उत्तमको हिन्दुराज्यमा समेटिएका भावधारा


पुस्तक समीक्षा

जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी अर्थात आमा र जन्मभूमि स्वर्ग समान हुुन्छन् यो भनाइ हिन्दुराज्यसहितको राजतन्त्रको आवश्यकता नामक पुस्तकको दसौँ शीर्षकका लेखक पण्डित उत्तमप्रसाद पौडेलले समग्रमा शीर्षकमा उद्धरण गर्नुभएको हो । उहाँको उक्त पुस्तक हालै बजारमा आएको छ । सिन्धुपाल्चोक ठोकर्पा १ मा बुबा पण्डित भोलानाथ पौडेल र आमा सावित्री पौडेलका कान्छा छोराको रूपमा २०३६ सालमा जन्मनुभएका उहाँ हिन्दुधर्म र राजतन्त्रप्रति आस्था राख्ने लेखक हुनुहुन्छ । लेखकले यस पुस्तकमा नेपालको वर्तमान राजनीति र जनताको वर्तमान अवस्थाका बारेमा बडो चोटिलो प्रहार तर यथार्थ तस्बिर मात्र उतार्नुभएको छैन मुलुक चलाउने राजनीतिक दलका नेताहरुलाई बौद्धिक प्रहार पनि गर्नुभएको छ । उहाँले आज मुलुकको यो दुर्दशा हुनुका कारण र अब जनताले लिनुपर्ने बाटोको बारेमा चर्चा गर्नुभएको छ ।

हिन्दुधर्म, संस्कृति र राजतन्त्रका बारेमा लेखिएको उक्त पुस्तकमा राजतन्त्र हटेर गणतन्त्र आएपछि मुलुकमा शान्ति, सुशासन बिग्रिएको, धर्म, संस्कार, संस्कृति हराउँदै गएको,भ्रष्टाचार र अराजकता बढेको,कानुन र विधिको शासन हराएको, राजनेताहरूले जनतालाई शिरमा राखेर काम गर्नु पर्नेमा आफूलाई र आफ्ना आसेपासेलाई केन्द्रमा राखेर शासन सत्ता सञ्चालन गरेको, जनताको जीवनस्तरमा कुनै परिवर्तन गर्न नसकेको बरू बिगार्दै लगेको र त्यसले जनतामा निरासा छाउँदै गएको लेखकले विभिन्न उदाहरण दिएर बताउनुभएको छ । उक्त पुस्तकमा लेखक पौडेलले गणतन्त्रको नाममा विदेशीको पैसा खाएर कसैले नउठाएको विदेशीको एजेण्डा धर्म निरपेक्षता र संघीयता जस्ता कुराहरु संविधानमा हालेर ८० प्रतिशत हिन्दुहरूको भावनामा चोट पु¥याउँदै सिंगो मुलुकलाई विभाजन गर्न खोजेको कुरा सविस्तार बताउनुभएको छ ।

उहाँले उक्त पुस्तकमा गणतन्त्र र संघीयताकै कारण आज मुलुकको सार्वभौम सत्ता र अखण्डता संकटमा परेको,विदेशीहरूले मुलुकलाई सिक्किमीकरण र फिजीकरण गर्न खोजेको यसको सम्पूर्ण दोष र जिम्मेवारी वर्तमान सत्तासीन र विपक्षी दलका नेताहरूले लिनु पर्ने आरोपसमेत लगाउनुभएको छ । उहाँले यस पुस्तकमा राजा किन, हिन्दुधर्म, प्रजातान्त्रिक राजा र दलहरू,कम्युनिस्टहरूले देशलाई के दिए, विकास पूर्वाधार, जातजाति संस्कृति, नेपालप्रति विदेशीको दृष्टिकोण, मानवअधिकार र सुरक्षा,हामीलाई के चाहिएको छ र समग्रमा शीर्षक दिएर हिजो र आजको शासन व्यवस्था, मुलुकको अवस्था, नेताका कारण जनताले पाएको दुःख आदिका बारेमा चिरफार गर्नुभएको छ । समग्रतामा भन्नु पर्दा अहिलेका नेताहरूको अदूरदर्शिताका कारणले अहिलेको अवस्था सिर्जना भएको र यसको अन्त्यका लागि जनताहरूले हिन्दुधर्म, हिन्दुराज्य र राजतन्त्रलाई कायम राख्नुपर्ने निष्कर्षसहितको सुझाव यो पुस्तकमा लेखकले पेस गर्नुभएको छ ।

कतिपय सन्दर्भ यथार्थ र तथ्यमा आधारित भए पनि कतिपय कुराहरू भने लेखकले भावावेश र स्वार्थमा आधारित भएर लेख्नुभएको देखिन्छ । यद्यपि, विषयवस्तु गहन ढंगले र समयसापेक्ष भएर प्रस्तुत गर्नुभएको छ । विभिन्न व्यक्ति र संस्थाका प्रमुखहरूको साथ सहयोग र सुझाव लिएर लेखिएको यो पुस्तक राजा,राजावादीहरू र हिन्दुधर्म,संस्कार संस्कृतिहरूका कट्टरपन्थीहरू र वर्तमान शासन व्यवस्था चित्त नबुझनेहरूका लागि निकै पठनीय र संग्रहनीय संगालोको रूपमा आएको देखिन्छ ।

यो पुस्तक राजनीतिक दलका नेता कार्यकर्ता,स्वतन्त्र पाठक,अन्य बौद्धिक जगत र आमपाठकले पनि अध्ययन गर्नु पर्ने देखिन्छ किनकी कतिपय कुरामा वर्तमान र भूतपूर्व शासकहरूलाई यो पुस्तकबाट सच्चिनसमेत सहयोग पुग्ने देखिन्छ । ओलिभ प्रेस एण्ड डिजाइन हाउसले प्रकाशित गरेको ३६ पृष्ठको यो पुस्तकको मूल्य १ सय १० रुपैयाँ रहेको छ । जे होस् कतिपय कुरा प्रतिशोध र कतिपय कुरा व्यक्ति र कुनै तन्त्रको स्वार्थका लागि आवेगमा आएर लेखिएको भए पनि कतिपय कुरा देश र जनताको हितमा भएकाले लेखकको सिर्जना विषयवस्तुको गाम्भीर्यतालाई ध्यान दिएर लेखेकोले यो पुस्तक पठनीय र संग्रहनीय नै देखिन्छ ।