सहकारी बैंक पुरस्कृत


बागलुङ । राष्ट्रिय सहकारी बैंकले पोखराका २ सहकारीहरूलाई पुरस्कृत गरेको छ । आव २०७५/७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरूलाई हालै एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।


पोखरा शाखामा उत्कृष्ट कारोबार गर्ने रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने नयाँबजारस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको हो । संगम साकोसका अध्यक्ष निरज थापा र उन्नति साकोसका अध्यक्ष राजेश रानाभाटलाई बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्रसहित पुरस्कृत गर्नु भएको थियो । सहकारी बैंकले केन्द्रीयस्तर, प्रदेशस्तर र शाखास्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरूलाई पुरस्कृत गर्दै आएको बैंकका सञ्चालक जिसीले बताउनुभयो ।


बैंकको वार्षिक साधारणसभाका अवसरमा केन्द्रीय र प्रदेशस्तरीय पुरस्कार वितरण गर्नुका साथै शाखास्तरको पुरस्कार घोषणा गरी राष्ट्रिय सहकारी दिवसका अवसरमा वितरण गरिँदै आएकोमा यसपटक कोरोना संक्रमणका कारण ढिला भएको जिसीले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा पुरस्कृत संस्था संगम साकोसका अध्यक्ष निरज थापाले राष्ट्रिय सहकारी बैंकले सहकारी संस्थाहरूको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले नीति, विधि र प्रविधिको प्रयोगमार्फत आमसमुदायको आर्थिक सामाजिक रूपान्तरणका लागि सहकारी अभियानलाई थप प्रभावकारी बनाउन समन्वय र सहकार्यमा जोड दिनुभएको थियो ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, बैंकका सल्लाहकार तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीको स्वागत मन्तव्य र शाखा प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारी बैंकका ४४ शाखामध्ये राजधानीबाहिरको उत्कृष्ट शाखाका रूपमा रहेको पोखरा शाखामा ३ सय ३१ सदस्य संस्था, १६ करोड सेयर पूँजी, ३ अर्ब ३५ करोड निक्षेप र ७५ करोड कर्जा लगानी रहेको शाखा प्रमुख घिमिरेले जानकारी दिनुभएको थियो ।


राष्ट्रिय सहकारी बैंकलाई नेपाल राष्ट्रबैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको छ । गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतलीबजारमा शाखा सञ्चालन हुने भएका छन् । नयाँ शाखा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बैंकका सञ्चालक जिसीले जानकारी दिनुभएको थियो ।