चीनको कुन नाका खोल्यो यो सरकारले महत


काठमाडौं, साउन ९

नेपाली कांगे्रसका नेता रामशरण महतले नाकाबन्दी केपी ओली सरकारले नभई जनताले खोलेको बताउनुभएको छ । नेपालमा भारत विरोधी भावना बढ्दै गएको र  ब्यापारीले अन्यत्रबाट सामान ल्याउन थालेकाले भारतले आफै नाका खुलाएको उहाँको भनाई छ ।

व्यबस्थापिका संसदमा अविश्वासको प्रस्तावमाथि भएको छलफमा बोल्दै नेता महतले नागरिकले स्वतस्फुर्त रुपमा खोलेको नाकाबन्दीलाई हामीले खुलायौं भनेर ओलीले भ्रम छरेको बताउनुभयो । त्यस्तै चीनसँगका नाका खोलेको भनेर सरकारले नागरिकलाई झुक्याएको भन्दै महतले प्रश्न गर्नुभयो, ‘चीनको कुन नाका खोल्यो यो सरकारले ? रसुवागढी नाका अहिले खुलेको हो?’

सरकारले भारतलाई तह लगायौं भन्दै हल्ला गरेर हल्का कुटनीतिलाई प्रसय दिएको भन्दै नेता महतले भारत र चीनसँग समदुरीमा सम्बन्ध राख्न सरकार असफल भएको आरोप लगाउनुभयो ।

चरम गणतन्त्रबादी, चरम राजाबादी र चरम संघीयता विरोधी मिलेर बनेको ओली सरकार चाँडै ढल्ने आफ्नो अनुमान सही रहेको कांगे्रस नेता रामशरण महतको ठोकुवा छ । आफू स्थिर सरकारको पक्षमा भएपनि वर्तमान सरकारबाट विकास र सम्बृद्धि असम्भव भएकाले नयाँ सरकार गठन गर्न बाध्य उहाँले बताउनुभयो ।

कुशासनको उग्र नमुना ओली सरकार

नेता महतले वर्तमान सरकार कुशासनको उग्र नमुना भएको आरोप लगाउनुभयो । महतले क्षमता भएका व्यक्ती पाखा लगाएर ओली सरकारले हरेक सरकारी अड्डामा कार्यकर्ता भर्ना  गरेको आरोप उहाँको छ ।

‘गुटका व्यक्तीलाई भर्ना गर्ने सरकारको पहिलो एजेन्डा देखियो क्षमता भएका प्रशासनिक प्रमुखलाई पाखा लगाइयो’ महतले भन्नुभयो ।