म्यानपावरले ठगी गरेको प्रमाण छ


SSP Khanalकाठमाडौं,। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले गुण्डार्दी, दलाली डनतन्त्र चल्न नदिने बताएका छन् । पछिल्लो समय जनताको प्रत्यक्ष सरोकार रहेको विषयमाथि हात हालेर चर्चामा रहेका उनले कुनै पनि क्षेत्रमा हुने गुण्डागर्दी, ठगी सहित मानव बेचविखन विरुद्ध कारबाही प्रक्रिया नरोक्ने स्पष्ट पारेका हुन् ।
भारतीय नाकाबन्दीका समयमा इन्धनमा भएको कालोबजारी रोक्नदेखि वैदेशिक रोजगार क्षेत्रमा पठाउने क्रममा भएको आर्थिक चलखेलमा परेर कामदारको बिचल्ली बनाउने व्यवसायीहरू माथिको कारबाही गर्ने उनको कामको प्रशंसा भइरहेको छ । वैदेशिक रोजगारले मुलुकको ठूलो आर्थिक भार थेगेको बताइए पनि यो क्षेत्रमा कामदारले भोग्नु परेको पीडा र विचल्लीमा परेका परिवारका विषयमा चासो नदिइएका बेला खनालले काठमाडौंका १८ वटा वैदेशिक रोजगार व्यवसायीको कार्यालयमा एकै पटक छापा मारेर कागजात जफत गरी कारबाही प्रक्रिया अघि बढाएका छन् ।चोरी, ठगी, मानव बेचविखन विरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पाउने कानुनले दिएको अधिकारलाई प्रयोग गर्दै वैदेशिक रोजगार व्यवसायीमाथिको कारबाही प्रक्रिया अघि बढाएका एसएसपी खनालको कार्यक्षेत्रमा प्रश्न उठाइएको छ । वैदेशिक रोजगार क्षेत्रमा भएको अपराधका विषयमा वैदेशिक रोजगार विभागले मात्रै कारबाही गर्न सक्ने भन्दै व्यवसायीले खनालको कार्यक्षेत्र माथि प्रश्न उठाएका हुन् । तर, व्यवसायीको सो आरोपको खनाल खण्डन गर्छन् ।
‘चोरी, ठगी, मानव बेचविखन, गुण्डागर्दी, संगठित आर्थिक अपराध विरुद्ध प्रहरीले कारबाही गर्न कानुनले अधिकार दिएको छ’, बिहीबार उनकै कार्यकक्षमा मिडियासँग कुरा गर्दै एसएसपी खनालले भने, ‘मैले यही अधिकार प्रयोग गरेर व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएका हुँ ।’
फ्रि भिसामा पनि रकम लिने तथा सरकारले तोकेको भन्दा निकै बढी पैसा असुलेर कामदार विदेश पठाउने गरेको आरोप केही व्यवसायीमाथि लाग्दै आएको छ । साथै यस सम्बन्धमा प्रहरीमा उजुरी पर्ने क्रम दिनानुदिन बढिरहेका बेला एसएसपी खनालले वैदेशिक रोजगार व्यवसायीको कार्यालयमा छापा मारेका हुन् । कानुन विपरीत रहेका एजेण्ट मार्फत पैसा लिएर व्यवसायीहरूले कामदार विदेश पठाउने गरेका छन् ।
यिनै एजेण्ट मार्फत ठगिन सुरु भएका कामदार विदेश पुग्ने बेलासम्म पटक पटक ठगिने मात्रै होइन अलपत्र समेत परेका खबर बेलाबखत सार्वजनिक हुने गरेको छ । केही व्यावसायीको यस्तो हर्कतका कारण सिङ्गो व्यवसायप्रति नै नकारात्मक धारणा बनिरहेका बेला खनालले यस क्षेत्रमा हुने ठगीदेखि मानव बेचविखन रोक्ने प्रयास गरेका हुन् ।
एसएसपी खनालको सो कारबाही प्रक्रियाको घुमाउरो पारामा विरोध जनाउँदै अहिले मुलुकका सबै रोजगार व्यवसायीहरूले काम ठप्प पारेका छन् । तर, कानुनसंगत र अपराध नगरी काम गरिरहेका म्यानपावर व्यवसायीहरूले भने खनाललाई साथ दिएका छन् । केही दिन अघि म्यानपावर व्यवसायी संघका पूर्वपदाधिकारी सहितका केही व्यवसायीले खनाललाई भेटेर कामको प्रशंसा गर्दै वैदेशिक रोजगारको नाममा हुने कुनै पनि अपराध रोक्न आफूहरुको सहयोग रहने बताएका छन् ।
राम्रो र कानुनसंगत काम गर्ने व्यवसायी तथा कुनै पनि क्षेत्रका व्यक्ति डराउनु नपर्ने बताएका एसएसपी खनालले जनताको नाममा ठगी र अपराध गर्नेलाई नछोड्ने चेतावनी दिए । महाशाखाको टोलीले वैदेशिक रोजगारको नाममा ठगी गरेको भन्दै केही म्यानपावर व्यवसायीको कार्यालयमा छापा मारेपछि यसले राजनीतिक तथा प्रशासनिक वृत्तमा निकै चर्चाको विषय बन्न पुगेको थियो । महाशाखाले अघि बढाएको कारबाही प्रक्रिया रोक्नका लागि राजनीतिक दबाब सृजना गर्न केही राजनीतिक दल र प्रधानमन्त्रीसम्म पुग्ने ती व्यवसायीको प्रयास असफल भएको श्रोतले बताएको छ ।
राजनीतिक क्षेत्रबाट असहयोग भएपछि ती व्यवसायीहरू मुद्दालाई कमजोर बनाउने प्रयासमा रहेका र सोही अनुसार चलखेल भइरहेको श्रोतको दावी छ । तर, खनाल भन्छन्, ‘हामीसँग ठगी गरेको प्रमाण सुरक्षित छ ।’ पैसा लिए जति कागज नगर्नेदेखि सरकारले तोकेको भन्दा बढी पैसा असुलेको प्रमाण आफूसँग सुरक्षित रहेको खनालको दावी छ ।
मानव बेचविखन सहित विभिन्न ठगीको उजुरीका लागि महाशाखाले सुरु गरेको हटलाइन सेवामा अहिले पनि विभिन्न म्यानपावर व्यवसायीमाथि उजुरी परिरहेको एसएसपी खनालले बताए ।