भारतमा नेपाली महिला बलात्कृत


महोत्तरी, आश्विन ५ – भारत विहारस्थित मुजपःफरपुरनजिकको देवरिया गाउँमा एक नेपाली महिला बलात्कारको शिकार भएकी छन् । पति र काखे छोरासहित भाडाको घरमा बस्दै आएकी उनलाई रातको समय मादक पदार्थ सेवन गरेका जियालाल महतो नामका स्थानीयले जवरजस्ती गरेको प्रहरीले जनायो ।

स्थानीय प्रहरीका अनुसार सुर्खेत जिल्ला विद्यापुर गाउँका नेपाली दम्पति देवरियामा वस्दै आएका थिए । लामो समयदेखि रात्री सुरक्षाको पेसा गर्दै आएका उनका पति काममा गएको बेला शुक्रबार घटना भएको हो ।

भोलिपल्ट बिहान श्रीमान् कामबाट फर्केपछि  देवरिया थानामा शनिवार जाहेरी दर्ता गराएपछि घटना जानकारीमा आएको हो । गर्मीका कारण ढोका खुल्लै रहेको अवस्थामा भित्र छिरेको महतोले काखे नानीलाई नियन्त्रणमा लिई हत्याको धम्कि दिएर जवरजस्ती गरेको पीडितले प्रहरीमा उजूरी दिएकी छन् ।

जाहेरीपछि स्थानिय प्रहरीले महतोलाई हिरासतमा लिएको जनाएको छ । थाना प्रमुख सुजितकुमारका अनुसार पक्राउलगत्तै महतोलाई थुनामा पठाईएको छ भने घटनाको अनुसन्धान भइरहेको छ ।