र समावेशी प्रकृतिको  शासन प्रणाली हो । नागरिक शासन प्रक्रियाको अवलम्बनले शासन प्रणाली बढी प्रजातान्त्रिक बन्न पुग्दछ ।  यस प्रकारको शासनमा कानुनी वा अन्य प्रक्रियाद्वारा शासन प्रणालीमा नागरिक सहभागिताको सुनिश्चितता गरिएको हुन्छ । यस परिवेशमा संघीय सुशासनको अवधारणालाई कार्यान्वयनमा ल्याउन  खुला सरकार अवधारणाको अवलम्बन र व्यवहारिक प्रयोग नेपालको लागि सामयिक हुने देखिन्छ तिनै तहका सरकारहरुमा यस अनुरुपको क्रियाशीलताको आवश्यकता पर्दछ ।

(डा.दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन् )

साहस त जुटाउंला खेर जान दिने छैन


Dr. दामोदर रेग्मी

श्रष्टाहरु यसै सामाजिक परिवेशका पात्रहरु हुन्। यी परिवेशका घटना वा अनुभूतिहरु श्रष्टाका कच्चा पदार्थहरु हुन् यिनैको मदतले श्रष्टाहरुले गीत, कविता वा कथा सिर्जना गर्ने गर्दछन् ।रचनाहरु सामाजिक परिवेशको प्रतिविम्व मात्र होइन यो सन्देशमूलक वा सूचनामूलक पनि हुनु आवश्यक छ । फरक यत्ति हो घटना वा परिवेशहरु यथार्थमा आधारित हुन्छन् ती यथार्थहरु जव श्रष्टाका अनुभूति वा कलममा बांधिन पुग्छन तव ती घटना र सामाजिक परिवेशहरु आकर्षक शव्दहरुमा रुपान्तरण मात्र हुदैनन् तिनिहरु  कल्पनाको आकर्षक  आवरणमा प्रस्तुत हुने गर्दछन् । यस्ता रचनाको भाव र निष्कर्ष सकारात्मक र आशावादी हुने गर्दछ ।  जीवनका भोगाइहरु तीता वा मीठा दुवै हुन सक्दछन् तर सिर्जनाले अन्तत मीठो अनुभूतिको परिकल्पना गर्न सक्नु पर्दछ। यस्ता सिर्जनाहरु तुलनात्मक रुपमा रुचाइने गर्दो रहेछ । यसर्थ सर्जकहरु पनि समाजको वास्तविक वा काल्पनिक दृष्यलाई  सकारात्मकताको सन्देश प्रवाह गर्न सक्ने संवाहकहरु पनि हुन् । 

कुनै घटना विशेषले मलाइ पनि गीत लेख्न प्रेरित गर्यो। यसै क्रममा बेलाबखत कोरिएका  केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो । सिरेटोले छुदै छुन्न गीति संग्रहको सामाजिक सञ्जालव्दारा सार्वजनिक र यसका केही गीतहरुको स्वरांकन तथा भिडियो म्यूजिक सार्वजनिक भएपछि गीतकारको दायित्व समेत थपिएको छ । गीतकारको यो भूमिकाले समाजका यावत घटना वा परिवेशलाई शव्द मार्फत आफ्ना रचनामा समावेश गर्ने दायित्व पनि थपिएको छ ।गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक  आवरणमा प्रस्तुत गरिदिन्छ । गीतकारहरु कहिलेकाहीँ त्यो कथाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन्।कथाको पात्रको रुपमा आफूलाई राखेर गीत वा कविता सिर्जना गरियो भने त्यो रचना बढी वास्तविकतामा आधारित हुन्छ ।जानि नजानी आफूलाई यहि परिवेश अनुरुप अनुकुलित गराउदै गैरहेको छु ।

आम मानिसहरु जस्तै सर्जकहरु पनि यही समाजका व्यक्ति हुन्। समाजमा हुने विभिन्न घटनाहरुवाट सर्जकहरु उत्ति नै प्रभावित भैरहेका हुन्छन। उनीहरुको लेखनको मूल श्रोतनै सामजिक परिवेश र सो परिवेश भित्रका  पर्यावरणहरु हुन् ।लेखक कहिले पनि सामाजिक परिवेश र पृष्ठभूमिबाट बाहिर जानै सक्दैन । ती परिवेशहरुमा केही आकर्षकपना नयांपना सिर्जनशीलता र साजसज्जा थपेर पाठक श्रोता वा दर्शकको मन आकर्षित गर्ने क्षमता सर्जकहरुमा भने पक्कै हुन्छ । 

यस्ता रचनाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्दछ । सर्जकहरु कुनै सिर्जनाका उत्पादनकर्ता मात्र होइनन् यिनीहरु सकारात्मक समाज निर्माणका सम्बाहकहरु पनि हुन् । कुनै एक कार्यक्रममा मलाई तपाइ भविष्यमा कुन धार भएको गीत सिर्जना गर्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो ।यसमा मेरो जवाफ थियो भविष्यको वारेमा त म अहिले भन्न सक्दिन तर अहिले लेखिएका गीतको प्रवृत्ति र ती गीतहरुमा पाएको पृष्ठपोषणको आधारमा सकारात्मकता, आशावादिता, सकारात्मक समाजको निर्माणमा  आशावादिताको सन्देश प्रवाह गर्ने खालका शव्दहरुले मेरो गीतमा स्थान पाउनेछन् ।

मैले लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहका अधिकांश गीतहरुलाई यहि धारमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।यस गीति संग्रहमा नविर्सने कथाको मीठो पाना तिमी, कथाले जे माग्यो त्यो भोगिदिएं, खियाउं नग्रा यहि देशको खातिर सेवा, त्यो लजालु मुस्कानले तीर नहान, हांसोमा रहेछ कृतिम चास्नी, वासन्ती सुवास लिएर तिमी आउन, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, हराभरा जीवन हाम्रो प्रेमको,  मनको वेदना कुन चिठी लेखुं, तारा जूनको यो रातमा, प्रकृतिलाई मुटुमा सांच्ने कि, केही पाइला तिमी चाल, कथाको विसर्जन, बादल लाग्यो त्यो डांडापारी खुल्ने हो कहिले, विर्सेर पनि नविर्सने त्यो असीम याद, आज फेरी प्रेमिल वर्षा वर्षायो, शायद जिन्दगी यस्तै रहस्यको जाल छ,  विसाउं कि कथा अव यात्रा नै छैन, विर्सने पो कसरी परेली कुरिरहेछ, खुशीको बहार छायो, एक अञ्जुली मायाको उपहार छरिदेउ, अप्सरा भुलाउने लाली त्यो यौवन,  बन्द पाना पुस्तकका एकान्तमा पल्टाउनु र जिन्दगीको यो पाठशालाले धेरै पढायो शीर्षकका गीतहरु समावेश छन् ।

“अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला” मेरो रेकर्डिंग र म्युजिक भिडियो बनेको दोश्रो गीत हो । मूलत प्रेमभावमा अगाडी बढेको भएपनि यसको शव्द र संगीत ले सकारात्मकता र आशावादिताको सन्देश बोकेको पृष्ठपोषण मलाई प्राप्त भएको छ । धेरै स्थानहरुमा सकारात्मक सोचका प्रशिक्षण हुदा यो गीतले स्थान पाएको देखियो । यसगीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने संगीतकारको भूमिका  डि वि लामाले निर्वाह गरेका थिए । यो गीत आफैमा सकारात्मक भाव बोकेको र चुनौतीलाई स्वीकार्दै कर्मक्षेत्रमा लागिरहनु पर्ने वाक्यहरु गीतमा प्रयोग भएका थिए । यस गीतका थप केही वाक्यांशहरु यस्ता थिए जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन् ,चम्किरहने त्यो चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छन ,  घामपानी हो जीवन पछ्याइरहन्छन सधै सधै, मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै ,  केही आंट बढाउ तिमी उत्साह म थपिदिउंला, केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला , सुखदुख हो जीवन घुमिरहन्छ सधै सधै, अध्यारोमा सूर्य पनि हराउंछ कहि कतै। गीतको सफलता संगै यी हरफहरु धेरै चर्चित बने ।यी हरफहरुमा भिडियो, रिल र टिकटकहरु धेरै बने ।गीतले यस किसिमको सफलता प्राप्त गर्नमा संगीत र गायक गायिकाको स्वरको उच्च स्थान त रहेकै थियो त्यसमा प्रयोग भएका शव्दहरुले पनि राम्रै साथ दिइरहेका थिए ।संगीतकार डि वि लामा संगको सहकार्यमा यो मनको चाहना अल्झियो कसरी बोलको गीत पनि यहि भावको सेरोफेरोमा रहन सफल भएको छ ।

मेरो शव्द रहेको मुरलीधरको स्वर र संगीतमा आएको “सिरेटोले छुदै छुन्न”  गीतले विरह धार बोकेको भएपनि “साहस त जुटाउंला खेर जान दिने छैन, तिम्रो जीवनको यात्रा नटुटोस कुनै दिन” भन्ने हरफमा धेरै जनाबाट तारिफ आयो र गीतमा रहेको “सिरेटोले छुदै छुन्न”  आलापले पनि अति प्रशंसा पायो । विरह भावमा रहेको यो गीतको यो हरफले आशावादिताको सन्देश प्रवाह गरिरहेको कारणले यो गीतलाई धेरैले रुचाउनु भयो ।स्टार अफ द मन्थ र अन्य कार्यक्रमहरुमा यो गीतले धेरै पटक बज्ने सौभाग्य समेत पायो ।

यसै गरि मेरो शव्द, डि बी लामाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको “डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ” वोलको गीतमा पनि यस्ता केही सुखद अनुभूतिहरु रहन पुगे । सो गीत महिला स्वरको लागि तयार गरिएको थियो तर पुरुष स्वरमा आएको डमी  पनि अतिनै कर्णप्रिय बनेको थियो । समीक्षा अधिकारीको स्वरमा स्वारांकन गरिदा गीत मनमोहक बन्न गयो । गीतले एउटा विरह गाथा बोकेको थियो । तर यसका शव्द र हरफ हरुमा श्रोताबाट राम्रो पृष्ठपोषण प्राप्त हुन पुग्यो ।”मनभरिको वेदना यो कुन चिठीमा लेखुं, पुर्याइदिने हुलाकी म  कतै छन् कि खोजुं”  “जूनको उज्यालो संगै आउछौ जस्तो लाग्छ” लगायतका सकारात्मक सन्देश बोकेका हरफले धेरै प्रशंसा पायो ।

मेरो शव्द, आनन्द कार्कीको स्वर र किरण कडेलको संगीत रहेको “एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ” गीतमा पनि सकारात्मक सन्देश बोकेका शव्दहरुको प्रयोगले छुट्टै छाप छोड्न सफल भयो। 

मेरो शव्द रहेको, आनि छोइङ्ग डोल्माको स्वर र किर्ति न्यौपानेको संगीतमा रहेको जिन्दगीको पाठशालाले धेरै पढायो शव्दको गीत जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा सकारात्मकता तर्फ अभिप्रेरित गर्ने भाववाट अघि वढैको छ । आनि छोइङ्गले यस अघि गाएको चर्चित गीत फुलको आंखामा फुलै संसार पनि यहि भावमा रहेको थियो । यसै कारणले पनि जिन्दगीको पाठशालाले धेरै पढायो वोलको गीतमा उहांको स्वर प्रयोग गर्न उपयुक्त ठानिएको थियो ।यस गीतका अन्य वाक्यांशहरुमा कहिले हसायो कहिले रुवायो जीवनका पहलु सवै सिकायो,  बाधा विघ्न आउंछन् धेरै नमानी रत्ति , दुखमा आंशु पुछि सुखमा नमात्ति , व्यथाहरु लुकाइ हांस्न सिकायो ,  भत्केका ती आशालाई जोड्न सिकायो , ओइलाएको मन भित्र नयां जोश पलायो, चुनौतीको सामनामा उर्जा दिलायो,  पौरखी यी हातमा भाग्य जुरायो, सकारात्मक बन्दै हिड्न बाटो देखायो  रहेका छन् ।यो गीत संग अफ द विक साइनिंग स्टार अफ द विक र हट प्रपर्टि  स्तम्भ अन्तरगत रहन समेत सफल भयो । यी केही गीतहरुमा प्रयोग भएका शव्दहरु र तिनमा आएका प्रतिकृयाहरु र मलाइ अन्तरवार्तामा सोध्दा दिएको उत्तर उस्तै सकारात्मकता र आशावादिताको सन्देश प्रवाह गर्ने गरि गीतका शव्दहरु संयोजन गर्ने कार्यमा सलग्न रहने र सकभर यहि धारलाई समाउने उत्प्रेरणा पनि मिलेको छ ।जीवन दुख र सुखको सम्मिश्रण हो, जीवन घाम र पानी हो, जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन् किनकी चम्किरहने चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छन  , मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै । यसर्थ हर परिवेशमा साहस त जुटाउंला खेर जान दिने छैन हाम्रो मूल मन्त्र बन्न सक्नु पर्दछ वास्तवमा जीवन नै यहि हो ।