कार्तिक ९ देखि शुरु हुने पोखरा प्रिमियर लिगको उद्घाटन सभामुख महराले गर्ने


पोखरा-पोखरामा हुने ‘पोखरा प्रिमियर लिग’ (पिपिएल) खेलको उद्घाटन संघीय संसदका सभामुख कृष्णबहादुर महराले गर्ने भएका छन् । कार्तिक ९ देखि शुरु हुने पोखरा प्रिमियर लिग खेलको उद्घाटन सभामुख महराले गर्ने भएका हुन् ।

यही ९ गतेबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता २० गतेसम्म चल्नेछ । प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको आयोजक पक्षले जनाएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा उक्त खेल हुनेछ ।

प्रतियोगिताका लागि पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ फ्रेन्चाइज टिमले खेलाडी अनुबन्ध सकेर अन्य तयारीमा जुटेका छन् ।

पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी टिममा विदेशी खेलाडीहरु समेत खेल्नेछन् । प्रतियोगिताको सहभागी टिम चितवन राइनोजले दुई विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । चितवन राइनोजले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोजले भारतीय क्रिकेट खेलाडी सन्नी पटेल र समित पटेललाई टिममा भित्राएको छ ।