खशोग्जीको हत्याको टेपन ट्रम्पले नसुन्ने


(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेप आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै ‘पीडादायी र हिंसात्मक’ भएको भन्दै उनले सुन्न नसकेको बताएका हुन् ।

साउदी अरेबिया सरकारका कटु आलोचक अमेरिकी पत्रिका ‘द वासिंगटन पोष्ट’का स्तम्भ लेखक खशोग्जीको गत २ अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।

टेप पीडादायी र हिंसात्मक भएको उक्त टेपको पूरा विवरण आफूलाई प्राप्त भएको ट्रम्पले अमेरिकी टेलिभिजन ‘फक्स न्यूज’लाई दिएको एक अन्तर्वार्तामा बताएक छन् । प्रत्यक्ष रुपमा सो टेप नसुने तापनि आफूलाई पूरा विवरण प्राप्त भएको उनले बताएका छन् ।
आगामी दुई दिनमा ट्रम्प प्रशासनले पूरा प्रतिवेदन दिने अर्थात् हत्यामा कसैको प्रत्यक्ष सहभागिता रहेको सो प्रष्ट गरिने ट्रम्पले शनिबार बताएका थिए । अहिलेसम्म अप्रष्ट समाचारहरु प्राप्त गरेको पनि उनले बताएका छन् ।

साउदी पत्रकार खशोग्जीको हत्याको विषयमा अमेरिकी अनुसन्धानका विवरणहरू बाहिर आइरहेका छन् । अमेरिकी गुप्तचर निकाय सिआईएको निष्कर्षमा पत्रकार खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमान आफैँले दिएका थिए भन्ने विवरण बाहिर आइसकेको छ ।

तर, ट्रम्पले ती विवरणहरू अपुष्ट भएको बताउँदै आफ्नो देशको एक प्रमुख मित्र साउदी अरेबियालाई गुमाउने पक्षमा नरहेको स्पष्ट गरे । साउदी अरेबियाले खशोग्जीको हत्यामा आफ्ना युवराजको कुनै भूमिका नरहेको बताउँदै आएको छ ।

खशोग्जी एक चर्चित पत्रकार थिए । उनले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखेका थिए । गत वर्ष उनी अमेरिकामा निर्वासनमा गएका थिए ।