वालकृष्णको पक्षमा र विपक्षमा सीमित हुँदै कांग्रेस बैठक


साउन ७ गते, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि बसेको छ । गत मंगलबारबाट सुरु भएको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयबारे छलफल गर्ने भनिए पनि अधिकांश नेताहरुको ध्यान कांग्रेस केन्द्रीय सदस्य वालकृष्ण खाणको पक्राउको विषयमा केन्द्रित भएको छ ।
खाण नेपालीलाई भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका छन् । उनी पक्राउ पर्दा कांग्रेसकै केही नेता खुशी भएका छन् ।

भावी महामन्त्रीका रुपमा हेरिएका खाणको राजनीति अब सकियो भनेर उनकै पक्षका केही नेता खुशी हुनु पनि अस्वभाविक होइन । गत महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन्छु भन्ने खाणले टिकट नपाएपछि उनी चुपचाप बसेका थिए । उनी त्यतिबेला गृहमन्त्री थिए । कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने खाणले देउवासँग लागेर पाउनुपर्ने महत्वपूर्ण पद पाइसकेका छन् । उनी रक्षामन्त्री पनि भए त्योभन्दा अघि सिँचाईमन्त्री भएका थिए । उनको त्यतिबेलाको कार्यकाल त्यति विवादित नभए पनि गृहमन्त्रीको काल भनें केही विवादित नै रह्यो । उनी पक्राउ परेपछि उनी गृहमन्त्री हुँदा पार्टीको काम नगरेको र पार्टीका नेताहरुलाई मतलब नगरेको आरोप अहिले आएर लगाइँदै आइएको छ । खाणले सजिलै रुपमा प्रहरीसँग आत्मसमर्पण गरेका थिए ।


खाणको विषयमा धेरै केन्द्रीय सदस्यले पक्ष र विपक्षमा बोलेका छन् । अरु विषयले प्रवेश पाए पनि खाण भनें मुख्य केन्द्रमा रहेका छन् । कांग्रेस पदाधिकारी तथा सदस्यहरुले यो बैठकमा खुलेर नै आफ्नो कुरा राखेका छन् । गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भए पनि त्यसपछि पार्टीले परिणामबारे कुनै गम्भीर छलफल पनि गरेको थिएन । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र अरु पार्टीबीच चुनाबी तालमेल भएर कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी भए पनि सरकार बनाउन नपाएकोबारे पनि छलफल हुन बाँकी नै थियो । केही समयपछि देउवाको सक्रियता र धैर्यताले कांग्रेस फेरि सत्तामा पुगेको छ । यस विषयलाई लिएर देउवापक्षका नेताले देउवालाई धन्यवाद दिएका छन् । देउवा धेरै बोल्दैनन्, उनको मौनता नै कहिलेकाहीँ जितको सूचक बनेको छ । देउवाले आफ्नो विरुद्धमा लाग्ने र आफूलाई गाली गर्नेलाई पनि छुट दिएका छन् ।


२०७८ मंसिरमा भएको महाधिवेशनमा फेरि पनि सभापति जितेका देउवाले अहिलेसम्म पार्टीभित्रका सबै पक्षलाई मिलाएर लाने प्रयास गरेका छन् । हिजो सभापतिको विरोधमा बोल्दै आएका नेता शेखर कोइराला अहिले चुपचापजस्तै छन् । कतिपय कार्यक्रममा देउवा र कोइराला सँगै जाने गरेकाले पनि उनीहरुबीचको कुराकानी मिलिसकेको भनेर अनुमान लगाउन थालिएको छ । कोइरालालाई वरिष्ठ नेता दिन देउवा तयार भएको पार्टीभित्र चर्चा चलेको छ । संस्थापनइतरका नेताहरुले पार्टी विधि र पद्धतिमा नचलेको भन्दै सभापति देउवाको आलोचना गरेका छन् । देउवाले केन्द्रीय समितिमा मनोनीत गरेका सदस्यहरुले भनें देउवाको पक्षमा बचाउ नै गरेका छन् ।
गत महाधिवेशनमा सभापतिको उम्मेदवार भएका शेखर कोइराला पक्षका नेताहरुले भनें देउवको कार्यशैली अव्यवहारिक भएको भन्दै सच्चिन आग्रह गरेका छन् । यो महाधिवेशनबाट देउवा पक्षका नै बढी निर्वाचित भएका छन् । मनोनीत गर्दा पनि उनले आफ्नो पक्षकालाई नै गरेका छन् । उनीहरुले देउवाको सोच र विचारका कारण नै कांग्रेसले गति लिएको दाबी गरेका छन् ।
यस पटकबाट कांग्रेस बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको छ । कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने गरेकाले पार्टीमा कसैले अलिकति बढी बोले पनि छुट हुने गरेको छ । यसअघिको बैठक लाइभ नभएकाले नेताहरु बोल्दा असंयमित हुने गरेका थिए तर अहिले भनें सबैले शिष्ट र मर्यादित भाषा प्रयोग गरेका छन् ।


बैठक लाइभ भएपछि भित्र एउटा कुरा गर्ने र बाहिर आएर मिडियामा चर्चाका लागि अर्कै कुरा गर्नेलाई भनें संकट परेको छ । राष्ट्रियसभाका सांसद वामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् । उनले कम्युनिष्ट पार्टीलाई पनि बैठक लाइभ गर्न चुनौतीसमेत दिएका छन् ।